एमालेबाट सातवटै प्रदेशमा यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

संघीय चुनावको बढि चर्चा छ भने अर्कातिर भावी मुख्यमन्त्रीको दौड पनि चलिरहेको छ । नेकपा एमालेका केही नेता प्रदेश छाडेर संघको चुनावमा उम्मेदवार बनेका छन् भने केही मुख्यमन्त्री बन्ने दौडमा प्रदेशतिर लागेका छन् । एमालेबाट मुख्यमन्त्रीका लागि धेरै आकांक्षी रहे पनि उसको कतिवटा प्रदेशमा सरकार बन्न सक्छ त्यसको टुङ्गो भने छैन । 

एमालेबाट सातवटै प्रदेशमा यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौं ।  १ सय ६५ प्रतिनिधि सभा क्षेत्र र ३ सय ३० प्रदेशभाकालागि मंसिर चार गते चुनाव हुँदैछ । देशैभर सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एकातर्फ संघीय चुनावको बढि चर्चा छ भने अर्कातिर भावी मुख्यमन्त्रीको दौड पनि चलिरहेको छ । नेकपा एमालेका केही नेता प्रदेश छाडेर संघको चुनावमा उम्मेदवार बनेका छन् भने केही मुख्यमन्त्री बन्ने दौडमा प्रदेशतिर लागेका छन् ।

प्रदेश १ मा राई र आचार्यले छाडेपछि तीनजनाको दौड 

प्रदेश १ का पूर्व दुई मुख्यमन्त्री शेखधन राई र भीम आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । जसका कारण एमालेबाट प्रदेशमै दोहोरिएका दुई पूर्व मन्त्रीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । झापा क्षेत्र नम्बर ५ को ख बाट उम्मेदवार बनेका नेता हिक्मतकुमार कार्की एमालेबाट मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । शेरधन राई नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

मुख्यमन्त्रीको दाबेदारका रुपमा अर्का पूर्व मन्त्री जीवन घिमिरे पनि छन् । चुनावी अभियानमा रहेका उनी कार्यकर्तासँग चुनाव जितेर मुख्यमन्त्री बन्ने बताइरहेका छन् । उनी एमालेबाट कार्कीसँगै मुख्यमन्त्रीको मुख्य दौडमा रहने दोस्रो नेता हुन् ।

यस्तै प्रतिनिधिसभामा टिकट नपाएपछि प्रदेशसभामा उठेका रविन कोइरालालाई पनि भावि मुख्यमन्त्रीको आश्वासन दिइएको छ । उनी झापा १ को प्रदेशसभा क बाट उम्मेदवार बनेका छन् । झापा १ मा अग्नी खरेलले टिकट पाएपछि मुख्यमन्त्री बनाउने भन्दै कोइरालालाई प्रदेशसभा तिर लगिएको एमाले नेताहरु बताउँछन् ।

प्रदेश १ मा तीनजना मुख्यमन्त्री बनिसकेका छन् । कुल ९३ सदस्यीय प्रदेशसभामा अघिल्लो पटक एमालेले ५१ सिट जितेको थियो । त्यहाँ माओवादीको १५, कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रको १ र १ सिट आएको थियो ।

पाँच वर्षमा एमालेबाट शेरधन राई तथा भीमप्रसाद आचार्य मुख्यमन्त्री बन्दा एमाले विभाजनपछि एकीकृत समाजवादीका राजेन्द्र राई तेस्रो मुख्यमन्त्री बने । तर यसपटक एमालेका लागि प्रदेश १ मा बहुमत ल्याउन भने सहज छैन ।

मधेश प्रदेशमा एमालेबाट को ? 

कुल एक सय ७ सिट रहेको मधेस प्रदेशका ६४ सिटमा प्रत्यक्ष निर्वाचन हुँदैछ । अघिल्लो पटक जसपा एक्लैले पाँच वर्ष मुख्यमन्त्री चलाएको यो प्रदेशमा राजनीतिक परिवेश फेरिएसँगै नयाँ मुख्यमन्त्रीबारे चर्चा शुरू भएको छ । स्थानीय तह चुनावपछि पहिलो शक्ति बनेको कांग्रेस र जनमत बढाएको एमालेसँगै जसपा र लोसपाबीच मुख्य प्रतिस्पर्धा हुने र मुख्यमन्त्रीमा नयाँ अनुहार आउने आकलन गरिएको छ ।

एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी सप्तरी १ कबाट उम्मेदवार बनेका छन् । एमालेले मुख्यमन्त्रीमा दाबी गरि नसकेपनि लेखीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । उनी गत महाधिवेसन अघि मात्र एमाले प्रवेश गरेका थिए । यो प्रदेशमा एमालेबाट मुख्यमन्त्री बन्ने सम्भावना निकै कमजोर छ । त्यसैले दाबेदार पनि खासै छैनन् ।

मधेमा गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीले २५ सिट जितेका थिए । एमालेले २१, कांग्रेसले १९, माओवादीले ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रले १ र १ सिट जितेका थिए । अघिल्लो चुनावमा तालमेल गरेका दुई प्रमुख मधेस केन्द्रित शक्तिबीचको एकतापछि जन्मिएको जसपा विभाजित भएको छ । जसपा एमालेसँग सहकार्यमा छ भने लोसपा सत्ता गठबन्धनसँग ।

वागमती प्रदेशमा श्रेष्ठ र ज्ञवाली दाबेदार

संघीय राजधानी समेत रहेको यो प्रदेशको आगामी मुख्यमन्त्रीमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छ भने समानुपातिकबाट ४४ जना छानिनेछन् । १ सय १० सदस्यिय प्रदेशसभाले भावि मुख्यमन्त्री छान्ने छ ।

प्रदेश सभा सभामुख बनिसकेका सानुकुमार श्रेष्ठले एमालेले पाएको अवस्थामा प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका छन् ।  श्रेष्ठले सार्वजनिक रुपमा नै आफू प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको बताएका छन्। श्रेष्ठ एमालेबाट काठमाडौं–२ (क) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्।

यसैगरी एमालेबाट मुख्यमन्त्रीको अर्को दावेदारको रुपमा देवी ज्ञवाली रहेका छन्। २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा हारेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको रुपमा अघि बढाउन खोजेको चर्चा छ ।

ज्ञवाली चितवनको क्षेत्र नंबर २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनाेका छन् । अघिल्लो संसदमा बहुमत प्राप्त एमालेबाट पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेल र दोस्रो मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले काम गरेका छन् भने एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे हाल मुख्यमन्त्री छन् ।

गण्डकी प्रदेशमा एक्ला दाबेदार

गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने अवस्था आएमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने चर्चा छ । तर, अहिलेसम्म एक्लो दाबेदार देखिए पनि मुख्यमन्त्री बन्न उनले चुनाव जित्नुपर्छ । प्रदेशमा यसअघि एमालेका पुथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री थिए भने त्यसपछि अहिले कांग्रेसका कृष्णचन्द्र पोखरेल छन् ।

फेरि पनि चाहना राखेका गुरुङलाई लमजुङबाट प्रतिनिधिसभाको टिकट दिएर अधिकारीलाई मुख्यमन्त्रीकै लागी प्रदेशसभामा उठाइएको एमाले नेताहरु बताउँछन् ।

पूर्व स्वास्थ्यमन्त्री अधिकारी कास्की क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार छन् । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ । यो प्रदेशमा पनि एमालेले प्रदेश सरकार चलाउने आंकडा जुटाउन भने निकै मेहनत गर्नुपर्नेछ ।

लुम्बिनी प्रदेशमा चारजना आकांक्षी

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४४ सिट चाहिन्छ । ५२ जना सांसद प्रत्यक्ष निर्वाचित हुने यो प्रदेशमा समानुपातिबाट ३५ जना छानिने छन् । अघिल्लो चुनावमा एमालेलाई जति सहज थियो यो पटक त्यती नै चुनौतीपुर्ण छ ।

तर एमालेबाट मुख्यमन्त्रीका दाबेदार भने धेरै छन् । चार जना एमाले नेताले मुख्यमन्त्री बन्ने आकांक्षा देखाएका छन् । पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज लिला गिरीलाई मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा हेरिएको छ । उनी रुपन्देही २ को प्रदेशसभा एक बाट उम्मेदवार छन् ।

यस्तै एमाले लुम्बिनीका उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनी रुपन्देही २ को प्रदेशसभा दुईमा उम्मेदवार छन् । यस्तै पूर्वमाओवादी नेता दधिराम न्यौपानेलाई पनि दावेदारका रुपमा हेरिएको छ । पहिले माओवादीमा रहेका नेता न्यौपानेले सांसद पद त्यागेर नेकपा विभाजनपछि एमाले अध्यक्ष ओलीलाई साथ दिएका थिए । उनी रुपन्देही १ को प्रदेश क मा उम्मेदवार बनेका छन् ।

यस्तै दाङ ३ को प्रदेशसभा एकमा उम्मेदवार रहेका घनश्याम पाण्डे पनि आफुले जितेमा र एमालेको सरकार बनाउने अवस्थामा मुख्यमन्त्रीमा दाबी गर्ने बताइरहेका छन् । अघिल्लो संसदमा १३ समानुपातिकसहित एमालेको ४१ सिट थियो । बहुमत नभएपछि एमालेका शंकर पोखरेल मुख्यमन्त्रीबाट बाहिरिएका थिए ।

कर्णाली प्रदेशमा कँडेल र शाह

आफूभन्दा ‘जुनियर’लाई प्रतिनिधिसभा सदस्य छोडेर एमाले स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल मुख्यमन्त्री बन्ने दाउमा छन् । उनी सुर्खेतको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क) बाट चुनाव लड्दै छन् । तर उनलाई मुख्यमन्त्री बन्न भने सहज छैन । किनकी कर्णालीमा एमालेभन्दा सत्ता गठबन्धन निकै अगाडी रहने अनुमान गरिएको छ ।

एमालेबाटै मुख्यमन्त्रीका दाबेदार छन् दैलेख क्षेत्र नं. २ (क) का उम्मेदवार विनोद शाह । उनी एमाले प्रदेश अध्यक्षसमेत हुन्  । कर्णाली पदेशसभा ४० सदस्यीय छ ।

सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभा सदस्यका ३२ निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धन एकातिर छन् भने नेकपा (एमाले)ले राप्रपा र जसपासँग तालमेल गरेको छ।

डडेल्धुरा १ ‘क’ बाट उम्मेदवार बनेका एमालेका पठानसिंह बोहरा मुख्यमन्त्रीका मुख्य दाबेदार हुन्। उनी गत निर्वाचनमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

यस्तै बाजुरा १ ‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका लालबहादुर थापा पनि एमालेको सरकार बन्ने अवस्था आए मुख्यमन्त्री बन्ने दौडमा छन् । उनी २०७४ सालमा बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यस पटक भने मुख्यमन्त्रीकै लागि उनलाई प्रदेशमा उम्मेदवार बनाइएको चर्चा चलेको छ ।

एमालेबाट मुख्यमन्त्रीका लागि धेरै आकांक्षी रहे पनि कतिवटा प्रदेशमा सरकार बन्न सक्छ त्यसको टुङ्गो भने छैन । कुनै पनि प्रदेशमा सहज अवस्थामा सरकार बनाउने हैसयत भने एमालेको देखिदैन । तर प्रदेश १, गण्डकी र लुम्बिनीमा उसले बढि आस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved