गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

नेपालभ्युज

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् ।

गत चैत २५ गते प्रदेशसभाको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत लिन लागेका हुन् ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ।

विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादित बनेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख सहितलाई गणना गरेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेकोमा सर्वोच्च अदालतले पाण्डेको रिट खारेज गर्दै अधिकारीलाई विश्वासको मत लिने प्रक्रियामा जान आदेश दिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्‍याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताइरहेको छ।

राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

तर, सत्तारुढ दलले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्याए हुने दाबी गरिरहेका छन् । यसरी ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved