विश्व जनसङ्ख्याको ६३ प्रतिशतले चलाउँछन् सोसल मिडिया, सबैभन्दा लोकप्रिय फेसबुक

विश्वका ५३.६ प्रतिशत पुरुष र ४६.४ प्रतिशत महिला सामाजिक सञ्जाल प्रयोग गर्दछन् । औसतमा उनीहरु दैनिक २ घण्टा २४ मिनेट सामाजिक सञ्जालमा समय बिताउँछन् । यसले कुलतको रुप लिँदा कतिपयमा एन्जाइटी तथा डिप्रेसन जस्ता समस्या पनि निम्त्याएको छ ।

नेपालभ्युज

विश्व जनसङ्ख्याको ६३ प्रतिशतले चलाउँछन् सोसल मिडिया, सबैभन्दा लोकप्रिय फेसबुक

एजेन्सी । तपाईंको हातमा पक्कै मोबाइल छ । तपाई पनि कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालमा जोडिनु भएको होला ।

पछिल्लो समय मानिसलाई यस प्लेटफर्मको यतिसम्म लत लागेको छ कि कुनै पनि हालतमा उनीहरु संजालमा ‘अप–टू–डेट’ रहन चाहन्छन् ।

यहाँसम्मकी खाना खाँदा होस या शौच गर्दा बच्चा होस या वृद्ध, प्राय सबैको हातमा विभिन्न कम्पनीका मोबाइल देख्न सक्छौँ ।

रोजगारी र पढाईको सिलसिलामा छोराछोरी सहर पसे । गाउँमा बा–आमा मात्रै छन् । उनीहरूका हातमा छोराछोरीले मोबाइल थमाइदिएका छन् । जसको माध्यमबाट उनीहरु आफन्तसँग भिडिओ र अडियो कलमा कुरा गर्न सक्छन् ।

एउटा मन बुझाउने बाटो भएको छ, उनीहरूलाई । उनीहरु विभिन्न मनोरञ्जनका सामाग्री हेरेर रमाउने र भावनात्मक सामाग्री हेरेर दुखी हुने गर्छन् ।

सामाजिक सञ्जालसँग उनीहरूको भावना जोडिएको छ । यद्यपि, हरेक व्यक्तिको रोजाई फरक–फरक हुने गर्छ ।

पहिलो सामाजिक सञ्जाल

तपाईँलाई सायद थाहा नहुन पनि सक्छ, सबैभन्दा पहिला सामाजिक सञ्जालको रुपमा सन् १९९७ मा सिक्सडिग्रीज (Sixdegrees) आएको थियो ।

जुन धेरै समय लोकप्रिय हुन सकेन । यो संजाल सन् १९९८ देखि २००० सम्म चलेको थियो । त्यसपछि पनि अनेकौं सञ्जाल आइरहेका छन् । तर, विश्वभर चर्चामा रहेका सोसल मिडिय प्लेटफर्मको संख्या भने निकै कम छ ।

कति मानिस सञ्जालमा छन् ?

हाल विश्वमा ८ अर्ब ११ करोड ८८ लाख (8.1188 Billion) भन्दा बढी जनसङ्ख्या छ । तीमध्ये कति मानिस सामाजिक सञ्जाल (Social Media) प्रयोगकर्ता होलान् ? हो तपाईँको मनमा पनि यहीँ जिज्ञासा लागेको होला ।

सन् २०२४ मार्च ४ मा डिमान्डसेजले प्रकाशन गरेको एक अध्ययन अनुसार विश्वभरका ५ अर्ब १७ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन्, जुन विश्व जनसङ्ख्याको ६३ दशमलव ८२ प्रतिशत बराबर हो ।

तथ्याङ्कका अनुसार सन् २०१७ मा यसको सङ्ख्या २ अर्ब ७३ करोड थियो । सन् २०१८ मा ३ अर्ब १ करोड यहीँ सङ्ख्या क्रमशः बृद्धि हुँदै २४ सम्म आइपुग्दा ५ अर्बभन्दा बढी भएको हो ।

सन् २०२५ को अन्त्यसम्ममा यो तथ्याङ्क बढेर ५ अर्ब ४२ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रयोगकर्ताको उमेर, लिङ्ग र प्लेटफर्म

विश्वका ५३.६ प्रतिशत पुरुष र ४६.४ प्रतिशत महिला सामाजिक सञ्जालको प्रयोग गर्दछन् । औसतमा उनीहरूले एक दिनमा २ घण्टा २४ मिनेट सामाजिक सञ्जालमा समय बिताउँछन् ।

७ देखि ३८ उमेर समूहका मानिसले सबैभन्दा बढी सामाजिक सञ्जालमा खाता निर्माण गर्छन् । तथ्याङ्क अनुसार ती मध्ये धेरै स्मार्ट फोन (Smart phone) प्रयोगकर्ता हुन् ।

विभिन्न देशमा प्रयोग हुने सामाजिक सञ्जालहरू

फेसबुक (Facebook ), ह्वाट्सएप (Whatsapp), युट्युब (Youtube), इन्स्टाग्राम (Instagram), वीच्याट (Wechat), टिकटक (Tiktok), फेसबुक म्यासेन्जर (Facebook Messanger), स्न्यापच्याट (Snapchat), टेलिग्राम (Telegram), डोइन (Douyin), क्यूक्यू (QQ), सीना वैबा ( Sina Weibo), क्वाइशू (Kuaishou), पीनट्रस्ट (Pinterest), ट्वीटर (Twitter), रेड्डीट (Reddit), क्वरा (Quora)

फेसबुक लोकप्रिय प्लेटफर्म

यीमध्ये सबैभन्दा बढी रुचाइएको प्लेटफर्म फेसबुक (Facebook) हो । जुन विश्वभरका ३ अर्ब ५ करोड मानिसले प्रयोग गर्छन् । फेसबुकका संस्थापक मार्क जुकरवर्ग (Mark zukerberg)  हुन् । उनले सन् २००४ को फेब्रुअरी ४ मा यो संजाल ल्याएका थिए ।

जुन हालसम्म ५ अर्बभन्दा बढी मानिसले डाउनलोड गरिसकेका छन् । फेसबुक पछि टिकटक, ह्वाट्सएप र युट्युब पनि लोकप्रिय छन् ।

कुन देशमा कति प्रयोगकर्ता ?

सबैभन्दा चीनका मानिसले सामाजिक सञ्जालको प्रयोग गर्छन् । तथ्याङ्कक अनुसार त्यहाँका १ अर्ब २ करोड मानिस सामाजिक सञ्जालमा जोडिएका छन् ।

सन् २०२७ सम्ममा यो सङ्ख्या बृद्धि भएर एक अर्ब २१ करोड २३ लाख माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यसपछि भारतमा र संयुक्त राज्य अमेरिकामा क्रमशः ७५ करोड ५४ लाख र ३० करोड २२ लाख मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन्, आउँदो जुनसम्म १ अर्ब १७ करोड ७५ लाख पुग्ने प्रक्षेपण छ ।

पछिल्लो समय जनसंख्या बृद्धि हुने देशमा चीनलाई भारतले उछिनेकाले पनि सन् २०२७ सम्ममा त्यहाँ झण्डै चीनको हाराहारीमा सामाजिक सञ्जाल प्रयोगकर्ता पुग्ने अनुमान छ ।

त्यसपछि क्रमश इन्डोनेसिया, ब्राजिल, रसिया, जापान, मेक्सिको, फिलिपिन्स, भियतनाम, टर्की, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, दक्षिण कोरिया, इटाली, नाइजेरिया, क्यानडा र बंगलादेश बढि प्रयोगकर्ता भएका देश हुन् ।

सामाजिक सञ्जालका बेफाइदा ?

केही व्यक्तिलाई सामाजिक सञ्जालले फाइदा पनि गरेकै छ यसमा दुईमत छैन । केही व्यक्तिहरूले सामाजिक सञ्जालको राम्रो उपयोग गरेर आफूलाई आम्दानीको स्रोत बनाएका छन् । तर, धेरै व्यक्तिले यसको उचित प्रयोग गर्न नजान्दा फसेका पनि छन् ।

आवश्यकता भन्दा बढी समय सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिको समय त बर्बाद हुन्छ नै यो सँगै शारीरिक र मानसिक समस्या समेत निम्त्याउने गर्छ । लामो समयसम्म यसको प्रयोगले धेरै मानिस डिप्रेसनको सिकार समेत हुने गरेका छन् ।

केही समय सामाजिक सञ्जालको प्रयोग गर्दा उनीहरु फोमो (Fear of Missing out) को सिकार हुन पुग्छन् । फोमो भनेको त्यस्तो भावना हो जहाँ व्यक्तिलाई महसुस हुन्छ कि आफूबाहेक अर्को व्यक्ति एकदमै रमाइलो गरिरहेको छ ।

लाग्न सक्छ, अर्को व्यक्तिले धेरै काम गरिरहेको छ र तपाईँ भन्दा राम्रो जीवन बाँचिरहेको छ । यस्तो महसुस हुँदा जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । जसले गर्दा मानिसमा आत्मविश्वासको कमी तथा इखालु भावनाले जन्म लिन थाल्छ ।

फोमोको कारणले मानिसमा कयौँ अन्य गम्भीर समस्या पनि देखिन्छन् । यसले एन्जाइटी तथा डिप्रेसन जस्ता समस्या पनि निम्त्याउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved