बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

गत स्थानीय तहको चुनावमा वडा तहमा प्राप्त भएको मतलाई आधार मान्दा एमाले कमजोर छ। यो श्रृखलामा हामीले काठमाडौं उपत्यकाबाहेक बाग्मती जिल्लाका सबै निर्वाचन क्षेत्रको विश्लेषण गरेका छौँ।

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रचार तीव्र छ। चुनाव जित्ने रणनीतिका साथ उम्मेदवारहरू मतदाताका घरदैलोमा छन्। नेकपा एमालेमा आएको विभाजनले पनि कतिपय क्षेत्रमा विगतका सहयात्री नै प्रतिस्पर्धी छन्।

गत स्थानीय तहको चुनावमा वडा तहमा प्राप्त भएको मतलाई आधार मान्दा एमाले कमजोर छ। कतिपय दलले प्रभावशाली नेतालाई टिकट नदिएकाले बागी उम्मेदवार हुँदा पनि कतिपय ठाउँमा चुनावी भिडन्त रोमाञ्चक हुने देखिएको छ।

यो श्रृंखलामा हामीले काठमाडौं उपत्यकाबाहेक बागमती जिल्लाका सबै निर्वाचन क्षेत्रको विश्लेषण गरेका छौँ।

मकवानपुरमा रोचक प्रतिस्पर्धा

मकवानपुर-१ बाट प्रतिनिधिसभामा मुख्य तीन प्रतिस्पर्धी छन् सत्ता गठबन्धनबाट महालक्ष्मी उपाध्याय डिना, एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंह।

यि तिन जना नेतालाई यसअघिका चुनाव भने खासै फापेको रेकर्ड छैन। अघिल्लोपटक एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा पराजित भएका थापाले ३४ हजार ६५८ मत पाएका थिए।

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सत्ता गठबन्धन केही बलियो देखिन्छ। कांग्रेस एक्लैको ३४ हजार ७२ मत छ भने माओवादी केन्द्रको १६ हजार ५६२ र एकीकृत समाजवादीको ३ हजार २८३ मत छ। एमालेको ३८ हजार ५६ मत छ भने राप्रपाको ४ हजार ७०।

यस आधारमा गठबन्धन करिब १२ हजार मतले अघि छ । राप्रपाको मत विभाजित भएर दुईतिर बाँडिँदा कमल थापालाई झन् गाह्रो हुनेछ। एमालेकै सबै मत पनि उनले पाउने सम्भावना छैन किनकी थापालाई उम्मेदवार बनाउँदा एमालेको ठुलो पंति असन्तुष्ट छ। त्यसैले यो क्षेत्रबाट डिनाले सहज जित निकाल्ने अनुमान गरिएको छ।

मकवानपुर-२ मा एमालेले महेश बर्तौलालाई उठाएको छ। अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित विरोध खतिवडालाई गठबन्धनले उम्मेदवार बनाएको छ। उनी अहिले एकीकृत समाजवादीका नेता हुन् मकवानपुर-२ विगतमा एमालेको प्रभाव क्षेत्र हो।

यसपटक भने पूर्व एमाले र एमालेबीच चुनावी भिडन्त छ। २०४८ पछिका चार वटा निर्वाचनमा जितेर सांसद भइसकेका खतिवडाको यो पाँचौँ चुनावी प्रतिस्पर्धा हो।

स्थानीय तहको मत परिणाम हेर्दा यहाँ नेकपा एमालेले ३६ हजार ८६६ मत ल्याएको छ। कांग्रेसले ३४ हजार २४०, माओवादी केन्द्रले २२ हजार ६०७, एकीकृत समाजवादीले २ हजार ७१९ र राप्रपाले १ हजार ५३६ मत पाएका छन्।

यो आधारमा खतिवडा भारी मतान्तरले अगाडी देखिन्छन्। तर उनलाई कांग्रेस र माओवादीको मत तान्न भने आवस्यक छ।

चितवनमा उमेश र कृष्णभक्तको मनमा घण्टी बजाउँदै रवि

चितवनको निर्वाचन-१ मा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र कांग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल पनि यहाँ प्रतिस्पर्धामा छन्।

पाण्डे २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक उनलाई सहज छैन।

पौडेल र ढकालसँग उनको प्रतिस्पर्धा छ तीनमध्ये जसले पनि बाजी मार्न सक्ने स्थानीय विष्लेषक बताउँछन् । गत चुनावमा हारेका कांग्रेसका बुर्लाकोटी यसपटक बागी बनेका छन्। यसले पनि प्रतिस्पर्धा रोचक बनेको छ।

चितवन-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमाले नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेबीच प्रतिस्पर्धा हुँदै छ।

पोखरेल यसपटक ह्याट्रिक जितको दाउमा छन्। तर उनको अगाडी लामिछाने तगारो बनेर उभिएका छन्। २०७४ को निर्वाचनमा पोखरेलले यहाँ कांग्रेसका शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतान्तरले हराएका थिए। त्यतिबेला उनलाई वाम गठबन्धनको साथ थियो।

स्थानीय चुनावको मतका आधारमा गठबन्धन केही अगाडी भए पनि रविको प्रवेशले समिकरण बदलिएको छ।

अहिलेसम्मको माहोल हेर्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले सहज रुपमा जित निकाल्ने देखिन्छ।

चितवनमा-३ मा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका दिनेश कोइरालालाई समर्थन गरेको छ।

यहाँ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। राप्रपाका विक्रम पाण्डे पनि मुख्य प्रतिस्पर्धामा छन्।

धेरै उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा भने तीनजनाकै बिचमा देखिन्छ यहाँ अघिल्लो चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई हराएका थिए।

स्थानीय चुनावका आधारमा यहाँ सत्ता गठबन्धनको अत्यधिक मत छ तर कांग्रेसका बागी भएकाले त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ।

कांग्रेसका आधा मात्रै मत तान्न सके पनि अधिकारी जित्नेछन् कांग्रेसका मत नै यो क्षेत्रमा निर्णायक भएकाले अझै चित्र स्पष्ट हुन सकेको छैन।

 

धादिङमा सत्ता गठबन्धन जित्नेमा ढुक्क, नयाँ रणनीति खोज्दै एमाले

धादिङमा एमालेका भूमि त्रिपाठी, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेदेखि कमेडियन हिमेश पन्तसम्म चुनावी मैदानमा छन्।

धादिङ क्षेत्र नं १ मा पाण्डे आफ्नै पुराना सहकर्मी एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धामा छन्।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा त्रिपाठी र प्रदेशसभामा पाण्डे एमालेबाट उम्मेदवार थिए। त्रिपाठी अत्यधिक मत ल्याएर चुनिएका थिए। तर एमाले विभाजनको असर जिल्लामा परेको छ।

बागमतीको मुख्यमन्त्री समेत रहेका पाण्डेलाई हराउन यसपटक त्रिपाठीलाई सहज छैन। किनकी पाण्डेलाई सत्ता गठबन्धनको साथ छ।

धादिङ-२ मा कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रामनाथ अधिकारी र एमालेबाट निवर्तमान सांसद खेमप्रसाद लोहनी मैदानमा उत्रिएका छन्।

लोहनी २०७४ को निर्वाचनमा वाम गठबन्धनमा एमालेबाट विजयी भएका थिए।

वाम गठबन्धन हुँदा पनि लोहनीले निकै कम मतान्तरले जितेको यो क्षेत्रमा यसपटक सत्ता गठबन्धनले सहजै जित्ने अनुमान गरिएको छ।

एमालेको हातबाट धादिङका दुवै क्षेत्र फुत्किन सक्नेछन्।

नुवाकोटमा पनि गठबन्धन सहज अवस्थामा

२ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट-१ मा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र एमालेका बद्री मैनालीबीच प्रतिस्पर्धा छ।

२०७४ को चुनावमा वामगठबन्धनका उम्मेदवार माओवादी नेता तामाङ ३६ हजार ४ सय ७२ मत ल्याएर विजयी भएका थिए।

स्थानीय तहको परिणामका आधारमा यहाँ सत्ता गठबन्धनको मत एमालेको भन्दा निकै धेरै छ। त्यसैले यसपटक पनि तामाङ सहजै जित्ने अनुमान छ।

नुवाकोट-२ मा प्रतिनिधिसभा चुनावका लागि ११ जना मैदानमा भए पनि सत्ता गठबन्धनबाट कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

२०७४ सालमा वाम गठबन्धनका उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएर केसीलाई पराजित गरेका थिए।

केसीले २६ हजार ३ सय ३५ मत ल्याएका थिए।

अर्जुननरसिंहले दुईपटक पञ्चायतको चुनावमा भाग लिए भने यसपालि ९आउँदो मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनसमेत जोडेर ६ पटक बहुदलीय प्रतिस्पर्धामा उम्मेदवार भए।

पञ्चायतमा एकपटक र त्यसपछिका चुनावमा तीनपटक विजयी भए।

 

नुवाकोट २ मा पनि वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस अघि देखिन्छ।

कांग्रेसले २९ हजार ८ सय ६१ मत प्राप्त गर्दा नेकपा एमालेले २६ हजार ३ सय ६६ र  माओवादी केन्द्रको १६ हजार ६७ मत छ। यसका आधारमा यो क्षेत्रबाट पनि केसी नै विजयी हुने देखिन्छ

नुवाकोटका दुवै क्षेत्र यसपटक सत्ता गठबन्धनको पोल्टामा पर्ने सम्भावना बढि छ।

यसपटकको निर्वाचनमा अर्जुननरसिंह नुवाकोट–२ बाट भाइ जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाउन चाहन्थे।

तर, क्षेत्रीय समितिले न अर्जुननरसिंह न त जगदीश्वरलाई नै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको थियो।

उनका भाई भने उम्मेदवार बन्न पाएनन्।

 

रसुवामा मोहनलाई रोक्न गाह्रो

रसुवामा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन आचार्य र एमालेबाट छोवाङ तेन्जिङ तामाङबीच प्रतिस्पर्धा हुने देखिन्छ।

अघिल्लो चुनावमा पनि यी दुवै जना उम्मेदवार थिए। सो चुनावमा आचार्यले तामाङलाई चार हजार भन्दा बढि मतले हराएका थिए। वाम गठबन्धनका उम्मेदवारलाई समेत हराएकाले आचार्यलाई यसपटक जित निकाल्न कुनै कठिनाइ देखिदैन।

 

काभ्रेमा बाँस्कोटालाई कति सहज?

काभ्रे-१ मा भौगोलिक हिसाबले विकट क्षेत्र मानिएका कोशीपारी र महाभारत लेक पारी पर्छन्। विकासको हिसाबले पनि पछि  रहेको यो क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सूर्यमान दोङ र एमालेका तर्फबाट रेशमबहादुर लामाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

मुख्य प्रतिस्पर्धामा रहेका सूर्यमान र रेशम दुवै पुर्वराज्यमन्त्री भैसकेका छन्। ७४ को निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादीका गंगाबहादुर तामाङ दोङले कांग्रेसका तीर्थ लामालाई ४ हजार ४० मतले पछि पारेका थिए। यो क्षेत्रमा २०६४ को चुनावमा माओवादी एक्लै र ०७० मा कांग्रेस एक्लैले जितेका थिए।

दुवै दल अहिले मिलेकाले सूर्यमानले नै जित्ने निश्चित जस्तै रहेको स्थानीय विष्लेषक बताउँछन्।

काभ्रे २ मा रोचक प्रतिस्पर्धा छ।

२०७० मा कांग्रेसले जितेको यो क्षेत्र २०७४ मा वाम गठबन्धनको बलमा एमालेले जित्यो।

एमालेका गोकुल बाँस्कोटा फराकिलो मतान्तरले जितेको यो क्षेत्रमा फेरि पनि उनी नै मैदानमा छन्।

तर समिकरण फेरिएको छ।

बाँस्कोटालाई र ०५६ मा चुनाव जितेका शिव हुमागाईंले चुनौती दिएका छन्।

स्थानीय चुनावको परिणामका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन बलियो छ।

२०७४ सालमा माओवादीले साथ दिंदा गोकुलले शानदार जित दर्ता गरेका थिए।

 

तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ।

यसपटक वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदा यो क्षेत्रका सबै एमाले वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछि पर्न सक्ने देखिएको हो।

बाँस्कोटाको लोकप्रियता पनि खस्किएको छ त्यसैले यसपटक हुमागाँइले नै बाजी मार्ने अनुमान गरिएको छ गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए तर एमाले सबै ठाउँमा भिडेको थियो।

यो एमालेको लगभग मिल्ने मत हो।

बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन्।

यही मतको लेखाजोखा गर्दा गोकुल आफैं उम्मेदवार बन्दा जित्न कठिन हुने देखिन्छ।

रामेछापमा कान्छाराम’लाई ढुङ्गेल चुनौती

रामेछापमा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालको चुनावमा वाम गठबन्धनको तर्फबाट माओवादीका श्यामकुमार श्रेष्ठ प्रतिस्पर्धामा थिए।

उनले कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई ४ हजार ५ सय बढी मतले हराएका थिए।

तर, यसपटक भने उनै कान्छाराम माओवादीको साथ लिएर प्रतिनिधिसभामा डेब्यु गर्ने तयारीमा छन्।

अघिल्लो पटक माओवादीको साथ पाएर प्रदेशसभा जितेका एमालेका कैलाशप्रसाद ढुङ्गेल भने यो पटक एक्लै जित्ने तयारीका साथ मैदानमा छन्।

स्थानीय तहको परिणामका आधारमा जिल्लामा एमाले र कांग्रेस हाराहारीका दल हुन्।

यहाँ एमालेको ३८ हजार ८६०, कांग्रेसले ३८ हजार ७४३ मत ल्याएका थिए।

तेस्रो माओवादी केन्द्रको २७ हजार ८२९ र एकीकृत समाजवादीले १ हजार ५६४ मत ल्याएका थिए।

यसरी हेर्दा सत्ता गठबन्धनको मत अत्यधिक देखिन्छ त्यसैले योपटक ढुंगलमाथि तामाङ हावी हुने अनुमान गरिएको छ।

सिन्धुपाल्चोकमा मोहन बस्नेतलाई शेरबहादुरको टक्कर

सिन्धुपाल्चोक-१ मा सत्ता गठबन्धनबाट माधव सापकोटा र एमालेबाट सरेश नेपाल प्रतिस्पर्धामा छन्।

उनी एमाले नेता तथा पूर्वमन्त्री अरुण नेपालका भाइ हुन्।

यस्तै, पूर्वसभामुख अग्निप्रसाद सापकोटाका भतिजा माधव प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन्।

सो क्षेत्रमा अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका अग्निप्रसाद सापकोटा झण्डै ११ हजार मतान्तरले जित्न सफल भएका थिए।

सिन्धुपाल्चोक-१ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि माओवादी र कांग्रेस दुवैको बलियो दाबी थियो।

सभामुखसमेत रहेका सापकोटाले २०७४ मा एमालेको सहयोगमा कांग्रेसका बस्नेतलाई पराजित गरेका थिए।

सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक-१ पायो।

सभामुख सापकोटाले भने चुनाव नलड्ने बताएपछि सुवोधले टिकट पाए वस्नेत त्यसपछि कांग्रेसले पाएको क्षेत्र नम्बर २ मा गए।

कांग्रेस र माओवादी मिल्दा यो क्षेत्रमा एमालेको भन्दा निकै बढि मत हुन्छ।

त्यसैले यहाँबाट सुवोध निर्वाचित हुने सम्भावना बढि छ यद्यपी सरेशले पनि हार मानेका छैनन्।

सिन्धुपाल्चोक-२ जहाँ बस्नेतसँग उम्मेदवार छन् एमालेका पूर्व सांसद शेरबहादुर तामाङ। तामाङले अघिल्लो चुनावमा   राप्रपाका पशुपति शमशेर राणालाई ८ हजार भन्दा बढिको अन्तरमा हराएका थिए।

स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यहाँ एमाले पहिलो दल हो।

एमालेले ३१ हजार ७७६ र कांग्रेसले २९ हजार ३०२ मत पाएको छ। माओवादी केन्द्रको १६ हजार ७९ मत छ यस आधारमा यो क्षेत्रमा पनि गठबन्धन निकै बलियो छ वस्नेत आफैमा पनि बलिया उम्मेदवार भएकाले तामाङले हार व्यहोर्नुपर्ने हुनसक्छ।

दोलखामा नयाँ अनुहारबीचको प्रतिस्पर्धा

दोलखामा एमालेबाट बालकृष्ण शिवाकोटी र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका गङ्गा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

२०७४ अघिका चुनावमा प्रतिनिधिसभामा २ क्षेत्र रहेको दोलखामा आनन्दप्रसाद पोखरेलले २०५१ को मध्यावधि र २०६४ को संविधान सभा बाहेकका चुनाव जिते।

२०७० सालमा पहिलोपटक चुनाव लडेका पार्वत गुरुङले २०७४ सालमा दोलखा एक क्षेत्र मात्र हुँदा पनि टिकट पाएर चुनाव जिते।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा एमाले अगाडी छ। एमालेले ३९ हजार ५० मत पाएको छ

कांग्रेसले ३३ हजार ४३९, माओवादी केन्द्रले १७ हजार ३७५ र एकीकृत समाजवादीले ३ हजार १५१ मत पाएका थिए।

यस आधारमा यो जिल्लामा एमालेको भन्दा गठबन्धनको मत धेरै छ पार्वतले टिकट पाएको भए कडा प्रतिस्पर्धा हुने सम्भावना थियो तर नयाँ उम्मेदवार भएकाले दोलखा पनि एमालेबाट फुत्किने स्थानीय विष्लेषकको दाबी छ।

सिन्धुलीमा डेब्यु गर्ने तयारीमा ठूला दलका उम्मेदवार

सिन्धुलीबाट प्रतिनिधि सभामा डेब्युका लागि शीर्ष दलबाट चार जना चुनावी मैदानमा छन्।

दुईवटा क्षेत्र रहेको सिन्धुली क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका श्याम घिमिरे र विपक्षी गठबन्धनको तर्फबाट एमालेका प्रदीप कटुवाल चुनावी मैदानमा छन्।

यसअघि, सिन्धुली-१ मा एमालेका गणेश पहाडीले ३२ हजार ५ सय २९ मत ल्याएर जितेका थिए।

कटुवाल त्यस भूगोलमा भिजेका नेता भएकाले त्यहाँ प्रतिस्पर्धा रोचक बन्नेछ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवाको मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा कांग्रेसको मत २८ हजार १७ रहेको छ।

माओवादी केन्द्रको मत १३ हजार ३६९ छ। एकीकृत समाजवादीको मत १ सय८७ छ।

यता, एमालेका वडाध्यक्षका उम्मेदवारको मत २८ हजार ६२० रहेको छ।

यस आधारमा सत्ता गठबन्धन फराकिलो अन्तरले अगाडी देखिन्छ कांग्रेसका घिमिरेले संसदमा डेब्यु गर्ने सम्भावना नै अत्यधिक छ।

सिन्धुली-२ मा सत्ता गठबन्धनले माओवादी केन्द्रका राजन दाहाललाई उठाएको छ।

उनले एमालेका मनोजजंग थापासँग प्रतिस्पर्धा गर्नेछन्।

गत स्थानीय चुनावमा यस क्षेत्रमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा एमाले पहिलो दल हो।

एमालेको मत २१ हजार ४५५ र दोस्रो भएको माओवादी केन्द्रको १९ हजार ४ सय ८८ मत छ।

त्यहाँ कांग्रेसको मत पनि १९ हजार १ सय २८ छ।

यसअघि २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादीका हरिबोल गजुरेल झण्डै १२ हजार मतान्तरले विजयी भएका थिए।

काग्रेस र माओवादीको मत मिलाउँदा एमालेकोभन्दा निकै बढि हुन्छ।

त्यसैले यसपटक पनि यहाँ माओवादीकै उम्मेदवारले जित्ने सम्भावना बढि छ।

सिन्धुलीका दुवै क्षेत्रमा एमालेले हार व्यहोर्नुपर्ने हुन सक्छ।

 

यो पनि पढ्नुहोस 

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved