काठमाडौं । गोकर्णेश्वर ३ तारेभीरकी १८ वर्षीया सुस्मा लामा कक्षा १२ मा पढ्थिन् । माघ २२ गते सधैँझैँ कलेज हिँडिन् । तर, घर फर्किइनन् । उनको फेसबूकमा पोस्ट आयो । थियो— सरी! सबैमा । म तीन दिनपछि घर आउँछु ।
सबैसँग माफी मागिएको त्यो क्याप्सनमा सरप्राइज फोटो पनि थियो । जसले परिवारलाई चकित तुल्यायो । उनी दुलही बनिसकेकी रहिछन् । पोस्टमा सुस्मा दुलहीको भेषमा सजिएकी थिइन् । तर, दुलाहा को थियो चिनिएन । उसको अनुहार इमोजीले छोपिएको थियो ।
अघिल्लो दिनसम्म घरमा प्रसङ्गवश सुस्माले भनेकी थिइन्, “म त झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने हो, चानचुने होइन ।” ‘अघिल्लो दिनसम्म यस्तो भन्ने उनले कसरी अचानक एक्लै बिहे गरिन् ?’ परिवार रनभुल्लमा परे ।
घरबाट सुस्मालाई फोन गरियो । मोबाइल अफ थियो । म्यासेन्जरमा पनि उनलाई अनलाइन देखिएन । परिवारले भोलिपल्टसम्म बाटो हेरे । न छोरी-ज्वाइँ आए, न त फोन नै लाग्यो ।
फोन नलागेपछि परिवारलाई चिसो पस्यो । एकातिर छोरी कोसँग र कहाँ भागेकी हुन् ? भन्ने पनि थाहा थिएन । अर्कोतिर सम्पर्कमा थिइनन् ।
सुस्मा हराएको भोलिपल्ट दिउँसो प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि आमा लुच्ची तामाङले निवेदन दिइन् । त्यही साँझ सुस्माको दिदी बिन्दाको मोबाइलमा म्यासेज आयो ।
सुस्माको मोबाइल नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो— किन पुलिस रिर्पाेट दिएको ? मेरो पेटमा बच्चा भइसक्यो होला । अब म आउँदिनँ, मेरो चिन्ता नगर्नू । यसपछि परिवारलाई लाग्यो, ‘प्रहरीमा उजुरी दिएपछि छोरी झन् रिसाइन्, हामीले त्यो गर्नु हुँदैनथ्यो ।’
बिहे गरेर गएकी मान्छे फर्किएर आउलिन् भन्ने परिवार र आफन्तले सोचे । त्यही कारण उनको खोजतलास सुस्त भयो ।
नजिकै जाँदा शरीर गाडिएको जस्तो देखियो । लगत्तै प्रहरीलाई खबर भयो । प्रहरी गएर हेर्दा शवको हात बाँधिएको थियो । घाँटी टाईले कसिएको थियो । कलेज ड्रेस थियो । पाइन्टको गोजीमा चाबी थियो । चाबी हेरेपछि त्यो शव सुस्माकै भएको पुष्टि भयो । जसले २२ माघमा ‘भागेर बिहे गरेँ’ भनेकी थिइन् ।
भागेर बिहे गरेको गरेँ भन्ने सुस्माको शव भेटिएपछि घटनामा ‘ट्वीस्ट’ देखियो । ठूलै रहस्य देखियो ।
काठमाडौं प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली संयुक्तरूपमा अनुसन्धानमा खटियो ।
गोकर्णेश्वर तारेभीरका २१ वर्षे रुपेन्द्र लामा ८ महिनादेखि छिमेकी सुस्मालाई मन पराउँथे । उनले पटकपटक प्रेम प्रस्ताव राखिसकेका थिए । तर, सकारात्मक जवाफ नपाएपछि निराश थिए ।
तै पनि रुपेन्द्र फेरि पनि सुस्मालाई ‘कन्भिन्स’ गर्न चाहन्थे । सुस्मा घाँस काट्न जाँदा र बाख्रा चराउन जाँदासमेत पछिपछि लाग्थे ।
‘भ्यालेन्टाइन्स डे’ नजिकिँदै थियो । सुस्मालाई फकाउने योजना मनमा बुनिरहेका उनी ब्यग्र प्रतीक्षामा थिए, १४ फेब्रुअरीको । सुस्माले प्रेम प्रस्ताव स्वीकार गर्ली र प्रेमीका बनाउँथे भन्ने सोचेर बसेको हुन्थे । तर, सुस्माले कुरा गर्न चासो नदेखाएपछि उनी फेरि निराश भए । योपटक उनी निराश मात्र भएनन्, प्रतिशोधीसमेत भए ।
उनीसँग बदला लिने सोच बनाए, आपराधिक मानसिकताले । त्यो योजना थियो, ‘अब अन्तिममा फेरि एकपटक प्रेम प्रस्ताव राख्ने, नमानेमा हत्या गर्ने ।’
त्यसको लागि रुपेन्द्रले सुस्माको बाटो ढुक्न थाले । उनको योजना सफल हुन सजिलो थिएन । कहिले सुस्मा साथीहरूसँग कलेज जान्थिन् । उनी एक्लै भएको बखत पछ्याउँदा पनि बाटोमा अरू मानिस भेटिन्थे ।
उनी हरेक दिन हातमा कुटो लिएर सुस्माको पिछा गर्थे । आउने-जाने बाटो हेर्थे । यसरी लगातार पिछा गरेको आठौँ दिनमा रुपेन्द्रको आपराधिक योजना सफल हुने जस्तो देखियो, सुस्मा एक्लै थिइन्, बाटोमा बटुवा पनि भेटिएनन् ।
०००
२२ माघ बिहान साढे ५ बजे सुस्मा कलेज हिँडिन् । झिसमिसे बिहान थियो । उज्यालो हुँदै थियो । कलेज पढ्ने विद्यार्थी हिँडिरहेका थिए । दूध र सागपात बेच्ने मानिसको पनि आवतजावत भइसकेको थियो ।
रुपेन्द्र भने सुस्माको पछिपछि लागे । उनले हातमा कुटो लिएका थिए । अलि पर गएपछि एकान्त ठाउँ आयो । अलिअघि गएर सुस्माको बाटो छेकेर भने, ‘म अन्तिममा फेरि पनि सोध्दैछु, मलाई माया गर्छौ कि नाइँ ? म तिमीलाई अझै माया गर्छु ।’
‘सरी ! म विदेश जान्छु, लभसभको चक्करमा पर्दिनँ,’ सुस्माले भनिन् । आवेश र आक्रोश पोख्दै रुपेन्द्रले भने, ‘मेरो नहुने भए, अरू कसैको हुन दिन्नँ ।’
रुपेन्द्रले सुस्मालाई तानेर बाटो तल लैजान खोजे । सुस्मा चिच्याइन् । तर, रुपेन्द्रको बलिष्ठ हातले सुस्माको घाँटीमा अट्ठियो । बाटोबाट १० मिटर पर जङ्गलमा लगेर रुपेन्द्रले सुस्माको टाईले घाँटी अँठ्याए ।
हात डोरीले बाँधेर खाल्टो खनेर पुरे । रुपेन्द्रले सुस्माको मोबाइल र किताब लिएर गए । सुस्माको हत्यापछि रुपेन्द्रले कानूनको नजरबाट बच्ने उपाय लगाउन थाले । उनलाई लाग्यो, ‘सुस्माको खोजी भएमा अनुसन्धान आफूसम्म आइपुग्ने खतरा छ ।’
यसैले घटनालाई अन्तै मोड्न एक उपाए आयो । घर गएपछि रुपेन्द्रले गुगलबाट अरूको बिहेको फोटो ताने । एडिट गरेर बेहुलीको अनुहारमा सुस्माको अनुहार हाले ।
भोलिपल्ट परिवारले प्रहरीमा निवेदन दिएपछि दिदीको मोबाइलमा म्यासेज गर्ने पनि उनै थिए । सुस्माले बिहे गरेको भन्ने लागेपछि खोजी सुस्त भएको थियो । उता रुपेन्द्र सुस्माको हत्या गर्दासमेत बच्न सफल भएकोमा खुसी थिए ।
“रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोश बनाएको देखिन्छ । त्यसपछि मरेको आशङ्कामा खाल्डो खनेर पुरेको देखिन्छ,” अनुसन्धान अधिकारी भन्छन् । सुस्माको पोस्टमार्टम गर्दा घाँटीभन्दा तलसम्म माटो भेटियो । यसकारण उनलाई जिउँदै, बेहोश अवस्थामै मरिन् भन्ने लागेर गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
घटनामा संलग्न एकजना मात्र पक्राउ परेपछि परिवारले भने अरू पनि रहेको हुनसक्ने आशङ्का गरेका छन् ।
मृतक सुस्माकी दिदी बिन्दा भन्छिन्, “बिहान उज्यालोमा सडकमा एक जनाले कसरी मान्छे मार्न सक्छ ? हत्या एक्लै भएको नहुन सक्छ । अरू पनि जोडिएका मानिसको खोजी हुनुपर्छ ।”
अनुसन्धान अधिकारीहरूले भने रुपेन्द्रले विभिन्न फिल्म तथा सिरियलबाट हत्या गरेपछि उम्कने उपाय सिकेको हुनसक्ने बताएका छन् ।
Facebook Comment
Comment