नेपाली टोलीलाई प्रेसर छैन, खेलाडीले निर्धक्क भएर खेल्नेछन् : पारस खड्का (अन्तर्वार्ता)

सन्दीपले टी–२० मा त विश्व रेकर्ड तोड्न दुई विकेट लिन मात्रै बाँकी छ । उनको प्रदर्शन निकै राम्रो छ । नेपाली टिमलाई ठूलो बुस्ट हुनेछ । उनी आउनसाथ हरेक म्याचमा विकेट लिने कति लिने भन्ने अपेक्षा पनि छ । तर, उनी खेल्ने कुराले सबै उत्साहित छन् ।

नेपालभ्युज

नेपाली टोलीलाई प्रेसर छैन, खेलाडीले निर्धक्क भएर खेल्नेछन् : पारस खड्का (अन्तर्वार्ता)

काठमाडौं । नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ ।

टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिने भएसँगै नेपाली टिम अझ् मजबुत बनेको छ । यद्यपी, नेपाली टोलीसँग जोडिन सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए । अमेरिकी दुतावासले भने भिसा रिजेक्ट गरेको छ । नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

विश्वकपको माहोल र समग्र नेपाली क्रिकेटको अवस्था र रणनीति तथा आगामी कार्यक्रममा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले नेपाल क्रिकेट काउन्सिल (क्यान) का सचिव पारस खड्कासँग कुराकानी गरेको छ ।

कुराकानीका क्रममा सचिव खड्काले टी–२० विश्वकपको तयारीका लागि क्यानले जति गर्न सक्थ्यो त्यो गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरे ।

नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गरे । प्रस्तुत छ, सचिव खड्कासँग गरेको अन्तर्वार्ताको सम्पादित अंश-

१० वर्षपछि नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्दैछ, एउटा खेलाडी, पूर्वकप्तान वा क्यानको महत्वपूर्ण जिम्मेवारी व्यक्ति (सचिव)का रूपमा यो सहभागितालाई कसरी लिनुभएको छ ?

नेपाली क्रिकेटसँग जोडिएकोमा सबै जना खुशी छौं । विश्वकप खेल्नु भनेको हाम्रा लागि ठूलो प्लेटफर्म हो । फेरि यो सफलता पाउन १० वर्ष कुर्नुपर्यो । हामी लामो समयपछि यस केही दिनमा नै विश्वकप खेल्ने भएका छौं । पूर्वक्रिकेटर र क्यानमा जिम्मेवारी व्यक्तिका रूपमा यो विश्वकप खेल्न पाउनु भनेको ठूलै उपलब्धि हो । आशा छ, टिमले पनि राम्रो प्रदर्शन गर्नेछन् ।

तपाईं व्यक्ति एउटा हुनुहन्छ तर, एउटा पूर्व खेलाडि, पूर्वकप्तान र अहिले क्रिकेट हाँक्ने संस्थाको महत्वपूर्ण व्यक्तिका रूपमा फरक पनि छ, यी तीन ठाउँमा बसेर हेर्दा एउटै देखिन्छ कि फरक ?

निश्चय पनि फरक त भइहाल्छ । खेलाडीको पहिलो प्राथमिकता भनेको खेलेर कसरी जिताउने भन्ने हुन्छ । अन द फिल्ड प्रदर्शन गर्नैपर्यो चाहे खेलाडि होस् वा कप्तान । २० वर्ष क्रिकेट खेलेर अहिले सात/आठ महिना भयो क्रिकेट संघको सचिव भएको । तीन वटैको रोल चाँही नेपाली क्रिकेटलाई कसरी राम्रो बनाउने भन्ने हो ।

अन फिल्ड जति चुनौतिहरू थियो, अफ फिल्ड पनि त्यति नै छ । अवसर पनि छ । हामी डिभिजन-५ मा थियौं, त्यसपछि फोरमा जाने, थ्रीमा जाने, वानमा जाने भन्ने थियो । पछि विश्वकपमा पनि पुग्यौं । ओडीआई स्टाटस पनि भयो । सक्दो राम्रो गर्ने प्रयासमा छौं ।

फेरि हामी विश्वकप खेल्दैछौं ? यस क्रममा क्यान र नेपाली टोली नै विश्वकपका लागि कस्तो किसिमको तयारी गर्यो ?

क्यानले विश्वकपमा छनोट भएदेखि नै जे जति गर्न सकिन्थ्यो त्यो गरेको छ । टिमलाई जतिसक्दो व्यस्त राख्नुपर्छ भन्ने थियो । हेड कोच (मोन्टी देसाई) सँगको छलफलका क्रममा विश्वकप अगाडि ४० देखि ५० वटा टी–२० म्याच खेल्नुपर्छ भन्ने थियो । मलाई लाग्छ लगभग त्यो पूरा भयो ।

खेलाडीले निरन्तर फरक/फरक कन्डिसनमा खेलेका छन् । यो योङ र पोटेन्सियल बोकेको टिम हो । एक वर्ष अगाडिको नेपाली क्रिकेटलाई अन द फिल्ड हेर्ने हो भने ओडीआई स्ट्याटस बचाउनुपर्ने अवस्था थियो ।

१२ वडा ओडीआईमध्ये ११ वटा जित्यौं, त्यसपछि एसिया कपमा छनोट भयौं, विश्वकप खेल्दैछौं । सबै हेर्दा हामीले खेलाडिलाई जतिसक्दो राम्रो प्लेटफर्म दिन कोसिस गरेका हौं । कहिले काहीँ कस्तो हुन्छ भने ‘यो टिम भैदिएइको भए, उ टिम भैदिएको भए’ भन्ने हुन्छ ।

‘यहाँ पठाउनु भन्दा अर्को ठाउँ पठाएको भए हुन्थ्यो’ कि भन्ने गुनासोहरू हुन्छन् । तर, क्रिकेट संघले चाँही आफूसँग जे साधनस्रोतहरू छ त्यहीअनुरूप काम गरेको छ ।

यो प्रश्न किन सोधेको भने हिजो तपाईं खेलाडी हुनुहुन्थ्यो, आज क्यानको सचिव हुनुहुन्छ, खेलाडीलाई लाग्नसक्छ नि यस्तो भइदिएको भए भन्नेकुरा ?

खेलाडीले त कसरी राम्रो गर्ने भनेर नै सोचिरहेको हुन्छ र प्रयास पनि भइरहेकै छ । हामीले खेल्दा पनि गुनासाहरू हुन्थे । मेरै नेतृत्वमा नेपाली क्रिकेट टिममा खेलाडीहरूका तर्फबाट यसो भएन उसो भएन भनेर बोलेका थियौं र प्रश्नहरू सोधेका थियौं ।’ अहिले त्यही प्रश्नको जवाफ दिने ठाउँमा म आफैँ पनि छु । जतिसक्दो टिमलाई व्यवस्थित गर्ने र साधन स्रोत जुटाइदिने हो । तर प्रश्नहरू त सधैँ भइहाल्छन् । प्रश्न आए परिस्थिति अनुसार उत्तर दिने हो ।

तयारीको सन्दर्भमा टिमको प्रदर्शनबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छु । किन सन्तुष्ट छु, भने नेपाली क्रिकेटको इतिहास, खेलाडीको प्रयास र नेपाली क्रिकेटको संरचना हेर्ने हो भने त्यति ठूलो संरचना छैन । तर, त्यो सानो संरचनाबाट छोटो समयमै आउट स्ट्याण्डिङ रिजल्ट ल्याएका छौं । त्यसमा कति भाग्यमा सिमित थिए, कहिले पानी पथ्र्यो कहिले अपोनेन्टले कसैले कसैलाई हराउनुपर्ने ठाउँमा हराइदिन्थ्यो ।

कहिले अन्तिम विकेट पाटर्नरसिप ४०–५० रनको हुन्थ्यो । यी सबै संयोग, विभिन्न जेनेरेसनले गरेको मेहेनत र नेपाली क्रिकेटलाई अघि बढाउनु पर्छ भन्ने संकल्पका कारण नेपाली क्रिकेट यहाँसम्म आएको छ ।

तर, नेपाली क्रिकेट योभन्दा माथि पुर्याउने विचार छ । यसमा हामीले दिने रिसोर्स र रिजल्ट बेस डिसिजन हुन्छन् । जित्यो भने अघि बढ्यो तर हार्यो भने खस्कियो भन्ने सोचबाट माथि उठ्नुपर्छ । हाम्रो आजसम्मको मापदण्ड नै यही भएको छ । त्यसैले क्रिकेटलाई क्रिकेटकै रूपमा बुझौं ।

स्ट्रक्चर कस्तो छ भनेर पनि बुझौं । जहाँ खेलाडीहरू उत्पादन गर्ने संयन्त्र होस् । उमेर समूहदेखि माथि आउने बाटोहरू होस् यस्तो नहुँदा पनि हामी यहाँसम्म आइपुगेका छौं । यो खुशीको कुरा हो ।

विश्वकपमा टिमको कस्तो प्रदर्शन होला भन्ने अपेक्षा र अनुमान पनि हुन्छ नि ?

खेलाडीले ज्यान लगाएर आफूलाई प्रस्तुत गर्छन् भन्ने अपेक्षा छ । विश्वकपमा हामीले समूह चरण चारमध्ये तीन वटा टेस्ट राष्ट्रसँग खेल्दैछौं । एउटा टेस्ट राष्ट्रलाई हराएर २ वटा म्याच जित्यौं भने दोस्रो चरण जाने सम्भावना छ । नेदरल्याण्ड्सँग एसोसिएटमा खेलिरहेका छौं र हराएको इतिहास पनि छ । तर, ट्वान्टी–२० फर्म्याटको एउटा प्लस प्वाइन्ट के हो भने कुनैपनि टिमलाई कुनै पनि टिमले हराउन सक्छ ।

श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दा हामीलाई भन्दा उनीहरूलाई दबाब छ । किनभने हामीले त आफूलाई देखाउने प्लेटफर्म पाएका छौं । त्यसैले आफूले जुन ढंगको क्रिकेट खेल्दै आएको हो निर्धक्क र निडर भएर खेल्ने हो । त्यसैले ‘यू नेभर नो’ के हुन्छ । टिमले राम्रो गरोस् भनेर अपेक्षाहरू छन् । राम्रो प्रदर्शन गर्छ भनेर आशा र भरोसा पनि छ ।

प्रेडिक्सनका कुरा आउँछन् र चर्चा हुन्छ ?

म एउटा पूर्वखेलाडी भएको भएर पनि यो प्रश्न सोधिन्छ होला । तर, म आफू खेल्दा पनि नतिजाबारे सोचेर भन्दा पनि त्यो नतिजा ल्याउन चाहिने प्रोसेसबारे बढी ध्यान दिन्थें । राष्ट्रिय टिमको खेलाडी भइसकेपछि मेहेनत सबैले गर्छन् । जित्दा के सही र हार्दा के गलत गरियो भन्ने कुरा हेरिन्छ । त्यसैले म चाहीँ परिणामभन्दा प्रोसेसमा ध्यान दिनुपर्छ भन्छु ।

अहिले पनि मलाई के लाग्छ भने टिमलाई हामीले जेजति प्लेटफर्म र साधन स्रोत दिएका छौं । त्यसअनुसार राम्रो खेले भने खुशी हुनु स्वाभाविक हो । तर, प्रदर्शन राम्रो भएन भने पनि हामी निराश हुनुहुन्न । किनभने अपेक्षा धेरै माथि भइसक्यो । तर, त्यसलाई पूरा गर्न लगानी पनि त गर्नुर्यो नि । हामी आजको दिनसम्म विभिन्न जेनेरेसनको खेलाडीहरू र प्रशिक्षकहरूले जसोतसो टारेर आइरहेका छौं ।

यसको मतलब अहिले नै नतिजाको कुरा गरेर धेरै अपेक्षासहित टिमलाई दबाब नदिउँ भन्ने हो ?

एकदमै यही कुरा हो । अहिले हामीले उहाँहरूलाई के नै दिएका छौं र प्रेसर दिने ? अहिलेसम्म त खेलाडी र अरू स्टेक होल्डरले त योगदान नै गर्नुभएको छ । लिनेभन्दा दिने धेरै छन् । यो योङ टिम छ योङ्गेस्ट क्याप्टेनको नेतृत्वमा विश्वकप खेल्दैछौं । अपेक्षाका कारण प्रेसर हुन्छ ।

आज सामाजिक सञ्जाल नै खोलेर हेर्यौं भने नेपालले त विश्वकप नै जित्नुपर्छ जस्तो धारणा छ । त्यो अपेक्षालाई खेलाडीले कति मिट गर्छन् भन्ने कुरा हो । कम्तीमा पनि हामी जिम्मेवार पदाधिकारीका रूपमा हामीले बुझ्ने कुरा के हो भने नतिजा तलमाथि हुनसक्छ सम्भावना पनि छ ।

किनभने खेलकुद क्षेत्र नै त्यस्तो हो । तर, नतिजासँगै हाम्रो निर्णय गर्ने तरिका र प्रक्रियामा तलमाथि हुनु भएन । अहिलेको लागि टिम राम्रो छ र टिमबाट सिंगो देशको अपेक्षा पनि छ । त्यसैले अहिले हामीले पनि दिने भनेको शुभकामना नै हो ।

हुन त यहाँले अघि नै भन्नुभयो, टी–२० क्रिकेट हो जे पनि हुनसक्छ तर, चार टिममध्ये बलियो चाहीँ कुन हुनसक्छ ?

चार वटै म्याच महत्वपूर्ण छन् र प्रतिष्पर्धात्मक पनि हुन्छन् । हामीले २ वटा अमेरिका र २ वटा वेस्ट इण्डिजमा खेल्दैछौं । अमेरिकाको कन्डिसन अलि फरक छ । नेपालका लागि मात्रै होइन अरू धेरै जसो राष्ट्रका लागि त्यसले गर्दा त्यहाँ एडभान्टेज हुनसक्छ कि भन्ने लाग्छ । तर, प्रोफेसनल प्लेयर भइसकेपछि एडप्टेसन भइहाल्छ ।

धेरै जसो टिमले त बेस पनि बनाइसकेका छन् । त्यसले गर्दा चार वटै म्याच महत्वपूर्ण छ । अहिलेको लागि उनीहरूलाई भारी नबोकाउँ । टिमले विश्वकप खेल्दैछ इन्जोए गरौं र समर्थन गरौं । अलिकति क्रिटिकल एनालिसिस कम गरौं यो मेरो आग्रह पनि हो ।

यो प्रेसरको कुरा होइन, कन्डिसनको कुरा, नेदरल्याण्ड्स र श्रीलंकासँग हामी अमेरिकामा खेल्दैछौं, दक्षिण अफ्रिका र बंगलादेशसँग हामी वेस्ट इण्डिजमा खेल्दैछौं फरक के हुनसक्छ ?

अमेरिकामा मैले पनि २ पटक खेलेको थिएँ, त्यतिबेला सरफेस ठिकठाक नै थियो । ब्याटिङ फेभर पनि होइन, बलिङ फेभर पनि होइन । एभरेज पिच थियो । टिमले लास्ट टाइम पनि खेलिसकेको छ । तर, अहिले पूर्णरूपमा नयाँ भेन्युमा हामी खेल्दैछौं । अहिले सबै ढिक्का ल्याएर बनाउने ड्रपिङ पिचहरू बनेका छन् जस्तो लाग्छ ।

फ्लोरिडामा त पहिले पनि एउटा सेट पिच नै छ । म आफैँ पनि २/३ हप्ता अगाडि फ्लोरिडामा जाँदा नयाँ पिचहरू पनि बनाइरहेको देखें । वेस्टइण्डिज चाँही हाम्रा लागि नयाँ ठाउँ नै भयो । तर पनि हामीले ३ वटा अभ्यास म्याच विश्वकपकै खेल हुने स्थान वरपर गएर खेल्यौं । एक हप्ताको क्याम्पमा त्यहाँ युज टु हुने कोशिस गर्यौँ ।

हाम्रो प्राथमिकता पनि के थियो भने जाँदै नगएको ठाउँमा एकैचोटी त्यहाँ गएर अन्योल हुनुभन्दा अलिकति कन्डिसन बुझ्ने थियो । त्यसै अनुसार गर्यौ । नेपालले विश्वकप हुने ग्राउण्डमै डालासमा २ वटा वार्म अप म्याच खेल्दैछ । त्यसको फाइदा त हुन्छ नै । तयारी चाहीँ राम्रो भएको छ ।

कण्डिसनको कुरा त प्रोफेसन प्लेयरले जहाँ गएपनि खेलेरै देखाउने हो । सबै टिमले आफूलाई प्रमाणित गर्ने विश्वकपमा । त्यसैले कम्प्यारेटिभ क्रिकेट हुने सम्भावना छ । तर कसले कति एडप्ट गर्नसक्छ त्यसले म्याच डेमा प्रभाव पार्न सक्छ ।

सन् २०१४ मा तपाइँले नेतृत्व गर्नुभयो, अहिले रोहितले गर्नुभएको छ, एउटा कप्तानका रूपमा मनोविज्ञान कस्तो हुन्छ ? अहिले रोहितलाई भइरहेको होला, जुन कुरा सन् २०१४ तपाईंलाई भएको थियो ?

एउटा कप्तानका रूपमा एउटा उदाहरण सेट गरौं भन्ने हुन्छ र गर्नुुपर्ने पनि त्यही हो । सन् २०१४ मा हामीले विश्वकप खेल्दा नेपालका धेरैजसो मान्छेले क्रिकेट हेर्न थाले । पछिल्लो १० वर्षमा नेपालमा क्रिकेट हेर्ने मान्छेको संख्या बढेको छ । त्यो सँगसँगै क्रिकेट बुझ्नेको संख्या पनि बढ्दैछ ।

तर, जति हेर्ने संख्या बढेको छ त्यति बुझ्ने संख्या भइसकेको छैन । नेशनल लेभलमा क्रिकेटको दर्शक धेरै राम्रो छ । त्यो एरा र अहिले हेर्दाखेरि सायद अहिले धेरै अपेक्षा छ । त्यतिबेला २० लाखले हेर्थे भने अहिले १ करोडले हेर्छन् कि भन्ने एउटा अनुमान छ । पछिल्लो १० वर्षमा सोसल मिडियाको ग्रोथ धेरै बढेको छ । एउटा प्लेयरले एउटा खेल हार्दा पर्सनल फ्यान पेज चलाएर खोज्यो भने पनि त्यहाँ गालि धेरै छ ।

हामी क्रिकेटमा प्यासोनेट छौं । संसार सामु नै कीर्तिपुरको त्यो एटमोसफेयर छ त्यो हेर्न पनि कति खेलाडि आएर खेल्छन् । र डिजिटल्ली पनि हामीले देखाएको छौ संसार सामु । मैले अघि भनें नि क्रिकेट बुझ्ने ग्यापलाई कन्ट्रोल गर्नुपर्छ । किनभने क्रिकेट बुझने र हेर्ने बीचको ग्याप हटाउनुपर्छ ।

एउटा क्रिकेट फ्यानका रूपमा टिमले राम्रो प्रदर्शन नगर्दा दुःख सबैलाई हुन्छ । त्यो दुःख सबैभन्दा बढी ती खेलाडिलाई हुन्छ । त्यसैले हामीलाई अलिकति धैर्यता चाहिएको छ । त्यो टाईम सन् २०१४ र अहिलेको तुलना गर्ने हो भने चाहिँ अहिले अपेक्षा र दबाब धेरै छ ।

प्रेसरलाई कसरी सामना गर्ने ?

देशको लागि खेलिसकेपछि यसका लागि तयार हुनुपर्छ । विश्वकप खेल्दा धेरै र अरू गेम खेल्दा प्रेसर कम लिन्छु भन्ने हुँदैन । चाहे विश्वकप होस् वा अरू कुनै सामान्य खेल, तपाईंले देशको झण्डाको प्रतिनिधित्व गर्नुहुन्छ र देशको प्रतिनिधित्व गरेपछि सानो या ठूलो भन्ने हुँदैन ।

विश्वकप एउटा ठूलो प्लेटफर्म हो । अघि हामीले चुनौति र अवसरको कुरा गरे जस्तो यो एउटा अवसर हो । विश्व क्रिकेटमा नेपाल पनि आइरहेको छ भनेर देखाउने मौका हो यो । फरक भनेको अहिले व्यवस्थापनको दबाब नै हो । प्रेसर हेन्डल गर्नुपर्यो, त्यो चाहीँ गर्छन् । टिम राम्रो संरक्षित वातावरणमा ग्रूमिङ भइरहेको छ ।

त्यतिबेला पनि प्रेसर थियो तर, अहिले बढी नै छ । त्यतिबेला नेपालको तीन वटा म्याच भनेको विश्व क्रिकेटलाई नेपालको परिचय गराउनु जस्तै थियो । त्यसले गर्दा प्रेसर त्यति बेला पनि थियो । तर, कुनै पनि क्रिकेटरलाई फस्ट बल फाल्दा र फेस गर्दा प्रेस एउटै हुन्छ ।

हामी क्राउडमा खेल्ने बानी परेकोले वर्ल्ड स्टेजमा धेरै क्यामेरा छ मान्छे छ भनेर त्यति असर गर्दैन । व्यक्तिगत ध्यान एउटा कुरा हो तर प्रेसर चाहीँ खेलाडिले विस्तार झेल्दै जान्छ । एउटा राम्रो क्रिकेटरलाई तपाईंले सोध्नुभयो भने उसले बाहिरको कुराले केही फरक पर्दैन भन्छ ।

कन्डिसनसँग युज टु हुनु स्वाभाविक हो । तर, म्याच वरिपरिको बिल्ड अपलाई ध्यान दिनुपर्छ । कहिले काहीँ चाहेर नचाहेर कतिपय कुरा कानमा छिर्छन् आँखाले हेरिन्छ पढिन्छ त्यो कुरालाई म्यानेज गर्न सिक्नुपर्छ ।

अहिले क्रिटिकल एनालिसिस बढी हुनछ किनकी सबैका हातमा फोन छ जे भने पनि हुन्छ त्यसको जवाफदेही कोही पनि छैन । त्यसैले कोचले जुन खालको रोल दिएको छ हरेक प्लेयरले त्यो भुमिका निभाउनुपर्छ । त्यो कम्बाईन इफोर्ट छ भने अरू कुराले केही असर गर्दैन ।

सन्दीप लामिछानेले खेल्ने भन्नेकुरा आएपछि अब यसको इम्प्याक्ट टिममा कस्तो पर्ला ?

सन्दीपको प्रदर्शन त प्रष्टै छ । यो विश्वकपसम्म पुग्दा पनि सन्दीप वन अफ द ‘की’ प्लेयर हुन् । अदालतको फैसलापछि खेल्न पाउने कुराले टिमलाई स्वाभाविक रूपमा बल मिल्छ ।

सन्दीपले टी–२० मा त विश्व रेकर्ड तोड्न दुई विकेट लिन मात्रै बाँकी छ । सन्दीपको प्रदर्शन निकै राम्रो छ । नेपाली टिमलाई ठूलो बुस्ट हुनेछ । सन्दीप आउनसाथ हरेक म्याचमा विकेट लिने कति लिने भन्ने अपेक्षा पनि छ । तर, सन्दीप खेल्ने कुराले सबै उत्साहित छन् ।

अब रिप्लेसमेन्टको समस्या पनि होला फेरि ?

त्यो त कोच र सेलेक्टर्सको जिम्माको कुरा भयो र आधिकारिक रूपमा हामी चाँडै नै घोषणा गर्नेछौं ।

हुन त क्रिकेट टिम गेम हो तर, कहिले काहीँ कुनै दिन कसको हुनसक्छ भनिन्छ, तपाईंलाई त्यस्तो कुनै दिन म्याच टर्न गर्ने खेलाडी को को जस्तो लाग्छ ?

यो टिममा धेरै म्याच विनर छन् । ओडीआई मान्यता बचाउन जुन १२ वटा म्याच थियो ११ वटा जित्दा हरेक खेलाडीले राम्रो गरे । केही खेलाडिको नाम लिनु औचित्यपूर्ण हुँदैनन् । हामी नेदरल्याण्ड्सबाहेक आफूभन्दा माथिको टिमसँग खेल्दैछौं ।

पेपरमा त नेपालविरूद्ध बंगलादेश, नेपालविरूद्ध श्रीलंका र नेपालबिरूद्ध दक्षिण अफ्रिका छ । तर, प्रेसर उनीहरूलाई छ । हाम्रो लागि त मौका हो । विपक्षीलाई अपसेट गर्ने हाम्रो टिममा क्षमता छ । टी–२० एउटा खेलमा ३–४ जनाले राम्रो गर्यो भने पुग्छ पनि । तर, अपेक्षा र यथार्थको कुरा हो । अपेक्षा आकाश छुने खालको तर, यथार्थ चाहीँ हामी अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्दैछौं ।

केही पार्टनरसिपमा समस्या देखिएको छ र चर्चा पनि हुन्छ यसबारे पनि केही सरसल्लाह भएको छ ?

टिम इज प्लेइङ गुड क्रिकेट । एउटा एसिया कपमा क्वालिफाइमा राम्रो भएन । तर एकै चोटी सबै कुरा सम्भव पनि छैन । अपेक्षा चाहीँ जितोस् भन्ने हो । पार्टनरसिप अन द फिल्ड, अफ द फिल्ड, ब्याटिङ बलिङ फिल्डिङ सबैमा चाहिन्छ । किनकी यो टिम स्पोट्स हो । ब्याटिङ गर्दा २५० रन बनाए पनि बलिङ राम्रो नभए त्यो पनि चेज हुन्छ । बलरले राम्रो गर्यो भने १५० मा पनि जित्न सकिन्छ । कम्बाइन इफोर्ट हो ।

तपाईं केही समय अगाडि अमेरिका जानुभएको थियो के छ यो विश्वकपलाई लिएर नेपाली डायस्पोरा कति उत्साही छ ?

मैले धेरै नै उत्साह देखेँ । ४–५ वटा राज्यमा पनि गएको थिएँ । डालास र फ्लोरिडामा खेल हुने भएकोले टिकटको निकै धेरै माग छ । त्यसलाई पनि हामीले आईसीसीसँग म्यानेज गरेर टिकट दिने व्यवस्था मिलाएका छौं । र मैदानमा बज हुन्छ । सबै जना नेपालीहरू आएर म्याच हेर्नुपर्छ जर्सी कहाँ पाईन्छ भन्नेछ । विदाको प्याकेजहरू लिएर खेल हेर्न जाँदै हुनुहुन्छ ।

कति नेपाली होलान्, अनुमान के छ ?

टिकट सोल्डआउट नै भयो भन्ने छ र नेपालीले नै किनेको हुनुपर्ने जस्तो लाग्छ । मैले हेर्दा होम ग्राउण्डमै खेलेको जस्तो हुने वातावरण छ । हुन त श्रीलंका पनि ठूलो क्रिकेटिङ नेशन भएकोले फ्लोरिडामा श्रीलंकनहरू पनि होलान् । तर पनि नेपाली समर्थक धेरै हुनेछन् भन्ने अनुमान छ ।

नेपाली टिमलाई तपाईंको सन्देश के छ ?

मेरो शुभकामना छ । हामी सबै उत्साहित छौ, धेरै अपेक्षा छ तर यो अपेक्षा पूरा गर्न त्यति सजिलो छैन । त्यसलाई ह्याण्डल गर्नुहोला नेपालले हरेक म्याच जितोस् भन्ने नै हुन्छ । टिम सेट छ । यो टिमलाई हामी सबै नेपालीको शुभकामना छ । खेलको अन्त्यमा विनिङ क्ल्याप हेर्न पाउँ, हाम्रो आशा यही छ ।

तपाईं नेपाल क्रिकेट संघ क्यानको सचिव हुनुहुन्छ तर, पुरूष र महिला क्रिकेटलाई फरक ढंगले हेरेको भनेर पनि कुराहरू आए, हामी सन् २०२७ मा यु–१९ महिला विश्वकप आयोजना गर्दैछौं, पूर्वाधार र लगानीका हिसावले त्यसको तयारी के छ ?

नेपाली महिला क्रिकेटलाई प्राथमकिता दिनुपर्ने र उजागर गर्नुपर्ने खाँचो छ । तर, अहिले हामीलाई यो विश्वकप निकै महत्वपूर्ण थियो । त्यसकै तयारीमा थियौं । सिनियर महिला टिमको एसिया कप जुलाईमा हुँदैछ । ४०/५० दिनमा टिमलाई एशिया कपका लागि तयार गर्दैछौं ।

भर्खरै मेयर्स कप र पीएम कप सक्यौं । क्याम्प हप्ता १० दिनमा शुरू हुँदैछ । एशिया कप अघि पनि हामी टिमलाई २–४ वटा देशमा पठाउँदैछौ ।

एशिया कप सकिसकेपछि राष्ट्रिय प्रतियोगिता गर्छौं र १६–१७ वर्षको बहिनीहरूबाट छानेर २०२७ सम्म राम्रो टिम बनाउने प्रयास पनि हाम्रो रहनेछ । यो सबै अहिले पेपरमा छ यसलाई संस्थागत रूपले कार्यान्वयनमा लैजान्छौं ।

सन् २०२७ मा हुने १९ वर्ष मुनिको महिला विश्वकपको सहआयोजक हौं हामी । मन्त्रीज्युहरूसँग, सचिवज्युसँग कुरा गर्दा पूर्वाधारमा चाहीँ विशेष बजेट छुट्याएर लगानी गर्नुपर्छ भन्नेछ ।

कुरा फेरि पूर्वाधारमै जोडिन्छ, प्रधानमन्त्रीले ३/३ पटक भन्दा पनि ‘फ्लड लाइट’ को कुरा अघि बढेन, त्यसैले राज्यको चासो नै छैन भन्ने पनि कुराहरू भइरहेका छन्, अब त तपाईं जवाफ दिने ठाउँमा आउनुभएको छ, के भइरहेको छ ?

यो राष्ट्रिय खेलकुद परिषद्ले हेरिरहेको छ । मैले सुनेअनुसार टेण्डरको प्रक्रिया पूरा भएको छ । आशा छ फ्लड लाइट चाँडोभन्दा चाँडो लाग्नेछ । कीर्तिपुरमा संरचनाहरू पनि फेर्नुपर्नेछ । मुलपानी राष्ट्रिय गौरवकै योजनामा राखिएको छ । त्यसैले बजेट छुट्टिएला । बजेटसँगै फास्ट काम पनि हुनुपर्यो । सम्झौता भयो भन्ने सुनेको छु, आधिकारिक जानकारी छैन । सन् २०२७ विश्वकप आयोजना गर्दा भाग मात्रै लिने भन्दा पनि प्रदर्शन पनि गर्ने हो । त्यसका लागि टिम पनि चाहियो र पूर्वाधार पनि चाहियो ।

गत वर्ष जिम्बावेको ‘ए’ टिम आयो, यो वर्ष आयरल्यण्न्ड ‘ए’, वेस्ट इण्डिज ‘ए’, टेस्ट खेल्ने मुलुकलाई नेपालमा देख्न पाइएला ?

हामीले समन्वय गरिरहेका छौं । टेस्ट राष्ट्र आउनु त्यति सजिलो छैन । वेस्टइण्डिज ए र आयरल्याण्ड ए आएपछि राम्रो पनि भयो राम्रो क्रिकेटपनि खेल्यौ । वेस्टइण्डिजको टिम पनि राम्रो थियो । टेस्ट टिम ल्याउने हो भने पूर्वाधार राम्रो बनाउनुपर्छ । र पूर्वाधार बन्छन् पनि होला भन्ने विश्वास छ । किनकी सबै सकारात्मक पनि हुनुहुन्छ । हाम्रो होमवर्क जारी छ परिणाम आएपछि घोषणा गर्नेछौं ।

पहिलेदेखि नै एउटा गुनासो छ कि क्रिकेट काठमाडौंमा मात्रै केन्द्रित भयो भनेर यतातिर के सोच्नुभएको छ ?

पीएम कप यो पालि हामीले बाहिर (भैरहवा) लिएर गयौं । राउण्ड रोबिन फरम्याट पनि भयो । देशभर विभिन्न खालका राष्ट्रिय प्रतियोगिताहरू पनि आयोजना भए । कति जिल्लाले गरे कति प्रदेशले गरे । मेयर कप प्रतियोगिताहरू भइरहेका छन् । विकेन्द्रिकरणका लागि सातै प्रदेशमा राम्रो ग्राउण्डहरू हुनुप¥यो । यो बर्खामा हामीले देशभर जति पिचहरू छन्, तिनलाई मेन्टेन गनुपर्नेछ । कम्तिमा राम्रो ग्राउण्ड र संरचना भयो भने क्रिकेटको स्तर बढ्ने हो । काठमाडौंमा अलि बढी स्रोत साधन भएकोले पनि केन्द्रित भए जस्तो भएको हो । विराटनगरमा ग्राउन्ड छ, रूपन्देहीमा २ वटा अन्तर्राष्ट्रियस्तरकै ग्राउण्ड तयार भइसकेको छ । दाङको लमहीमा छ, फाप्लाको पनि कुरा भइरहेको छ, पोखरामा छ । ग्राउण्डहरू छन् त्यसलाई बेटर बनाउनुपर्नेछ ।

आगामी प्रतियोगिताको तयारी के छ ?

विश्वकपपछि सेप्टेम्बरमा सीडब्ल्युसी साईकल छ । नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्नेछौं । डिसेम्बरमा अर्को अन्तर्राष्ट्रिय सिरिज होला । जुन जुलाईमा वर्षाको समय हुने भएकोले जिल्ला प्रदेशमा विकास सम्बन्धी काम,अम्पयारिंग, क्युरेटर कोचिङ कोर्षको योजना बनाउँदै छौं । विभिन्न क्याम्प आयोजना गर्छाैं ।

अन्तिममा तपाईंलाई भन्न मन लागेको केही छ ?

विश्वकप हेर्दै हुनुहुन्छ, नेपाली टिमलाई हौसला दिनुस् । यो ठूलो मौका हो । विश्वलाई नेपाली क्रिकेटको ब्राण्ड, समर्थक र हाम्रो सभ्यता कस्तो छ भनेर देखाउने अवसर पनि हो । नेपाल क्रिकेटलाई माया गर्ने देश हो भनेर सन्देश दिनुपर्नेछ । हामी टक्सिक फ्यान भएर चिनिनु भएन । हाम्रो आफ्नै सभ्यता छ ।

हामी पाहुनालाई न्यानो सत्कार गर्ने देशका रूपमा चिनिन्छौं । जिते पनि, हारे पनि हाम्रो टिमलाई विश्वकपमा छ हौसला बढाउँ । नेपाल क्रिकेट संघ र नेपालीको तर्फबाट टिमलाई शुभकामना, हामीलाई तपाईंहरूमाथि विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved