मधेसका ३२ क्षेत्रको चुनावी विश्लेषण : कहाँ, कसले मार्न सक्छ बाजी ?

मधेस प्रदेशका अधिकांश क्षेत्रमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच हुने देखिन्छ। अघिल्लो चुनावमा यहाँ मधेस केन्द्रित दल र वाम गठबन्धनले धेरै सिट जितेका थिए । तर, यसपटक भने प्रतिस्पर्धी फेरिएका छन् । विगतको नतिजा कस्तो थियो ? आगामी परिणाम कस्तो आउला ? हेरौं हाम्रो विष्लेषण ।

नेपालभ्युज

मधेसका ३२ क्षेत्रको चुनावी विश्लेषण : कहाँ, कसले मार्न सक्छ बाजी ?

काठमाडौं। निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी छ । मौन अवधिमा प्रचार गर्न नपाइने भएकाले उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् । मधेस प्रदेशका अधिकांश क्षेत्रमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच हुने देखिन्छ।

अघिल्लो चुनावमा यहाँ मधेस केन्द्रित दल र वाम गठबन्धनले धेरै सिट जितेका थिए । तर, यसपटक भने प्रतिस्पर्धी फेरिएका छन् । मधेसमा एमालेले जनता समाजवादी पार्टी जसपासँग गठबन्धन गरेको छ। अर्को मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्तारुढ गठबन्धनसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको छ ।

अघिल्लो चुनावमा ठूला मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा मिलेर चुनाव लडेका थिए। अहिले त्यही पृष्ठभूमिका दुई दल फरक-फरक गठबन्धनमा छन्। दुई गठबन्धनका कारण मधेसमा यसपालिको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

मधेसमा ३२ प्रतिनिधिसभा ५ सय ९० उम्मेदवार

मधेस प्रदेशमा ३२ प्रतिनिधिसभा र ६४ प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रदेशका आठ जिल्लामा कुल १ हजार ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधि सभातर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र २९७ गरी ५९० उम्मेदवार  छन्। यहाँ कुल ३४ लाख ८४ हजार ६ सय २८ मतदाता छन्। मधेसमा महिलाभन्दा पुरुष मतदाताको सख्या बढी छ। यहाँका आठ जिल्ला सबैमा चार-चार निर्वाचन क्षेत्र छन् ।

पर्सा

पर्सा-१ मा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभामा प्रदीप यादव चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनबाट लोसपाका पुराना नेता लक्ष्मणलाल कर्ण उनीसँग भिडिरहेका छन्। यहाँ राप्रपाका किरण डंगोल र कांग्रेसका पूर्वजिल्ला सभापति अजयकुमार द्विवेदी पनि स्वतन्त्रबाट उठेका छन् ।

द्विवेदीको उम्मेदवारीका कारण कर्णलाई समस्या परेको छ । स्थानीय चुनावमा पर्सा १ मा सबैभन्दा बढी जसपाले १५ हजार ७०६ मत ल्याएको थियो । यस्तै, एमालेले १३ हजार ३३५, कांग्रेसले १२ हजार ९०२, माओवादीले ३ हजार ७४६, लोसपाले २ हजार ०८६, एकीकृत समाजवादीले १६०३ मत पाएका थिए । स्थानीय तहको मत परिणामअनुसार एमाले–जसपाको मत एक ठाउँमा जोड्दा प्रदीप यादवको पल्ला भारी देखिन्छ भने कर्णलाई गाह्रो छ ।

यादवले गत चुनावमा संघीय समाजवादी फोरमको उम्मेदवार भएर यो क्षेत्रमा कांग्रेसलाई हराएका थिए । यो बीचमा एमालेले पनि मत बढाएको देखिन्छ ।

पर्सा-२ मा सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया उम्मेदवार छन्। एमालेको समर्थनमा जसपा नेता अधिवक्ता सुरेन्द्र कुर्मीले टक्कर दिइरहेका छन्। २०७४ को निर्वाचनमा वीरगञ्जका पूर्व मेयर विमल श्रीवास्तवले यहाँ बाजी मारेका थिए। तत्कालीन फोरम नेपालका उम्मेदवार विमलले कांग्रेसका अजयकुमार चौरसियालाई पराजित गरेका थिए।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा यहाँ कांग्रेस बलियो छ । उसले २० हजार २१६, एमालेले १६ हजार ७९१ र जसपाले १५ हजार १३२ पाएको थियो। लोसपाको २ हजार ३१९, एकीकृत समाजवादीको २ हजार ९२ र माओवादी केन्द्रले १ हजार ९०० मत ल्याएका थिए ।

यसका आधारमा सत्ता गठबन्धनलाई २६ हजार ५२७ र एमाले जसपा गठबन्धनसँग ३१ हजार ९२३ मत देखिन्छ। गठबन्धनको मत जोगाउन सके जसपाका कुर्मीले विजयको ढोका खोल्न सक्छन्।

पर्सा-३ मा सत्ता सत्तारुढ गठबन्धन र एमाले तथा जसपा गठबन्धनबीच कडा टक्कर हुने देखिएको छ। कांग्रेसका सुरेन्द्र चौधरी, अर्को गठबन्धनबाट एमालेका राजकुमार गुप्ता उम्मेदवार छन्। ०७४ सालको निर्वाचनमा पनि यी दुवै जना नै उम्मेदवार थिए। त्यसबेला दुवैजना फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

कांग्रेसका चौधरीले १३ हजार ८०१  र एमालेका गुप्ताले १० हजार ९८६ मत ल्याएका थिए। यसपटक चौधरी र गुप्ताबीच कडा टक्कर हुने देखिन्छ।

पर्सा-४ मा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा छ। जहाँ कांग्रेसका पुराना नेता रमेश रिजाल र एमालेका जालिम मियाँ उम्मेदवार छन्। विगतमा जिल्लामा ५ वटा संसदीय क्षेत्र हुँदा यसको धेरै भूगोल ५ मा थियो । रिजालले यहाँबाट तीनपटक जितिसकेका छन् ।

विगतमा कांग्रेसकै नेता रहेका मियाँ त्यसपछि माओवादी हुँदै एमालेमा प्रवेश गरेका हुन् । ०७४ को स्थानीय तह निर्वाचनमा जगरनाथपुर गाउँपालिका अध्यक्षमा माओवादीबाट निर्वाचित भएका मियाँ यसपटक एमालेबाट संसदीय निर्वाचनमा होमिएका छन्। यहाँबाट कसले बाजी मार्छ अनुमान लगाउन कठिन रहेको स्थानीय विष्लेषक बताउँछन् । तर रिजालको पल्ला केही भारी देखिन्छ ।

बारा

बारा क्षेत्र नम्बर १ मा पुरानै प्रतिस्पर्धीबीच भिडन्त देखिन्छ । सत्ता गठबन्धनबाट खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरी र एमाले–जसपा गठबन्धनबाट एमाले नेता अच्युतप्रसाद मैनाली मैदानमा छन्।

२०७४ सालमा भएको चुनावमा पनि चौधरी र मैनालीबीच प्रतिस्पर्धा भएको थियो। वाम गठबन्धनका बाबजुद चौधरीले चुनाव जितेका थिए।

गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षले ल्याएको मत हेर्दा यहाँ सत्ता गठबन्धन नै अगाडि छ । त्यसैले, फेरि एक पटक मैनालीलाई समस्या पर्न सक्छ ।

बारा-२ मा जसपाका राम सहायहाप्रसाद यादव र माओवादीका शिवचन्द्रप्रसाद कुशवाह प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा यसअघि फोरम नेपालबाट यादवले जितेका थिए। स्थानीय चुनावका आधारमा यो क्षेत्रमा कांग्रेसको २१६५२, जसपाको २०८२४, एमालेको १७९२९, लोसपाको ६७१६, माओवादीको ४६४० र एकीकृत समाजवादीको ४१०५  मत छ।

यसरी हेर्दा दुवै गठबन्धनको मत हाराहारीमा छ । त्यसैले, परिणाम अनुमान लगाउन कठिन छ ।

बारामा-३ मा त्रिपक्षीय प्रतिस्पर्धा छ। सत्ता गठबन्धनबाट लोसपाका लालबाबु सिंह र एमालेबाट पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह मैदानमा छन्। एमालेसँग तालमेल नमिलेपछि जसपाले पनि यहाँ उम्मेदवार खडा गरेको छ ।

२०७४ मा फोरमबाट जितेका रामबाबुकुमार यादव फेरि पनि उठेका छन् । स्थानीय चुनावका आधारमा बारा ३ मा एमालेको २३ हजार ६५४, कांग्रेसको १७ हजार ५५४, जसपाको ११ हजार २७९, माओवादीको ८ हजार २४८, एकीकृत समाजवादीको ३ हजार ३९५, लोसपाको २२०६ र राप्रपाको ८३८ मत देखिन्छ ।

यस आधारमा यहाँ सत्ता गठबन्धन फराकिलो मतले अगाडी देखिन्छ । जसपाको समेत उम्मेदवार भएकाले साहलाई चुनाव जित्न कठिन देखिन्छ ।

बारा-४ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) र प्रतिपक्षी गठबन्धनबाट इकवाल मियाँ मुख्य प्रतिस्पर्धामा छन्। श्रेष्ठ एकीकृत समाजवादी र मियाँ एमालेका उम्मेदवार हुन् । श्रेष्ठ यसअघि तनहुँ– १ बाट निर्वाचित भएका थिए।

मियाँ बारा– ४ कै निवर्तमान सांसद हुन्। २०७४ सालमा साबिकको राष्ट्रिय जनता पार्टीबाट उनले चुनाव जितेका थिए । लोसपा सत्ता गठबन्धनमा सामेल हुँदा टिकट नपाउने भएपछि अन्तिममा उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

यहाँ स्थानीय चुनावको गणित हेर्दा सत्ता गठबन्धनको मतभार बढी छ । तर, यस क्षेत्रमा मुस्लिम मतदाताको सङ्ख्या उल्लेख्य छ। सत्ता गठबन्धनको ४५ हजार र प्रतिपक्षी गठबन्धनको २७ हजार मात्र मत छ। गठबन्धनको मत जोगाउन सके श्रेष्ठ सहजरूपमा विजयी हुनेछन् ।

रौतहट

रौतहट-१ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमालेका अजय गुप्ताबीच प्रतिस्पर्धा छ। ०७० को दोस्रो संविधान सभा निर्वाचनमा विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट नेपालका प्रतिस्पर्धी बनेका गुप्ता यसपटक एमालेबाट प्रतिस्पर्धी बनेका छन् । त्यतिबेला नेपालले गुप्तालाई ३ सय मतान्तरले हराएका थिए ।

गुप्ता ०७४ सालको स्थानीय निर्वाचनमा गौरको मेयरमा विजयी भएका थिए। ०७४ मा नेता नेपालले वाम गठबन्धनबाट काठमाडौंबाट चुनाव जितेका थिए । यसपटक एमाले फुटाएर आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका उनी रौतहट फर्केका छन् ।

स्थानीय तह निर्वाचनको परिणामका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन निकै बलियो छ । एकीकृत समाजवादीका वडाध्यक्षले १८ हजार ५ सय मत प्राप्त गरेका थिए। कांग्रेसले १३ हजार ९ सय ४६, लोसपाले १० हजार १ सय ४०, जसपाले ७ हजार ६ सय १७, एमालेले ७ हजार १ सय १७, माओवादी केन्द्रले ६ हजार ६ सय ९१ मत ल्याएका थिए ।

मत गणित र उम्मेदवारको वजनका हिसाबले पनि यो क्षेत्रबाट नेपाल फराकिलो अन्तरले विजयी हुने अनुमान गरिएको छ ।

 

रौतहट-२ मा सत्ता गठबन्धनबाट कांग्रेसका मो. फिरदोस आलम, एमाले–जसपा गठबन्धनबाट जसपाका शैलेन्द्र साह र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका किरण साहबीच प्रतिस्पर्धा छ। २०७४ को चुनावमा रौतहट २ मा कांग्रेसका मोहम्मद अफताव आलमले चुनाव जितेका थिए। त्यसबेला उनले १८ हजार ८ सय ३३ मत ल्याएका थिए। दोस्रो भएका तत्कालीन संघीय समाजवादी फोरमका किरण साहले १६ हजार ८ सय ६५ मत ल्याएका थिए।

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले ल्याएको मतअनुसार यो क्षेत्रमा पनि सत्ता गठबन्धन अगाडि छ। कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा ४३ हजार १७ मत छ भने एमाले–जसपा गठबन्धनका पक्षमा १५ हजार ६ सय ७ मत मात्रै देखिन्छ। त्यसैले, यहाँ आलम विजयी हुने सम्भावना बढी छ । यद्यपि, उनलाई स्वतन्त्र उम्मेदवार साहले पछ्याउन सक्नेछन् ।

रौतहट-३ मा एमालेको टिकट त्यागेका प्रभु साह स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले यहाँ एमाले र जसपाको उम्मेदवारी नै पर्न दिएनन्। दुई गठबन्धनलाई ‘उम्मेदवारविहीन’ बनाएपछि प्रभु साह सुरक्षित बनेका छन् । उनलाई सत्ता गठबन्धनले समर्थन पनि गरेको छ ।

रौतहट-४ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता, निवर्तमान सांसद देवप्रसाद तिमल्सिना र अर्को गठबन्धनबाट एमालेका उद्धवप्रसाद रेग्मी उम्मेदवार छन्।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार साहले दुवै गठबन्धनलाई चुनौती दिइरहेका छन्। स्थानीय चुनावको मतअनुसार सत्ता गठबन्धन नै अघि छ।

कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय चुनावमा ५५ हजार २ सय ७१ मत ल्याएको थियो । एमाले गठबन्धनको १९ हजार १ सय ९ मत मात्रै देखिन्छ । त्यसैले, यहाँबाट तिमिल्सिना सहजै विजयी हुने अनुमान गरिएको छ ।

सर्लाही

सलार्ही -१ मा सत्ता गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी उम्मेदवार छन्। उनको प्रतिस्पर्धा जसपाका निवर्तमान सांसद प्रमोद साहसँग हुँदैछ । साहले यसअघि राजपाबाट यही क्षेत्रबाट जितेका थिए । उनी जसपामा लागेपछि लोसपाले चौधरीलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेको पनि राम्रै मत छ । तर, गठबन्धन भए पनि एमाले र जसपाका तल्लो तहका कार्यकर्ताको मन मिल्न सकेको छैन ।

स्थानीय चुनावको परिणाम पनि सत्ता गठबन्धनका लागि सहयोग गर्ने खालको छ । तर, उम्मेदवारका कारण यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । परिणाम आँकलन गर्न मुस्किल छ ।

 

सर्लाही-२ मा सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव उम्मेदवार छन् । यादव माओवादीको चुनाव चिह्नबाट लडिरहेका छन् । लोसपासँग सत्ता गठबन्धनले तालमेल गरे पनि यहाँ प्रतिस्पर्धा हुँदैछ ।  लोसपा नेता राजेन्द्र महतो यही क्षेत्रमा उम्मेदवार छन् । यहाँ एमालेका राजनारायण साह पनि मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा भने यादव र महतोबीच हुने अनुमान गरिएको छ । यादव मतदाता धेरै भएको र गठबन्धनको पनि सहयोग भएकाले महिन्द्र अलि बढी आशावादी देखिन्छन् ।

स्थानीय तह निर्वाचनमा सर्लाही २ मा वडाध्यक्षले पाएको मत परिणाम हेर्दा कांग्रेसको सबैभन्दा बढी २४ हजार ६ सय २०, जसपाको १९ हजार ६ सय ४२, लोसपाको १२ हजार ३ सय ६६, माओवादी केन्द्रको ७ हजार ३७, एमालेको ७ हजार ६ सय ७९, जनमत पार्टीको ३ हजार ४२, एकीकृत समाजवादीको २ हजार २ सय २१ मत छ ।

क्षेत्र–३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र साह कलवार उम्मेदवार छन्। उनको प्रतिस्पर्धा एमालेका हरि उप्रेतीसँग हुँदैछ । पहाडी र मधेसी समुदायको मिश्रित बसोबास रहेको यो क्षेत्रमा स्थानीय तहको परिणाम अनुसार सत्ता गठबन्धनको मत बढी छ । तर उप्रेती पनि यो क्षेत्रका बलियो उम्मेदवार हुन् ।

यहाँ गत चुनावमा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए । सर्लाही ३ मधेस प्रदेशमै माओवादीको बढी प्रभाव भएको क्षेत्र मानिन्छ । त्यसैले, गठबन्धनको समेत साथ पाउँदा कलवार विजयी हुने अनुमान गरिएको छ ।

सर्लाही-४ मा निवर्तमान सांसद अमरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र राय तथा एमाले–जसपा गठबन्धनबाट जसपाका राकेश मिश्र उम्मेदवार छन्। वडाको मत केलाउँदा गत स्थानीय चुनावमा कांग्रेसको २३ हजार १३१, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३ र जनमत पार्टीको दुई हजार ६१२ मत आएको थियो ।

अमरेश सिंहले कांग्रेस छाडेर बागी उम्मेदवारी दिएकाले सत्ता गठबन्धनलाई केही असर पर्न सक्छ । यद्यपि, यो क्षेत्रमा सत्ता गठबन्धनको मत भने अर्को गठबन्धनको भन्दा बढी छ ।

महोत्तरी

महोत्तरी-१ मा गिरिराजमणि पोखरेल, २ मा शरतसिंह भण्डारी, ३ मा महन्थ ठाकुर र ४ मा डा.सुरेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा पुनः उम्मेदवार छन्। यीमध्ये पोखरेल, भण्डारी र ठाकुर सत्ता गठबन्धनबाट मैदान उत्रिएका हुन्। प्रतिनिधिसभामा एमाले र जसपाको गठबन्धनबाट ४ मा डा. सुरेन्द्र यादव उम्मेदवार छन्।

उनी दोश्रोपटक जित्ने दाउमा छन्। त्यहाँ मुख्य प्रतिस्पर्धा नै सत्ता गठबन्धन र विपक्ष एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूबीच देखिएको छ। लगातार तीनपटक चुनाव जितिसकेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई चुनौती दिन एमालेले लक्ष्मी महतोलाई खडा गरेको छ।

स्थानीय चुनावमा महोत्तरी-१ मा माओवादीको १५ हजार ८८८, कांग्रेसको १३ हजार १४६, एमालेको ८ हजार ३४, जसपाको ७ हजार २३४, लोसपाको ७०६९, र एकीकृत समाजवादीको १ हजार ५०८ मत आएको थियो। सत्तागठबन्धनको मत एक ठाउँमा आउँदा यहाँ पोखरेललाई जित निकाल्न कुनै कठिनाइ छैन ।

महोत्तरी-२ मा सत्ता गठबन्धनले लोसपाका शरतसिंह भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी राजनीतिका पोख्त खेलाडी मानिन्छन्। एमालेले उनीविरुद्ध राम परीक्षण यादवलाई उठाएको छ। यो क्षेत्रमा स्थानीय चुनावमा लोसपाको १७ हजार ५७७, कांग्रेसको १६ हजार ९३८, जसपाको ८ हजार ५३२, एमालेको ७ हजार ५७ र माओवादीको ६ हजार ५०६ मत छ ।

यसका आधारमा सत्ता गठबन्धन भारि मतले अगाडि देखिन्छ । भण्डारीले यहाँबाट सहजै चुनाव जित्ने अनुमान गरिएको छ ।

महोत्तरी-३ मा गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर चुनावी मैदानमा छन् । यहाँ उनकै शिष्य बृषेशचन्द्र लालले तमलोपाबाट चुनौती दिएका छन्। कुनैबेला ठाकुरका विश्वासपात्र रहेका राजनीतिक विश्लेषक लाल पार्टीबाट असन्तुष्ट भई तराई मधेस लोकतान्त्रिक पार्टी दर्ता गरेर चुनावमा होमिएका हुन्।

ठाकुर र लाललाई एमाले–जसपा गठबन्धनको तर्फबाट जसपाका नेता हरिनारायण यादवले टक्कर दिँदै छन्। यहाँ बागी उम्मेदवारका रूपमा एमालेका रामआधार कापरसमेत प्रतिस्पर्धामा छन्। स्थानीय चुनाव अनुसार यो क्षेत्रमा जसपाको १४ हजार ३५७, लोसपाको १२ हजार ७३५, एमालेको १० हजार ८२०, कांग्रेसको ९ हजार ४३, माओवादीको ५ हजार १९५ र एकीकृत समाजवादीको २ हजार ५७० मत छ ।

गत चुनावमा ठाकुर यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । अहिलेसम्मको अवस्थामा ठाकुरले नै यहाँबाट जित निकाल्ने सम्भावना छ ।

महोत्तरी-४ मा गत निर्वाचनमा भारी मतले विजयी भएका डा.सुरेन्द्र यादवले फेरि सफलता पाउने दाबी गर्छन्। चिकित्सा क्षेत्रसँग जोडिएका जसपा नेता डा. यादवलाई टक्कर दिन सत्ता गठबन्धनले कांग्रेसका प्रभावशाली नेता महेन्द्र कुमार रायलाई मैदान उतारेको छ।

क्षेत्रमा राम्रो प्रभाव रहेका राय र डा. यादवबीच नै यो क्षेत्रमा कडा टक्कर हुने स्थानीयको बुझाइ छ। यो क्षेत्रमा पनि पनि सत्ता गठबन्धनको बढी मत छ । स्थानीय चुनावका आधारमा गठबन्धनकारी दलको ३७ हजार ८ सय ६९ र एमाले–जसपा गठबन्धनको २० हजार १ सय ५ मत छ ।

स्थानीय तहको परिणाम अनुसार नै मतदान भएमा महोत्तरीका चारवटै क्षेत्र गठबन्धनले जित्ने निश्चित छ। तर चुनावमा व्यक्तिको प्रभावले पनि महत्त्व राख्ने भएकाले अहिले नै ठोकुवा गर्न भने गाह्रो देखिन्छ।

धनुषा

धनुषा-१ मा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव चुनावी प्रतिस्पर्धामा छन्। गत २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनको उम्मेदवार भएर सो क्षेत्रबाट निर्वाचित भएका यादव यसपटक पाँच दलीय गठबन्धनबाट मैदान उत्रिएका छन् ।

अघिल्लो निर्वाचनमा उनले २६ हजार चार सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन सङ्घीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए। यसपटक पुनः यादव र कार्की चुनावी प्रतिस्पर्धामा  छन् । कार्की जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन्।

एमालेले टिकट नदिएपछि किशोरी साह जनमत पार्टीबाट सो क्षेत्रमा उम्मेदवार बनेका छन् । सो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ।

धनुषा-२ मा पनि तीनजना पूर्वमन्त्री चुनावी मैदानमा छन्। कांग्रेसबाट रामकृष्ण यादव, एमालेबाट उमाशंकर अरगरिया र एकीकृत समाजवादीबाट रामचन्द्र झासहित जसपाका गङ्गाराम यादव चुनावी प्रतिस्पर्धामा छन्। गत निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जितेका थिए।

माओवादी केन्द्रबाट उम्मेदवार भएका पूर्वमन्त्री झाले १८ हजार सात सय १५ मत प्राप्त गरेका थिए। पूर्वमन्त्री अरगरिया अहिले एमालेबाट उम्मेदवार छन्। पूर्वमन्त्री झा एकीकृत समाजवादी पार्टीबाट उठेका छन् । त्यसैले, यहाँ बहुपक्षिय प्रतिस्पर्धा हुने र कसले बाजी मार्छ भन्न नसकिने अवस्था छ ।

धनुषा-३ मा एमाले नेत्री जुलीकुमारी महतो र लोसपा वरिष्ठ नेता अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। मधेश प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको सो क्षेत्रमा झा नयाँ अनुहार हुन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए।

०७४ सालको निर्वाचनमा कांग्रेस नेता निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग यो क्षेत्रमा हारेका थिए। यसपटक निधि समानुपातिकमा छन्। लोसपा वरिष्ठ नेता महतो आफ्नै गृह जिल्ला सर्लाही २ बाट चुनाव लड्दै छन्। जुली र अनिलकै बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । चुनावमा कांग्रेसको तर्फबाट अन्तर्घात नभए झाले जित्ने विश्लेषक बताउँछन्।

धनुषा-४ मा कांग्रेस र एमालेका दुई ठूला नेता मुख्य प्रतिस्पर्धामा छन्। सो क्षेत्रमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको उम्मेदवारी छ । ०७४ को निर्वाचनमा पनि दुवै जना चुनावी मैदानमा उत्रिएका थिए।

त्यसबेला, महासेठले यादवलाई पराजित गरे। पुनः दुवै नेता एउटै क्षेत्रमा आम्ने साम्ने भएपछि चुनावी सरगर्मी बढेको छ । यसपटक राजनीतिक समीकरण फेरिएकाले महासेठलाई चुनाव जित्न सहज छैन ।

सिरहा

सिरहा-१ मा कांग्रेस नेता निवर्तमान सांसद पद्मनारायण चौधरी र एमाले–जसपा गठबन्धनबाट एमाले नेता रामशंकर यादव छन्। लामो समय तराई–मधेसको राजनीतिमा प्रभावशाली रहँदै मन्त्रीसमेत भइसकेकी पूर्वमन्त्री सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

यहाँ कांग्रेसका पद्मनारायण चौधरी र एमालेका रामशंकर यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । तर, स्वतन्त्र उम्मेदवार रहेकी सरिता गिरी ‘फ्याक्टर’ पनि महत्त्वपूर्ण देखिएको छ ।

सिरहा-२ मा सत्तागठबन्धनका कांग्रेसका पूर्वउपसभामुख, निवर्तमान सांसद चित्रलेखा यादव र अर्को गठबन्धनबाट जसपा नेता पूर्वमन्त्री राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा छ।  यहाँ जनमत पार्टीको पनि राम्रै प्रभाव छ । उक्त पार्टीबाट विनोदकुमार यादव उम्मेदवार बनेका छन् ।

जसपाका राजकिशोर यादव क्षेत्र परिवर्तन गरी २ मा उम्मेदवार बनेकाले केही असन्तुष्टि देखिन्छ । उनले अघिल्लो चुनावमा ४ नम्बरबाट जितेका थिए । यादवलाई यसपटक सहज नभएको स्थानीय विष्लेषक बताउँछन् ।

सिरहा-३ मा सत्तागठबन्धनका तर्फबाट माओवादी नेता पूर्वमन्त्री विश्वनाथ साह र एमालेका पूर्वमन्त्री लीलानाथ श्रेष्ठबीच प्रतिस्पर्धा छ। सो क्षेत्रमा सत्ता गठबन्धनभन्दा एमाले–जसपा गठबन्धन अघि छ । स्थानीय चुनावमा उसले ३५ हजार दुई सय २१ मत पाउँदा सत्तागठबन्धनले ३३ हजार नौ सय ७० मत पाएको छ।

तर, दुई पूर्वमन्त्रीको भिडन्तमा कसले बाजी मार्छ अहिले नै अनुमान गर्न गाह्रो छ ।

सिरहा-४ मा सत्तागठबन्धनले एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहलाई उतारेको छ । जसपाका संविधानसभा सदस्य रहिसकेका नेता डा. वीरेन्द्रप्रसाद महतो उनका मुख्य प्रतिस्पर्धी छन् ।

सो क्षेत्रमा एमाले–जसपा गठबन्धनको २८ हजार दुई सय ८५ र सत्तारूढ गठबन्धनको २८ हजार दुई सय ८९ मत छ। यहाँ जनमत पार्टीको पनि उल्लेख्य मत छ । वीरेन्द्र प्रसाद साहलाई उसले उम्मेदवार बनाएको छ ।

सप्तरी

सप्तरी-१ मा १० राजनीतिक दल र १० स्वतन्त्र गरी २० जना उम्मेदवार छन्। तर, मुख्य प्रतिस्पर्धा एमाले गठबनधनबनबाट जसपाका नवलकिशोर साह र सत्ता गठबन्धनबाट कांग्रेसका रामदेव साह तेलीबीच हुने देखिन्छ। अघिल्लो चुनावमा यहाँबाट तत्कालीन फोरम नेपालका डा. सूर्यनारायण यादवले जितेका थिए।

दुवै गठबन्धन बलियो भएकाले चुनावी परिणामबारे आँकलन गर्न गाह्रो छ ।

सप्तरी-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका सिके राउतले चुनौती दिइरकेका छन् । स्थानीय चुनावमा दलहरूले वडागत रूपमा प्राप्त गरेको परिणाम अनुसार सप्तरी–२ जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि छ ।

सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले र जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मात्रै मत छ। यो गणीतमा राउतको प्रवेशले चुनाव रोचक बनेको छ । यसपटक यादवलाई चुनाव जित्न सहज नभएको विष्लेषण भइरहेको छ । राउतले पनि उनकै मत धेरै तान्नेछन् । त्यसले ठाकुरलाई नै फाइदा पुग्नेछ ।

यद्यपि, राउत युवामाझ लोकप्रिय रहेकाले परिणाम उनकै पक्षमा समेत जान सक्नेछ । तर जनमत पार्टीको संगठन भने यो क्षेत्रमा खासै बलियो छैन ।

सप्तरी-३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमार यादवबीच प्रतिस्पर्धा छ। चौधरी एमाले र यादव कांग्रेसका हुन्। स्थानीय तह निर्वाचनका आधारमा यो क्षेत्रमा दुवै गठबन्धनको अवस्था उस्तै छ । एक्लै लड्दा एमाले बलियो छ । अहिले नै यहाँ कसले जित्ला भन्न सकिने अवस्था भने छैन ।

सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी र जसपाका बालकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहको चुनावका आधारमा यहाँ कांग्रेसको १६ हजार ९७५, जसपाको १५ हजार ६८२, एमालेको १० हजार ४४, एकीकृत समाजवादीको ८ हजार ४५०, माओवादीको ६ हजार ९२०, जनमत पार्टीको ५ हजार ४०२ र लोसपाको ३ हजार ८४८ मत छ । सत्तागठबनधनको मत अर्को गठबन्धनको भन्दा बढी छ ।

त्यसैले, यो क्षेत्रमा तेजुलालले बाजी मार्ने सम्भावना बढी रहेको स्थानीय विश्लेषक बताउँछन् ।

 

यो पनि पढ्नुहोस :

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved