काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

नयाँ दल पनि प्रतिस्पर्धामा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि कम्तिमा तीन क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पुगेका छन् । सत्ता गठबन्धनको रणनीति एमालेलाई धेरै ठाउँमा हराएर साइज खुम्चाउने छ। त्यसका लागि गठबन्धन दलबीच एक अर्काको मत ट्रान्सफर प्रभावकारी बनाउनेमा ध्यान केन्द्रित देखिन्छ। एमाले पुरानो वर्चस्व कायम राख्ने संघर्षमा छ । नयाँ पार्टीका उम्मेदवार दुवैका लागि चुनौती हुने देखिन्छ। काठमाडौं, ललितपुर र भक्तपुरको सम्भावित परिणाम कस्तो आउला ? पढौं यो विश्लेषण ।

नेपालभ्युज

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

काठमाडौं। आमनिर्वाचन आउन १० दिन पनि बाँकी नरहेको अवस्थामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। चुनावी माहोल तातिँदै गएको छ। उम्मेदवार घर-घर पुगेर मतदाता भेटघाट गरिरहेका छन्।

काठमाडौं उपत्यकामा पनि चुनावी रौनक बढेको छ । काठमाडौं जिल्लामा १०, ललितपुरमा ३ र भक्तपुरमा २ गरी उपत्यकामा १५ निर्वाचन क्षेत्र छन् । यी क्षेत्रमा मुख्यत: सत्ता गठबन्धन, एमाले, नयाँ दल र अन्य केही साना दल प्रतिस्पर्धामा देखिन्छन् ।

केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको चर्चा पनि राम्रै छ ।  एमाले पुरानो वर्चस्व कायम राख्ने संघर्षमा छ भने नयाँ पार्टीका उम्मेदवार दुवैका लागि चुनौती हुने देखिन्छ।

यस्तो थियो २०७४ को नतिजा

२०७४ को निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ ठाउँमा एमाले विजयी भएको थियो। बाँकी चारमा कांग्रेसका उम्मेदवार विजयी भए । वाम गठबन्धन गर्दा माओवादीको भागमा परेका क्षेत्र १, ६ र १० मा कांग्रेसले जित्यो । जहाँबाट कांग्रेसका  प्रकाशमान सिंह, भीसेनदास प्रधान र राजन केसी संसद पुगे । त्यसबाहेक क्षेत्र नम्बर चारमा गगन थापाले एमालेका राजन भट्टराईलाई हराउन सफल भए ।

एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा कांग्रेसलाई हराएको थियो। २ मा माधव कुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए। यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् ।

उपत्यकामा पम्फा भुसाल एक्ली उम्मेदवार थिइन् जसले माओवादीबाट चुनाव जितेकी थिइन्। उनी ललितपुर ३ बाट सांसद बनेकी थिइन्। ललितपुर १ मा एमालेका नवराज सिलवाल र २ मा एमालेकै कृष्णलाल महर्जनले जितेका थिए।

भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र २ मा एमालेका महेश बस्नेतले बाजी मारेका थिए । उपत्यकाका १५ मध्ये एमालेले ९ स्थानमा सफलता पायो । कांग्रेस चार तथा माओवादी र नेमकिपाले एक-एक सिट जिते ।

काठमाडौंमा के होला ?

प्रकाशमान र रवीन्द्रको रिम्याचमा पुकार र रमेशको इन्ट्री

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह जित दोहोर्‍याउने दाउमा छन् । उनलाई एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र शुसासन पार्टीका रमेश खरेलले चुनौती पेश गरेका छन् । अघिल्लो चुनावमा सिंहले यो क्षेत्रमा विवेकशील साझाबाट उठेका मिश्रलाई ८ सय १८ मतान्तरले हराएका थिए।

अहिले नयाँ प्रतिस्पर्धीको रूपमा बम, पौडेल र खरेल थपिएका छन् । स्थानीय चुनावका आधारमा यो क्षेत्रमा काग्रेसका वडा अध्यक्षले ९ हजार ८ सय ९५ मत पाएका थिए।

त्यस्तै, एमालेका वडा अध्यक्षहरूले ९ हजार ५ सय ४१ र माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ७७ मत ल्याएका थिए।

तर, स्थानीय चुनावमा दोस्रो बढी मत ल्याएको एमाले यसपटक प्रतिस्पर्धामै देखिएको छैन । सिंह, बम र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने धेरैको आकलन छ ।

यीमध्ये पनि सिंह र बमबीचमै मुख्य प्रतिस्पर्धा देखिन्छ । क्षेत्र नम्बर एकका दर्जनौ मतदातासँग गरेको कुराकानीका आधारमा मिश्र तेस्रो, पौडेल चौथो र खरेल पाँचौं हुने सम्भावना छ ।

सिंह र बममध्ये कसले बाजी मार्ला भन्ने अझै स्पष्ट भइसकेको छैन । कांग्रेस इतरको मत धेरे ठाउँमा बाँडिने भएकाले फेरि पनि सिंहलाई नै चिट्ठा पर्न सक्ने आँकलन गरिएको छ । यद्यपि, पुकार बम पनि निकट प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा पर्छन् ।

काठमाडौं–२ : ओनसरी र मणिरामलाई सोबिता चुनौती

क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाका ९ र ३२ तथा शंखरापुर नगरपालिकासँगै बागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ वडा पर्छन्।

यहाँ सत्ता गठबन्धनका तर्फबाट  माओवादी केन्द्रकी  ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम र राप्रपाका कुन्तीदेवी पोखरेल मैदानमा छन् ।

२०७४ को निर्वाचनमा यहाँबाट एमालेका माधवकुमार नेपाल विजयी भएका थिए। उनले २७ हजार ३६६ मत ल्याउँदा कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत मात्रै पाएका थिए । तेस्रो भएका विवेकशील साझाका डा. सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं–२ मा एमालेको १७ हजार ३२८, कांग्रेसको १४ हजार १२८, एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ७ हजार २०० र माओवादीको ३ हजार १३१ मत देखिन्छ।

सर्सर्ती हेर्दा गठबन्धन बलियो देखिन्छ । तर, स्वतन्त्र पार्टीकी सोबिताका पक्षमा आकर्षण देखिएको छ । जसले प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ । तीनमध्ये को विजयी बन्ला भन्ने यकिन गर्न गाह्रो छ । जोसुकैका पक्षमा पनि परिणाम जान सक्ने स्थानीय बताउँछन् ।

 

काठमाडौं–३ : पूर्वसांसदसँग पूर्व मेयरको प्रतिस्पर्धा

अघिल्लो चुनावमा यो क्षेत्रबाट एमालेका कृष्ण राई १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्।

गत स्थानीय तह निर्वाचनको परिमाण हेर्दा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६ माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४ र एकीकृत समाजवादीको १ हजार ६५ मत देखिन्छ।

यो क्षेत्रमा एमालेले वर्तमान सांसद कृष्ण राईलाई नै उठाएको छ । कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसे प्रतिस्पर्धामा छन्। यहाँबाट नयाँ दल र स्वतन्त्र उम्मेदवार मुख्य चुनौतीका रूपमा देखिएका छैनन् । माओवादीले हालेको उम्मेदवारी पछि निस्क्रिय बनाएको छ ।

गठबन्धन कायम भएको र नयाँको चुनौती पनि नदेखिएकाले  यो क्षेत्रबाट कांग्रेसका चालिसे सहज रूपमा चुनाव जित्ने अवस्थामा छन् ।

काठमाडौं ४: गगनलाई पुरानै प्रतिस्पर्धी

काठमाडौं-४ मा कांग्रेस महामन्त्री गगन थापा, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई मुख्य प्रतिस्पर्धामा छन्।

यो क्षेत्रमा काठमाडौं  महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३०, बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्छन्।

२०७४ को चुनावमा कांग्रेसका थापा २१ हजार ५५८ मत ल्याएर विजयी भएका थिए। एमालेका  भट्टराईले १८ हजार १४० मत पाएका थिए।

स्थानीय निर्वाचनको परिणाम अनुसार एमालेले १६ हजार ५०७ र कांग्रेसको १५ हजार ७६३ मत छ। तर, थापाको लोकप्रियता भट्टराईको भन्दा बढी देखिन्छ । उनी विगतमा वाम गठबन्धन हुँदासमेत विजयी भएका थिए ।

प्रधानमन्त्रीकै दाबी गरिरहेका थापालाई यसपटक झन् सहज देखिन्छ ।

काठमाडौं–५ : आशावादी ईश्वर

एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल यहाँबाट निर्वाचित भएका थिए । अहिले पनि उनी नै उम्मेदवार छन्।

कांग्रेसबाट प्रदीप पौडेल छन् भने हाम्रो नेपाली पार्टीका मधुसूदन पाठक(सिते बा)  तथा स्वतन्त्र  रञ्जु दर्शनाको पनि चर्चा छ ।

०७४ को निर्वाचनमा पोखरेलले २३ हजार २९ मत पाएका थिए भने प्रतिस्पर्धी कांग्रेसका डा. प्रकाशशरण महतले १३ हजार १६९ मात्रै ल्याएका थिए।

स्थानीय तह निर्वाचनका आधारमा एमालेले यो क्षेत्र जित्ने सूचीमा राखेको छ । स्थानीय तहमा एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, माओवादीले १ हजार १६८, राप्रपाको २ हजार ८२२ र एकीकृत समाजवादीको १ हजार ८२७ मत देखिन्छ।

तर, कांग्रेसका युवा नेता पौडेलका कारण पोखरेललाई कडा चुनौती देखिएको छ । चुनावी माहोल हेर्दा यि दुईमध्ये जो पनि विजयी हुनसक्ने अवस्था छ ।

काठमाडौं ६ : पूर्वरक्षामन्त्री र पूर्व प्रहरी प्रमुखको प्रतिस्पर्धा

काठमाडौं–६ मा कांग्रेसका भीमसेनदास प्रधान, एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी हुन्। प्रधान पूर्वरक्षामन्त्री र खनाल नेपाल प्रहरीको पूर्वप्रमुख हुन्।

काठमाडौं महानगरपालिका २६, २७ र २८ तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नगरका १, ८, ९, १० र ११ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत जोड्दा कांग्रेसको  १७ हजार २७७ र एमालेको १४ हजार ३०३ मत छ ।

गठबन्धनमा आबद्ध दलको मतसमेत जोड्दा यो क्षेत्रमा कांग्रेस निकै बलियो देखिन्छ । त्यसैले, यहाँबाट कांग्रेसका प्रधान फेरि पनि सहजरूपमा विजयी हुने अनुमान गरिएको छ ।

काठमाडौं ७ : एमाले बागीका कारण मानुषीलाई सहज

काठमाडौं–७ मा सत्तारुढ गठबन्धनबाट मानुषी यमि भट्टराई र एमालेका श्याम घिमिरे मुख्य प्रतिस्पर्धामा छन् ।

एमाले नेता रामवीर मानन्धरले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यस्तै, जसपाबाट पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ पनि प्रतिस्पर्धी हुन् ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५,  नागार्जुन नगरपालिकाका १, २ र ३ तथा तारकेश्वर नगरपालिकाकाका ३, ४ र ५ नम्बर वडा पर्छन्।

२०७४ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रम थापालाई सहयोग गरेको थियो । वामगठबन्धनका तर्फबाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित निर्वाचित भएका थिए। थापाले १० हजार ७९ मात्रै भोट ल्याएका थिए।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत जोड्दा कांग्रेस पहिलो दल हो । गठबन्धनको सहयोग र एमाले बागीका कारण यो क्षेत्रबाट मानुषीलाई चुनाव जित्न खासै कठिनाइ नहुने अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका मानन्धर तेस्रो र जसपाका श्रेष्ठ चौथो स्थानमा आउने सम्भावना छ ।

कठमाडौं ८ : जीवनरामलाई कांग्रेसको भर, सायमीको डर

काठमाडौं–८ मा एमालेले शिवसुन्दरराज वैद्यलाई उम्मेदवार बनाएको छ। कांग्रेस एक्लै बलियो देखिए पनि सत्ता गठबन्धनबीचको भागबन्डामा यो क्षेत्र एकीकृत समाजवादीले पाएको छ । जीवनराम श्रेष्ठ उम्मेदवार छन्।

अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले नै १३ हजार ३९७ मतसहित जित हासिल गरेका थिए । प्रतिस्पर्धी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए।

स्थानीय तहमा वडा अध्यक्षले पाएको मतका आधारमा कांग्रेस पहिलो दल हो । उसले १० हजार ८७२, एमालेले ९ हजार २३५, र एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको छ ।

तर, यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा महानगरको मेयर उम्मेदवार बनेका सुमन सायमी हाम्रो नेपाली पार्टीबाट उम्मेदवार छन्। सामाजिक अभियन्ता सायमीले मेयरमा १३ हजार ७ सय ७० भोट ल्याएका थिए।

उनकै कारण यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा सायमीले नै बाजी मारे भने आश्चर्य हुनेछेन । अहिलेसम्मको अवस्थामा उनको माहोल अन्यको भन्दा राम्रो देखिन्छ । एमाले तेस्रो स्थानमा पुग्न सक्छ ।

यो क्षेत्रमा महानगरका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाका साथै, नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा पर्छन् ।

काठमाडौं–९ : कृष्णगोपाललाई मिलनको चुनौती

काठमाडौं-९ मा सत्ता गठबन्धनबाट कल्पना धमला, एमाले नेता कृष्णगोपाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार मिलन पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ ।

गत चुनावमा एमालेका श्रेष्ठ २२ हजार ८५२ मत पाएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए।

काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२,  चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ तथा नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा यस क्षेत्रमा पर्छन् ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा क्षेत्रमा कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५, एकीकृत समाजवादीको ४६५ मत छ । तर, अहिले जमिनको अवस्था भने बदलिएको छ ।

गठबन्धन भए पनि माओवादी उम्मेदवार कमजोर देखिन्छन् । बरु स्वतन्त्र उम्मेदवार मिलन पाण्डे प्रतिस्पर्धामा पुगेका छन् । गत निर्वाचनमा पनि सम्मानजक मत ल्याएका पाण्डेले यसपटक श्रेष्ठलाई माथ दिए भने आश्चर्य हुनेछैन ।

काठमाडौं-१० : कांग्रेस एक्लै बलियो

काठमाडौं–१० मा सत्ता गठबन्धनको तालमेल छैन। जहाँ अघिल्लोपटक निर्वाचित कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादीकी अञ्जना विशंखे उम्मेदवार छन्।

एमालेले युवा नेता हिमेश केसीलाई चुनावी मैदानमा उतारेको छ। अघिल्लोपटक केसी २४ हजार १९० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका थिए।

चन्द्रागिरि नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका यसमा  समेटिएको छ।

स्थानीय तह निर्वाचनका आधारमा यहाँ कांग्रेस एक्लै बलियो छ । त्यसैले,  माओवादीको उम्मेदवार हुँदा पनि कांग्रेस खासै डराएको छेन । केसीले वाम गठबन्धन हुँदा पनि जित निकालेकाले यसपटक झन् सहज हुने आँकलन गरेका छन्।

एमालेले कमजोर उम्मेदवार दिएकाले पनि उनलाई फाइदा पुगेको छ ।

ललितपुरमा एमालेलाई गठबन्धन चुनौती

ललितपुर–१ मा पुरानै प्रतिस्पर्धी, गठबन्धन बलियो

ललितपुर–१ मा कांग्रेसका उदय शमशेर राणा र एमालेका नवराज सिलवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। २०७४ को निर्वाचनमा पनि यीनै प्रतिस्पर्धी थिए । तर, राणालाई ६ हजार २ सय १७ मतले पछाडि पार्दै सिलवाल सांसद बने । त्यतिबेला एमालेको साथमा माओवादी थियो ।

अहिले माओवादी सत्ता गठबन्धनमा छ। सिलवालले २६ हजार ९ सय ४६ मत पाउँदा राणाले २० हजार ७ सय २९ मत ल्याएका थिए।

राणा संविधानसभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुँदै अर्थ राज्यमन्त्रीसमेत बनेका थिए। सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्।

ललितपुर–१ मा गोदावरी नगरपालिकाको वडा–१२ र १४, कोन्ज्योसोम, वाग्मती र महाकाल गाउँपालिका पर्छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने ३० वडा मध्ये कांग्रेसले २२ वटामा जित हात पारेको थियो । ५ वडा माओवादी र ३ वडा मात्र एमालेले जितेको थियो । जसका आधारमा आसन्न निर्वाचनमा सत्ता गठबन्धन निकै बलियो देखिन्छ।

अर्थात यो क्षेत्रबाट राणाले सहज रुपमा जित निकाल्ने सम्भावना छ ।

ललितपुर-२ मा कसले मार्ला बाजी ?

ललितपुर-२ मा एमाले र एकीकृत समाजवादीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। एमालेले जिल्लाको राजनीतिमा लामो समयदेखि सक्रिय प्रेम महर्जनलाई मैदानमा उतारेको छ।

एकीकृत समाजवादीले यसअघि दुईपल्ट चुनाव जितेका कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको छ। उनलाई सत्ता गठबन्धनको साथ छ ।

प्रेम र कृष्णलाल पहिलेका सहयात्री हुन् । कृष्णलाललाई जिताउन खटिने प्रेम अहिले आफै उम्मेदवार बनेका छन्।

२०७४ को निर्वाचनमा एमालेका कृष्णलाल महर्जन २७ हजार ७१३ मत ल्याई विजयी हुँदा कांग्रेसका चन्द्र महर्जन १६ हजार ९४५ मतमा सीमित भएका थिए।

उनै कृष्णलाल यसपटक एकीकृत समाजवादीबाट मैदानमा उत्रिएका छन् ।

यो क्षेत्रमा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १२, १६, १७, १९ पर्छन्।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको मत १९ हजार ४४४ देखिन्छ । कांग्रेसको १२ हजार ३८७, माओवादीको ७ हजार २०२, एकीकृत समाजवादीको ५ हजार ३५३ र राप्रपाको ४ हजार ५ छ ।  यसलाई आधार मान्दा सत्ता गठबन्धन एमालेभन्दा ५ हजार भन्दा बढी मतले अगाडि देखिन्छ ।

राप्रपाले आफ्नै उम्मेदवार उठाएकाले यो क्षेत्रमा कांग्रेसको मत तान्न सके कृष्णलालले नै बाजी मार्नेछन् । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पनि सम्मानजक मत ल्याउने अनुमान गरिएको छ ।

ललितपुर-३ मा पम्फालाई कांग्रेसको भर, तोसिमाको डर

२०७४ को प्रतिनिधिसभा चुनावमा ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल निर्वाचित भएकी थिइन । उनी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार छन्।ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री रहेकी भुसालसँग एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की मुख्य प्रतिस्पर्धी छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा माओवादीले वडागत रूपमा पाएको मत ७ हजार ९५८ मात्र छ।

कांग्रेसले १९ हजार ७४४ र एमालेले १९ हजार ७११ मत पाएको छ । तर, तोसिमाको प्रवेशले यो सबै समीकरण बिग्रिएको छ । उनी आफैं प्रतिस्पर्धामा पुगेकी छन् । त्यसैले मुख्य प्रतिस्पर्धा पनि दुई महिला उम्मेदवारबीच नै हुने अनुमान गरिएको छ ।

तोसिमाको अवस्था दिन प्रतिदिन मजबुत हुँदै गएकाले पम्फालाई यसपटक सहज नहुने अनुमान गर्न थालिएको छ ।

यो क्षेत्रमा ललितपुर महानगरका वडा नं. १–५, १०, १३–१५, २०–२९ र गोदावरी नगरपालिकाका वडा नं. १२ र १४ पर्छन्।

भक्तपुरमा यस्तो छ अवस्था

१ नम्बर क्षेत्रमा नेमकिपालाई हराउन असम्भव

भक्तपुर १ नम्बर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड छ। यहाँ विपक्षीमा रहेका सबै उम्मेदवार एकातिर उभिँदा समेत नेमकिपाकै पल्ला भारी हुने गर्छ।

अघिल्लो चुनावमा ३७ हजार ७६ मत ल्याएर नेमकिपाका प्रेम सुवालले जितेका थिए।

उनका प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मतमा चित्त बुझाउनुपरेको थियो। वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए।

रोचक त के भने अन्य पार्टीका उम्मेदवारले प्राप्त गरेको सम्पूर्ण मत एकातिर जोड्दा पनि नेमकिपाकै उम्मेदवारले प्राप्त गरेको मत बढी थियो।

यहाँ एमालेका नवराज गेलाल र माओवादीका सुनील गोठे प्रतिस्पर्धामा छन्। स्थानीय चुनावमा आएको परिणाम हेर्दा भक्तपुर १ मा नेमकिपाले फराकिलो अन्तरले जित्ने निश्चित छ ।

भक्तपुर २ मा महेश र दूर्लभको कडा टक्कर

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलोपटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२।

त्यसअघि, यो क्षेत्र कांग्रेसको किल्ला थियो । एमालेका  बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दा कांग्रेसका दमननाथ ढुङ्गाना १८ हजार ६ सय ८७ मतमा सीमित भए ।

तर, यसपटक एमालेलाई  पहिले जस्तो सहज छैन । कारण उनले आफूजस्तै बलियो उम्मेदवार कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको सामना गर्नुपरेको छ। थापा सत्ता गठबन्धनका उम्मेदवार हुन्।

स्थानीय तहको मतपरिणाम पनि बस्नेतका पक्षमा छैन । यो क्षेत्रमा कांग्रेसको मत झण्डै २६ हजार छ भने एमालेको २४ हजार ५०० छ।

नेपाल मजदुर किसान पार्टीले ५ हजार, राप्रपाले ४ हजार, एकीकृत समाजवादीले १ हजार र माओवादी केन्द्रले १ हजार हाराहारीमा मत पाएका छन्। यसरी हेर्दा सत्ता गठबन्धनको मत झन्डै २८ हजार छ।

त्यसैले, यसपटक महेश र दूर्लभमध्ये कसले बाजी मार्नेछ भनेर आँकलन गर्न अप्ठेरो छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पनि पढनुहोस :

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved