गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?

स्थानीय तहको मत परिणाम हेर्दा कांग्रेस एमालेको धेरै स्थानमा हाराहारी मत छ। तर सत्ता गठबन्धनको मत एकातिर पर्दा एमालेभन्दा बढी हुन जान्छ। यस्तो अवस्थामा उम्मेदवारको ओजनले पनि प्रभाव पार्छ । जसले चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ। हेरौँ नेपालभ्यूजले गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्रबारे गरेको चुनावी विश्लेषण :

गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?

काठमाडौं। २०७४ को चुनावमा एमाले–माओवादी केन्द्र मिलेर चुनाव लडे। गण्डकीका १८ प्रतिनिधिसभामध्ये अधिकांशमा वाम गठबन्धनले नै जित्यो । कांग्रेस तेस्रो दल भयो। अहिले समीकरण फेरिएको छ। एमाले एकातिर छ। उससँग केही क्षेत्रमा राप्रपाको साथ छ।

अर्कोतिर कांग्रेस, माओवादी, जनमोर्चालगायतको गठबन्धन छ। स्थानीय तहको मत परिणाम हेर्दा कांग्रेस र एमालेको धेरै स्थानमा हाराहारी मत छ। तर, सत्ता गठबन्धनको मत एकातिर पर्दा एमालेभन्दा बढी हुन्छ । तर, गठबन्धनमा पनि एकमत छैन । अर्कातिर उम्मेदवारले पनि चुनावमा प्रभाव पर्छ । यस्तो अवस्थामा चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान छ। हेरौँ नेपालभ्युजले गण्डकी प्रदेशका १८ वटा क्षेत्रमा गरेको चुनावी विश्लेषण।

नवलपुर-१ : शशांकलाई पौडेलको चुनौती

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला र एमालेका कृष्ण पौडेलबीच मुख्य प्रतिस्पर्धा छ।

शशांक यसअघिका तीन चुनावमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। आसन्न निर्वाचनमा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कोइराला तत्कालीन नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदा पौडेलले क्षेत्र नम्बर ३ बाट जित निकालेका थिए ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पोखरेललाई ४ हजार भन्दा बढीको मतान्तरमा पराजित गर्दै शशांक सांसद बने ।

स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा ५२ वडामध्ये २६ वडाध्यक्ष एमालेले जितेको छ। २५ वडामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको भन्दा ५९९ ले मात्रै कम छ।

तर, माओवादीले केही वडामा मात्रै उम्मेदवार उठाएको थियो। उनीहरूले १९२१ भोट ल्याएका छन्। यसरी हेर्दा गठबन्धनका वडाध्यक्ष र उम्मेदवारले ४२४७१ भोट ल्याएका थिए। एमालेका उम्मेदवारले ३९९५१ र राप्रपाका उम्मेदवारले २२६४ भोट ल्याएका थिए।

मतगणित सोझो रूपमा सत्ता गठबन्धनका पक्षमा देखिन्छ । पहिले देखि नै यो क्षेत्रमा कांग्रेसको अवस्था मजबुत मानिन्छ । तर, यहाँ गठबन्धनका लागि एउटै मात्र चुनौती शशांक कोइराला नै हुन् ।

पटक-पटक चुनाव जित्दा पनि क्षेत्रमा ध्यान नदिएको उनीमाथि आरोप लाग्ने गरेको छ । यद्यपि, गत चुनावमा वाम गठबन्धन हुँदासमेत शशांकले बाजी मारेका थिए ।

सत्ता गठबन्धनको समेत साथ पाएकाले यसपटक उनी लगातार चौथो जित निकाल्ने प्रयासमा छन् । गत चुनावमा एमालेले माओवादीलाई यो क्षेत्र छाडेकाले शशांकलाई केही सहज भएको थियो ।

यसपटक एमालेले आफ्नै उम्मेदवार खडा गरेको छ । तर, पनि शशांक एमालेका उम्मेदवारभन्दा केही अगाडि नै देखिएका छन् । तर, मतान्तर भने धेरै ठूलो नहुने स्थानीयरूपमा विश्लेषण गरिएको छ ।

नवलपुर-२ : महत र कार्कीबीच प्रतिस्पर्धा

नवलपुर २ मा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ। गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेबाट तिलक महत उम्मेदवार छन्।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनका महत विजयी भएका थिए।

वाम गठबन्धन हुँदा पनि महतलाई जित निकाल्न निकै सकस परेको थियो । एमाले अहिले एक्लै चुनावमा देखिन्छ ।

यता कार्कीलाई भने पाँचदलीय गठबन्धनको साथ छ । तर, स्थानीय चुनावको परिणामले भने एमाले उत्साहित देखिन्छ ।

स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ। यो क्षेत्रमा कुल ४० वटा वडा छन्। एमालेले २२ वटा जितेको थियो।

कांग्रेस १६ वटामा विजयी हुँदा राप्रपा र माओवादीले एक/एक वडा जितेका छन्।

कांग्रेसका वडाध्यक्षले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ। माओवादीका वडाध्यक्षले एक हजार सात सय ४२ मत पाएका थिए ।

अहिले पाँचदलीय गठबन्धनमा रहेका दलका वडाध्यक्षले पाएको कुल मत ४० हजार चार सय ९१ छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ।

यद्यपि, स्थानीय चुनावमा माओवादी र एकीकृत समाजवादीले निकै कम वडामा मात्रै उम्मेदवारी दिएका थिए । यस आधारमा हेर्दा यो क्षेत्रमा महत र क्षेत्रीबीच निकै कडा प्रतिस्पर्धा हुन सक्छ ।

तनहुँ-१ : रामचन्द्र पौडेललाई गोविन्दराज जोशीले अप्ठेरो पार्लान् ?

तनहुँ-१ मा कांग्रेस नेता रामचन्द्र पौडेललाई गोविन्दराज जोशी नै चुनौती बनेका छन्। तनहुँबाट यसअघि ५ वटा चुनाव जितेका पौडेल सातौँ पटक प्रतिस्पर्धामा उत्रिएका हुन्।

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८०२ मत अन्तरले पराजित गरेका थिए।

पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जोशीले गठबन्धनको राजनीतिलाई अप्रजातान्त्रिक भन्दै यसले व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने बताउँदै भोट मागिरहेका छन्।

जोशीले स्वतन्त्र उम्मेदवारी दिए पनि तनहुँ–१ मा पौडेलको मुख्य प्रतिस्पर्धी भने एमालेका उम्मेदवार एकबहादुर राना मगर हुन्।

स्थानीय चुनावमा तनहुँ १ का वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा गठबन्धन अघि छ। कुल ७० हजार ८१९ मतमध्ये कांग्रेस एक्लैले ३३ हजार १०६ मत पाएको थियो।

माओवादी केन्द्रले ८ हजार ४७४ र एकीकृत समाजवादीले ८९२ मत पाएका थिए। तर एमालेले २२ हजार २१० मत मात्रै पाएको थियो।

अघिल्लो पटक वाम गठबन्धनका कारण जित्न नसकेका पौडेललाई यसपटक केही सहज छ। यद्यपि, जोशीले कांग्रेसका कति मत काट्छन् भन्ने अझै यकिन भइसकेको छैन ।

तर, राष्ट्रियरूपमा नै प्रभाव पार्ने नेता भएको र गठबन्धनको पनि साथ पाएकाले यसपटक यो क्षेत्रबाट पौडेल नै विजयी हुने आँकलन गरिएको छ ।

तनहुँ–२ मा किरण कि शंकर ?

तनहुँ–२ मा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीबीच मुख्य प्रतिस्पर्धा छ। भिमाद नगरपालिका ९ को भानुमतीका बासिन्दा गुरुङले यो ठाउँबाट ३ पटक चुनाव जितिसकेका छन्।

तत्कालीन तनहुँ–३ बाट २०४८ सालको आम निर्वाचन, २०६४ सालको संविधान सभा चुनाव जितेका गुरुङ २०७४ मा भने तनहुँ–२ को प्रदेश सभा २ बाट निर्वाचित भएका थिए।

कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी २०७० को चुनावमा तनहुँ-१ बाट निर्वाचित भएका थिए।

तर, २०७४ मा तनहुँ–२ मा एमालेका केदार सिग्देलसँग पराजित भएका थिए।

स्थानीय तह चुनावमा यो क्षेत्रमा वडाध्यक्षका उम्मेदवारले पाएको मत एमालेको ३० हजार ९६२, नेपाली कांग्रेसको ३० हजार ६०६, नेकपा माओवादी केन्द्रको ६ हजार ८३६ र नेकपा एकीकृत समाजवादीको एक हजार २१२ छ।

अघिल्लो पटक पराजित भएका भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने योजनामा छन् । स्थानीय चुनावको मतगणितमा गठबन्धन अगाडि देखिन्छ ।

२०७४ मा प्रदेशसभामा जितेर मन्त्रीसमेत बनेका एमालेका गुरुङ गठबन्धनभित्रको अन्तरविरोधको फाइदा उठाउने प्रयासमा छन् । अहिलेसम्मको माहोल हेर्दा गठबन्धनका भण्डारी निर्वाचित हुने सम्भावना नै बढी छ ।

कास्की-१ मा रोचक भिडन्त

कास्की-१ मा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ आमने–सामने छन्। ठूला दलका जिल्ला पार्टी प्रमुख नै प्रतिस्पर्धी भएकाले कास्की-१ को चुनाव रोचक बनेको छ ।

बराल पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने गुरुङ प्रदेश सभा हुँदै प्रतिनिधिसभाको उम्मेदवार भएका हुन्।

०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार गुरुङ कास्की १ (ख) बाट निर्वाचित भएका थिए।

स्थानीय चुनावमा पालिका प्रमुख र पोखरा महानगरका वडाध्यक्षले पाएको मतको आधारमा पाँचदलीय गठबन्धन साढे पाँच हजार मतले अगाडि छ।

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनले ३६ हजार दुई सय १८ र एमालेले ३० हजार ६ सय ९२ मत पाएको थियो।

गत चुनावमा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी फराकिलो मतान्तरले विजयी भएका थिए । तर, यसपटक उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा उठेका छन् ।

स्थानीय चुनावको मतका आधारमा यो क्षेत्रमा गठबन्धन अगाडि देखिए पनि उम्मेदवारका हिसाबले भने प्रतिस्पर्धा कडा देखिन्छ । गुरुङ समुदायको बाक्लो बसोबास समेत रहेकाले एमालेलाई त्यसको केही फाइदा हुन सक्छ ।

यो क्षेत्रमा परिणामका बारेमा आँकलन गर्न अझै कठिन रहेको स्थानीय विश्लेषक बताउँछन् ।

कास्की-२ को चुनावी मैदानमा विद्या र श्रीनाथ

कास्की-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेबाट निवर्तमान सांसद विद्या भट्टराई मुख्य प्रतिस्पर्धामा छन्। हक्की नेताको रूपमा चिनिने कांग्रेसका महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०५६ सालमा कास्की २ बाट निर्वाचन जितेका उनी पर्यटन राज्यमन्त्री पनि बनेका थिए।

गुरुङको उम्मेदवारीले गठबन्धनलाई केही असर पुग्ने अनुमान गरिएको छ । एकीकृत समाजवादीका बराललाई गठबन्धनका अन्य दलबाट मत तान्नुपर्ने चुनौती पनि छ ।

एमाले उम्मेदवार भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीको निधनपछि भएको उपचुनावमा पनि उनी विजयी भएकी थिइन ।

यो क्षेत्रमा २०७४ मा भने रवीन्द्रले फराकिलो अन्तरले जित निकालेका थिए । गठबन्धनबाट बागी उम्मेदवारी परेपछि एमाले आफ्नो जितमा निश्चिन्त देखिन्छ ।

सो क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडा पर्छन्।

२०७०  को चुनावमा पनि यहाँबाट एमाले नै विजयी भएको थियो । गत स्थानीय चुनावको मतका आधारमा पनि यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेका वडाध्यक्षका उम्मेदवारले २१ हजार १६४ मत ल्याएका थिए। दोस्रोमा कांग्रेसका वडाध्यक्षले १९ हजार ८०० मत ल्याएका थिए।

वडाध्यक्षका आधारमा एकीकृत समाजवादीको यो क्षेत्रमा २ हजार हाराहारीमा मात्रै मत छ । यद्यपि, पोखरा महानगरको मेयरमा भने एकीकृत समाजवादीका उम्मेदवारले बाजी मारेका थिए ।

एकातिर बागी उम्मेदवारी र अर्कातिर कम मत भएको एकीकृत समाजवादीलाई गठबन्धनले यो क्षेत्र छाडेकाले स्थानीय स्तरमा असन्तुष्टि पनि छ । जसको फाइदा उठाउँदै विद्या भट्टराई यो क्षेत्रबाट सहज रूपमा चुनिने स्थानीय विष्लेषकको अनुमान छ ।

कास्की-३ मा कडा प्रतिस्पर्धा

कास्की-३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल र एमालेका दामोदर पौडेल ‘बैरागी’बीच मुख्य प्रतिस्पर्धा हुँदैछ । २०७४ सालमा एमालेका जगतबहादुर सुनार विश्वकर्माले माओवादीको साथ पाएर यहाँबाट चुनाव जितेका थिए।

उनले कांग्रेसका शुक्रराज शर्मालाई ८ हजारभन्दा बढीको मतान्तरमा पराजित गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन्।

गत स्थानीय चुनावमा पोखरा महानगरका ११ वडामध्ये तीन  एमालेले, सात कांग्रेस र एउटा वडा स्वतन्त्रले जितेका थिए।

समग्र क्षेत्रमा भने एमालेका वडाध्यक्षका उम्मेदवारले कुल २९ हजार आठ सय पाँच मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार आठ सय ४६ मत प्राप्त गरेका थिए।

यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार चार सय र एकीकृत समाजवादीका वडाध्यक्षले पाँच सय एक मत पाएका थिए।

यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबरी जस्तै देखिन्छ । माओवादी र एकीकृत समाजवादीको मत मिलाउँदा गठबन्धन केही बलियो छ । तर, प्रतिस्पर्धा भने निकै कडा हुने अनुमान गरिएको छ।

गोरखा-१ मा गठबन्धन अगाडी

गोरखा-१ मा एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाईंबीच मुख्य प्रतिस्पर्धा छ। उनीहरूले २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला माओवादीको समर्थन पाएका बस्नेत निर्वाचित भए भने यसपटक माओवादीको समर्थन बजगाईंलाई छ।

गोरखामा एमालेको तुलनामा कांग्रेस र माओवादीको संगठन बलियो छ।

यी दुवै दल एकातिर र एमाले अर्कातिर भएकाले बजगाईं यसपटक सहज रूपमा जित्ने अवस्थामा देखिन्छन् ।

स्थानीय निर्वाचनमा त्यहाँ कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत मात्रै पाएका छन्।

त्यस्तै, जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ।

गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ। यसका आधारमा यहाँ गठबन्धन फराकिलो मतान्तरले अगाडि देखिन्छ । तर, उम्मेदवारका कारण एमालेले स्थानीय चुनावमा भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ ।

 

गोरखा-२ मा प्रचण्डलाई सहज

गोरखा-२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अब्दुस मियाँबीच प्रतिस्पर्धा छ।

चितवनमा हार्ने भयले गोरखा–२ बाट उम्मेदवारी दिएका प्रचण्डलाई गोरखामा खासै कठिन छैन ।

यसअघिका निर्वाचनको नतिजा हेर्दा गोरखामा मुख्यत: माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेको थियो । अहिले दुवै दल एकातिर भएकाले एमाले निके  देखिन्छ ।

गत वैशाखमा सम्पन्न निर्वाचनमा गोरखाका ११ मध्ये ९ वडा पालिका माओवादीले जितेको छ भने कांग्रेसले दुईवटा जितेको छ ।

त्यतिबेला माओवादी र कांग्रेसले गठबन्धन नगरी प्रतिस्पर्धा गरेका थिए । गोरखा–२ मा वडाध्यक्षले पाएको मतमा माओवादी केन्द्र पहिलो स्थानमा छ। उसले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८ मत ल्याएका थिए।

एमालेका वडाध्यक्षले मात्र आठ हजार ४८४ मत ल्याएका छन् । बाबुराम भट्टराईआबद्ध तत्कालीन जनता समाजवादी पार्टी (जसपा)ले सात हजार ५०४ मत ल्याएको थियो। यस क्षेत्रको मत विश्लेषण गर्दा प्रचण्ड फराकिलो मतान्तरले विजयी हुने अनुमान गरिएको छ।

लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा

कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा काम गरेका दुई हेभिवेट नेता लमजुङको चुनावी प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यहाँका मुख्य प्रतिस्पर्धी हुन्।

०७४ को निर्वाचनमा देव गुरुङ एमालेको सहयोगमा फराकिलो मतान्तरले विजयी भएका थिए।

अघिल्लो पटक  लमजुङ ‘ख’ बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा भने यसपटक प्रतिनिधिसभामा उठेका छन्।

गत स्थानीय चुनावमा ८ पालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ। तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ।

पृथ्वीसुब्बा गुरुङको यो सातौँ निर्वाचन हो ।
२०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् ।
२०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोगेका उनले ०६४ को पहिलो संविधानसभाको निर्वाचन जितेका थिए । त्यतिबेला देव गुरुङ मनाङबाट उम्मेदवार भएका थिए ।
तर,  दोस्रो संविधानसभा निर्वाचनमा भने पृथ्वीसुब्बा पराजित भए । उनी यसपटक पनि प्रदेशसभामा उठन चाहेका थिए । तर, अध्यक्ष केपी ओलीले खगराजलाई प्रदेशसभामा लगेर पृथ्वीलाई प्रतिनिधिसभामा पठाएका छन् ।
सत्ता गठबन्धनको मत एकछत्र रूपमा देव गुरुङले पाएमा पृथ्बीलाई यो पटक चुनाव जित्न कठिन छ । त्यसो भएन भने दुई गुरुङबीच कडा मुकाबिला हुनेछ ।

बागलुङ-१ मा चित्रबहादुर केसीलाई कति चुनौती ?

बागलुङ-१ मा युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन्। यो चुनाव जितेमा केसी चौथोपटक सांसद बन्नेछन् भने पाठक दोस्रोपटक।

विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिरेका थिए।

२०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जित निकाल्न सफल भएका थिए।

वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लडेका पाठकले कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पारेका थिए।

अहिले सत्ता गठबन्धनकाविरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ। अघिल्लो चुनाव २०७४ मा माओवादी र जनमोर्चासहितको मत लिएर जितेका पाठकलाई यसपालि पाँचदलीय गठबन्धनको चुनौती छ।

गत वैशाखमा भएको स्थानीय चुनावमा पनि जिल्लामै एमाले कमजोर देखिएको थियो। उसले दसमध्ये एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो।

क्षेत्र नम्बर १ मा रहेका चारवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए।

यस आधारमा यसपटक पनि यो क्षेत्रबाट केसी नै विजयी हुने अनुमान गरिएको छ ।

बागलुङ-२ मा पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा

बागलुङ–२ सत्ता गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र एमालेका मञ्जु शर्मा चालिसेबीच प्रतिस्पर्धा छ। पौडेल विसं २०७४ को निर्वाचनमा यही क्षेत्रमा विजयी भएका थिए।

त्यसबेला उनी वाम गठबन्धनबाट निर्वाचित भएका थिए।

अहिले पौडेललाई कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ। एमाले एक्लै चुनावी मैदानमा छ।

अघिल्लो निर्वाचनमा पौडेलले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेका थिए।

पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए।

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन्।

स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ मत पाएको थियो ।

तर, यसपटक यो समीकरणमा बागी उम्मेदवारका कारण परिवर्तन हुन सक्ने सम्भावना छ । पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अर्कातिर मन्त्री हुँदा जिल्लामा खासै काम नगरेको भन्दै पौडेलसँग मतदाताले गुनासो पनि गरिरहेका छन् । अर्यालले कति मत ल्याउँछन् त्यसमै पौडेलको हार जित तय हुने स्थानीय विश्लेषक बताउँछन् ।

 

मनाङको मौसम चिसिँदै, चुनावी माहोल तात्दै

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको मनाङमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छेपाङ गुरुङ दोस्रोपटक आमने-सामने छन्।

हिमालपारिको जिल्ला मनाङमा दिनहुँ चिसो बढ्दै गए पनि चुनावी माहोल भने तात्दै गएको छ।

केही दिनअघि काठमाडौं र पोखरामा भोट माग्न व्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर भोट माग्दै घरदैलोमा पुगेका छन्।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यसअघि, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई दुई सय ७१ मतले पछि पार्दै पोल्देन विजयी भएका थिए।

पोल्देनले दुई हजार तीन सय मत प्राप्त गरेका थिए भने टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए।

स्थानीय चुनावमा मनाङका चार पालिकामध्ये एमाले र कांग्रेसले दुई–दुई गाउँपालिकामा अध्यक्ष जितेका थिए।

आगामी चुनावमा पनि यहाँ एमाले र सत्ता सत्ता गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

मुस्ताङमा साला-भेनाको प्रतिस्पर्धा

मुस्ताङमा मुख्य प्रतिस्पर्धी कांग्रेसका २९ वर्षीय योगेश गौचन र एमालेका निवर्तमान सांसद ६१ वर्षीय प्रेम तुलाचन छन्।

उनीहरू नाताले साला-भेना हुन्।

स्थानीय निर्वाचनको नतिजाले मुस्ताङमा एमाले बलियो देखिएको छ ।

जिल्लाका पाँच गाउँपालिकामध्ये एमालेले चार पालिका अध्यक्ष, तीन उपाध्यक्ष र कांग्रेसले एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष पद जितेको थियो ।

स्थानीय निर्वाचनमा अध्यक्ष पदमा एमालेका उम्मेदवारले चार हजार एक सय २६ मत प्राप्त गर्दा कांग्रेसका अध्यक्षका उम्मेदवारले तीन हजार ९१ मत पाएका थिए ।

उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले तीन हजार सात सय २० मत पाएका थिए भने कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवारले तीन हजार दुई सय २६ मत प्राप्त गरेका थिए ।

कांग्रेसले देशभर उम्मेदवार बनाएका ९१ जनामध्ये योगेश सबैभन्दा कम उमेरका छन्।

सानै उमेरदेखि राजनीतिमा सक्रिय उनले जिल्लामा विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए।

उनी पूर्वमन्त्री तथा कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन्। आफ्नै छोरालाई राजनीतिमा अघि सारेका रोमी राजनीतिमा युवामार्फत परिवर्तनको सन्देश दिन खोजेको बताउँछन्।

स्थानीय चुनावको परिणाम एमालेको पक्षमा देखिए पनि कांग्रेसले युवा उम्मेदवार उठाएकाले यसपटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पर्वतमा कसले मार्छ बाजी ?

पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै प्रतिस्पर्धी पुनः चुनावी मैदानमा उत्रिएका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पद्म गिरीबीच प्रतिस्पर्धा हुँदैछ ।

जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित गत चुनावको साख जोगाउनुपर्ने चुनौती छ।

विसं २०५६, २०६४ र २०७० मा लगातार चुनाव जितेका कांग्रेस उम्मेदवार जोशीलाई २०७४ सालको निर्वाचनमा एमालेका गिरीले लगभग १३ हजार मतान्तरले पराजित गरेका थिए।

त्यतिबेला, माओवादीसहितको वाम गठबन्धन थियो।

गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गरेकामा पराजित जोशीले २६ हजार आठ सय १९ मत पाएका थिए। कुल ६७ हजार छ सय ८२ मत खसेको थियो।

पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन्। स्थानीय चुनावको नतिजालाई पछ्याउँदा पाँच पालिकामा कांग्रेसले नेतृत्व गरेको छ।

स्थानीय चुनावको मतगणित हेर्दा गठबन्धन एमालेभन्दा निकै अघि छ । त्यसैले, यसपटक पदम गिरीलाई विगतको नतिजा दोहोर्‍याउन कठिन छ ।

कांग्रेसका जोशी फेरि सांसद हुने सम्भावना बढी देखिन्छ ।

म्याग्दीमा कडा टक्कर

म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवार छन्।

कांग्रेसका जिल्ला सभापति गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन्।

यसअघि, दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारूढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।

विसं २०५६ मा कांग्रेस, २०६४ मा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन्।

प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो। पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए।

एमाले विरासत जोगाउने र कांग्रेस गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन्।

गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए।

स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए।

सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ। स्थानीय चुनावको मतका आधारमा गठबन्धनका उम्मेदवार अघि देखिन्छन् ।

जातीय रूपमा पनि गर्बुजालाई सहयोग पुग्ने देखिन्छ । म्याग्दीमा मगर समुदायको बाक्लै उपस्थिति छ ।

स्याङ्जा-१ मा मतदाताका लागि ‘टेस्टेड’ उम्मेदवार

स्याङ्जा-१ मा लगातार तीनपटकसम्म मुख्य दलका उनै उम्मेदवार दोहोरिएका छन्। मतदाताले भने ती तीनपटकसम्म दोहोरिएका दुवै उम्मेदवारलाई ‘टेस्टेड’ भनिरहेका छन्।

स्याङ्जा–१ मा अहिले एमालेका नारायणप्रसाद मरासिनी उम्मेदवार छन्।

उनको प्रतिस्पर्धीको रूपमा कांग्रेसका राजु थापा छन्।

मरासिनी र थापाको भेट यसअघि पनि दुई पटकसम्म त्यही क्षेत्रमा भइसकेको छ।

२०७० को निर्वाचनमा राजुले स्याङ्जा–१ मा जित्दा मरासिनी पराजित भएका थिए।

२०७४ को निर्वाचनमा भने त्यो क्षेत्रको परिणाम ठ्याक्कै उल्टो भयो । मरासिनीले बाजी मारे । तर उनलाई वाम गठबन्धनको साथ थियो ।

एकपटक जित र एकपटक हार बेहोरेका दुवैका लागि यो पटक जित दोहोर्‍याउने चुनौती छ। यसपटक गठबन्धनको बलमा कांग्रेसका थापा जित निकाल्ने बताइरहेका छन् ।

तर, स्थानीय विष्लेषक भने दुईबीच कडा प्रतिस्पर्धा देखिएको बताउँछन् । कसले बाजी मार्छ अहिले नै अनुमान गर्ने अवस्था छैन ।

स्याङ्जा–२ मा पहिलोपटक धनराज र पद्माको लडाइँ

स्याङ्जा-२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ। गुरुङ पहिलोपटक प्रत्यक्ष चुनाव लड्न लागेका छन्। पद्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

२०७४ मा तत्कालीन एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो। स्याङ्जा–२ मा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई हराएर त्यसबेला पद्माले चुनाव जितेकी थिइन्।

गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याउँदा पद्माले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन्।

गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा कांग्रेस अगाडि छ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३६ हजार ८ सय ६ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ। माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४ सय ४७ मत ल्याएका छन्।

सत्ता गठबन्धनमा रहेका कांग्रेस–माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ। एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ। सत्ता गठबन्धन र एमालेबीच चार हजार बढी मतान्तर देखिन्छ। तर, यसपटक दुवै उम्मेदवार हेभिवेट भएकाले प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।

 

 

यो पनि पढ्नुहोस :

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved