आम चुनाव २०७९

यस्तो छ, लुम्बिनीका २६ क्षेत्रको सम्भावित परिणाम : एमाले बढी आशावादी

नेकपा एमालेले सात प्रदेशमध्ये सबैभन्दा बढी सीट यही प्रदेशमा जित्ने आंकलन गरेको छ । शसस्त्र युद्धबाट बढी प्रभावित केही क्षेत्र पनि भएकाले माओवादीले पनि यहीबाट  सम्मानजनक सीट आउने अपेक्षा गरेको छ । हामीले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रको विगतको नतिजा र सम्भावित परिणामबारे विश्लेषण गरेका छौं।

यस्तो छ, लुम्बिनीका २६ क्षेत्रको सम्भावित परिणाम : एमाले बढी आशावादी

काठमाडौं। लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ निर्वाचन क्षेत्र छन्। यो प्रदेशमा पनि अन्यजस्तै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमालेको गठबन्धन बीचमै मुख्य प्रतिस्पर्धा हुँदैछ।

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका आधा दर्जन पदाधिकारी यही प्रदेश बाट चुनावी मैदानमा छन् । उद्योगपति विनोद चौधरीदेखि एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसमेत यही प्रदेशमा छन्।

सत्ता गठबन्धनविरुद्ध एमालेले जसपा, राप्रपा र जनता प्रगतिशील पार्टीसँग केही सिटमा तालमेल गरेको छ। कतिपय निर्वाचन क्षेत्रमा पुराना र चर्चित अनुहारबीचमै कडा प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेले सात प्रदेशमध्ये सबैभन्दा बढी सिट यही प्रदेशमा जित्ने आँकलन गरेको छ । सशस्त्र युद्धबाट बढी प्रभावित केही क्षेत्र पनि भएकाले माओवादीले पनि यहीँबाट  सम्मानजनक सिट आउने अपेक्षा गरेको छ । हामीले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रको विगतको नतिजा र सम्भावित परिणामबारे विश्लेषण गरेका छौं।

रुकुम (पूर्व)मा माओवादीलाई सहज

रुकुम पूर्वमा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार पूर्णबहादुर घर्ती र एमालेका कैलाशकुमार मल्लबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा यहाँ घर्तीलाई सहज देखिन्छ । यहाँ माओवादी पहिलो र कांग्रेस दोस्रो तथा एमाले तेस्रो शक्ति हो। पहिलो र दोस्रो दल नै एकातिर भएकाले यहाँ हारजित भन्दा पनि मतान्तरको मात्रै प्रतीक्षा देखिन्छ ।

स्थानीय चुनावमा माओवादीका वडाध्यक्षले ११ हजार ६ सय २१ र कांग्रेसले ६ हजार पाँच सय २३ मत पाएका थिए । एमालेको मत साढे चार हजार मात्रै छ । अघिल्लो चुनावमा यहाँबाट माओवादीकै कमला रोका विजयी भएकी थिइन् ।

रोल्पामा वर्षमानलाई पूर्वसहकर्मी नै प्रतिस्पर्धी

रोल्पामा सत्ता गठबन्धनबाट वर्षमान पुन र एमालेका पूर्णबहादुर बुढा मुख्य प्रतिस्पर्धामा छन्। माओवादी सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पामा एमालेबाट उठेका बुढा पनि पूर्व माओवादी नै हुन्।

यहाँबाट ०७४ सालको चुनावमा वर्षमान भारी मतान्तरले विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा माओवादीले रोल्पाका १० मध्ये ७ स्थानीय तहको अध्यक्ष–उपाध्यक्ष जितेको थियो ।

कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा एमालेले १ अध्यक्ष जितेको थियो। वडाध्यक्षले पाएको मत हिसाब गर्दा माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४, एमालेले १५ हजार ३०१, राप्रपाले १ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेका थिए।

माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको समर्थन पाएका पुनको प्रतिस्पर्धी तेस्रो स्थानका एमाले उम्मेदवार हुन्। त्यसैले, यसपटक पनि पुनलाई चुनाव जित्न कुनै कठिनाइ देखिँदैन ।

प्युठानमा थापा कि पौडेल ?

प्युठानमा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा (राजमो) की उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेता सूर्य थापाबीच मुख्य प्रतिस्पर्धा छ। ०७४ को निर्वाचनमा राजमोले एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।

वाम गठबन्धनको बलमा चुनाव जितेकी पौडेल यसपटक कांग्रेस, माओवादी केन्द्रसहितको सहयोगमा एमालेसँग प्रतिस्पर्धामा उत्रिएकी हुन्। एमालेका थापा पहिलोपटक संसदीय निर्वाचनको अनुभव लिँदै छन्।

०७४ सालको निर्वाचनमा दुर्गाले कांग्रेस उम्मेदवार गोविन्दराज पोखरेललाई १६ हजार २ सय ८६ मतान्तरले पराजित गरेकी थिइन्।

स्थानीय निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्दा प्युठानमा गठबन्धन नै अघि छ। पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ। एमालेको ३९ हजार १ सय २८ मत छ।

तर, कांग्रेसमा देखिएको असन्तुष्टि र पौडेलप्रतिको निराशाको फाइदा उठाउने दाउमा एमाले उम्मेदवार थापा देखिन्छन् । गठबन्धनको मत एकातिर भए थापालाई कठिन हुने देखिन्छ । तर, यहाँको माहोल हेर्दा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अर्घाखाँचीमा पूर्वउप-प्रधानमन्त्रीलाई पूर्वउप-सभामुखको चुनौती

अर्घाखाँचीमा लगातार तीनपटक निर्वाचन जितेका एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेसका प्रभावशाली नेतृ पुष्पा भुसालबीच कडा प्रतिस्पर्धा छ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणाम जोड्दा कांग्रेसका उम्मेदवार भुसाल करिब पाँच हजार मतले अगाडि छन्।

एमालेले ४८ हजार दुई सय ६० मत प्राप्त गर्दा कांग्रेसले ३७ हजार नौ सय २५, माओवादी केन्द्रले सात हजार सात सय ९०, राजमोले चार हजार दुई सय ९४ र एकीकृत समाजवादीले तीन हजार सात सय ६३ मत प्राप्त गरेका थिए।

तर, जिल्लामा रायमाझीको व्यक्तित्वका कारण यो परिणाम अनुसार मत नआउन सक्छ । कांग्रेसमा पनि केही असन्तुष्टि देखिन्छ । त्यसैले, यहाँ दुईबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

गुल्मीमा हेभिवेटको भिडन्त

गुल्मी–१ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता चन्द्र भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा छ। उनीहरू चौथोपटक मैदानमा छन्। ०७४ मा वाम गठबन्धनका कारण एमाले नेता ज्ञवालीले भण्डारीलाई सहज रूपमा पराजित गरेका थिए ।

पटक–पटकको प्रतिस्पर्धामा कहिले हार त कहिले जित निकाल्दै आएका भण्डारी र ज्ञवालीबीच यसपटक पनि कडा प्रतिस्पर्धा हुने स्थानीय नेताहरू बताउँछन्।

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धन एमालेभन्दा १ हजार ६० मतले मात्रै अघि छ। त्यसैले, प्रतिस्पर्धा निकै रोचक बनेको छ । यहाँबाट कसले बाजी मार्छ अहिलेसम्म अनुमान गर्न कठिन छ ।

गुल्मी–२ मा गत निर्वाचनमा एमाले सचिव गोकर्ण विष्ट फराकिलो अन्तरले निर्वाचित भएका थिए। तर, त्यो बेला वाम गठबन्धन थियो । एमालेले यसपटक पनि विष्टलाई नै उम्मेदवार बनाएको छ।

तर, गत निर्वाचनमा सहकर्मी रहेकी रामकुमारी झाँक्री यसपटक उनैविरुद्ध मैदानमा छिन्। एकीकृत समाजवादीकी नेता झाँक्रीलाई कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ।

स्थानीय चुनावको मतका आधारमा यहाँ सत्ता गठबन्धन थोरै मतले मात्रै अघि छ । झाँक्रीको दल एकीकृत समाजवादीको १ हजार पनि मत छैन । त्यसैले, उनलाई चुनाव जित्न कांग्रेस र माओवादीको भर पर्नुपर्ने अवस्था छ ।

दुई दलको शतप्रतिशत मत जान सम्भव नहुने भएकाले झाँक्रीलाई चुनाव जित्न सहज नभएको स्थानीयस्तरमा विषण भइरहेको छ । साँघुरो मतान्तरमा विष्टले नै यहाँबाट जित निकाल्न सक्छन् ।

पाल्पामा सोमप्रसाद र ठाकुरको भिडन्त

पाल्पा-१ मा एमालेबाट नारायणप्रसाद आचार्य र कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा छ। दुवै नयाँ अनुहार हुन्। यहाँबाट विगतका पाँच वटा निर्वाचनमा एमाले विजयी भएको थियो।

स्थानीय निर्वाचनमा पनि यहाँ एमाले नै बलियो देखिएको थियो । वडाध्यक्षका उम्मेदवारको आधारमा एमालेको ३४ हजार ७ सय ६१, कांग्रेसको २७ हजार १ सय ५० र माओवादी केन्द्रको १ हजार १ सय ६४ मत छ । त्यसैले, यहाँबाट एमाले सहज रूपमा विजयी हुने सम्भावना छ ।

तर, मगर समुदायको बाक्लो बसोबास रहेकाले त्यसको केही फाइदा भने गाहालाई हुन सक्छ । यहाँबाट गत चुनावमा एमालेका दलबहादुर राना विजयी भएका थिए ।

पाल्पा-२ बाट एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । एमालेबाट ठाकुर गैरै प्रतिस्पर्धामा छन्। अघिल्लो चुनावमा पाण्डे यहाँबाट विजयी भएका थिए । उनलाई जिताउन खटिएका गैरे यसपटक प्रतिस्पर्धी छन् ।

स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन एमालेभन्दा ४ हजार ७ सय ८० मतले अघि छ। तर, एमालेमा अहिलेसम्म अवसर नपाएका गैरेप्रति मतदाताको सहानुभूति देखिन्छ ।

सुरुवातमा गैरे सहजरूपमा विजयी हुने अनुमान गरिएको यो क्षेत्रमा पछिल्लोपटक भने पाण्डेले पनि मत बढाएका छन् । एमालेका केही प्रभावशाली नेतालाई उनले आफ्नो पक्षमा तानेका छन् । त्यसैले, यहाँ कडा प्रतिस्पर्धाको माहोल बनेको विष्लेषण भइरहेको छ ।

बर्दियामा कस्तो आउला परिणाम ?

बर्दिया-१ मा २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका नेता वामदेव गौतमलाई कांग्रेसका सञ्जयकुमार गौतमले पराजित गरेका थिए। अहिले सत्ता गठबन्धनबाट उनै गौतम उम्मेदवार बन्दा एमालेका लक्ष्मणराज ज्ञवाली मैदानमा छन्।

०७४ मा एमालेले जितेको ठाकुरबाबा नगरपालिका अहिले कांग्रेसले जितेको छ। गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा दोस्रोपटक कांग्रेस विजयी बनेको छ।

राजापुर नगरपालिका प्रमुख माओवादीले जितेको छ। यस हिसाबले जिल्लामा गठबन्धनको मत बढी देखिन्छ। गौतम अंक गणितीय हिसाबमा अगाडि देखिन्छन्। उनलाई पार्टीभित्रका असन्तुष्ट र नागरिक उन्मुक्ति पार्टीमा मत दिने कार्यकर्तालाई रोक्ने चुनौती देखिन्छ।

यो क्षेत्रबाट नागरिक उन्मुक्तिका ठाकुरसिंह थारूले पनि उल्लेख्य मत ल्याउने अनुमान गरिएको छ । तर, अहिलेसम्मको अवस्थामा गौतमले नै चुनाव जित्ने सम्भावना छ ।

बर्दिया–२ मा माओवादी केन्द्रका सुरेश पन्थ र एमालेका पंकजसिंह राठौर मुख्य प्रतिस्पर्धी छन्। पन्थलाई गठबन्धनको साथ छ । यो क्षेत्र २०६४ सालदेखि माओवादीले जित्दै आएको छ । अंक गणितीय हिसाबले पनि गठबन्धनको मत अत्यधिक देखिन्छ।

तर, माओवादीको पकड रहेको थारू समुदायको मत योपटक नागरिक उन्मुक्ति पार्टीमा पनि जाने देखिन्छ । त्यो संख्या कति हुन्छ भन्नेमा माओवादीको जित निर्भर देखिन्छ । उसले आफ्ना परम्परागत मतदाता जोगाउन सक्यो भने सहजरूपमा जित निकाल्न सक्नेछ ।

बाँकेमा एमालेलाई सकस

बाँके-१ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादीका महेश्वर जंग गहतराज (अथक) र एमालेका सूर्यप्रसाद ढकालबीच मुख्य प्रतिस्पर्धा छ। यहाँ स्थानीय निर्वाचनको नतिजा हेर्दा कांग्रेसले २८ हजार ६ सय १९ मत छ।

यस्तै, माओवादीले १७ हजार १ सय १० र एकीकृत समाजवादीले ६ सय २३ मत ल्याएको छ। एमालेले २५ हजार ३ सय १० र राप्रपाले ४ हजार ७ सय ८९ मत ल्याएको छ।

यस आधारमा र पछिल्लो माहोल हेर्दा माओवादीका उम्मेदवार गहतराजले चुनाव जित्ने अवस्था देखिन्छ । बाँके २ मा कांग्रेसका सुदिपनरसिंह राणा, जसपाका पूर्वमन्त्री मोहम्मद इश्तियाक राई र राप्रपाबाट डा धवलशम्शेर राणा मैदानमा छन् । राणालाई एमालेको समर्थन छ ।

मुख्य प्रतिस्पर्धा राणा र राईबीच हुने देखिएको छ । जसपाका प्रभावशाली नेता मानिने राईलाई यसपटक चुनाव जित्न कठिन रहेको विष्लेषण भइरहेको छ । यहाँ धवलको व्यक्तिगत प्रभाव पनि छ । अर्कातिर एमालेले समेत समर्थन गरेपछि उनलाई सहज भएको छ ।

स्थानीय निर्वाचनमा कांग्रेसले १९ हजार ९ सय ६३, माओवादी केन्द्रले ८ हजार २ सय ४३ र एकीकृत समाजवादीले ८ सय २१ मत पाएको थियो । यहाँ एमालेसँग १५ हजार ५ सय ३६, राप्रपासँग ८ हजार ५ सय ९४ र  जसपासँग १४ हजार ९ सय ९५ मत छ।

तर, यो अंक गणित धरातलमा भने फेल  भएको छ । सत्ता गठबन्धनका उम्मेदवार सुदीप मुख्य प्रतिस्पर्धामै जान सकिरहेका छैनन् । यो क्षेत्रबाट धवलले बाजी मार्ने अनुमान गरिएको छ ।

बाँके-३ मा एमालेका किस्मतकुमार कक्षपति र कांग्रेसका किशोर सिंह राठोरबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ जसपा नोयन्द्र धिताल पनि उम्मेदवार छन् । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने बाँके-३ मा कांग्रेसका राठोरलाई सहज छ ।

यहाँ कांग्रेसले २३ हजार ७ सय ६३, माओवादी केन्द्रले १३ हजार ४ सय ३४ र नेकपा एकीकृत समाजवादीले २ हजार ३ सय ४८ मत ल्याएको छ । एमालेले २२ हजार १ सय १,  राप्रपाले ४ हजार ५ सय ४१ र जसपाले ३ हजार १३ मत पाएका थिए ।

जसपाले छुट्टै उम्मेदवारी दिएकाले पनि राठोरलाई सजिलो भएको छ । उनले सहज रुपमा चुनाव जित्ने अनुमान गरिएको छ ।

दाङमा शंकरलाई रेखाको टक्कर

दाङका तीन क्षेत्र सत्ता गठबन्धनका तीन दलले बाँडेका छन् । १ मा एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका नेता मेटमणि चौधरीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। २०७४ सालको निर्वाचनमा मेटमणिलाई जिताउन कस्सिएकी शान्ता अहिले उनकै प्रतिस्पर्धी बनेर उभिएकी छन्।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको बलियो सङ्गठन छैन। स्थानीय तहको चुनावमा देउखुरी क्षेत्रमा एकीकृत समाजवादीले १ जना वडाध्यक्ष र केही वडा सदस्य मात्र जितेको छ।

त्यसैले, कांग्रेस र माओवादीको भरमा जित निकाल्नुपर्ने चुनौती मेटमणीलाई छ । स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतका आधारमा भने यहाँ सत्ता गठबन्धन अगाडि छ ।

एमालेकै नेता रहेकी गंगा चौधरीले पनि यहाँ बागी उम्मेदवारी दिएकी छन् । त्यसको फाइदा पनि मेटमणिलाई हुन सक्छ । कांग्रेस र माओवादीका मत अन्यत्र जान नदिए उनी सहजरूपमा विजयी हुनेछन् ।

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी नेता रेखा शर्मा चुनावी मैदानमा उत्रिएका छन्। एमालेको राम्रो सङ्गठन भएको क्षेत्र भए पनि प्रतिस्पर्धी गठबन्धनका कारण पोखरेललाई सहज छैन ।

गत स्थानीय चुनावमा वडाध्यक्षको मत हेर्दा पनि सत्ता गठबन्धन नै अगाडि छ। गठबन्धनको ३६ हजार एक सय ४६ र एमालेको ३३ हजार ५९३ मत छ। स्थानीय चुनावमा कांग्रेस र माओवादीमा चर्केको विवादको फाइदा पनि एमालेले उठाएको थियो ।

जसका कारण उसले घोराही र तुलसीपुर उपमहानगर पालिकामा जित निकालेको थियो । यसपटक दुई दलमा खासै विवाद छैन । तर. पोखरेलको व्यक्तित्वका कारण पोखरेललाई गाह्रो नहुने एमालेका नेताहरु दाबी गर्छन् । यद्यपि, अहिलेसम्म दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

दाङ ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दीपक गिरी र एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी छन्। स्थानीय चुनावमा वडाध्यक्षले ल्याएको मत हेर्दा एमालेभन्दा गठबन्धन ५ हजारले अगाडी छ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट वडाध्यक्षले ल्याएको ४२ हजार ७३ मत छ। एमालेका वडाध्यक्षले ३६ हजार ५ सय ९ मत ल्याएका थिए । गिरी जिल्लामा बलिया उम्मेदवार मानिन्छन् । वलीलाई राष्ट्रिय व्यक्तित्व भएको फाइदा छ । तर त्यस अनुसारको मत उनले तान्न भने नसकिरहेको स्थानीय विष्लेषक बताउँछन् ।

यहाँबाट ०७४ सालमा चुनाव जितेका हिराचन्द्र केसी अहिले एकीकृत समाजवादीमा लागेका छन् । जसको प्रभाव पनि परेको छ । त्यसैले यहाँबाट गिरीले चुनाव जित्न सक्ने अनुमान गरिएको छ ।

कपिलवस्तुमा रस्साकस्सी

कपिलवस्तु-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा छ । २०७४ सालमा एमालेकै समर्थनमा खनालले साँघुरो अन्तरको जित निकालेका थिए ।

स्थानीय चुनावको मत परिणामका आधारमा सत्ता गठबन्धन अघि छ । स्थानीय चुनावमा यहाँ कांग्रेसले २८ हजार २७१, एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादी केन्द्रले नौ हजार ३३८, एकीकृत समाजवादीले तीन हजार ७२२, लोसपाले तीन हजार ४२४ र राप्रपाले दुई हजार ४८० मत  ल्याएका थिए ।

जसपाले एमालेलाई समर्थन गरेको छ भने राप्रपा र लोसपाले उम्मेदवारी दिएका छन् । त्यसैले, दुवै गठबन्धनको मत हाराहारीमा देखिन्छ । कांग्रेसबाट समेत अन्तरघातको सम्भावना देखिएकाले यसपटक चक्रपाणी खनाललाई चुनाव जित्न सहज नभएको आंकलन गरिएको छ ।

अघिल्लोपटक खनालसँग पराजित भएका कांग्रेस नेता दीपकुमार उपाध्यायले यसपटक गठबन्धनका उम्मेदवारलाई खुलेर सहयोग गरेका छैनन् ।

कपिलवस्तु-२ मा २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता एमालेबाट चुनावी मैदानमा छन्। गुप्तासँग कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिडन्तमा छन्।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस बलियो छ । यहाँ कांग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सय ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९ र राप्रपाको दुई हजार ३५ मत छ ।

यो क्षेत्रमा स्थानीय चुनावको आधारमा सत्ता गठबन्धन अगाडी देखिए पनि गुप्ताको व्यक्तिगत प्रभाव पनि भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कपिलवस्तु-३ मा सत्ता गठबन्धनबाट निवर्तमान सांसद अभिषेक प्रताप शाह उम्मेदवार छन्। उनलाई एमालेका मंगलप्रसाद गुप्ताले टक्कर दिएका छन् ।

जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र पनि प्रभावशाली मानिन्छन् । स्थानीय चुनावको परिणामका आधारमा शाह नै बलियो छन् । व्यक्तिगत प्रभावका आधारमा पनि यो क्षेत्रबाट यसपटक पनि शाह नै विजयी हुने अनुमान गरिएको छ ।

रुपन्देहीमा बहुरंगी प्रतिस्पर्धा

रुपन्देही–१ मा एमालेका सचिव छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसालबीच मुख्य भिडन्त छ। एमालेबाट टिकट नपाएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

गत निर्वाचनमा यही क्षेत्रबाट वाम गठबन्धनको बलमा निर्वाचित भएका विश्वकर्मा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मैदानमा छन्।

यद्यपि, एमालेभित्रकै बागी उठेकाले केही मत उनको घट्न सक्छ । भुसाललाई आफ्नो चुनाव चिन्ह मतदाताको बीचमा लैजाने चुनौती छ । सूर्यमा मत दिएर भुसाललाई जिताउने भन्ने मतदाताको संख्या यहाँ अत्यधिक देखिएको छ ।

स्थानीय चुनावको मतका आधारमा यहाँ दुवै गठबन्धनको मत हाराहारीमा छ । त्यसैले, योपटक कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म कसले जित्ला भनेर अनुमान गर्न नसकिएको स्थानीय विष्लेषक बताउँछन् ।

रुपन्देही– २ मा विष्णु पौडेल र सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाबीच प्रतिस्पर्धा छ। यहाँबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङ बाहिरिएकाले पौडेललाई सहज भएको छ । स्थानीय चुनावका आधारमा भने यहाँ सत्ता गठबन्धन अगाडी थियो ।

आफ्ना उम्मेदवार नभएपछि सत्ता गठबन्धनले यहाँ जनमुक्ति पार्टीलाई समर्थन गरेको छ । तर व्यक्तिगत प्रभाव पनि भएको र प्रतिस्पर्धी उम्मेदवार कमजोर भएकाले पौडेलले सहज रुपमा जित निकाल्ने देखिएको छ ।

रुपन्देही–३ मा कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाण र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराबीच मुख्य प्रतिस्पर्धा छ। बोहरा ०७४ मा यही क्षेत्रबाट नेकपा एमालेका नेता घनश्याम भुसालसँग हारेका थिए।

अहिले उनी जनता समाजवादी पार्टी र नेकपा एमालेको सहयोगमा गृहमन्त्री खाणसँग भिड्दै छन्।

यहाँ स्थानीय तहको परिणाममा कांग्रेस–माओवादी गठबन्धनभन्दा एमाले–राप्रपाको मत बढी छ। तर एमालेमा देखिएको असन्तुष्टिले बोहरालाई सहज छैन । यो क्षेत्रबाट खाण नै विजयी हुने स्थानीय विष्लेषकको अनुमान छ ।

रुपन्देही–४ मा कांग्रेससहितको गठबन्धनबाट निवर्तमान सांसद प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला र एमालेको समेत समर्थनमा जसपाबाट ओमप्रकाश यादव ‘गुल्जारी’ उम्मेदवार छन्।

लुम्बिनी र मर्चवार इलाका पर्ने यो क्षेत्रमा कांग्रेस र मधेसकेन्द्रित पार्टीको प्रभाव उस्तै छ । केन्द्रमा लोसपा सत्ता गठबन्धनको हिस्सेदार रहे पनि यो क्षेत्रमा कांग्रेस र लोसपाको बीचमै प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका यादवले २०७४ मा पनि यो क्षेत्रबाट शुक्लालाई पराजित गरेका थिए । यहाँ एमाले भने कमजोर छ ।

रुपन्देही–५ मा कांग्रेसबाट पटक–पटक चुनाव जितेका र २०५८ मा राज्यमन्त्री भएका भरत शाह सत्ता गठबन्धनको उम्मेदवार छन् । उनको प्रतिस्पर्धा एमालेका वासुदेव घिमिरेसँग हुँदैछ ।

घिमिरे तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर हुन् । समन्वय अभावमा उम्मेदवारी मनोनयनका बखत एमालेमा देखिएको कमजोरीको फाइदा शाहलाई हुने देखिन्छ । यो क्षेत्रबाट अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि शाहले फराकिलो मतान्तरले जित निकालेका थिए ।

यसपटक पनि उनै विजयी हुने देखिएको छ ।

नवलपरासी पश्चिममा त्रिपाठीलाई उद्योगपति चौधरीको टक्कर

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा एमालेका उम्मेदवार छैनन्। कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी चुनावी मैदानमा उत्रिएका छन्।

०७४ मा वाम गठबन्धनबाट नेकपा एमालेको सूर्य चुनाव चिह्नबाटै चुनाव जितेका त्रिपाठी यसपटक भने आफ्नै दलबाट चुनाव लडेका छन्। कांग्रेसका चौधरीलाई भने माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ।

स्थानीय तहको परिणामअनुसार सो क्षेत्रमा एमाले अघि छ। यसपटक त्रिपाठीले एमालेको साथ पाए पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न भने सहज छैन।

त्यसो त पटक–पटक यहीबाट चुनाव जितेका त्रिपाठीविरुद्ध जनमत तयार गर्न गठबन्धनका उम्मेदवार चौधरीलाई पनि सहज छैन।

अघिल्लोपटक त्रिपाठीले वाम गठबन्धनको बलमा कांग्रेसका देवकरणप्रसाद कलवारलाई सामान्य मतान्तरले हराएका थिए । यसपटक दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पश्चिम नवलपरासी २ मा सत्ता गठबन्धनका उम्मेदवार देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्र कुमार अधिकारीबीच मुख्य प्रतिस्पर्धा छ।
तीन दशकयता निरन्तर चुनाव लड्दै आएका कँडेललाई सत्ता गठबन्धन दलको साथ छ। प्रतिस्पर्धामा रहेका नयाँ उम्मेदवारलाई जसपाको साथ छ। अरू क्षेत्रमा एमालेसँग तालमेल गरेको राप्रपाले यहाँ लोसपासँग तालमेल गरेको छ।

स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ।

२०७४ सालको स्थानीय चुनावमा वाम गठबन्धनभन्दा कांग्रेसको ८ हजार मत कम थियो। तर, प्रतिनिधिसभा चुनावमा कँडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराएका थिए।

बाहुबली उम्मेदवार कँडेललाई यसपटक पनि जितका लागि ठुलो चुनौती नहुने अनुमान गरिएको छ ।

 

यो पनि पढ्नुहोस् :

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?

मधेसका ३२ क्षेत्रको चुनावी विश्लेषण : कहाँ, कसले मार्न सक्छ बाजी ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved