सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

एमालेले अधिकतम कति सिट जित्न सक्ला ?

अघिल्लो पटक वाम एकताको नारा लिएर जनतामाझ गएका दल अहिले फरक धारमा उभिएका छन् । र समिकरण पनि अर्कै बनेको छ । एमाले एक्लिएको छ । सुदूरपश्चिम प्रदेशमा चुनावी परिणाम कस्तो आउला ? धेरैको चासो छ। हेरौँ, सुदूरपश्चिमका १६ वटै क्षेत्रको सम्भावित परिणामबारे नेपालभ्युजको विश्लेषण

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन्। अघिल्लो निर्वाचन (२०७४)मा १६ मध्ये नेकपा एमालेले एक्लै झन्डै दुई तिहाइ ११ सिट जितेको थियो।

एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले ३ सिट जित्दा एउटामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का रेशम चौधरीले जिते । कांग्रेसले जितेको जम्मा एक सिट पार्टी सभापति शेरबहादुर देउवाको थियो । अघिल्लो पटक वाम एकताको नारा लिएर जनतामाझ गएका दल अहिले फरक धारमा उभिएका छन् । र समिकरण पनि अर्कै बनेको छ ।

एमाले एक्लिएको छ । एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादी पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग छ। एमालेले राप्रपालगायतसँग तालमेल गरे पनि सुदूरपश्चिमका धेरै क्षेत्रमा एक्लै चुनावी मैदानमा छ ।

यो पटक सुदूरपश्चिम प्रदेशमा चुनावी परिणाम कस्तो आउँला ? धेरैको चासो छ। देउवाले बीउ जोगाएको कांग्रेस शक्तिशाली बन्दै पहिलो हुने दाउमा छ। एमाले पुरानो विरासत जोगाउने प्रयत्नमा रहँदा माओवादी पनि आफूले गठबन्धनमा पाएको सबै ४ क्षेत्रमा जित हाँसिल गर्ने कसरतमा देखिन्छ ।

यसअघि कसले कहाँ जितेका थिए ?

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेले कैलाली २ र ५, कञ्चनपुर २ र ३, दार्चुला, बैतडी, अछाम १ र २, डोटी, बझाङ र बाजुरामा जितेको थियो। कैलाली २ बाट झपटबहादुर रावल र ५ बाट नारदमुनि राना, कञ्चनपुर–२ बाट नरबहादुर धामी, ३ बाट डा. दीपकप्रकाश भट्ट, दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, अछाम–१ बाट भीम रावल, २ बाट यज्ञ बहादुर बोगटी, डोटीबाट प्रेम आले, बझाङबाट भैरवबहादुर सिंह, विजयी भएका थिए।

माओवादी केन्द्रले कैलाली ३, ४ र कञ्चनपुर १ मा जितेको थियो । त्यहाँबाट क्रमशः बिना मगर, गौरीशंकर चौधरी र लेखराज भट्ट सांसद बनेका थिए। तत्कालीन राजपाका उम्मेदवार हाल नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले कैलाली १ बाट चुनाव जितेका थिए। कांग्रेसका देउवाले एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट जितेका थिए।

जसमध्ये डोटीबाट जितेका एमाले उम्मेदवार आले एकीकृत समाजवादीमा गएका छन्। माओवादीबाट विजयी भट्ट र चौधरी एमालेमा छन्।

अहिले कहाँ कोको छन् उम्मेदवार ?

एमालेविरुद्ध सत्तागठबन्धनले सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सिटमै तालमेल गरेको छ। कांग्रेसले ९, माओवादीले ४ र एकीकृत समाजवादीले ३ सिट पाएका छन्।

कांग्रेसबाट डडेलधुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र बडू, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाही, कैलाली १ मा रामजनम चौधरी, कैलाली ४ मा वीरबहादुर बलायर, कैलाली ५ मा डिल्लीराज पन्त, कन्चनपुर १ मा एनपी साउद र कन्चनपुर ३ मा  रमेश लेखक उम्मेदवार छन्।

माओवादी केन्द्रका उम्मेदवार बैतडी २ मा नरेन्द्र कुँवर, कैलाली २ मा भगतबहादुर बडुवाल, कैलाली ३ मा कृष्णकुमार चौधरी र कञ्चनपुर १ मा बिना मगर छन्।

भागबन्डामा तीन क्षेत्र पाएको एकीकृत समाजवादीले अछाम १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेम आलेलाई उम्मेदवार बनाएको छ।

उनीहरूविरुद्ध एमालेका १५ उम्मेदवार छन्। एक जना स्वतन्त्रलाई समर्थन छ। बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी उम्मेदवार छन्।

डोटीमा गौरी ओली, अछाम– १ मा झपट बोहरा, अछाम– २ मा यज्ञ बोगटी, कञ्चनपुर–२ मा नरबहादुर धामी उम्मेदवार छन्।

डडेलधुरामा एमालेले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । कञ्चनपुर– ३ मा नीरुदेवी पाल, कैलाली– १ मा टपेन्द्र रावल, कैलाली– २ मा झपट रावल, कैलाली– ३ मा गौरीशंकर चौधरी, कैलाली– ४ मा लेखराज भट्ट र कैलाली– ५ मा नारदमुनि राना एमालेका उम्मेदवार हुन् ।

 

के होला कैलालीका ५ क्षेत्रको परिणाम ?

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

एमाले उम्मेदवार तपेन्द्रबहादुर रावल भने थारू मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छन्।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित ( ३४ हजार ३ सय ४१ मत) र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले प्राप्त गरेको जित जोगाउनुपर्ने दबाबमा छिन्।

कांग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखिको वर्चस्व फिर्ता गर्ने प्रयासमा छन् । उनले २०४८ मै सो क्षेत्रमा २८ वर्षको उमेरमा चुनाव जितेका थिए।

थारू बाहुल्यता रहेको सो क्षेत्रमा दुईजना थारूको उम्मेदवारी परेका कारण मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा आउने अपेक्षा एमालेका उम्मेदवार रावलको छ।

टीकापुर नगरपालिकाको मेयर भइसकेका रावल आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने र पुनः मौका दिने विश्वासमा छन्।

स्थानीय तहमा एमालेले सो क्षेत्रबाट साढे नौ हजार मत मात्रै पाएको थियो।

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले नागरिकको सहानुभूति मत पाएका थिए। अहिले रेशमकी पत्नी रञ्जिता उम्मेदवार छिन्। त्यसैले, यो क्षेत्रमा रञ्जिताले चुनाव जित्ने सम्भावना बढी देखिन्छ ।

कैलाली-२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा एमालेका झपट रावलसहित ९ जना उम्मेदवार छन्। तर, मुख्य प्रतिस्पर्धाचाहिँ एमालेका रावल, सत्ता गठबन्धनका भगत बडुवालबीच हुने देखिन्छ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी पनि बलिया उम्मेदवार मानिन्छ। चौधरीको दल नयाँ भए पनि परिचित अनुहार हुन्।

माओवादी केन्द्रका बडुवाल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए।

यद्यपि, तीनै जना उम्मेदवार आफू जित्ने दाबी गर्छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादीका बडुवाल गठबन्धनमा आबद्ध दलसँगको मतभार जितको पहिलो आधार भएको बताउँछन्।

एमाले उम्मेदवार रावल पनि आफूले नै चुनाव जित्ने दाबी गर्दै आएका छन्। उनी निवर्तमान सांसद पनि हुन्। नागरिक उन्मुक्तिका अरुण चौधरी भने आफ्ना प्रतिस्पर्धी दुवै परीक्षण भइसकेकाले जनताले अवसर दिने बताउँछन् । यो क्षेत्रमा अहिलेसम्म सत्ता गठबन्धन नै बलियो देखिएको छ ।

 

कैलाली-३ मा जनयुद्धका तीन सहयात्री प्रतिस्पर्धामा

कैलाली-३ मा दुई पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

सत्ता गठबन्धनका कृष्णकुमार चौधरी र एमालेका गौरीशंकर चौधरीबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ।

यो क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्तिका उम्मेदवारले पनि चुनौती दिइरहेका छन्।

उक्त पार्टीबाट गङ्गाराम चौधरी उम्मेदवार छन्। ती तीनै जना तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धका सहयात्री हुन्।

गौरीशंकर २०७० र २०७४ को चुनावमा माओवादीबाट यही क्षेत्रबाट संघमा विजयी भएका थिए।

उनले २०७४ मा वाम गठबन्धनको सहारामा पूर्वमन्त्री एवम् कांग्रेस नेता रामजनम चौधरीलाई पराजित गरेका थिए।

अघिल्लोपटक २४ हजार ७ सय ७९ मतले जितेका गौरीशकर अहिले एमालेबाट उम्मेदवार भएका छन्।

यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा हुन सक्छ । तर, माओवादीका कृष्णकुमार चौधरी गठबन्धनका कारण केही बलियो देखिएका छन् ।

 

कैलाली–४ मा बलायर र भट्ट आमनेसामने

रोचक भिडन्त भएको सुदूरपश्चिमको अर्को क्षेत्रमध्ये एक हो कैलाली ४।

जहाँ एकातिर एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, अर्कोतिर कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर छन्।

‘हेभिवेट’ मानिने र पटक–पटक मन्त्रीसमेत भएका नेताबीचको प्रतिस्पर्धा उनीहरूको राजनीतिक भविष्यसँग पनि जोडिएको छ ।

माओवादीबाट एमालेमा गएका भट्ट सोही क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन् ।

बलायरका लागि कैलाली ४ नयाँ हो । डोटीबाट तीन पटक चुनाव लडिसकेका बलायर यसपटक कैलाली ४ झरेका हुन्।

२०६४ मा जितेका भट्ट २०७० मा पराजित भएका थिए।

२०७४ मा उनले कांग्रेस उम्मेदवार सुनीलकुमार भण्डारीलाई ३१ हजार ३ सय ५९ मतले पराजित गर्दै दोस्रोपटक चुनाव जितेका थिए।

वाम गठबन्धनबाट २०७४ मा करिब ११ हजार मतान्तरले जितेका भट्टले यसपटक कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारको सामना गर्दै छन्।

कांग्रेसमा आन्तरिक असन्तुष्टि देखिएको छ । त्यो मिलाउन सके बलायरले बाझी मार्नेछन् । किनकि, यो क्षेत्रमा गठबन्धनको मत एमालेको भन्दा निकै बढी छ ।

सुदूरपश्चिमको राजधानीमा गठबन्धनलाई डर

कैलाली-५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि राना, गठबन्धनका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

२०७४ मा नेकपा एमालेका रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई २७ हजार २ सय २ मतले पराजित गरेका थिए।

यो पटक राना दोस्रो कार्यकालका लागि उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य विजयी भएका कांग्रेसका नेता डिल्लीराज पन्त गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार हुन्।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। ओझाको उम्मेदवारीले गठबन्धनलाई असर पुग्ने अनुमान गरिएको छ ।

कांग्रेसमा लामो समय रहेका ओझालाई गत चुनावमा आरजुलाई असहयोग गरेको भन्दै पार्टीले निकालेको थियो । उनले कति मत ल्याउँछन् त्यसकै आधारमा यहाँको परिणाम निर्धारण हुने स्थानीय विष्लेषक बताउँछन् ।

कञ्चनपुरको तीन क्षेत्र, कहाँ के हुँदै छ ?

कञ्चनपुर–१ मा सत्ता गठबन्धनबाट माओवादीकी बिना मगर, एमालेबाट तारा लामा तामाङ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दकुमार राना उम्मेदवार छन्।

थारू समुदायको बाहुल्य रहेको यो क्षेत्रमा नयाँ पार्टीबाट उम्मेदवार बनेका राना बेलौरी नगरपालिका–८ का पूर्व वडाध्यक्ष हुन्।

बिना पहिलोपटक २०७० सालकोे संविधानसभाको चुनावमा उम्मेदवार बनेकी थिइन्।

त्यतिबेला नेपाली कांग्रेसका दिवानसिंह विष्टसँग पराजित भइन्।

२०७४ सालको चुनावमा एमालेको समर्थनमा ३८ हजार ४ सय ६७ मतले विजयी भइन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका विष्टले १९ हजार २१९ मत पाएका थिए।

दुई पूर्वमन्त्रीसँग भिडिरहेका पूर्व वडाध्यक्ष राना पनि आफू जित्ने दाबी गर्छन्। किनकि कैलालीसँग जोडिएको यो क्षेत्रमा टीकापुर घटनाको प्रभाव पनि छ। त्यसैले, यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म भने बिना केही अगाडि देखिन्छन् ।

कञ्चनपुर-२ मा साउद र धामीबीच तेस्रो पटक प्रतिस्पर्धा

कञ्चनपुर-२ मा कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यी दुईबीच तेस्रोपटक प्रतिस्पर्धा भइरहेको छ। गठबन्धनका कारण विजयी हुनेमा साउद ढुक्क छन्।

उनी अघिल्लो चुनावमा फराकिलो अन्तरले हारेका थिए ।

एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ।

स्पष्ट वक्ताका रूपमा परिचित उनले विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्वासीका मुद्दा संसद्मा बारम्बार उठाउँदै आएका थिए।

जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहोर्‍याउने उनको दाबी छ। दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

कञ्चनपुर-३ मा नीरू पाल कि रमेश लेखक

कञ्चनपुर-३ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरूदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार लेखकलाई गठबन्धनमा रहेका दलहरूको साथ छ।

त्यस्तै, एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको छ।

२०७४ सालको निर्वाचनमा लेखक नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टसँग २५८ मतान्तरले मात्रै पराजित भएका थिए।

लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए।

क्षेत्र नम्बर ३ अन्तर्गत भिमदत्त नगरपालिका, दोधरा चाँदनी नगरपालिका र बेदकोट नगरपालिका केही भूभाग क्षेत्र नम्बर ३ मा पर्दछन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कांग्रेस पहिलो दल बनेको छ। माओवादी र एकीकृत समाजवादीको समेत मत पाउँदा लेखक सहजै जित्ने अनुमान गरिएको छ ।

अछाममा रोचक प्रतिस्पर्धा

अछाम-१ मा श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त छ।

एमाले र माओवादीबाट बनेको नेकपा हुँदा एकै पार्टीमा रहेका कुँवर र बोहरा अहिले फरक कित्ताबाट चुनावमा होमिएका छन्।

एकीकृत समाजवादीका नेता कुँवर गठबन्धनबाट चुनाव लड्दा बोहरा एमाले बाट मैदानमा छन् ।

एमाले नेता भीम रावल समानुपातिक बसेपछि शेरबहादुर कुँवर २०६४ को संविधानसभा सदस्यमा विजयी भएका थिए।

२०७४ को निर्वाचनपछि मन्त्री कुँवर एमालेबाटै राष्ट्रियसभा सदस्य थिए।

बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन् भने कुँवर समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हुन्।

सो क्षेत्रमा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार भीम रावल २४ हजार ८ सय ९३ मतले भएका थिए। यसपटक रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टि छ । त्यसैले, यो क्षेत्रबाट कुँवर फराकिलो मतान्तरले जित्ने अनुमान गरिएको छ ।

अछाम-२ मा फर्काउला कांग्रेसले २३ वर्ष पुरानो विरासत

अछाम–२ मा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका पुष्पबहादु शाह र नेकपा एमालेका यज्ञबहादुर बोगटीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

उनीहरूबीच दोस्रोपटक भिडन्त हुन लागेको हो।

०७४ मा यज्ञबहादुर बोगटीले अछाम–२ मा बाजी मारेका  थिए।

वाम गठबन्धनका साथमा बोगटीले कांग्रेसका शाहलाई पराजित गरेका थिए।

बोगटीले २१ हजार ९६५ मत पाउँदा शाहले १९ हजार १०६ मत पाएका थिए।

यसअघि चुनाव माओवादीसँग तालमेल गरेर जितेका एमालेका बोगटी अहिले एक्लै चुनावी मैदानमा छन्।

एकातिर सत्ता गठबन्धन र अर्कातिर आन्तरिक विवादमा रुमलिएको एमालेलाई यसपटक यो क्षेत्रमा जित निकाल्न सहज छैन । माओवादी र एकीकृत समाजवादीको समेत साथ पाएकाले यो क्षेत्रमा २३ वर्षपछि कांग्रेसले जित निकाल्ने सम्भावना छ । एमाले नेता भीम रावलको प्रभाव यो क्षेत्रमा पनि छ । उनी अहिले मौन बसिरहेका छन् ।

डोटीमा प्रेम आलेलाई छैन सहज

सत्ता गठबन्धनले डोटीमा प्रतिनिधि सभाका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेलाई टिकट दिए पनि एमालेकी पूर्व सांसद गौरी ओली चुनौती बनेकी छिन्।

सत्ता गठबन्धनकै प्रमुख दल कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ।

कांग्रेकोस जित्ने बलियो सम्भावना रहेको जिल्लामा चौथो स्थानमा रहेको पार्टीलाई टिकट दिएपछि असन्तुष्टि देखिएको  हो।

आलेविरुद्ध कांग्रेसका नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

डोटीलाई प्रदेशको स्थायी राजधानी बनाउने मुद्दा उठाउँदै आएका खड्का आलेलाई भारी पर्न सक्छन् । २०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पराजित भएका आले ०७० मा भने ३२ हजार ५ सय १० मत ल्याएर निर्वाचित भएका थिए।

खड्काले कांग्रेसका कति मत लैजान्छन् त्यसमै आलेको परिणाम निर्भर हुने स्थानीय विश्लेषकको तर्क छ ।

डडेलधुरामा देउवालाई कति सहज ?

आम चुनावका बेला डडेलधुरामा उम्मेदवार धेरै उठ्छन्, र अन्तिममा शेरबहादुर देउवाले नै जित्छन्।

०४६ मा प्रजातन्त्र पुनर्बहालीयताका सबै चुनावले यो तथ्य बदल्न सकेनन्। नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ल अहिले देउवाका मुख्य प्रतिस्पर्धी हुन् ।

अघिल्लो पटक २८ हजार ४ सय ४६ मत ल्याएर जितेका प्रधानमन्त्री एवं कांग्रेस सभापति  देउवा यसपटक पनि सहजरूपमा जित्ने अनुमान गरिएको छ । यहाँ एमालेको उम्मेदवार छैन । उसको स्थानीय कमिटीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । तर, अध्यक्ष केपी ओलीले कर्ण मल्ललाई नै समर्थन गर्न निर्देशन दिएका छन् ।

२०७४ मा भएको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि ६ हजार ९२९ मतान्तरले चुनाव जितेका देउवालाई यसपटक झन सहज छ । किनकl राम्रै मत रहेको माओवादीले उनलाई समर्थन गरेको छ । मल्ललाई २०४८ मा देउवाले गृहमन्त्री हुँदा स्वकीय सचिव बनाएर जिल्लाको राजनीतिमा पनि अगाडि बढाएका हुन्।

उनी दुई कार्यकाल डडेलधुराको जिल्ला सभापति भएका थिए।

यसअघि, देउवालाई जिताउन लागेका मल्लले यस पटक देउवालाई जसरी पनि पराजित गर्ने भन्दै लागिरहेका छन्। तर, उनले सोचेजस्तो सहज भने देखिएको छैन । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालको पनि चर्चा हुने गरेको छ । तर, उनले धेरै मत ल्याउने सम्भावना भने छैन ।

बैतडीमा भण्डारी र कुँवरको प्रतिस्पर्धा

एक मात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर साझा उम्मेदवार छन्।

यस्तै, एमालेबाट प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन्।

कुँवर २०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि भण्डारीका सारथीका रूपमा थिए।

०६४ र ०७० मा भने एक अर्काविरुद्ध उम्मेदवार थिए।

अहिले पनि दुवै जना एकापसमा भिडिरहेकाले रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

०७० र ०७४ मा दुई पटक विजयी भण्डारी ह्याट्रिक गर्ने दाउमा छन्। अघिल्लो चुनावमा ३९ हजार ५ सय २४ मत ल्याएर भण्डारी विजयी भएका थिए।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार आठ सय २१ रहेको छ । एमालेको ३५ हजार ४८ मात्रै छ।

त्यसैले, यसपटक बैतडीमा गठबन्धनका उम्मेदवार कुँवरले सहजरूपमा जित्ने अनुमान गरिएको छ ।

बाजुरामा बद्री पाण्डे कि कर्ण थापा ?

बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र एमाले सुदूरपश्चिमका सह–इन्चार्ज कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । एमालेलाई ०७४ सालको विरासत जोगाउनुपर्ने चुनौती छ।

स्थानीय चुनावको मत परिणामका आधारमा बाजुरामा गठबन्धनविरुद्ध एमाले बलियो देखिन्छ।

६ पालिका प्रमुख एमाले र कांग्रेसले ३ पालिका प्रमुख जितेका छन्।

०७४ सालको चुनावमा प्रतिनिधि र प्रदेश सभातर्फ बाजुरामा नेकपा एमालेले बाजी मारेको थियो ।

एमालेका लालबहादुर थापाले २८ हजार ६५ मत ल्याउँदा कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएका थिए। तर यसपटक कांग्रेसका उम्मेदवार पाण्डे पनि बलिया उम्मेदवार हुन् ।

एमालेले सुदूरपश्चिममा जित्न सकिने सिटमा बाजुरालाई पनि राखेको छ । यद्यपि, कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

बझाङमा आफ्नै विद्यार्थी ऐन महरसँग जोशीको प्रतिस्पर्धा

आफ्नो स्कुलमा पढाउने शिक्षक र तत्कालीन विद्यार्थी चुनाव लडेपछि बझाङ चर्चा छ।

ऐन महर २०४८ सालको पहिलो आम चुनावमा देवस्थली प्रावि ख्याला बझाङमा ३ कक्षामा पढ्थे।

शिक्षक थिए भानुभक्त जोशी। त्यो बेला एमालेबाट चुनाव लडेका जोशीले हारे। तिनै २०४८ सालमा ३ कक्षामा पढ्ने महर अहिले २०४८ सालमा पहिलो चुनाव लडिसकेका जोशीबीच  प्रतिस्पर्धा छ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका जोशीलाई अहिले पाँच दलीय सत्ता गठबन्धनको साथ छ ।

जोशी २०५१ सालको मध्यावधि चुनावमा अर्जुनजंग सिंहलाई पराजित गर्दै बझाङबाट पहिलोपटक कम्युनिस्ट सांसद भएका थिए।

जोशी २०६४ सालमा बझाङ १ बाट विजयी भए। २०७४ सालमा एमालेबाट भैरवबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएर चुनाव जितेका थिए।

यसपटक बझाङमा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसका मत सबै जोशीले लैजान सक्छन् कि सक्दैनन् भन्नेमा यहाँको परिणाम निर्धारण हुनेछ ।

दार्चुलामा ह्याट्रिक प्रयासमा रहेका ठगुन्नालाई बडूको चुनौती

एक मात्र क्षेत्र रहेको दार्चुलामा गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य एवं मन्त्री दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा छ।

अघिल्लोपटक २८ हजार ९ सय ९८ मत ल्याएर जितेका एमालेका ठगुन्ना ह्याट्रिकको दाउमा छन्।

कांग्रेसका उम्मेदवार बडूले २२ हजार दुई सय ३३ मत मात्रै ल्याएका थिए। अहिले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बडू ०७० मा  पराजित भएका थिए।

उनी ०७४ सालमा समानुपातिक सांसद बनेका हुन्। ठगुन्ना र बडूबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदैछ।

०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीसँग पराजित भएका थिए। यसपटक दर्चुलामा दुवै पक्षले निकै जोड लगाइरहेका छन् । त्यसैले परिणाम आकलन गर्न निकै कठिन छ ।

समग्रमा सुदूरपश्चिमका १६ वटा क्षेत्रमध्ये सत्तारुढ गठबन्धनले धेरै जित्नेमा शंका छैन । एमाले विभाजनको असर पनि यो प्रदेशमा बढी देखिन्छ । भीम रावललाई टिकट नदिएपछिको असन्तुष्टि पनि एमालेमा यही क्षेत्रमा धेरै छ ।

एमालेले पाँच सिट जित्न सक्ने आन्तरिक आँकलन गरेको छ । उसले बझाङ, बाजुरा, दार्चुला तथा कैलाली र कञ्चनपुरका एक-एक क्षेत्रमा जित्न सकिने अनुमान गरेको छ ।

तर, उसलाई त्यति क्षेत्र जित्न पनि सहज छैन । गठबन्धन दलभित्र विवाद रहेका केही सिटमा उसले जित्न सक्छ । यता गठबन्धन भने अधिकांश क्षेत्रमा सहज अवस्थामा देखिन्छ । सुदूरपश्चिमा सबै सिट जित्ने गठबन्धनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved