आज चैत्र २६ गते । देशको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एक महत्त्वपूर्ण दिन । आजकै दिन ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको जनान्दोलन चरमोत्कर्षमा पुगेको थियो । आजकै दिन मध्यरातमा तत्कालीन राजा वीरेन्द्र शाह दलमाथिको प्रतिबन्ध हटाउन सहमत भएका थिए ।
आजकै दिन शाहवंशका सर्वाधिक निरंकुश राजा महेन्द्र शाहले २०१७ साल पुष १ गते गरेको निर्वाचित संसद् विघटन र सैन्य ‘कु’ बाट स्थापित तनाशाही व्यवस्था अन्त्य हुने निश्चित भएको थियो । आजकै दिन देशको राजनीतिले एक नयाँ मोड लिएको थियो । र, त्यो हाम्रो पुस्ताको राजनीतिक जीवनको सबैभन्दा ठूलो मोड थियो ।
त्यतिखेर यसलाई निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको संयुक्त जनान्दोलन भनिन्थ्यो । अहिले पहिलो जनान्दोलन भन्न थालिएको छ । नेपाली कांग्रेस र तत्कालीन वाम मोर्चाको संयुक्त नेतृत्वमा भएको थियो यो आन्दोलन । आन्दोलनका सर्वोच्च कमान्डर थिए– कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह ।
ती दिन म १९ वर्षे ठिटो थिएँ । भर्खरै आईकम दोस्रो वर्षको अन्तिम परीक्षा सकेर नतिजा पर्खेर बसेको थिएँ । ठीक, यही बेला २०४६ सालको आन्दोलन भयो । र, आज आफ्नो भागमा परेको आन्दोलनको स्मरण गर्न चाहन्छु ।
२०४६ सालको जनान्दोलन सम्भव हुनुमा पृष्ठभागमा दुई महत्त्वपूर्ण घटना थिए । अन्यथा २०३६ सालको जनमत संग्रहमा निर्दल पक्षको जितको घोषणापछि पञ्चायती व्यवस्था निर्विकल्प भयो, आकासमा घाम, जुन र तारा रहेसम्म यो रहन्छ भनिन्थ्यो । पञ्चहरूले भर्खरै पञ्चायतको रजत जयन्ती मनाएका थिए ।
पहिलो घटना थियो– २०४५ साल भाद्र ५ गतेको भूकम्प । यसले गरेको जनधनको क्षति र पञ्चायती व्यवस्था भूकम्पपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा असफल भएबाट उत्पन्न जनअसन्तोष । क्षतिका मुख्य केन्द्र भक्तपुर र धरान थिए । यसै निहुँमा भक्तपुरमा कर्णबहादुर ह्यैजू हत्याकाण्ड भएको थियो ।
मरिचमान सिंह सरकारले ह्यैजु हत्याकाण्डमा भक्तपुरका लोकप्रिय नेता नारायणमान विजुक्छे ऊर्फ कमरेड रोहितलाई पक्राउ परेर ठूलो राजनीतिक जोखिम मोलेको थियो ।
दोस्रो घटना थियो– २०४५ साल चैत्र १० गते भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दी र त्यसबाट सृजित अभाव र अराजकता । यी दुई देशलाई प्रभावित गर्ने घटना थिए ।
पूर्वी नेपालमा भने तेस्रो घटनाको प्रभाव र जनअसन्तोष पनि उत्तिकै बलियो थियो– मेघालय काण्ड । पूर्वोत्तर भारतमा नेपाली मूलका मानिसविरुद्ध हिंस्रक आक्रमण भइरहेका थिए । मरिचमान सिंह सरकार यसबारे भारतसँग कुरा गर्नसक्ने हैसियतमा थिएन ।
मेघालयलबाट धपाइएका नेपाली मूलका मानिस पूर्वी नेपालतिर ओइरिँदै थिए । यसविरुद्ध भइरहेका जनप्रदर्शनमा झापाको सुरुङगामा लक्ष्मी पाण्डे नामका एक विद्यार्थी प्रहरीको गोलीबाट मारिएका थिए ।
यी तीन ठूला घटनाको पृष्ठभूमिमा पूर्वी नेपालमा जनविद्रोहको संकेत देखिँदै थियो ।
सँगसँगै चौथो घटना जोडिएर आयो । झापा विद्रोहका बन्दीको रिहाइ । र, अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल भइदियो, पूर्वी युरोपमा एकदलीय कम्युनिष्ट प्रणालीको पतनको सुरुवातले । रुमानियामा निकोलाई चाउचेस्कु शासनको पतन भएको थियो ।
म त्यतिखेर भूमिगत पार्टी नेकपा (माले) निकट अनेरास्ववियुको सुनसरी जिल्ला सदस्य थिएँ । २०४६ सालको भाद्रतिरबाट हिउँदमा ठूलो आन्दोलन हुने अनुमान निश्चितजस्तो भएको थियो । त्यतिखेरैबाट हामीले आन्दोलनको आन्तरिक तयार सुरु गरेका थियौं ।
कार्तिक महिनाको कुनै गते इटहरीको खाद्य गोदाम छेउको नारायण घिमिरे नामका एक मित्रको घरमा रातभर बैठक गरेर जिल्लामा विद्यार्थी क्षेत्रको आन्दोलन योजना बनाइएको थियो । मलाई सम्झना छ कि त्यो बैठकमा अहिलेका एमाले नेता योगेश भट्टराई पनि थिए । त्यो बेला उनी माले अखिलको केन्द्रीय सदस्य थिए ।
माघको १९ गते जस्तो लाग्दछ, महेन्द्र मोरङ क्याम्पसको हाताभित्र मोहनचन्द्र अधिकारीलगायतका झापा विद्रोहका बन्दीको अभिनन्दन कार्यक्रम थियो । मैले मोहनचन्द्र अधिकारी (जो त्यो बेला ‘नेपालका नेल्सन माण्डेला’ को उपमाले सम्मानित थिए) लाई पहिलोपटक त्यहीँ देखेँ ।
घनश्याम भुसाल अखिलका महासचिव थिए । उनी त्यो दिन बिहानै विराटनगर पुगेर मञ्च बनाउने खाट र कुर्सी बोकिरहेका थिए । जीवनमा पहिलोपटक भुसाललाई त्यही देखेँ । उनको जोडदार भाषण पनि पहिलोपटक त्यही सुनेँ । त्यो बेला भुसालको भाषणले युवा विद्यार्थीको रगत नउमाल्नु असम्भव थियो ।
फाल्गुन ७ गतेदेखि आन्दोलन सुरु हुने तय भइसकेको थियो । मैले आफ्नो गाउँका लागि आन्दोलनको तरिका सोच्न थाले । फाल्गुन ७ गते देशको परम्परागत प्रजातन्त्र दिवस हो । पञ्चहरूले हरेक पञ्चायतमा केही न केही कार्यक्रम राख्थे ।
हामीले योजना बनायौं, बीस-पच्चिस जनाको हुल बाँधेर त्यहाँ जाने । माइक मागेर, नदिए खोसेर, त्यहीबाट पञ्चायतको विरोध गर्ने, पञ्चायत र प्रजातन्त्र परस्पर विरोधी चीज हुन्, पञ्चायतलाई प्रजातन्त्र दिवस मनाउने कुनै नौतिक अधिकार छैन भनेर प्रष्ट पार्ने, आन्दोलनको आव्हान गर्ने, प्रहरी आइ नपुग्दै भाग्ने ।
यस्तो गर्न सके साहस र सेन्सेसन दुवै हुनेछ, हल्लीहल्ली हुनेछ भन्ने लाग्यो । हाम्रो गाउँमा यसो गर्न सम्भव थियो । वरिपरिका अधिकांश गाउँका युवा विद्यार्थीबीच हामी बलियो पकड राख्थ्यौं । हामी दिनरात नभनी वल्लो गाउँ, पल्लो गाउँ सङ्गठन, बैठक र सरसल्लाहतिर लाग्यौं ।
माघ २५ गते राति अबेर घर आएर सुतेँ । २६ गते बिहान निद्रामै कानमा कुनै अनौठो आवाज थर्किएजस्तो लाग्यो । कानमा खपिनसक्नु चर्को दबाब परेपछि झ्याल खोलेर बाहिर हेरेँ । स्टार्टमै राखिएको पुलिसको भ्यान डगरमा र एक हुल बर्दीधारी हाम्रो घर आँगनमा थिए ।
यति छिट्टैदेखि धरपकड गर्ला भन्ने लागेको थिएन । अन्यथा घर फेरेर गाउँमा सुत्न सकिन्थ्यो । पक्राउ परे पनि ७ गते नै परिएला भन्ने थियो । लौ ! पुलिस त दुई हप्ता अगाडि नै पो आएछ । भाग्न मैले सम्भव देखिनँ । झ्याल खोलेर बाहिर हेर्दा उनीहरूले देखिहाले । घर घेरिसकेका थिए । कपडा लगाएर म आँगनमा झरेँ । प्रहरीले मलाई दुईतिरको पाखुरामा समाते र भ्यानको पछाडि लगेर थेच्याए । भ्यान तुरुन्तै फर्कियो ।
मेरो वरिपरि एउटा मोटे हवल्दार र पाँचजना सिपाही थिए । भ्यानमा मोटो गरी पराल ओछ्याइएको थियो । अरु सबै परालमा ढल्किएर उङ्दै थिए, मोटे हवल्दार र ड्यूटी सिपाहीबाहेक । मोटे हवल्दार झट्ट हेर्दा क्रूर, हिंस्रक र निर्दयीजस्तो लाग्थ्यो । जुङ्गा पाल्ने पुलिसलाई छुट्टै भत्ता दिने चलन थियो त्यसबेला । त्यसैले जुङ्गाको प्रतिस्पर्धा हुन्थ्यो । औसत पुलिसले मुठे जुङ्गा पाल्थे र झट्ट हेर्दा निर्दयीजस्ता देखिन्थे । तर, हैन रहेछ । रातभर ड्यूटी गर्दागर्दा ऊ त हैरान भएको रहेछ ।
ऊ त उल्टै मसँग गुनासो गर्न थाल्यो– हेर्नुस् न भाइ ! रातभर खटाएका छन्, न खान दिन्छन्, न सुत्न दिन्छन् । हामेरले यत्रो दुःख गरेर यिनीहरूको व्यवस्था जोगाइदिनु पर्ने रे ।
पञ्चायतमा पुलिस बढो व्यवस्थाभक्त र राजभक्त हुन्छन् भनिन्थ्यो । तर, न्यून वैतनिक सिपाहीमा त्यस्तो हैन रहेछ । मोटे हवल्दारको कुरा सुनेर म फिस्स हाँसे मात्र, केही बोलिनँ ।
त्यो बिहान बाक्लो हुस्से लागेको थियो । तर, झुम्का चाईनिज क्याम्पमा ठूलो भीडभाड हुन्थ्यो । विश्व बैंकको चतरा नहर पुनर्निर्माण ठेक्का चाईनिज कम्पनीले पाएको थियो । कामदारको साईट जाने समय थियो, त्यो । सुपरभाईजर र चाईनिज हाकिम कामदारलाई साईट पठाउन गाडी चढाउँदै थिए ।
त्यहीँनेरबाट एउटा कामदारलाई टिप्यो पुलिसले । मसँगै भ्यानमा राख्यो । उनी ३० वर्ष जतिका गोरा, हसिला र भद्र प्रकारका मानिस लाग्दथे । तर, हामी बोलेनौँ । हाम्रो चिनजान थिएन अगाडि । उनी तत्कालीन नेकपा (मार्क्सवादी) का जिल्ला सदस्य रहेछन्, धर्मराज निरौला । पछि उनी सुनसरी क्षेत्र नम्बर २ बाट संविधानसभा सभासद भए । जीवनमा धेरै लामो सङ्गत, सहकार्य र मित्रता भयो पछि हाम्रो ।
प्रहरी भ्यान अब पूर्वतिर हान्नियो । लवीपुर चोक पुगेर रोकियो । अर्को जीपमा सिडिओ विन्देश्वरीप्रसाद सिंह रहेछन् । हाम्रा थानेदार मदन खत्रीले उनलाई हाम्रो बारेमा ब्रिफिङ गरे । अर्का मार्क्सवादी तथा धर्मराज निरौलाका साख्य दाइ कमल निरौलालाई पक्रिएपछि प्रहरी भ्यान पश्चिम फर्कियो ।
कमल दाइले प्रहरी भ्यानमै एक्लै नारा लगाउन थाले, पञ्चायती व्यवस्था-मुर्दावाद । भ्यानको पछाडि हुट थिएन र बाटो हिँड्ने मानिसले त्यो दृष्य राम्ररी देख्थे । इनरुवा जिल्ला पुलिस कार्यालयको गेटसम्मै उनले नारा लगाइरहे ।
जिल्ला प्रहरी कार्यालयमा अरु थुप्रै बन्दी भइसकेछन् । जिल्लाका थुप्रै भूमिगत तथा पञ्चायत विरोधी राजनीतिक कार्यकर्तालाई मैले त्यहाँ देखेँ, भेटेँ ।
त्यो रात मलाई प्रहरीले अरु बन्दीबाट एक्ल्याएर राख्यो । छिँडीभित्रको कोठामा । त्यो कोठा ‘चार वाई चार’को थियो, झ्याल नभएको । करिब छ फिट माथि एउटा सानो प्लाल थियो, भेन्टिलेसनको । कोठामा दुईवटा ठूल्ठूला प्लाष्टिकका बाल्टिन थिए ।
एउटा बाल्टिनमा पानी थियो र अर्को बाल्टिन पिसाबले भरिएको थियो । कोठामा करिब एक दर्जन माउ मुसा थिए, उत्तिकै डुहुरा । भुइँमा मुसाले खाएर च्याङ्गलो भएको पटेरको थोत्रो गुन्द्री । ढोका थिएन । रडहरूले थुनेको सानो चेपो । त्यहीबाट भित्र छिर्नुपर्थ्यो । आङ्ग पसारेर सुत्न नमिल्ने । जताबाट तन्किएपनि भित्तामा गएर खुट्टा ठोकिने ।
म कम्बलले मुख छोपेर गुडुल्को परेर सुत्न खोज्थेँ । तर, पटेरको गुन्द्री छेडेर सिमेन्टको भुइँको चिसोले ढाडमा बाँसका सिर्कनालेझैँ हिर्कायो । मुसाहरू आएर जिउँ उधिन्न थाल्थे । पिसाबको बाल्टिनबाट आएको गन्ध नाकबाट छिरेर फोक्सोसम्म नै पुग्यो ।
भरेङ्ग मुनिको छिंडीमा एकजना ड्राइभर थिए, भुजेल थरका अमलेखगंज घर भएका । वीरगञ्ज – विराटनगरको बस चलाउँदा रहेछन् । कोशी ब्यारेज, भाण्टाबारीनेर दुर्घटना भएको हुँदा सुनसरी पुलिसमा राखिएको रहेछ । साहुजी वीरगञ्जबाट कहिले आउला र छुटाएर लैजाला भनेर उनी चिन्तित थिए । रात उनैसँग गफ गरेर बिताइयो ।
माघ २८ गते दिउँसो ३ बजे विराटनगर सिंगिया जेलको जेलर आयो । बन्दीपत्र थमायो । राजवन्दीले पाउने नियम बमोजिमको सिदा पाउने गरी जेलमा राख्ने ब्यहोरा थियो, त्यो पुर्जीमा । अब जेलमा लाने रै’छ भन्ने लाग्यो । हतारमा हामीले वेडिङ विस्तारा मिलायौं र हिँड्न तयार भयौँ ।
एउटा निलो टिपर पुलिस अफिस बाहिर रोकिएको थियो । तिन्ताका त्यस्ता टिपर चाईनिज कम्पनीसँग मात्र थिए । सायद पुलिसले आन्दोलन दबाउने काममा प्रयोग गर्न झुम्का चाईनिज क्वार्टरबाट मागेर ल्याएको थियो । कुम्लोकुटुरो बोकेर हामी त्यही टिपरमा चढ्यौं ।
त्यो साँझ निकै धमिलो थियो । चार बज्दा नबज्दै पूरै रात परिसकेको जस्तो लाग्थ्यो । टिपर इनरुवा बसस्ट्यान्डबाट पश्चिम हुइँकियो । झसङ्ग भएँ । पुर्जी दिएको छ विराटनगर जेलको । लान्छ, पश्चिमतिर । राजविराज वा वीरगञ्ज जेल लान खोजेको हो कि जस्तो लाग्यो । यी दुवै जेल त्यतिखेर यातनाका लागि खुबै बदनाम थिए । हैन रहेछ । विराटनगर जेल बन्दीले भरिएको कारण लौकही थानामा बन्दी शिविर खोलिएको रहेछ ।
लौकही शिविरमा हामी पुग्दा अगाडिदेखि नै केही बन्दी थिए । तीनैमध्ये एक थिए– पूर्ण खड्का । उनी अखिलतर्फबाट धरान हात्तीसार क्याम्पसमा स्ववियू सभापति थिए । पूर्णजी र म एकअर्कालाई अगडिदेखि नै चिन्थ्यौं । सम्मेलनमा एकअर्कालाई झल्याकझुलुक देखेका थियौँ । उनको घर झापा थियो । उनी बि-टेकका विद्यार्थी थिए । पूर्णजीले नयाँ बन्दीको स्वागत गर्न कालो चिया बनाए । लौकही थानमा बन्दी थपिँदै गए र केही दिनभित्र ८८ जना पुग्यौँ ।
अब सुरुवात भयो अनिश्चितकालीन बन्दी शिविरको जीवन । कहिलेसम्म थुनिनु पर्ने हो, कुनै टुङ्गो छैन । आन्दोलन सफल भए हामी पक्का छुट्नेछौ । नत्र कतिन्जेल हो ?
धरानका कृष्णप्रसाद श्रेष्ठ नेकपा (बर्मा समूह) का पोलिटब्यूरो सदस्य थिए । उनले घरबाट मगाएको रेडियो थियो । समाचार सुन्थ्यौँ, बीबीसी, भ्वाइस अफ अमेरिका र अल इन्डियाको आकाशवाणीबाट । सुरुका दिनमा नेपालसम्बन्धी खासै खबर आउँदैन थिए । तथापि हामी आशावादी हुन् । हरेक बुलेटिन सुन्थ्यौँ । नेपालसम्बन्धी खवर केही छ की ? बीबीसीमा अलिक धेरै आउँथे । भ्वाइस अफ अमेरिका र आकासवाणीमा भने आन्दोलन चर्किएपछि मात्र आउन थाले ।
फाल्गुन २ गते साँझको घटना हो जस्तो लाग्छ । डीएसपी किरण गौतम र एसपी गयाप्रसाद साहु बन्दी शिविरको निरीक्षणमा आए । हामी खाना खाएर ढल्किँदै मात्र थियौँ– एसपी साहु बन्दीहरूलाई तथानाम गाली गर्दै भित्र पसे । उनी रक्सीले टिल्ल मातेका थिए । ढुन्मुनिँदै घरी कोठाको यो छेऊ र घरी त्यो छेऊ पुग्थे ।
कुनै इज्ज्जत राखेनन् तिनले, सबै बके, साला नक्सलाईटहरू, वामेहरू, अन्तर्राष्ट्रिय तत्वहरू, बहुदलेहरू, …बानहरू, आदि इत्यादि । बडो यत्नपूर्वक डीएसपी गौतमले ऊसलाई कुनै अनर्थ गर्नबाट रोके । उनी कतिसम्म उत्तेजित थिए कि ‘ए ! केटो हो ! आओ हान गोली …बानहरूलाई सोत्तर पारेर लगेर सप्तकोशीमा बगाउनु पर्दछ’सम्म भन्दै थिए ।
हामी ३ जना एउटै उमेर समूहका केटा थियौँ त्यहाँ– २० वर्ष मुनिका । तीमध्ये दुई बन्दी मभन्दा पनि कम उमेरका थिए, केही महिनाले, बासु कोइराला र सुरेन्द्र उप्रेती । बासुपछि नेविसंघको महामन्त्री भए । एक सडक दुर्घटनामा उनको निधन भयो ।
सुरेन्द्र बडो ‘बोल्ड’ स्वभावका हलक्क बढेका अग्ला युवक थिए । झापा घर भएका धरान इन्जिनियरिङ्ग क्याम्पसमा पढ्ने । उनी अखिल समर्थक नै थिए । धेरै वर्षपछि काँकटभिट्टामा भेट भयो उनीसँग एकपटक, व्यापार गरेर बस्दा रहेछन्।
फाल्गुन ७ गते आयो । बन्दी शिविरभित्रै केही कार्यक्रम गरौं भन्ने कुरा भयो । कसैले गीत गाउने, कसैले भाषण गर्ने, कसैले कविता भन्ने आदि । त्यो बेला मैले गजल लेख्ने अभ्यास गर्थेँ । त्यही सुनाएँ ।
शिवेश्वर मण्डल, एक कांग्रेस समर्थक बन्दी थिए मोरङ घर भएका । उनीसँग मेरो मित्रता बडो विचित्र प्रकारको थियो । उमेरले उनी मभन्दा धेरै जेठा थिए । मधेसी मूलका मानिस, विचारले कांग्रेस समर्थक । बलिष्ठ शरीर भएका पहलमानजस्ता थिए । चुरोटका शौखिन । यही चुरोटको निहुँमा हेलमेल सुरुवात भएको थियो हाम्रो । त्यसपछि त उनले आफ्नो वेडिङ्ग नै सारेर मेरो छेउ ल्याए ।
उनी आफूलाई बीपी कोइरालाको अंगरक्षक भन्थे । लठ्ठी घुमाउने, बन्दुक चलाउने, पहलमानी खेल्ने, ‘ग्रुप फर्मेशन’ गर्ने सबै युद्धकलामा आफू पोख्त भएको बताउँथे । २०३६ सालको जमनत संग्रहताका बीपीसँग बहुदलको प्रचारमा सँगसँगै हिँडेका रहेछन् । बीपीको निधनपछि कोइराला परिवारले आफ्नो महत्त्व नबुझेको गुनासो थियो उनको । उनले दुईवटा विवाह गरेका रहेछन् । यौन–प्रेम र वैवाहिक जीवनबारे मस्त खुलेर कुरा गर्थे ।
बन्दी जीवनबाट छुटेपछि उनी एकपटक मलाई कोइराला निवास लिएर जान चाहन्थे । तर, त्यस्तो कहिल्यै भएन । छुटेपछि आजसम्म उनीसँग भेट नै भएको छैन ।
चैतको पहिलो सातासम्म पनि आन्दोलन खासै उठेन । हामी भित्रभित्रै निरास हुन थालेका थियौं । एकपटक त मलाई त्यहाँबाट राति भागौं जस्तो लाग्यो । मलाई साँच्चै त्यहाँबाट भाग्न मन लागेको थियो । भाग्न अप्ठ्यारो पनि थिएन । जेल थिएन त्यो, अग्ला पर्खाल थिएनन् । फेरि मलाई लोकेशन राम्रोसँग थाहा थियो । साँझ खानाखाने बेला पिसाब फेर्न निस्किएर अध्याँरोमा लुसुक्क हराउने हो भने मधुवन, ढोक हुँदै रामधुनी जंगल पुग्न सकिन्थ्यो । गाउँघरतिर गएर लुक्न सक्थेँ ।
यिनै शिवेश्वर मण्डलसँग मैले यसबारे सल्लाह मागेँ । तर, झपाराई खाएँ । शान्तिपूर्ण आन्दोलनमा त्यस्तो गल्ती गर्नु हुँदैन, फेरि पक्रियो भने मार्न सक्दछन्, यस्तो बेला जेल बस्नु पनि आन्दोलन नै हो भनेर सम्झाए । त्यसपछि मैले भाग्ने विचार छोडीदिएँ । अरु कसैलाई सुनाइनँ पनि ।
सिदा कति दिन्थ्यो, बिर्सेँ मैले । दिनको १६ रुपैयाँ जस्तो लाग्दछ । मेसमा खान पुग्थ्यो । दिउँसोको खाजा अक्सर भुजा चिउरा भुजिया हुन्थ्यो । मेस इन्चार्ज बने अल्लाहदिन हुसेन । जो पछि सुनसरी डुम्राहाको गाविस अध्यक्ष पनि भए ।
नभन्दै चैत्र १६ गतेदेखि आन्दोलन चर्केको खबर आउन थाल्यो । १६ र १८ गते देशैभरि जुलुस भएका समाचार आयो । साँझ मरिचमान सरकारका एक मन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा गरे । १९ गते मरिचमानले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गरे ।
यी सबै घटना सत्ता संकटका प्रष्ट संकेत थिए । २० गते पाटनमा असाध्यै ठूलो जुलुस निस्किएको समाचार हामीले सुन्यौं । त्यही रात कीर्तिपुरमा हेलीकप्टरबाट गोली चलाएको र ४ जनाले शहादत प्राप्त गरेको समाचार आयो । २१ गते बिहान हामी सबै बन्दीहरू शिविरको मैदानमा पङ्क्तिबद्ध उभियौं र मौन धारण गरेर शहीदलाई श्रद्धाञ्जली दियौं । आज श्रद्धान्जली औपचारिकताजस्तो मात्र छ, त्यतिखेर त्यो आफैँमा आन्दोलनजस्तो थियो ।
२३ गते पाटनलाई मुक्तक्षेत्र घोषणा गरेको समाचार आयो । बन्दीहरूमा हर्षको कुनै सीमा रहेन । त्यो रात हामी सुत्दा पनि सुतेनौं । रातभरि पञ्चायतले बन्देज गरेका गीत ठूल्ठूलो स्वरमा गाइरह्यौं । ड्युटी बसेका प्रहरी छक्क परे । प्रहरीका हाकिम निरास हुन थालेका थिए, उनीहरूले रोक्न चाहेनन् ।
चैत २४ गते बिहान राजा वीरेन्द्रका केही आदेश सञ्चारमाध्यममा आए । उनले मरिचमान सरकारलाई खारेज गर्ने, लोकन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन गर्ने, संविधान सुधार सुझाव आयोग बनाउने, आन्दोलनकारीका नेतासँग वार्ता गर्ने, आन्दोलनमा भएको जनधनको क्षतिको छानबिन गर्ने जस्ता आदेश फर्माएका थिए ।
बुझ्न कठिन थिएन, उनका आदेश पञ्चायतलाई सुधार गर्ने र आन्दोलनकारी जनताको आँखामा भ्रमको छारो हाल्ने मनसायले प्रेरित थिए । त्यहाँ पञ्चायती व्यवस्थाको खारेजी र राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय थिएन ।
तर, दिउँसो दुई बज्दा नबज्दै स्थिति स्पष्ट भइसकेको थियो । अल इण्डिया रेडियोले दिउँसै काठमाडौंको भयावह स्थितिको चित्रण गर्यो । साँझसम्ममा दरबार मार्गमा भएका घटनाबारे समाचार आए ।
त्यतिखेर देशमा एउटा ‘र्युमर’ फैलिएको थियो – दरबारभित्र दुई गुट छन् । आमा रत्ना, रानी ऐश्वर्या, माहिला भाइ ज्ञानेन्द्रले राजा वीरेन्द्रलाई एक्ल्याएका छन् । देवर ज्ञानेन्द्रको उक्साहटमा लागेर रानी ऐश्वर्याले राजा वीरेन्द्रको मुखमा थुकिन् रे ! शासन थाम्न नसक्ने नामर्द भन्दै । दरबारको कट्टरपन्थी खेमा आन्दोलन जसरी पनि दबाउने पक्षमा थियो । तर, चैत्र २४ पछि उनीहरूका सपना हुरीले उडाइदिए
२४ गते बिहानको घोषणामा सम्पूर्ण राजबन्दी रिहा गर्ने कुरा थियो । तसर्थ चैत्र २५ र २६ गते अब छोड्ला कि तब छोड्ला भन्ने मनोदशामा रह्यौं । मन मिनेट मिनेटमा अधैर्य हुन्थ्यो । आइन्स्टाईन र सापेक्षताको सिद्धान्तबारे मैले एउटा तुक्का सुनेको थिएँ ।
एक पत्रकारले महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनलाई सापेक्षता सिद्धान्तको सजिलो व्याख्या गरिदिन भनेछ । आईन्स्टाईनले भनेछन्– एउटा युवकलाई उसकी प्रेमिकासँग फूलवारीमा बस्न दिनुस् । उसलाई एक घण्टा समय एक मिनेटजस्तो लाग्छ । पुनश्च: एउटा तातो तावामा बसाउनुस् । उसलाई एक सेकेन्ड समय एकघण्टा जस्तो लाग्छ । यही हो सापेक्षता ।
आइन्स्टाईनको यो सिद्धान्त बन्दीबीच लागू भइरहेको थियो । वर्षौँवर्ष जेल बस्नुपर्ने हुनसक्छ भन्ने मनस्थितिमा रहेका हामीलाई दुईदिन काट्न हम्मेहम्मे परिरहेको थियो । चैत्र २६ गते राति ४ शीर्ष नेताले राजालाई भेटे । राति ११ बजे रेडियो नेपालले चारैजना नेताको आवाज सुनायो ।
चैत्र २६ गते राति कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, साहाना प्रधान र राधाकृष्ण मैनालीले राजा वीरेन्द्रलाई भेटेपछि दिएको प्रतिक्रिया हामीले लौकही थानामै सुनेका थियौँ ।
किशुनजीले राजालाई बढो ‘जेन्टलमेन होइबक्सदोरहेछ’ भने । गिरिजाप्रसाद कोइरालाले ‘अब राजा र प्रजातन्त्रवादी मिल्न’पर्छ भने । वाममोर्चा नेतृ साहाना प्रधान पञ्चायत ढल्ने र प्रजातन्त्र आउने कुरामा आश्वस्त हुन जनतालाई आग्रह गरिरहेकी थिइन्। राधाकृष्ण मैनालीले बोल्दै गर्दा हाम्रो रेडियो चुइँकियो । के भने बुझ्न सकिएन ।
यी सबै नेताको भनाइको निष्कर्ष भने दलमाथिको प्रतिबन्द फुकुवा भयो, राजबन्दी छुट्नेछन र प्रजातन्त्रका लागि राजनीतिक प्रक्रिया सुरुवात हुनेछ भन्ने थियो ।
चैत्र २७ गते बिहान ७ बजे पोकापन्तरा मिलाई राख्ने उर्दी आयो । तर, हामीलाई लिने टिपर ९ बजे मात्र आयो । यो दुई घण्टा समय दुई वर्षजस्तो लाग्यो । जिल्ला न्यायाधीशको क्वार्टरमा आवश्यक प्रक्रिया पूरा गरेपछि हामी छुट्यौं ।
झुम्काबाट नारायण काफ्ले र कमल गुरुङलगायत साथीहरू ट्रक लिएर आएका थिए बन्दीलाई लिन । दिनभर अबिरजात्रा गरेर ट्रकमा डुलियो । साँझ झुम्काको साझा संस्था मैदानमा सभा भयो ।
मैले जीवनमा पहिलोपटक हजारौँ मानिसको सामु उभिएर भाषण गरेँ, मुश्किलले पाँच मिनेट । लामो र राम्रो भाषण गर्न नसकेको भन्दै साथीहरू रिसाए । जीवनमा पहिलोपटक ठूलो खुला सभालाई सामना गर्न सकस भयो ।
साँझ घर पुगेँ । आमाले युद्ध जितेर आएको योद्धा छोरालाई जस्तो अनौठो गरी हेर्नु भयो । मलाई सिंगो संसार नै अनौठो लागिरहेको थियो ।
Facebook Comment
Comment