‘भागेर बिहे गरेँ’भन्दै फेसबुकमा पोस्ट गरेकी युवती जंगलमा मृत भेटिइन

नेपालभ्युज

‘भागेर बिहे गरेँ’भन्दै फेसबुकमा पोस्ट गरेकी युवती जंगलमा मृत भेटिइन

काठमाडौं । गोकर्णेश्वर ३, तारेभीरकी १८ वर्षीया सुस्मा लामाले माघ २२ मा फेसबुकमा लेखेकी थिइन्, ‘मैले भागेर बिहे गरेँ ।’ उनी कक्षा १२ मा पढ्थिन् ।

कलेज गएकी उनले गरेको त्यो पोस्ट हेरेपछि परिवारले सोचे, ‘बिहे गरिछिन्, एकदिन ज्वाइँ लिएर माइती आउलिन् ।’

बुबाआमा छोरी ज्वाइँको बाटो हेर्दै बसिरहेका थिए । केही समयपछि छोरीलाई परिवारले फोन गरे, आइनन् ।

तीनदिन बितिसक्दा पनि छोरीको फोन नलागेपछि परिवारलाई चिसो पस्यो । छोरी कोसँग भागेको कहाँ भागेको भन्ने पनि थाहा थिएन । यसैले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि आमा लुच्ची तामाङले निवेदन दिइन् । तर, छोरीको पत्तो लागेन ।

उनले बिहे गरेको हल्ला भएपछि खोजतलास सुस्त भयो । बिहे गरेर गएकी मान्छे फर्किएर आउलिन् भन्ने परिवार र आफन्तले सोचे ।

०००

गएको बिहीबार गोकर्णेश्वर नगरपालिका–३, तारेभीर घर भएका एक व्यक्ति घाँस काट्न जंगलतिर छिरेका थिए । फर्किँदा उनले शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा मान्छेको हात देखियो ।

तर, जीउ गाडिएको जस्तो देखियो । लगत्तै प्रहरीलाई खबर भयो । प्रहरी गएर हेर्दा शव सुस्माकै भएको पुष्टि भएको थियो, जसले २२ माघमा ‘भागेर बिहे गरेँ’ भन्दै फेसबुकमा पोस्ट गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, उनको शव हात खुट्टा डोरीले बाँधेको अवस्थामा भेटिएको थियो । उनले भने, ‘‘शव भेटिएपछि गम्भीरता पूर्वक अनुसन्धान थालेका छौँ ।’’

शव बरामद भएलगत्तै फरेन्सिक विज्ञसहितको टोली गएर जाँच गरेको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ । अहिलेसम्म उनको हत्या कसले गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved