आलेख

यसरी अन्त्य हुन सक्दछ ‘कांग्रेस–कम्युनिस्ट’ को युग

गत मंसिरमा सम्पन्न आम चुनाव र हालै सम्पन्न उपचुनावको संकेत के हो भने जनता अब पर्खि‌ने मुडमा छैनन् । त्यसो भन्नुको अर्थ, कांग्रेस–कम्युनिस्टलाई थप समय दिने मुडमा छैनन् । जनता परिवर्तन चाहन्छन् । र त्यो आकांक्षा पुराना राजनीतिक दलहरूको अन्त्य र नयाँ दलहरूको उदयको रूपमा प्रकट हुन सक्दछ ।

यसरी अन्त्य हुन सक्दछ ‘कांग्रेस–कम्युनिस्ट’ को युग

लोकतन्त्र र राजनीतिक दल एउटै कुरा हैन, जस्तो कि यदाकदा हामी भ्रमित हुन्छौं । कुनै दल भए लोकतन्त्र हुने, नभए नहुने जस्तो ठान्दछौं । लोकतन्त्र र कुनै अमुक दल एकअर्काका पर्यायवाची नै हुन्, ती दल नभए लोकतन्त्र नै संकटमा पर्ने हो कि जस्तो ठान्दछौं ।

लोकतन्त्र भनेको नागरिक सार्वभौम र सर्वोच्च हुने एक राजनीतिक प्रणाली हो । राजनीतिक दल लोकतान्त्रिक प्रणालीलाई जिवन्त राख्ने औजार मात्र हुन् । कुनै औजारमा खिया लाग्यो र भुत्ते भयो भन्दैमा कुनै कर्मको औचित्य अन्त्य हुँदैन । बञ्चरो भुत्ते भयो भने काठ काट्ने कामको आवश्यकता अन्त्य हुँदैन । चुलेसी भुत्ते भयो भने तरकारी काट्ने काम सधैलाई सकिँदैन । फेरि नयाँ औजार बनाउनुपर्ने हुन्छ। नयाँ बञ्चरो र चुलेसी बनाउनुपर्ने हुन्छ।

राजनीतिक दल भनेका त्यस्तै हुन् । दलविना लोकतान्त्रिक प्रणाली क्रियाशील हुँदैन। तर, कुनै दल भएर वा नभएर लोकतन्त्रलाई कुनै फरक पर्दैन । सम्भावना भएसम्म पुरानैलाई पाइन चढाउन, साँध लगाउन वा अर्जाप्न सकिन्छ । तर, कामै नलाग्ने गरी खिया लाग्यो र पत्रु भयो भने नयाँ बनाउनै पर्छ।

लोकतन्त्रमा दलहरू गठन र विघठन, उदय र अन्त्य, विस्तार र संकुचन हुने आफ्नै प्रक्रिया हुन्छ । यो प्रक्रिया स्वभाविक हो । कतिपय दलको जीवन लामो हुन्छ भने कतिपयको छोटो । त्यसो हुनुका अनेक कारण हुन्छन् । कसैले चाहे वा नचाहे पनि परिस्थितिले त्यसो हुन आवश्यक बनाइदिन्छ ।

तसर्थ, पुराना दलहरू मर्ने र नयाँ दलहरूको उदय हुने प्रक्रियाबाट कोही पनि आत्तिन, भयभित हुन जरुरी छैन । के-के न हुन लाग्यो, आकाश खस्ने भो, धर्ती फुट्ने भो भने जस्तो ठान्न जरुरी छैन। यो काम कसैको रहर वा लहडले हुने हैन, युगिन दृष्टिकोणबाट ऐतिहासिक आवश्यकता र अपरिहार्यताबाट घटित हुने हो । राम्रो हुनकै लागि यस्तो हुने हो । तसर्थ, यो भयभित हुनेभन्दा बढी खुसी हुनुपर्ने, स्वागतयोग्य कुरा हो ।

कतिपय ऐतिहासिक महत्त्वका दलहरूसमेत समाप्त भएर जान्छन् । जस्तो कि, नेपालमा प्रजा परिषद् समाप्त भयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा यसको ठूलो भूमिका र योगदान थियो । वि.स. १९९७ सालका राणा शासनविरोधी ४ प्रातस्मरणीय शहीदमध्ये ३ जना धर्मभक्त माथेमा, दशरथ चन्द, र गंगालाल श्रेष्ठले यही पार्टीप्रति आस्था राख्थे ।

हाम्रो मात्र हैन, अरु लोकतान्त्रिक मुलुकको इतिहासलाई हेर्‍यो भने पनि यो कुरा प्रष्ट देखिन्छ। उदाहरणका लागि विश्वका तीन लोकतान्त्रिक मुलुक अमेरिका, वेलायत र भारतको पार्टी इतिहासको चर्चा गर्न चाहन्छु । यी तीनवटै देशको राजनीतिक इतिहास र सन्दर्भ फरक-फरक छ । तर, पार्टीहरू जन्मिने र मर्ने प्रक्रिया भने तीनवटै देशमा देखिन्छ।

अमेरिकी स्वतन्त्रता संग्राम भारतको भारतीय राष्ट्रिय कांग्रेसजस्तो कुनै संगठनको नेतृत्वमा भएको थिएन । बरु निर्वाचित उपनिवेश परिषदहरूले नै बेलायती साम्राज्यसँग विद्रोह र संघर्ष गरेका थिए । स्वतन्त्रतापछि जर्ज वासिङगटन सन् १७८९–१९९७ सम्म दुई कार्यकाल राष्ट्रपति भए । तर, उनको कुनै पार्टी थिएन ।

वासिङगटनले संस्थापक पिता मध्येका दुई प्रभावशाली बौद्धिक तथा योद्धा अलेक्जेन्डर हमिल्टन र थोमस जेफर्सन दुवैलाई आफ्नो सरकारमा राखेका थिए । हेमिल्टन अर्थ र जेफर्सन विदेशमन्त्री थिए ।

पार्टीहरूको उत्थान र पतनका यी घटनाले अमेरिकी लोकतन्त्रको निरन्तरतामा कुनै फरक परेको छैन । बरु अमेरिकी लोकतन्त्र र राष्ट्र झन उन्नत र संमृद्ध भएको छ । जस्तो कि ह्विग पार्टी कायम रहेको, रिपब्लिकन पार्टी नबनेको र अब्राहम लिंकनको उदय नभएको भए सायद दास प्रथाको अन्त्य नहुन सक्थ्यो वा गृहयुद्धमा अमेरिका नै टुक्रिन सक्थ्यो ।

अमेरिकामा पार्टीको उदय सन् १९९६ को तेस्रो राष्ट्रपतीय कार्यकालको चुनावको क्रममा भयो । हेमिल्टन पक्षधरलाई ‘फेडेरेस्टी पार्टी’ भन्न थालियो । जेफर्सनले ‘डेमोक्र्याटिक–रिपब्लिकन पार्टी’ बनाए । स्मरणीय के छ भने यो पार्टी अहिलेका डेमोक्र्याटक र रिपब्लिकन दुवै हैन। त्यो चुनाव फेडेरालिस्ट पार्टीका जोहन आडम्सले जिते, जेफर्सनले हारे । तर, सन् १८०० को चुनाव भने जेफर्सनले जिते।

आज यी दुवै पार्टी अमेरिकामा छैनन् । यी दुई पार्टीबीचको प्रतिस्पर्धाको युग भन्ने बुझाउन यो अवधिलाई अमेरिकी पार्टी प्रणालीको पहिलो चरण मानिन्छ । सन् १८२८ मा यी दुवै पार्टी समाप्त भएर नयाँ दुई पार्टी जन्मिए । एन्ड्र्यु ज्याक्सनको नेतृत्वमा ‘डेमोक्र्याटिक पार्टी’ बन्यो भने हेनरी क्लेको नेतृत्वमा ‘ह्वीग पार्टी’ बन्यो ।

तीमध्ये डेमोक्र्याटिक पार्टी अहिलेसम्म छ । तर ‘ह्विग पार्टी’ भने सन् १८५६ मा समाप्त भयो । यो अवधिलाई दोस्रो चरणको पार्टी प्रणाली भनिन्छ । यहाँनेर प्रश्न उठ्छ– हेनरी ह्यारिसन, जोन टेलर, जाचरी टेलर र मिलार्ड फिलमोर गरी ४ राष्ट्रपति जिताएको ह्विग पार्टी किन सकियो ? त्यो त्यसै भएको हैन । त्यस्तो वस्तुगत परिस्थिति सिर्जना भयो त्यसका कारण थिए दासप्रथा अन्त्य गर्ने विषयमा भएको मतभेद र अमेरिकी गृहयुद्ध।

अमेरिकी पार्टी प्रणालीको तेस्रो चरण सन् १८५६ देखि १८९० सम्मलाई मानिन्छ । यो चरणको विशेषता भनेको नयाँ रिपब्लिकन पार्टीको स्थापना, त्यस पार्टीबाट पहिलो राष्ट्रपतिका रूपमा सन् १८६१ मा अब्राहम लिंकनको विजय, दास प्रथाको अन्त्य र गृहयुद्धमा देश विभाजन हुनबाट जोगिनु थियो ।

त्यसयता, पनि यी दुई पार्टीमा उल्लेखनीय विभाजन भएको छ । सन् १९१२ मा थियोडर रुजबेल्टले रिपब्लिकन पार्टी विभाजन गरी ‘प्रोग्रेसिभ पार्टी’ बनाए । यो पार्टी सन् १९३२ सम्म निरन्तर तेस्रो पार्टी भयो । यस बीचका सबै राष्ट्रपतीय चुनाव डेमोक्र्याट्सहरूले जिते । तसर्थ, यसलाई ‘प्रोग्रेसिभ इरा’ भन्ने प्रचलन छ।

तर, पार्टीहरूको उत्थान र पतनका यी घटनाले अमेरिकी लोकतन्त्रको निरन्तरतामा कुनै फरक परेको छैन । बरु अमेरिकी लोकतन्त्र र राष्ट्र झन उन्नत र संमृद्ध भएको छ । जस्तो कि ह्विग पार्टी कायम रहेको, रिपब्लिकन पार्टी नबनेको र अब्राहम लिंकनको उदय नभएको भए सायद दास प्रथाको अन्त्य नहुन सक्थ्यो वा गृहयुद्धमा अमेरिका नै टुक्रिन सक्थ्यो ।

थियोडोर रुजबेल्टले प्रोग्रेसिभ पार्टी नबनाएको भए डेमोक्रेटिक धारको सुधार भई फ्रांकलिन डि. रुजबेल्टको उदय, महामन्दीको अन्त्य र न्यु डिलमार्फत् आधुनिक अमेरिकी अर्थतन्त्रको जग नबस्न वा दोस्रो विश्वयुद्धमा जर्मनको पराजय र नयाँ शक्ति राष्ट्रको रुपमा अमेरिकाको उदय नहुन सक्थ्यो।

पार्टी पुनर्गठित भएका दुवै मोडमा अमेरिकी राष्ट्र र जनतालाई धेरै ठूलो फाइदा भएको छ। बेलायतमा भने राजनीतिक दल राजतन्त्र विरुद्धको नागरिक अधिकारका लागि भएका संघर्षको क्रममा जन्मेका हुन । यस्तो ध्रुवीकरण सन् १६४२–१६५१ बीचको गृहयुद्धको समयमा नै भइसकेको थियो ।

राजतन्त्रमा विश्वास गर्नेहरूले आफूलाई ‘टोरी’ भन्थे र संसदको सर्वोच्चतामा विश्वास गर्नेहरूले आफूलाई ‘ह्विग पार्टी’ भन्थे । आज पनि यी पार्टीका वैचारिक उत्तराधिकार कन्जर्भेटिभ पार्टी र लिवरल डेमोक्र्याटिक पार्टीका रूपमा छन् । तर, लेबर र एसएनपीलगायतका दल उदयको इतिहासलाई पार्टीहरूमा आएको फेरबदलको रूपमा लिनुपर्ने हुन्छ ।

लेबर पार्टी सन् १९०० तिर आएर बन्यो र सन् १९२० को दशकबाट उदय भने एसएनपीको उदयले बेलायतलाई ‘अघोषित संघात्मक मुलुक’ बन्नुपर्ने स्थितिमा पुर्‍यायो ।

भारतमा सन् १८८५ मा भारतीय राष्ट्रिय कांग्रेसको गठन स्वतन्त्रताका लागि भएको थिएन । यो एक प्रकारको ‘एलिट क्लब’ जस्तो थियो । पछि यो स्वतन्त्रताको योद्धा संगठन बन्न पुग्यो । तर, १९१० को दशकमै भारतमा फरक राजनीतिक विचारधाराको बिउ रोपिएर राजनीतिक संगठनहरू जन्मिसकेका थिए।

कांग्रेसभित्रको महात्मा गान्धी–जवाहरलाल धार आजको कांग्रेस हो । डा. राममनोहर लोहिया, आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण धारमा आज आरजेडी, जेडियु, सपा, जनता दल (सेक्युलर), बिजु जनता दलआदि अनेक पार्टी छन् ।

सन् १९१२ मा विनायक दामोदर सावरकरले गठन गरेको अखिल भारतीय हिन्दू महासभाको वैचारिक उत्तराधिकार अहिलेको भाजपा छ । सन् १९१९ मा भारतीय कम्युनिष्ट पार्टी बन्यो । यी त सामान्य वैचारिक धार हुन् । त्यस यताका हरेक दशकमा त्यहाँ राजनीतिक दलहरूको जन्मिने र मर्ने प्रक्रिया जारी छ ।

आजको भाजपा पनि अहिलेको रूपमा पुनर्संगठित भएको सन् १९८० को दशकमा मात्र हो । सबैभन्दा कान्छो प्रभावशाली पार्टीका रूपमा आम आदमी पार्टी बनेको छ जो १० वर्षभित्रै दुई राज्यमा सरकार चलाउन सक्ने राष्ट्रिय पार्टी भइसकेको छ। सन् २०१० यता तीन पुराना पार्टी कांग्रेस, कम्युनिस्ट र लोहियावादी समाजवादीहरू निरन्तर कमजोर हुँदै गएका छन् भने भाजपा र आप शक्तिशाली हुँदै गएका छन्।

यी तीनवटै लोकतान्त्रिक देशका राजनीतिक दलहरूको इतिहासको अनुभव के हो भने कुनै ऐतिहासिक क्षणमा बलिया रहेका वा महत्त्वपूर्ण भूमिका गरेका दल कमजोर हुँदैमा लोकतन्त्र र राष्ट्र कमजोर हुँदैन । बरु नयाँ-नयाँ दलको जन्म, विकास र उदयले लोकतन्त्रलाई झन जीवन्त बनाउन, राज्यका प्रदुषणलाई शुद्धिकरण गर्न, अझ उन्नत लोकतान्त्रिक अभ्यास विकास गर्न र राष्ट्रनिर्माणमा थप योगदान गर्न मद्दत गर्दछ ।

संसारभरि नवोदित लोकतन्त्रले जरा गाड्दै गर्दा यहाँ राजा महेन्द्रले निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लाद्दै थिए । सन् १९९० तिर विश्वभरि एक दलीय कम्युनिस्ट शासनहरू संसारभरि ढल्दै थिए, यहाँ भने कम्युनिस्टहरू झनै बलिया हुँदै र सशस्त्र विद्रोह सुरु गर्दै थिए। यसले के पुष्टि गर्दछ भने विश्व चेतना र विकासस्तरसँग हाम्रो चेतना र विकासस्तरको लय वा गति मिलेकै छैन । संसार एकातिर हुँदा हामी अर्कोतिर हुन्छौं ।

ठीक यही कुरालाई नेपालका सन्दर्भमा हेर्ने हो भने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी यहाँका मुख्य ठूला, पुराना पार्टी हुन भन्ने कुरामा कुनै विमति छैन । राप्रपा दल भन्दा पनि ‘राजावादी’ हरुको राजनीतिक मोर्चा हो । त्यसबाट लोकतन्त्रको विकास र राष्ट्रको उन्नतिमा कुनै योगदानको अपेक्षा सकिँदैन ।

कम्युनिस्ट धारमा हुने टुटफुट र नयाँ विकल्पहरूको चरण अन्त्य भएजस्तो देखिन्छ । जस्तो कि एमालेको विरुद्धमा कम्युनिस्ट धारबाट माओवादी आयो । तर, अन्ततः एमाले जस्तै नै बन्न पुग्यो । आज कम्युनिस्ट समूहहरू बीचको भिन्नता के हो ? कुन साँचो मार्क्सवादी–लेनिनवादी–माओवादी हो ? कुन झुठो हो ? गुट–स्वार्थ र नेतृत्वको महत्त्वाकांक्षालाई छोड्ने हो भने एजेन्डाको भिन्नता के हो ? चरित्र र व्यवहारको भिन्नता के हो ? कसैले भन्न सक्दैन ।

नेपाललाई विश्वसँग तुलना गर्दा त्यसै पनि ढिलो देश हो । अमेरिका संघीय लोकतान्त्रिक गणतन्त्र बन्दै गर्दा यहाँ एकात्मकतावादी राजतन्त्र बलियो हुँदै थियो । रुसमा जारी शाही ढल्दै र अक्टोबर क्रान्ति हुँदै गर्दा यहाँ राणशाही बलियो थियो । संसारभरि नवोदित लोकतन्त्रले जरा गाड्दै गर्दा यहाँ राजा महेन्द्रले निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लाद्दै थिए । सन् १९९० तिर विश्वभरि एक दलीय कम्युनिस्ट शासनहरू संसारभरि ढल्दै थिए, यहाँ भने कम्युनिस्टहरू झनै बलिया हुँदै र सशस्त्र विद्रोह सुरु गर्दै थिए।

यसले के पुष्टि गर्दछ भने विश्व चेतना र विकासस्तरसँग हाम्रो चेतना र विकासस्तरको लय वा गति मिलेकै छैन । संसार एकातिर हुँदा हामी अर्कोतिर हुन्छौं । विश्वको लागि नेपाल ‘घाट्टो–स्टेट’ जस्तै हो । जतिसुकै ‘पुँजीवाद’ ले निलिसक्यो भनेर कोकोहोलो गरे पनि नेपालको पुँजीवाद ‘कोर पुँजीवाद’ हैन, ‘पेरिफेरियल पुँजीवाद’ नै हो । जतिसुकै लोकतन्त्रको कुरा गरे पनि ‘कांग्रेस– कम्युनिस्ट युग’ को लोकतन्त्र सीमित, औपचारिक, विकृत र कमसल गुणस्तरको लोकतन्त्र ( मेडियोकोर डेमोक्रेसी ) नै हो ।

कांग्रेस–कम्युनिस्ट युगको लोकतन्त्र (कांक लोकतन्त्र ) प्रति आज खडा भएका प्रश्न– के हाम्रो लोकतन्त्रको गुणस्तर यस्तै वा यत्तिकै मात्र हुनुपर्ने हो ? हाम्रो शासन-प्रशासनको ढाँचा, शैली र क्षमतास्तर यस्तै वा यत्तिकै मात्र हुनुपर्ने हो ? हाम्रो अर्थतन्त्रको स्थिति र जनताको जीवनस्तर यस्तै र यतिकै मात्र हुन पर्ने हो ? विश्वमा हाम्रो सम्मान र पहिचान यतिकै वा यस्तै मात्र हुनुपर्ने हो ? यदि, हैन भने कांग्रेस–कम्युनिस्टहरूलाई गर्न कति समय चाहिने हो ? ३३ वर्ष भइसक्यो, अब कति वर्ष ? कति मौका दिने यिनीहरूलाई ? जति नै मौका, जतिपटक भोट दिए पनि के यी सुध्रिनेवाला छन् र ? कि झन्-झन् नालायक, असक्षम र पतित हुँदैछन् ?

गत मंसिरमा सम्पन्न आम चुनाव र भर्खरै सम्पन्न उपचुनावको संकेत के हो भने अब जनता पर्खि‌ंने मुडमा छैनन् । त्यसो भन्नुको अर्थ, कांग्रेस–कम्युनिस्टलाई थप समय दिने मुडमा छैनन् । जनता परिवर्तन चाहन्छन् । र त्यो आकांक्षा पुराना राजनीतिक दलहरूको अन्त्य र नयाँ दलहरूको उदयको रूपमा प्रकट हुन सक्दछ । यसो हुने प्रखर सम्भावना छ । भयो भने अब कुनै आश्चर्य हुँदैन ।

नेपाली कांग्रेस र नेकपाका विभिन्न समूह विगत शताब्दीको विचारधारा र दृष्टिकोणमा बनेका शास्त्रीय दलहरू नै हुन् । यिनीहरूको ‘शास्त्रीय सोच’ र युवा पुस्ताका मतदाताको ‘समसामयिक सपना’ बीच धेरै ठूलो खाडल तयार भइसकेको छ । यही खाडलले यी दललाई सिध्याउन सक्दछ ।

बेलायतबाट भारत हुँदै आएको संसदीय प्रणालीलाई मात्र लोकतन्त्र ठान्ने सोचबाट नेपाली कांग्रेस कहिल्यै मुक्त भएन । कम्युनिस्ट घटकहरूले पूर्वी युरोप र सोभियत संघको पतनपछि आफ्नो विचारधारको मौलिक तागत गुमाए र नेपाली कांग्रेसकै ठाउँमा पुगे ।

बेलायत र सोभियत संघ मोडेलभन्दा बाहिर पनि राजनीतिक ज्ञान र लोकतान्त्रिक प्रारुप हुन सक्दछ भन्ने यिनीहरुले कहिल्यै सोच्न चाहेनन् । ‘कांक लोकतन्त्र’ को वैचारिक संकट यही हो । जुन सोच र प्रणालीलाई उनीहरू आदर्श मानेर चलिरहेका छन, त्यो नेपालका लागि अनुपयुक्त देखिएको र अभूतपूर्व संकटमा फसेको छ।

तर, कांग्रेस–कम्युनिस्टहरूको समस्या वैचारिकभन्दा बढी अवैचारिक र व्यवहारगत हो । राजनीति र राज्यलाई उनीहरूले जरुरी बुझे र चलाए, त्यसबाट जुन विकृति, विसंगति, वेथिति, विभेद, विचौलियातन्त्र, सिन्डिकेट, लुट, गुट र फुटतन्त्रको विस्तार भयो, जुनस्तरमा कुशासन, कमिसनतन्त्र र भ्रष्टाचार मौलायो, जसरी देश निरन्तर अल्पविकास र आर्थिक संकटमा फस्दै गयो, यो जनता र मतदातालाई असैह्य भइसकेको छ । यही कारणले गर्दा ‘कांक लोकतन्त्रको युग’ अन्त्य हुन सक्ने तीव्र सम्भावना छ ।

कांग्रेस र कम्युनिस्ट–यी दुई दल हिजो फरक वैचारिकी र पृष्ठभूमिमा आधारित थिए। कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ र उदार संसदीय लोकतन्त्रको कुरा गर्थ्यो । कम्युनिस्टहरू सर्वहारा राज्य, नयाँ जनवादी क्रान्ति, समाजवाद र साम्यवादको विचारबाट प्रेरित थिए । आज यी दुवै दलबीच विचार र व्यवहारको भिन्नता समाप्त भएको छ । दुवै विकृत संसदीय प्रणालीका पक्षधर र त्यसको भ्रष्ट अभ्यासका संवाहक बनेका छन् ।

कांग्रेस र कम्युनिस्टलाई सिध्याउने मुख्य कुरा– सिन्डिकेटतन्त्र र भ्रष्टाचार हुने देखिन्छ । गठबन्धनका नाममा यी दलले जेजस्ता राजनीतिक सिन्डिकेट चुनाव अघि वा पछि बनाउने गरेका छन्, ती सर्वत्र अराजनीतिक, अवैचारिक, विजातीय र स्वार्थप्रेरित हुन्छन् । अनैतिकता, अस्थीरता र अवसरवादका कारक हुन्छन्।

भ्रष्टाचारको त कुरै गर्न परेन । भ्रष्टाचारमा सर्वदलीय सहमति हुने र कमिसनको रकम तीन ठूला दलका शीर्ष नेताहरूले भागबन्डा गर्ने गरेका दर्जनौं उदाहरण छन् । राज्य कब्जाको स्थितिमा त्यस्ता दर्जनौं काण्डहरू प्रमाणित होलान्, नहोलान्, कसैले दण्ड पाउला या नपाउला, त्यो भिन्नै कुरा हो । तर, जनस्तरमा यिनीहरूका कुकर्मका यति धेरै सूचना प्रवाह भइसकेका छन् कि यी दल र यिनका नेतालाई पत्याउन अब जस कसैलाई गाह्रो छ ।

सन् २०१४ को आम निर्वाचनको पृष्ठभूमिमा छिमेकी देश भारतको स्थिति ठीक यस्तै थियो । यही पृष्ठभूमिमा कांग्रेस, कम्युनिस्ट र समाजवादी नामका ‘युपिए’ गठबन्धनमा भएका दलहरू कमजोर भएका थिए । अन्ना हजारे र रामदेव स्वामीले भ्रष्टाचार विरोधी अभियान चलाएका थिए । त्यही क्रममा भाजपा र आपको उदय भएको थियो । नेपालको स्थिति आज ठीक त्यस्तै देखिन्छ ।

कांग्रेस–कम्युनिस्टबाट वाक्क, दिक्क, प्याक्क भएर मतदाताले विकल्प खोज्न थालेका हुन् । रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयको मुख्य संकेत, सन्देश र सार यही थियो । तर, प्रश्न फेरि पनि के हो भने यी दलले पनि जनताको भावनालाई न्याय गर्न सक्दछन् कि सक्दैनन्, त्यो अझै अस्पष्ट छ । यी दल सत्ता र सरकारका लागि उत्तिकै लालायित देखिन्छन् । पुरानै गठबन्धनमा टाँसिएर खाने भावना यी दलमा पनि बलियो छ ।

तसर्थ, देशमा एक सशक्त ‘प्रगतिशील–लोकतान्त्रिक विकल्प’ को स्पेस यद्यपि खाली छ । नयाँ उदाएका तीन दल रास्वपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यो आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना अहिलेसम्म प्रखर छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved