सिताराम हाछेथुको ट्याटू कथा !

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथु अहिले नगरलाई सुर्तीजन्य पदार्थ मुक्त बनाउने अभियानमा लागेका छन् ।  यस्तो अभियान चलाउन अघि सर्नुको भने उनको छुट्टै अन्तरकथा छ । उनकै शब्दमा जानौं त्यो कथा ।

सिताराम हाछेथुको ट्याटू कथा !

काठमाडौं । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथु अहिले नगरलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानमा लागेका छन् ।  यस्तो अभियान चलाउन अघि सर्नुको भने उनको छुट्टै कथा छ ।

२९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु यतिबेला ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको भूमिकामा छन् । २०७७ भदौ १५ गते ललितपुर महानगरको प्रहरी प्रमुखमा नियुक्त भएपश्चात् उनी नगरको व्यवस्थापनमा सक्रिय भएर लागेका छन् ।

ट्राफिक व्यवस्थापनका अलावा ललितपुरलाई सुन्दर बनाउन उनले विभिन्न अभियान चलाइरहेका छन् । रक्सीजन्य पदार्थको बारेमा गरिएका विज्ञापन हटाउने, अनधिकृत रूपमा राखिएका होडिङ बोर्ड हटाउने काममा उनी सक्रिय छन् ।

उनले ललितपुर महानगरलाई ‘स्मोक फ्रि जोन’ बनाउन अभियान पनि चलाएका छन् । ललितपुर महानगरपालिकाको पाटन दरबार परिसर, पुल्चोक गाःहिटी (महानगरपालिका भवन अगाडिको पार्क), जावालाखेल र लगनखेललाई ‘नो स्मोकिङ जोन’ घोषणा गरिएको छ ।

अभिभावक गुमाएको पीडा भुल्न यो अभियानमा लागेको उनी बताउँछन् । यस्तो छ हाछेथुको कथा :

चुरोटले टुहुरो बनायो

भक्तपुरमा हाम्रो सानो घर थियो । हाम्रो सानो परिवार थियो । बुबाले चुरोट खाइरहनु हुन्थ्यो । सानो घर त्यहीमाथि भेन्टिलेसन नहुँदा चुरोटको धुँवा कोठाभित्रै हुन्थ्यो । नचाहेरपनि हामीले त्यसको गन्ध लिनुपर्थ्यो ।

धेरै चुरोट सेवन गरेकाले बुबाले यो संसारको धेरै अनुभव गर्न पाउनुभएन । बुबाको अम्मलले आफूलाई त असर गरेकै थियो तर मेरी आमाले पनि बिनागल्तीको सजाय भोग्नुपर्‍यो ।

बुबासँगै बस्ने आमालाई पनि धुवाँले असर गरेछ । आमाको फोक्सोमा क्यान्सर देखियो । आमा पनि ४२ वर्षको उमेरमै यो संसारबाट बिदा लिनुभयो ।

बुवापनि बिरामी पर्नुभयो । आमा बितेको दुई वर्षपछि बुबाले पनि हामीलाई छाडेर जानुभयो । उहाँको फोक्सोमा पनि क्यान्सर देखियो । उहाँको उपचारमा हामीले कुनै कसर बाँकी राखेका थिएनौँ । पुर्ख्यौली एउटा घडेरी समेत बेच्नुपर्‍यो । तर बचाउन सकिएन ।

हामीले दुवैजना अभिभावक गुमायौँ, टुहुरो बन्यौँ ।

मैले धेरै पहिलेदेखि सुन्दै आएको ‘ध्रुमपानले लिन्छ ज्यान’ साँच्चीकै नजिकबाट नियाल्न पाएँ ।  ज्यान लाने जान्दाजान्दै पनि हामी यसको रोकथाममा लाग्दैनौँ । परिवार गुमाउँदाको पीडा कस्तो हुन्छ त्यो अनुभव गर्नेलाई मात्र थाहा हुन्छ ।

मैले भोगेको जस्तो पीडा कुनै छोराछोरीले भोग्न नपरोस भन्ने मेरो चाहना छ । कोही अभिभावकले सूर्तीजन्य पदार्थका कारण छोराछोरी गुमाउन नपरोस् भनेर लागिपरेको छु ।

आज म जुन स्थानमा छु यहाँबाट गर्न सक्ने काममा सक्रिय भएर रूपान्तरण गर्न चाहन्छु । तपाईं र म एक दुई जनाले छोडेर यो तत्काल निर्मूल हुने होइन, तर विस्तारै यसलाई जनचेतना फैलाउँदै लगियो भने भावी पुस्तालाई बचाउन सकिन्छ भन्ने मेरो बुझाइ हो ।

मानिसहरूले विभिन्न बहाना बनाएर सुर्तीजन्य पदार्थको सेवन गर्छन्, कसैको घरायसी कारणले, कसैले खराब साथीको संगतले त कसैले आर्थिक अभावको कारणले भन्छन् तर मैले भने अहिलेसम्म त्यसको स्वाद लिएको छैन ।

सुर्तीजन्य पदार्थ सेवन नगरेकै कारण प्रेममा सफलता

मैले सुर्तीजन्य पदार्थ सेवन नगरेकाले नै मेरो प्रेम सफल भएको हो । मेरी प्रेमीका म भन्दा दुई वर्ष जेठी थिइन । उनी पढाइमा पनि अब्बल । म एस एलसी पास मात्र थिएँ ।

भनिन्छ प्रेममा रूप रंग, धनी गरीब , केही हुँदैन । तर प्रेमलाई विवाहमा परिणत गर्न भने केही पारिवारिक र सामाजिक मूल्यमान्यता आइपर्छन् । प्रेम दुई प्रेमीको अधिकार हो भने विवाह दुई परिवारबीचको नाता पनि हो । मेरी प्रेमिकाको परिवार मसँग सम्बन्ध गाँस्न राजी थिएन ।

तर बिजुले भने मप्रति विश्वास गरिन कारण के थियो भने मैले चुरोट, रक्सी नखाने गरेको उनलाई थाहा थियो । परिवारमा पनि उनले मनाउने प्रयास गरेकी थिइन तर भएन । हामीले भागी विवाह रोज्यौ । पहिला अस्वीकार गरेपनि पछि मेरो व्यवहारले उहाँहरुको मन जितेछ क्यारे हामीलाई स्वीकार गर्नुभयो ।

ट्याटू को कथा


लामो समससम्म ट्राफिक प्रहरीको सेवामा रहेकाले धेरै घटना दुर्घटनाको प्रत्यक्षदर्शी बन्न पुगे । ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएको देखे । सेवा अवधिमा रहँदासम्म नयाँ-नयाँ उपाय अपनाएर ट्राफिक शिक्षा, स्वास्थ्य सचेतना दिएँ।

हाम्रोमा अझै पनि चेतना पुगेको छैन। जबसम्म ट्राफिक चेतना र स्वास्थ्यको ख्याल हरेक नेपालीमा पुग्दैन तबसम्म दुर्घटनामा कमी हुन्न भन्ने ठानेर बायाँ हातमा ‘ट्राफिक नियम पालना गरौ’ भनेर ट्याटू खोपेँ ।

पहिला आफू नियम पालना गर्ने अनि अरूलाई भन्न सहज हुन्छ भनेरै मैले हात बिगारेको हुँ। सबैभन्दा पहिला आफू, परिवारका सदस्य, साथीभाइ तथा कक्षा लिने ठाउँमा विद्यार्थी र अरूलाई देखाउन सहज हुन्छ भनेरै मैले यो निर्णय लिएको हुँ। मेरो दायाँ हातमा पनि सन्देशमुलक ट्याटू खोपेको छु ।

धुमपान गर्नेको संख्यामा कमी हुनासाथ क्यान्सरको जोखिम पनि कम हुन्छ । यो ट्याटू खोप्दाको किस्सा पनि रमाइलो छ । म ट्याटू खोप्न बल्खु पुगेको थिए । ट्याटू खोप्ने भाईले चुरोट पिउदै थिए । उनले चुरोट पिउँदै ट्याटू खोप्ने तयारी गर्दै गए । मलाई कुर्चीमा बसाइयो ।

उनी एउटा हातले चुरोट तान्दै अर्को हातले दायाँ बायाँ मिलाउँदै थिए । मलाई उनले सोधे खे लेखौँ ? मैले उनलाई  नो स्मोकिङ’ भनेँ, ती भाइ अक्क न बक्क भए । उनले हाँस्दै कस्तो मजाक गर्नुहुन्छ भने । फेरि मैले सोही कुरा दोहोराएपछि उनी हतार हतार हातको चुरोट फाल्न गए । त्यसपछि पहिलो सफलता त मैले त्यही पाएँ ।

मसँग जाने नगर प्रहरी भाइबहिनी पनि मेरो कुरा सुनेर छक्क परे। किनकि, मैले हातमा यस्तो लेख्छु भनेर सोचेकै रहेनछन् । यो ट्याटू हेर्दा सामान्य लाग्ला तर, यसको पालना गर्दा अल्पायुमै ज्यान गुमाउने खतरा कम हुन्छ ।

म जाने हरेक कार्यक्रममा मेरो हातमा बनाएको ट्याटू देखाउनासाथ दुई चार जनाले मात्र ‘सितारामको हातमा ‘नो स्मोकिङ’ र ‘ट्राफिक नियम पालना गरौं’ भन्ने छ भनेर मात्र सम्झिए भने पनि केही हदसम्म सफल भएको अनूभुती हुन्छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू! मद्यपान, धूमपान र सुर्तीजन्य पदार्थबाट हामी सधैं टाढा बस्नुपर्छ । एउटा चुरोट किन्ने पैसाले बालबालिकालाई कापी किन्न पुग्छ। घरमा तरकारी किन्न पुग्छ। त्यसैले आजैबाट धूमपान र सुर्तीजन्य पदार्थबाट टाढै रहौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved