आलेख

शासक महोदय ! यो ‘निराशावाद’को प्रश्न कहाँबाट आयो ?

राज्य नागरिकका लागि हो, राज्यका लागि नागरिक हैन । नागरिक आफ्नो हित अनुकूलको राज्य, सरकार र शासक चाहन्छन् । को त्यो सीमाभित्र छ वा छैन कसैले सिकाइरहनु पर्दैन । जनतालाई थाहा हुन्छ कि कहिले चुप लाग्नुपर्ने हो, कहिले आन्दोलन गर्नुपर्ने हो । कहिले मौन बस्नुपर्ने हो र कहिले कोलाहल मच्चाउनुपर्ने हो ।

शासक महोदय ! यो ‘निराशावाद’को प्रश्न कहाँबाट आयो ?

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पछिल्ला प्रवृति यसो नियाल्ने प्रयास गर्छु र आफूले आफैँलाई प्रश्न गर्छु— कता जाँदैछ हाम्रो सार्वजनिक विमर्श ? कस्ता सवालले छुँदैछ मान्छेको मन, कस्ताले छुँदै छुँदैन ? कस्ता विचारले तान्दैछ सर्वसाधारणलाई, कस्ताले तान्दै तान्दैन ? कस्ता सवाल स्थापित गर्ने प्रयत्न भइरहेका छन्, कस्ता सवाल ओझलमा छन् ?

सार्वजनिक विमर्श यस अर्थमा महत्त्वपूर्ण हो कि यसले भविष्यको सङ्केत गर्दछ । आजका धारणा, अवधारणा, सोच र सैद्धान्तिकरण भोलिको समाज र राष्ट्रका व्यावहारिक यथार्थ बन्न सक्दछन् । समाज कता जाँदैछ वा जानेछ, राष्ट्र कता जाँदैछ वा जानेछ, अर्थतन्त्र कता जाँदैछ वा जाने छ, आम संस्कृति तथा मनोदशा कता जाँदैछ वा जानेछ ? खासमा यी अर्बौँ डलरका प्रश्न हुन् । चानचुने कुरा हुँदै हैनन् ।

थाहा छ, अस्तित्वको एउटा चरित्र अनिश्चितता हो । यो दुनियाँमा कतिखेर के हुन्छ, कसलाई थाहा छ ? कसले भन्न सक्दछ ? को बाँच्दो छ, को मर्दो छ र कसले भन्न सक्दछ ? कतिखेर आँधीहुरी, चक्रवत् सुनामी र भूकम्प आउँछ कसले भन्न सक्दछ ? कतिखेर भारी वर्षा हुन्छ र बाढी आउँछ, कुन वर्ष सुक्खा हुन्छ र अनिकाल लाग्दछ, कसले भन्न सक्दछ ?

मान्छेको ‘नियति’ त्यही बिन्दुबाट सुरुवात हुन्छ, जहाँ पुगेर निश्चितता, पूर्वानुमानीयता समाप्त हुन्छ । मान्छेले सोचेजस्तो, अनुमान गरेजस्तो, आशा र अपेक्षा गरेजस्तो भइदिने, सबै सपना पूरा हुने, सबै योजना सफल हुने, सबै आकांक्षा तृप्त हुनेभए यो संसार कस्तो हुन्थ्यो होला ? कस्तो हुन्थ्यो थाहा छैन । तर, केही न केही फरक पक्कै हुन्थ्यो ।

थाहा छ, त्यसो हुँदैन, हुनेवाला छैन । तर, पनि मान्छे सापेक्षिक निश्चितता, एकप्रकारको पूर्वानुमानीयतामा बाँच्न चाहन्छ । काठमाडौंबाट पोखरा हिँडेको मान्छेलाई यो थाहा भए सहजता हुन्छ कि थानकोट, नौबिसे, मुग्लिन, दमौली हुँदै पोखरा आउँछ । थाहा छैन भने कहाँ जाँदैछु भन्ने एक प्रकारको अन्योल, आत्तेश, अनिश्चयबोधको झर्को वा भार हुन्छ मनमा ।

ती मोड, चोक थाहा नभए पनि पोखरा पुगिएला, सोध्दै, खोज्दै । तर, थाहा भएर हिँडेका बाटो सहज हुन्छन्, थाहा नपाइकन तय भएको गन्तव्य त्यति सहज हुँदैन । राजनीति, समाज व्यवस्था र अर्थतन्त्रको सवाल पनि यस्तै हो ।

ठीक हो, थाहा नभए पनि हिँड्नैपर्छ । अघि बढ्नैपर्छ । अन्योल र भ्रम व्याप्त समय र समाजमा अन्योलकै बीचबाट अघि बढ्नुको कुनै विकल्प हुँदैन । तर, मान्छे चाहन्छ कि केही न केही त पूर्वज्ञान होस् । केही न केही त सुनिश्चितता होस् । केही न केही त पूर्वानुमान होस् । कुनै न कुनै त कम्पास होस् जहाजको, केही न केही त मानक होस् समाजको ।

निरङ्कुशता हुँदा यो थाहा थियो कि कुनै दिन हामी लोकतन्त्रमा जानेछौँ । राजतन्त्रमा हुँदा यो थाहा थियो कि कुनै क्षण हामी गणतन्त्रमा पुग्नेछौँ । एकात्मकतामा हुँदा यो थाहा कि देशलाई कुनै दिन बलियो विकेन्द्रकरण, शक्ति निक्षेपण र स्वायत्तता जरुरी पर्नेछ । सङ्कुचित र बन्द अर्थतन्त्रमा हुँदा यो थाहा थियो कि कुनै दिन हामी उदारीकरण, खुला समाज र भूमण्डलीकरणमा हुनेछौँ ।

टुकी, डिबिया र दियालोको युगमा हामीलाई थाहा थियो कि कुनै दिन बिजुली बल्नेछ । टाँगा, बयलगाडा र रथको युगमा हामीलाई यो थाहा थियो कि कुनै दिन मोटर गुड्नेछ, जहाज उड्नेछ ।

भविष्य सधैँ र सबै अवस्थामा योजनाहीन, कल्पनाहीन, सपनाहीन र अनिश्चित हुँदैन । भविष्य-योजनाका निश्चित, ठोस र मूर्त आधार पनि हुन्छन् । शासकहरूले गर्ने गल्ती यहीनेर हो । जबसम्म ती सत्तामा हुँदैनन्, शासक भइसकेका हुँदैनन् तिनले भविष्यको कुरा गर्दछन् । जब ती सत्तामा हुन्छन्, भविष्य भन्ने आयाम पनि हुन्छ भन्ने कुरै बिर्सन्छन् र वर्तमान र यथास्थितिवादमा रुमलिन्छन् ।

हामी आज जुन बिन्दुमा छौँ, यो के हो, कुन बिन्दु हो ? र यहाँबाट कता जादैछौँ वा जानेछौँ ? के हामीले खोजेको लोकतन्त्रको सीमा, आकार, गुणस्तर वा क्षमता यति नै हो ? के हाम्रो गणतन्त्रको चरित्र, संस्कृति र प्रवृति यति नै हो ? के हाम्रो सङ्घीयता, समावेशीता र सामाजिक न्यायको हालत, हविगत यही हो ? के हाम्रो अर्थतन्त्रको क्षमता, विकास र समृद्धिस्तर यही हो ?

हामी आज जुन बिन्दुमा छौँ, यो के हो, कुन बिन्दु हो ? र यहाँबाट कता जादैछौँ वा जानेछौँ ? के हामीले खोजेको लोकतन्त्रको सीमा, आकार, गुणस्तर वा क्षमता यति नै हो ? के हाम्रो गणतन्त्रको चरित्र, संस्कृति र प्रवृति यति नै हो ? के हाम्रो सङ्घीयता, समावेशीता र सामाजिक न्यायको हालत, हविगत यही हो ? के हाम्रो अर्थतन्त्रको क्षमता, विकास र समृद्धिस्तर यही हो ?

एभ्रिथिङ मिडियोकर, के ‘मिडियोक्रिटी’ हाम्रो नियति हो ? यदि हैन भने जब हामी भविष्यको कुरा गर्छौँ, किन कोही त्यसलाई निराशा भन्छन् ? किन कोही त्यसलाई नकारात्मकता भन्छन् ? मान्छे जन्मजात असन्तुष्ट र निरन्तर उन्नत हुन चाहने प्राणी हो, हाम्रो असन्तुष्टि, हाम्रो उन्नतिको चाहनालाई किन कोही ‘निराशावाद’ भन्दैछन् ? किन कोही ‘कोलाहल’ भन्दैछन् ? किन कोही ‘असन्तुष्टिको खेती’ भन्छन् ? किन कोही अनावश्यक ‘विषवमन’ भन्दैछन् ?

के लोकतान्त्रिक समाजमा नयाँ-नयाँ आन्दोलन हुँदैनन् ? के कुनै एकपटकको लोकतान्त्रिक आन्दोलनले कुनै समाज र राष्ट्रलाई सर्वथा जीवन्त, निर्मल, शुद्ध र गतिशील राख्न सक्दछ ? सक्दैन । किमार्थ सक्दैन ? फेरि केको निशासावाद ? केको कोलाहल, केको सदाबहार असन्तुष्टि ? केको अस्थिरता ? यो त नियमित प्रक्रिया हो सृष्टिको, कसैको राजनीतिक स्वार्थका लागि सृष्टिले आफ्नो नियम फेर्छ ? सृष्टि ओली, देउवा र प्रचण्डहरूको आँगनमा आएर रोकिन्छ ? अपेक्षा पनि कस्तो निम्छरो ? बेवकुफहरू !

आधारभूत वा औपचारिक लोकतन्त्र मात्र लोकतन्त्रको सीमा, गुणस्तर वा नियति हैन । केही उदाहरण हेरौँ—

सन् १७७६ मा अमेरिका स्वतन्त्र र लोकतान्त्रिक मुलुक बन्यो । त्यसको करिब सय वर्षपछि दास प्रथाको अन्त्यका लागि अब्राहम लिंकनहरूले किन त्यति ठूलो सङ्घर्ष गर्नुपर्‍यो ? स्वतन्त्रताको करिब २ सय वर्षपछि मार्टिन लुथर किङ्ग जुनियरहरूले किन त्यति ठूलो, व्यापक र शक्तिशाली नागरिक आन्दोलन गर्नुपर्‍यो ?

यदि एकपटकको लोकतन्त्रले सधैँलाई पुग्थ्यो भने भारतमा सन् १९७० को दशकमा ‘जेपी आन्दोलन’ किन हुनुपर्थ्यो ? सन् २०१२ को अन्ना हजारे आन्दोलन किन हुनुपर्थ्यो ? आन्दोलन एक प्रक्रिया हो, सृष्टिको नियमित प्रक्रिया । यो हुन्छ, हुन्छ । एक नयाँ नागरिक आन्दोलन आवश्यक हैन, अपरिहार्य, अनिवार्य भइसकेको छ देशलाई ।

नत्र यो लोकतन्त्रको अमृतवृक्षमा पलाएका विषाक्त एैजेरु कसले सफा गर्दछ ? के दलतन्त्र, नेतातन्त्र, लुटतन्त्र, गुटतन्त्र र सिन्डिकेटतन्त्र आजको यथार्थ हैन ? यदि कुनै नागरिक आन्दोलन नहुने हो भने यी सबै झार, पात, पतिङ्गर कसले खुर्केर फाल्छ ?

खास कुरा महोदय ! निराशा आजको ‘तीतो यथार्थ’ हो कि ‘निराशावाद’ ? विकृति र विसङ्गतिको चाङ आजको यथार्थ हो कि असन्तुष्टि ? भ्रष्टाचार र कुशासन आजको जिउँदो दैत्य हो कि कोलाहल ? कमजोर अर्थतन्त्र र अल्पविकास आजको घामजत्तिकै छर्लङ्ग परिदृश्य हो कि नकारात्मकता ?

के लोकतन्त्रको अन्त्य त्यहाँनेर आएर हुन्छ, जहाँ ओली, देउवा र प्रचण्डको ‘म्यूजिकल चेयर’ चल्छ ? तीन दलीय घनचक्करमा देश फस्छ ? के लोकतन्त्रले त्यसभन्दा माथि विकास गर्नुपर्दैन, जहाँ आएर देश केही दलको भागबन्डा र आलोपालोमा कैद हुन्छ ?

शासकहरू जेलाई नकारात्मकता भन्दैछन्, यथार्थमा यो युगीन आवश्यकता, अनिवार्य र अपरिहार्य प्रक्रिया हो, अघि बढ्ने । शासकहरू जेलाई स्थिरता भन्दैछन्, त्यो भागबन्डा, लुट, आलोपालो र मिलीजुली भागशान्ति जय नेपाल हो । शासकहरू जेलाई अस्थिरता भन्दैछन्, त्यो एक नयाँ र भीषण नागरिक आन्दोलनको सङ्केत हो ।

कुरा निराशा र निराशावादको हैन महोदय ! विषय असन्तुष्टि र नकारात्मकता, कोलाहल र विषवमनको पनि हैन । विषय हो, भविष्यको । भविष्यमुखी परिणामको । ‘मिडियोक्रिटी’ बाट ‘उत्कृष्टता’ तिर जाने आकांक्षाको । लोकतन्त्रलाई साँचो अर्थमा उन्नत लोकतन्त्र बनाउने सपनाको ।

फेरि कहाँ छ यो निराशावाद ? शासकहरू जेलाई निराशावाद भन्दैछन्, यथार्थमा यो आशावाद हो । यदि निराशावाद नै हो भने पनि त्यसका मुहान, त्यसका कारक स्वयम् उनीहरू नै हुन् । शासकहरू जेलाई असन्तुष्टि भन्दैछन्, यथार्थमा त्यो आक्रोश र विद्रोहको सङ्केत हो ।

शासकहरू जेलाई नकारात्मकता भन्दैछन्, यथार्थमा यो युगीन आवश्यकता, अनिवार्य र अपरिहार्य प्रक्रिया हो, अघि बढ्ने । शासकहरू जेलाई स्थिरता भन्दैछन्, त्यो भागबन्डा, लुट, आलोपालो र मिलीजुली भागशान्ति जय नेपाल हो । शासकहरू जेलाई अस्थिरता भन्दैछन्, त्यो एक नयाँ र भीषण नागरिक आन्दोलनको सङ्केत हो ।

के आशावादको नाममा दैनिक करिब ३ हजार युवायुवती विदेशिनुलाई ‘क्या राम्रो, ठीक भो’ भन्दिनुपर्ने ? के आशावादको नाममा १४०० राम्ररी कट्न नसकेको प्रतिव्यक्ति आय कतार, सिंगापुर र नोर्डिक मुलुकको भन्दा पनि धेरै भइसक्यो भन्दिनुपर्ने ? के आशावादको नाममा भ्रष्टाचार, कुशासन र ठगी हुँदा खुसीले ताली पिट्नुपर्ने ? ट्रान्सरेन्सीको प्रतिवेदनमा दशकौंदेखि ३५ नम्बर नकटाउने राज्यको ‘ट्रयाक रेकर्ड’ लाई पराक्रम ठान्दिनुपर्ने ? के आशावादको नाममा कुर्सीका लागि जे पनि गर्ने, जता पनि टाँसिने, कुन कुनै प्रकारको विजातीय गठबन्धन तोड्ने र जोड्ने निकृष्ट अवसरवादलाई ‘वाहवाह क्या राम्रो’ भन्नुपर्ने हो ?

यदि हैन भने महोदय ! यो आशावादको, यो निराशावादको प्रश्न कहाँबाट आयो ? कुन युगका शासक थिए, जसलाई जनता आफ्नो शासनकालमा सन्तुष्ट छैनन् भनेर स्वीकार गर्थे ? को त्यस्तो प्रधानमन्त्री थियो/छ, यो संसारमा जसले आफ्नो सरकारलाई नराम्रो र असफल भन्छ ? को त्यस्तो नेता थियो/छ, जसले आफ्नो पार्टीलाई नराम्रो भन्छ ?

ती त सामान्य औपचारिकता हुन् । तर, के संसारका सबै सरकार र प्रधानमन्त्री तिनले दाबी गरेजस्तो सफल थिए ? के तिनले दाबी गरेजस्तो सबै दल राम्रा र प्रभावकारी हुन् ? के राणाहरूले आफ्नो शासनलाई नराम्रो भन्थे ? के पञ्चहरूले आफ्नो सरकारलाई नराम्रो स्वीकार गर्थे ? के ज्ञानेन्द्र शाहले ‘म एक नालायक तानाशाह हुँ’ भन्ने स्वीकार गरेका थिए ? के ओलीले दुई-दुईपटको असंवैधानिक संसद् विघटन गलत थियो भनेर स्वीकार गरेका छन् अहिलेसम्म ?

शासकको सर्वव्यापी चरित्र हो, उसले सत्य स्वीकार गर्दैन । सत्य स्वीकार गर्ने शासक शासकका रुपमा रहँदैन। राजनेता हुन्छ, राष्ट्रनिर्माता हुन्छ, युगद्रष्टा हुन्छ, जनप्रिय व्यक्तित्व, इतिहासको श्रद्धापात्र हुन्छ । शासक र राजनेताका बीचको भिन्नता जनतालाई राम्रो थाहा हुन्छ । जनताले सबैलाई अवसर दिन्छन्, परीक्षण गर्छन्, हेर्छन् । तर, जनताले सबैका अत्याचार सधैँ सहँदैनन् ।

राज्य नागरिकका लागि हो, राज्यका लागि नागरिक हैन । नागरिक आफ्नो हित अनुकूलको राज्य, सरकार र शासक चाहन्छन् । को त्यो सीमाभित्र छ वा छैन कसैले सिकाइरहनु पर्दैन । जनतालाई थाहा हुन्छ कि कहिले चुप लाग्नुपर्ने हो, कहिले आन्दोलन गर्नुपर्ने हो । कहिले मौन बस्नुपर्ने हो र कहिले कोलाहल मच्चाउनुपर्ने हो । आन्दोलन केही अभियन्ता र राजनीतिकर्मीको इच्छाले हुने हैन, नागरिकको आकांक्षा र इतिहासको संयोगले हुने हो ।

आजको सत्य के हो भने राज्य र नागरिक, दल र मतदाता, सरकार र सेवाग्राही, अर्थतन्त्र र उपभोक्ताबीच एक गहिरो खाडल निर्माण भइसकेको छ । लोकतन्त्रमा यस्तो खाडल नहुनुपर्थ्यो । गणतन्त्रमा यस्तो खाडल पुरिनुपर्थ्यो । ‘सङ्घवाद’ले पुरिएको यस्तो खाडलमाथि सुन्दर फूलबारी र बगैँचा बनाउनुपर्थ्यो । तर, दुर्भाग्य खाडल छ ।

भो, महोदय ! यो आशावाद र निराशावादको पाठ नपढाउँ धेरै । आशावाद के हो जनतालाई थाहा छ, निराशावाद के हो जनतालाई थाहा छ । तिम्रो शासकीय भविष्य स्वयम् महोदयलाई थाहा नहुन सक्दछ, जनतालाई थाहा छ ।

आज भनिएका सबै चिजको समय आजै नआएको हुन सक्दछ । तर, भोलिका लागि पनि केही कुरा आजै भनिरहनु पर्दछ । यो दुनियाँमा भूत र वर्तमानको कुरा गर्ने मान्छे मात्र हुँदैनन्, भविष्यको कुरा गर्ने मान्छे पनि हुन्छन्/छन् । खासमा भविष्य तिनैले बनाउन सक्दछन्, जो भविष्यको कुरा गर्दछन् । भविष्यको चिन्तन गर्दछन् ।

आजको सत्य के हो भने राज्य र नागरिक, दल र मतदाता, सरकार र सेवाग्राही, अर्थतन्त्र र उपभोक्ताबीच एक गहिरो खाडल निर्माण भइसकेको छ । लोकतन्त्रमा यस्तो खाडल नहुनुपर्थ्यो । गणतन्त्रमा यस्तो खाडल पुरिनुपर्थ्यो । ‘सङ्घवाद’ले पुरिएको यस्तो खाडलमाथि सुन्दर फूलबारी र बगैँचा बनाउनुपर्थ्यो । तर, दुर्भाग्य खाडल छ ।

यस्तो खाडल आशा र निराशाभन्दा बाहिर छ । आशावाद र निराशावादभन्दा बाहिर छ । कोलाहल र मौनताभन्दा बाहिर छ । सन्तुष्टि र असन्तुष्टिभन्दा बाहिर छ । नकारात्मकता र सकारात्मकताभन्दा बाहिर छ । सत्य सधैँ द्विवर्ग विभाजनभन्दा बाहिर र निरपेक्ष हुन्छ । त्यही सत्य सबैभन्दा कठोर सत्य हो, जो शासकका निहीत स्वार्थभन्दा बाहिर र निरपेक्ष हुन्छ ।

आन्दोलन, क्रान्ति वा परिवर्तन हरेक युगमा त्यस्तै निरपेक्ष सत्यको परिचायक हो । सत्य शासक वर्गले त्यतिखेर मात्र देख्छ, जब उसको पतन र चिहान नजिकनजिक आइसकेको हुन्छ ।

आजका कठोर सत्य तपाईंलाई निराशावादजस्तो लाग्दछ भने महोदय ! बुझ्नोस् कि सत्य देख्ने तपाईंको क्षमता गुमिसकेको छ र पतन नजिक पुगेर मात्र देख्न थाल्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved