न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा आइतबार नेपाल डे परेड हुँदैछ । गैर आवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाको सहभागितामा म्यानहाटनमा परेड गर्न लागिएको हो ।
न्यूयोर्कका लागि सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले परेड भव्य रुपमा सफल बनाउन अपिल गरेका छन् । उनले वक्तव्य जारी गरेर नेपाल डे परेडमा सहभागी हुन डायस्पोराका सबै नेपालीलाई आव्हान गरेका हुन् ।
श्रेष्ठले जारी गरेको वक्तव्यमा परेडले अमेरिकामा नेपाल र नेपालीका लागि आफ्नो पहिचान, एकता र अस्तित्व स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख छ ।
कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रवर्द्धनसँगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने पनि प्रवर्द्धक श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो । त्यसैले परेडमा सम्पूर्ण नेपाली समुदाय सहभागी हुन अपिल गर्दछु ।’
सन् २०१६ देखि प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड गरिदै आएको छ । परेडमा न्यूयोर्क लगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवं नेपाली मूलका अमेरिकीको उल्लेख्य सहभागिता हुने गरेको छ ।
परेडमा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । परेड म्यानहाटन शहरमा र्याली र बाजागाजा सहित परिक्रमा पछि सभा हुनेछ ।
परेडका लागि टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरु निर्माण गरिएको परेड एवं एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।
Facebook Comment
Comment