माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना झन् कमजोर

नेपालभ्युज

माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना झन् कमजोर

काठमाडौं । केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै थिए- ‘हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ ।’

पुनः एक पटक प्रधानमन्त्री बन्ने आकांक्षा पालेका छन्, अध्यक्ष नेपालले । उनको यस्तो आकांक्षा बेलाबखत अनेक भाषामा प्रकट हुँदै आएको छ ।

त्यस आकांक्षाको विपरीत चाहना राख्नेप्रति उनको कटाक्ष अस्वाभाविक पनि होइन । पहिलो पटक २०६६ सालमा प्रधानमन्त्री बनेका अध्यक्ष नेपाल प्रतिनिधि सभाको यो कार्यकालमा प्रधानमन्त्री बनिछाड्ने प्रयत्नमा छन् ।

थुप्रै साना दलको उपस्थिति भएको वर्तमान संसदीय अंकगणितको अनपेक्षित सम्भावनाहरूलाई आफ्नोतर्फ सोझ्याउन सकिने उनको प्रयत्न छ ।

उनकै जोडबलमा कांग्रेस समेत सहभागी अघिल्लो गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नै भएको थियो ।

आफूलाई प्रधानमन्त्री बनाइने सहमति गरिएपछि मात्रै उनले सो गठबन्धनलाई साथ दिएका थिए । तर गत फागुन २१ मा सो गठबन्धन भत्कियो र एमालेसहितको गठबन्धन निर्माण भयो ।

सुरुमा यो गठबन्धनप्रति अध्यक्ष नेपाल सकारात्मक थिएनन् । मूलतः अघिल्लो गठबन्धनमा आफूलाई पनि प्रधानमन्त्री बनाइने सहमति अलपत्र परेकोमा उनी असन्तुष्ट थिए ।

पछिल्लो गठबन्धनमा पनि उनले आफू प्रधानमन्त्री बन्ने आधार खोज्दैमा केही दिन बिताए । वर्तमान गठबन्धनबाट उनी प्रधानमन्त्री बन्ने भनेर सहमति भएको वा नभएको स्पष्ट छैन ।

तर उनी निकटका कतिपय नेताहरूले त्यस्तो सहमति भएको बताउने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुअघि यो विषयले बढी चर्चा पाएको थियो ।

तर ‘हो पनि, होइन पनि’ शैलीमा यो विषय अघि बढिरहेको थियो । आइतबारको एउटा घटनाले भने उनको प्रधानमन्त्री बन्ने सम्भावना झन् कमजोर बनेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई अशोक राई नेतृत्वको समूहले विभाजन गरेपछि त्यसको असर माधव नेपालसम्मलाई परेको हो ।

अशोक राईको विभाजन प्रस्तावले निर्वाचन आयोगबाट कसरी निष्कर्ष पाउँछ, त्यसको टुङ्गो लागिसकेको छैन । तर, विभाजनको प्रक्रिया सुरु भइसकेपछि त्यसले एउटा बिन्दुमा सफलता पाउने नै छ ।

विभाजनमा उभिएकाहरूले वर्तमान सरकारलाई स्थिर र बलियो बनाउन सघाउने बताएका छन् । अर्थात् उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई नै साथ दिने बताएका छन् । राई नेतृत्वको दलसँग प्रतिनिधि सभाका सात सांसद हुनेछन् ।

अब एमाले, माओवादी केन्द्र, रास्वपा, राई नेतृत्वको जसपा, नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिँदा प्रतिनिधि सभामा बहुमत पुग्नेछ । त्यसैले गठबन्धनप्रति असन्तुष्टि राखिरहेका माधव नेपाल र उपेन्द्र यादव पक्ष बाहिर रहँदा पनि प्रधानमन्त्री प्रचण्डले बहुमत जुटाउन सक्छन् ।

यस्तो स्थिति एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि पनि सुखद् नै हुने आकलन गर्न सकिन्छ । किनकि, अध्यक्ष नेपालप्रति उनको तिक्तता प्रस्ट छ । शनिबार मात्रै उनले नेपालको चाहनाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीका लागि ‘हिरिकहिरिक’ गरिरहेको टिप्पणी गरेका थिए ।

एमाले विभाजनपछि नै नेपालप्रति उनी सर्वाधिक कठोर रूपमा प्रस्तुत हुने गरेका छन् । वर्तमान सत्ता गठबन्धन निर्माण हुने बेलामा त्यो तिक्तता केही मत्थर भएको भए पनि केही समययता बल्झिएको देखिन्छ । एकातिर ओलीले नेपाललाई प्रधानमन्त्री बन्न अवरोध गर्ने निश्चित थियो ।

अर्कोतिर, प्रचण्ड पनि नेपालको शैलीले दिग्दार हुन थालेको माओवादी केन्द्रका नेताहरूको मूल्यांकन थियो । जसकारण जसपा विभाजनका लागि उनीहरूले उत्प्रेरित गरेको बुझाइ कतिपयको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारी भने अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको लालचीको रूपमा प्रस्तुत गर्ने गरिएको भन्दै त्यस्तो प्रस्तुति नै गलत रहेको दाबी गर्छन् । ‘तर जसपाको विभाजनलाई हामीले नजिकबाट हेरेका छौँ’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved