विद्रोहबाट प्याड म्यान

महिनावारीको समयमा आएको रगतलाई उचित नियन्त्रण गरी उनीहरूलाई शारीरिक, मानसिक, संवेगात्मक स्वास्थ्य समस्याबाट बचाउनु व्यक्ति, परिवार, समाज र राष्ट्रको दायित्व हो ।

विद्रोहबाट प्याड म्यान

काठमाडौं। महिनावारी महिला प्रजनन प्रक्रियाको लागि सबल छिन् भन्ने संकेत हो । किशोर अवस्थासँगै महिनावारीको प्रक्रिया पनि सुरु हुन्छ । समाजको बनावट र संकीर्ण सोचका कारण महिलाहरूले महिनावारीबारे खुलेर कुरा गर्न हिचकिचाउने गर्दछन् । महिनावारीलाई सामान्य प्रक्रियाको रूपमा बुझ्न जरुरी छ ।

महिलाहरूको सक्रियतामा पुरुषको साथविना यो कुरा गर्न असम्भव छ । त्यसैले, पुरुषहरूले पनि महिलाहरूलाई सहयोग गर्न जरुरी छ । महिनावारीको समयमा बगेको विकार रगतको उचित नियन्त्रण नगरिएको खण्डमा वा रगत रोक्न प्रयोग गरिएका साधन सफा र स्वास्थ्य न भएको खण्डमा प्रजनन अंगमा विभिन्न प्रकारका संक्रमण पनि हुन सक्छ ।

त्यसबारे पुरुष पनि सजग भएर महिलाहरूलाई साथ दिन जरुरी छ । मैले यही कुरा बुझेर मेरो घरमा रहनुभएका महिला सदस्यहरूलाई आफैँले प्याड अरिद गर्ने गरेको छु । अहिले त म आफैँ पनि प्याड बनाउँछु । म आफैँले बनाएको प्याड प्रयोग गर्न पाउँदा उहाँहरू झन् खुसी हुनुहुन्छ । जसरी हामीलाई बिरामी हुँदा औषधि आवश्यक पर्छ ।

त्यसैगरी, महिलाहरूलाई महिनावारी हुँदा प्याड अनिवार्य आवश्यक पर्छ, त्यसैले यसलाई लाजको विषय बनाउन हुँदैन । घरमा सुर्ती चुरोट किन्ने पुरुषले नुन तेलसँगै प्याडलाई पनि आवश्यकीय सामग्रीको सूचीमा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । अर्को कुरा प्याडको गुणस्तरीयतामा पनि ध्यान दिन जरुरी छ ।

अहिले बजारमा केमिकलयुक्त प्याड पनि छ्यापछ्याप्ती पाइन थालेका छन् । त्यसलाई चिन्न सक्नुपर्छ ।। केमिकलयुक्त प्याडले मानवस्वाथ्यसँगै वातावरणलाई पनि प्रदूषित बनाउँछ । यस्ता प्याड एकपटक प्रयोग गरेपछि अर्कोपटक प्रयोग गर्न मिल्दैन । यसले गर्दा हाम्रो खर्च पनि बढ्छ।

त्यसैले, हामीले पुनः प्रयोग गर्न सकिने प्याड बनाएर प्रयोग गर्न सक्छौँ । म अहिले एक्सपोज नेपाल भन्ने संस्थामा आबद्ध छु । यो संस्थाले पुनः प्रयोग गर्न सकिने प्याड बनाउन सिकाइरहेको छ ।

अर्को कुरा प्याड बनाउने महिलाले आर्थिक उपार्जनपनि गर्न सक्ने भएका छन् । खर्च मितव्ययिता र वातावरण स्वच्छताका लागि पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई बृहत्तर बनाउनुपर्छ जस्तो लाग्छ । अहिले पनि हामीले विभिन्न संघसंस्था, स्थानीय तहसँग मिलेर महिलाहरूलाई प्याड बनाउन सिकाइरहेका छौँ । हालसम्म देशका विभिन्न ठाउँका पाँच हजार सात सय जना दिदीबहिनीले प्याड बनाउने तालिम लिनुभइसकेको छ ।

विद्रोह छाडेर आफैँ बदलिए

मेरो प्याड म्यान बन्नका लागि प्रेरित गर्ने एउटा घटना छ । हुन त त्यो विद्रोहको भावना थियो तर पछि मलाई त्यही सोचले सकारात्मकतातिर धकेल्यो । म सानै थिए खोइ के विषयमा पो हो मेरी आमालाई हामै आफन्तहरूले दुर्व्यवहार गरे त्यसको बदला लिने मेरो प्रतिज्ञा नै थियो ।

जसरी पनि उनीहरूसँग बदला लिएरै छाड्छु भन्ने नै थियो । समय परिवर्तनसँगै मेरा विचारहरू पनि परिवर्तन हुन थाले, म परिपक्क बन्दै जान थाले । मलाई उनीहरूसँग बदला लिने भन्दा पनि केही गरेर देखाउने सोच आयो । यस्तो लाग्न थाल्यो कि बदलाभन्दा आफैँ बदलिएर देखाउने भन्ने लाग्यो । विद्यालय र कलेजका सबै जसो कार्यक्रमहरूमा सक्रिय हुन थाले ।

त्यो बेला मलाई सबैले नोटिस गर्न थालेछन् । कलेजमा पनि महिलामाथि हुने हिंसाविरुद्ध बन्न थाले । त्यसैले, धेरै महिला साथीहरूले मलाई अभिभावक जस्तो मान्नुहुनथ्यो ।

उहाँहरूलाई म भएपछि सुरक्षित छु जस्तो महशुस हुन्थ्यो रे । म महिला साथीहरूसँग नजिकिए । उहाँहरूसँगको सँगतमा मलाई एक दुई कुराले धेरै सोच्न बाध्य बनायो । महिनावारीको समयमा उहाँहरूले महसुस गर्ने असहजतालाई मैले बुझ्न थाले । तर, उहाँहरूसँग भन्ने आँट गरिएन । काम गर्ने दौरानमा म धेरै संघ-संस्थासँग जोडिने अवसर पनि पाए ।

विशेषगरी, यौनजन्य हिंसा अर्थात् यौन दुराचार र दुर्व्यवहारविरुद्ध नै काम गरे । सन् २०१४ मा जर्मनका संघ-संस्थाले महिनावारी विभेदविरुद्ध आवाज उठाउन थाले । त्यसपछि, हामीले पनि यसबारे आवाज उठाउन थाल्यौ ।

महिनावारीका बेला हुने विभिन्न विभेदहरूले यो पनि एउटा हिंसा हो भन्ने महशुस गर्‍यौँ । तर, त्यो बेलासम्म पनि मलाई महिनावारी प्रक्रियाबारे ज्ञान पनि थिएन चासो पनि राखिनँ । अझ महिनावारी हुँदा प्रयोग गर्ने प्याडबारे थाहा हुने त कुरै थिएन । जब हामी विभेद भनेर लाग्न थाल्यो त्यसपछि मैले पनि यसको प्रक्रियाबारे बुझ्न थालेँ ।

अरु महिलासँग बुझ्न असहज हुने भएकाले मैले त सुरुवातमै आमासँग सोधे, सुरु-सुरुमा त आमा हाँस्नुहुन्थ्यो । के-किन जस्ता प्रश्न पनि नआएका होइनन्, तर पछि पछि म आफ्नो कुरामा अडिग भएपछि आमाले पनि यसबारे भन्न थाल्नुभयो ।

अझ सजिलो त मेरो विवाहपछि भयो, सबैभन्दा सहज मलाई श्रीमतीसँग भयो । उनलाई सबै कुरा सोध्थेँ । सहजता असहजता श्रीमतीसँग बुझेपछि बल्ल प्याडको कन्सेप्ट आयो ।

प्याड म्यान बनेछु

महिनावारीको समयमा आएको रगतलाई उचित नियन्त्रण गरी उनीहरूलाई शारीरिक, मानसिक, संवेगात्मक स्वास्थ्य समस्याबाट बचाउनु व्यक्ति, परिवार, समाज र राष्ट्रको दायित्व हो ।

त्यसैले, हामीले पनि सरल र सहज तरिकाबाट प्याड कसरी बनाउने भन्नेमा केन्द्रित भयौँ । सुरुवातमा कपडालाई प्याडको आकारमा काटेर ९० जना महिलालाई बाँड्यौं ।

यसलाई एउटा अध्ययनको विषय नै बनायौँ । पहिलो प्रक्रिया भनेको हाम्रा आमाहरूले गर्दै आइरहेको विधि नै थियो । त्यसपछि हामीले अस सहज बनाउन के गर्न सकिन्छ भनेर सोच्यौँ । कपडाको टालो बनाउँदा खस्ने जोखिम धेरै थियो । महिलाहरूको ध्यान कतै टालो खस्ने त होइन भन्नेमा हुन्थ्यो । त्यो कुरा बुझेर हामीले प्याड अड्काउन ‘च्यारच्यारे’ थप्यौं ।

प्रयोगकर्तासँग प्रतिक्रिया लिँदा त्यसले घाउ बनाएको भन्ने गुनासो आयो । हाम्रो उद्देश्य भने महिलाहरूलाई सहजता बनाइदिनु थियो । गुनासो आएपछि हामीले प्याडमा बटमको प्रयोग गर्‍यौँ । क्लियर ब्यागमा हुने बटमको प्रयोगले सहज बनाइदियो । अहिले सबैले सहज मानिरहनुभएको छ ।

हामीले काम गरिरहेका थियौँ एक्सपोज नेपाल संस्था बनाएर नि:शुल्क प्याड बनाउने तालिम पनि दिन थाल्यौँ, देशका विभिन्न ठाउँमा पुगेर महिनावारी विभेदविरुद्धका कार्यक्रमसँगै प्याड बनाउन सिकाउने तालिम दिइरहेका थियौँ । आज पनि हामीले त्यही कामलाई निरन्तरता दिइरहेका छौँ । हामीले काम गर्ने क्रममा भारतमा प्याड म्यान भन्ने फिल्म पनि बन्यो । त्यो कथा त मेरै जीवनसँग मेल खाँदो रहेछ । त्यसपछि मेरा साथीहरूले पनि मलाई नेपाली प्याडम्यान भनेर सम्बोधन गर्न थाले ।

त्यो फिल्मले त मेरो परिचय नै बदलिदियो । अहिले सबैले नेपाली प्याड म्यान भनेर चिन्नुहुन्छ । तर, यसको सबैभन्दा पहिलो श्रेय नागरिक आवाजका पत्रकार श्रीराम पौडेललाई जान्छ ।

२०७४ सालतिरको कुरा हो उहाँले मलाई अन्तर्वार्ताका क्रममा नेपाली प्याड म्यान भनेर सम्बोधन गर्नुभयो । त्यसपछि, सबै मिडियाले नेपाली प्याडम्यान भनेर मेरो कथा लेखे । अहिले मेरो परिचय ज्ञान महर्जन भन्दा नेपाली प्याड म्यान भएको छ ।

कुराकानीमा आधारित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved