कोरोनाको जोखिम बढ्दो : विदेशबाट फर्किएकामा संक्रमण भेटिन थाल्यो

विदेशबाट आउने यात्रुको परिक्षण फेरि अनिवार्य गरिएको छ । सरकारले नयाँ भेरियन्टको जोखिमसँगै नेपाल बाहिरबाट आएका व्यक्तिलाई एन्टीजेन परीक्षण गरी पोजेटिभ आए अस्पताल र नेगेटिभ आए घर पठाउने कार्यविधि बनाएको छ ।

कोरोनाको जोखिम बढ्दो : विदेशबाट फर्किएकामा संक्रमण भेटिन थाल्यो

काठमाडौं। कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेको छ । चीन‚ भारतलगायत छिमेकी राष्ट्रमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको सब–भेरियन्ट बीएफ.७ फैलिएसँगै नेपालमा पनि जोखिम बढेको हो ।

विदेशबाट फर्किएकामा कोरोनाको लक्षणसमेत देखिन थालेको छ । त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिने यात्रुमा पनि एन्टिजेन परीक्षण गर्दा कतिपयमा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो पटक एयर इन्डियाको विमानबाट नेपाल आएका स्याङ्जाको गल्याङ नगरपालिकाका ३४ वर्षका युवकमा संक्रमण पाइएको छ । यसअघि, गत बिहीबार मात्रै एयर अरेबियाको विमानबाट आएका एक युवकमा पनि संक्रमण पाइएको थियो ।

चीन लगायतका देशमा संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुमा पनि संक्रमण देखिन थालेको छ । विमानस्थलको डेल्थ डेस्कका प्रमुख गोपाल पाण्डे भन्छन् ‘चीन लगायतका देशमा संक्रमण बढ्दै गएपछि हामीले परीक्षणमा कडाइ गरेका छौँ। विदेशबाट आउने सबै यात्रुलाई अलर्ट हुन भनेका छौं ।’

त्रिभुवन विमानस्थल हेल्थ डेस्कले संक्रमण पाइएकालाई टेकु अस्पताल पठाउने गरेको छ । पछिल्लो पटक भेटिएका स्याङ्जाका युवकलाई अहिले भर्ना गरेर राखिएको छ । अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले संक्रमितलाई भर्ना गरेर राखिएको भएपनि अहिलेसम्म लक्षण नदेखिएको बताए ।

विदेशबाट आएका संक्रमित घरमा

छिमेकी देशका संक्रमण फैलन थालेपछि विमानस्थलमा पनि कडाइ गरिएको छ । विदेशबाट आउने यात्रुको परिक्षण फेरि अनिवार्य गरिएको छ । सरकारले नयाँ भेरियन्टको जोखिमसँगै नेपाल बाहिरबाट आएका व्यक्तिलाई एन्टीजेन परीक्षण गरी पोजेटिभ आए अस्पताल र नेगेटिभ आए घर पठाउने कार्यविधि बनाएको छ ।

विमानस्थल हेल्थ डेस्कले बिहीबार संक्रमण पाइएका एक व्यक्तिलाई टेकु अस्पताल पठाइदियो तर अस्पतालले भने उनलाई रुपन्देहीस्थित घर पठाएको छ ।

संक्रमित व्यक्तिको जिन सिक्वेन्सिङ गरेपछि मात्रै घर जाने व्यवस्था छ, तर यूएईबाट गत बिहीबार आएका ती संक्रमित भने घर पुगेका छन् । अस्पतालका इमर्जेन्सी इन्चार्ज भण्डारीले भने संक्रमितमा कुनै पनि लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्ने गरी घर पठाएको बताए ।

चीन, भारत लगायतका देशमा ओमिक्रोनको सब भेरिएन्ट ‘बीएफ सेभेन’को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सीमा नाका र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चेक जाँचमा कडाइ गरेको छ ।

बुस्टर डोज अभाव

सरकारले बुस्टर डोज लगाउन आग्रह गरे पनि पर्याप्त खोप भने छैन । १८ वर्षमाथिका खोप लगाउने समूहलाई दिइने बुस्टर डोज टेकुस्थित केन्द्रीय खोप भण्डारणमा छैन ।

कोभिसिल्ड, फाइजर, मोडर्ना खोपको बुस्टर डोज लगाउन अस्पताल पुग्नेहरु यत्तिकै फर्कनुपरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सूचना अधिकारी नवराज गौतमले भेरोसेल खोप मात्र आफूहरूसँग रहेको जानकारी दिए ।

उनले भने ‘ अहिले हामीले भेरोसेल खोप मात्र दिइरहेका छौँ । पहिलो मात्रा नलगाएका अथवा दोस्रो मात्रा नलगाएकाले खोप पाइरहनुभएको छ ।’

तर, भेरोसेल खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति छैन । विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खोप सल्लाहकार समितिले यो खोपलाई बुस्टर डोजको रूपमा लगाउन अनुमति नदिइएकोले प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए ।

खोप कहिले आउँछ ?

चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चत गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख मात्रा ल्याउन लागिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई पत्र पठाएको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग गर्ने गरी फाइजर खोप ल्याउन लागेको छ । पुसको तेस्रो हप्ताभित्र खोप कहिले नेपाल आउँछ भन्ने थाहा हुने अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहका ९५.७ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा हालसम्म ७९ लाख ७२ हजार ७९१ जनाले मात्रै लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved