अधिकांश प्रदेशको बजेट घट्यो, यस्तो छ अंकगणित

नेपालभ्युज

अधिकांश प्रदेशको बजेट  घट्यो, यस्तो छ अंकगणित

काठमाडौं । अधिकांश प्रदेश सरकारले चालु वर्षको बजेटको आकार भन्दा सानो बजेट सार्वजनिक गरेका छन् ।

आन्तरिक स्रोत नबढेको र संघीय अनुदानसमेत घटेपछि विभिन्न ५ प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका हुन् ।

हिजो सार्वजनिक भएका सात वटै प्रदेशको बजेटको आकार यसअघिको भन्दा कम देखिएको छ ।

सात प्रदेशमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक सबैले बजेट घटाएका हुन् ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा भन्दा करिब डेढ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ । चालु वर्षमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट रहेको कोशीमा आगामी आर्थिक वर्षका लागि भने ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

मधेस प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब २० करोडले कम हो ।

बागमती प्रदेश सरकारले भने चालु आर्थिक वर्षको भन्दा २ अर्ब बढीको बजेट ल्याएको छ । बागमतीले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ८६ करोडले कमी हो । चालु आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्ब ८२ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

लुम्बिनी सरकारले ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनीले १ अर्ब भन्दा बढीले बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षमा ४० अर्ब ४८ करोडको बजेट ल्याइएको थियो ।

कर्णाली प्रदेशले चालु आर्थिक वर्षमा भन्दा करिब २ अर्ब रुपैयाँले बजेट घटाएको छ । आगामी वर्षका लागि कर्णालीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सुदूरपश्चिम सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब डेढ अर्ब रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले २९ अर्ब २७ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

सातवटै प्रदेशको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोड रुपियाँ बराबरको छ । समग्र बजेटको तुलना गर्दा चालु आर्थिक वर्षको भन्दा करिब दुई अर्ब रुपियाँले कम हो ।

खास गरी आन्तरिक स्रोत परिचालनमार्फत राजस्व संकलन बढ्ने अवस्था नदेखिएको र संघले कतिपय शीर्षकका अनुदान नै कटाएपछि प्रदेशको समग्र बजेट नै घटेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved