आलेख

प्रधानमन्त्रीज्यू, तपाईं कुदेर पुग्ने कहाँ हो ?

प्रधानमन्त्री महोदय बाटो फेर्नुहोस् । किनभने तपाईं हिँडेको बाटो किमार्थ स्वर्ग पुग्दैन । दोश्रो, सहयात्री फेर्नुहोस् । अन्यथा तपाईंको सारसङ्गत जे-जस्तो छ, त्यसलाई बोकेर हिँड्दा काँधमात्र फोहोर होला, यात्राको औचित्य पुष्टि हुँदैन । तेश्रो, तपाईं आफैँ फेरिनुहोस् र आफ्नो राजनीतिक औचित्य पुष्टि गर्नुहोस् ।

प्रधानमन्त्रीज्यू, तपाईं कुदेर पुग्ने कहाँ हो ?

यदि हाम्रो लोकतन्त्र खतरामा पर्दैन भने आज म हाम्रा प्रधानमन्त्रीमाथि केही लेख्छु । स्वभावतः त्यसमा केही आलोचना हुनेछन्, केही सुझावहरू  हुनेछन् । प्रधानमन्त्रीलाई आलोचना गर्दा हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुन्छ भन्ने कसैलाई लाग्छ भने सुरूमै अनुरोध गर्छु— कृपया ! तपाईं यो लेख नपढ्नुहोला ।

तारिफका केही शब्द

प्रारम्भमा प्रधानमन्त्रीको तारिफबाट यो लेख सुरू गर्छु । हाम्रा प्रधानमन्त्रीको सबैभन्दा राम्रो क्षमता के हो भने उहाँ सत्तामा अंकगणितको भूमिका राम्रोसँग बुझ्नुहुन्छ । आफ्नो आवश्यकताका आधारमा सहकर्मी र प्रतिस्पर्धी छनोट गर्न खप्पिस हुनुहुन्छ । राजनीतिमा कसको महत्त्व कतिखेर हुन्छ, उहाँलाई राम्रो थाहा छ ।

हाम्रा पुराना नेताहरूमा उहाँ नै सायद सबैभन्दा राम्रोसँग ओली र देउवाका कमजोरी बुझ्ने नेता हो । त्यसैले कहिले ओलीलाई चक्मा दिनुहुन्छ, कहिले देउवालाई । त्यसैगरी, सबैभन्दा ठूलो योग्यता के भने उहाँको ‘मेमोरी’ गजब छ । के बिर्सने र के सम्झने भन्ने उहाँलाई भलिभाँती थाहा छ । त्यसैले त उहाँले आफ्ना पुराना बाचाहरू बिर्सिनुभएको छ । तर, उहाँले आफ्ना पुराना क्रान्तिकारी (?) शब्दहरू चाहिँ बिर्सनुभएको छैन र आवश्यकताअनुसार त्यसलाई आफ्ना भाषणहरूमा घुसाउन सिपालु हुनुहुन्छ ।

मुख्य कुरा उहाँ आफ्नो मठको एकछत्र मठाधीश हो । लगातार तीन दशकभन्दा बढी पार्टीमा एकछत्र राज गर्नु चानचुने कुरा होइन । र, अझ मुख्य कुरा पटक-पटक आफ्ना कमजोरीहरू स्वीकार गर्न र अब म सुध्रिन्छु भन्न उहाँलाई कुनै सरम लाग्दैन ।

यी हाम्रा प्रधानमन्त्रीका ‘गजब’ गुणहरू हुन् ।

आलोचना र विमति

अब केही आलोचना गरौँ । सुरूमै स्पष्ट गरौँ कि प्रधानमन्त्रीसँग मेरा काफी विमतिहरू छन् । राजनीतिक, वैचारिक अनि व्यावहारिक पनि । उहाँको राजनीतिसँग म असहमत छु । त्यसैले आलोचना गरिरहँदा म बढी नै पूर्वाग्रही नबनौँ भन्नेमा सचेत छु । र, प्रारम्भमै यति भन्छु, विचार र व्यवहारमा सायदै उहाँ जति बाँया र दाँया नेता नेपालमा अरु कोही छ । विचारमा बाँया र व्यवहारमा दाँया ।

मान्छेहरू भन्छन्, उहाँसँग अब विचार, मूल्य, मान्यता र निष्ठामात्र हैन, सपना पनि छैन । केही भ्रमहरू छन् र तिनै भ्रमहरूले उहाँलाई राजनीतिमा टिकाइरहेका छन् । जुन दिन भ्रम सकिन्छ, बस् त्यही दिन उहाँले आफ्नो समय सकिएको सत्य थाहा पाउनुहुनेछ ।

मेरो विचारमा अब उहाँमा कुनै सृजनशीलता छैन । उहाँ न त आफ्नै क्रान्तिप्रति उत्तरदायी हुनुहुन्छ, न त जिम्मेवार । अन्यथा शान्ति प्रक्रिया कचल्टिने थिएन । अन्यथा बेपत्ता परिवार आफ्ना प्रियजनको यादमा यतिधेरै रुनुपर्ने थिएन । अन्यथा किसान मजदुरको जीवन फेरिने थियो । अन्यथा गणतन्त्र यतिधेरै आलोच्य हुने थिएन ।

त्यसैले यति भन्नैपर्छ कि उहाँको राजनीतिमा अब कुनै ओज र गरिमा छैन । भन्नलाई वामपन्थ भने पनि, उहाँको वामपन्थ सिंहदरबार वरिपरि मात्र घुमिबस्छ । यस्तो लाग्छ, उहाँको वामपन्थ फगत ‘सत्ताको मोलमोलाई’ हो ।

मान्छेहरू भन्छन्, उहाँसँग अब विचार, मूल्य, मान्यता र निष्ठामात्र हैन, सपना पनि छैन । केही भ्रमहरू छन् र तिनै भ्रमहरूले उहाँलाई राजनीतिमा टिकाइरहेका छन् । जुन दिन भ्रम सकिन्छ, बस् त्यही दिन उहाँले आफ्नो समय सकिएको सत्य थाहा पाउनुहुनेछ । यद्यपि, त्यो निकै ढिलो भइसकेको हुनेछ ।

तर, जतिनै कमजोरी भएपनि उहाँ मेरो प्रधानमन्त्री हो । त्यसैले, बाध्यताबस् नै सही मेरो एक मनले भन्छ, उहाँ सफल हुनुपर्छ । तर लगत्तै अर्को मनले भन्छ, उहाँ सफल हुनुपर्छ भन्नु आफैँमा अराजनीतिक र अज्ञानी कुरा हो । किनभने उहाँ सफल हुने बाटोमा हुनुहुन्न । जुन बाटोमा हिँडेर नर्क पुगिन्छ, त्यो बाटोको यात्रीसँग स्वर्गको के अपेक्षा ।

केही सुझाव, केही अपेक्षा

आफ्नो कार्यकाल एक वर्ष पुगेको उपलक्ष्यमा जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले उद्घोष गर्नुभयो, “अब मेरो गति बढ्नेछ ।” प्रधानमन्त्रीको यही भनाइ नै यो लेखको केन्द्रीय विषय हो ।

अवश्य नै प्रधानमन्त्रीलाई थाहा हुनुपर्छ कि राजनीतिमा गतिको अर्थ फगत तेज दौडनु मात्र हुँदैन । बरु ठीक दिशामा तेज दौडनु हुन्छ । अन्यथा मानौँ, नर्क जाने बाटोमा केही तेज दौडन्छ भने त फेरि पनि चाँडै पुगिने त उही नर्कमै हो । यहाँ नर्क एक विम्ब हो । मलाई लाग्छ, नर्कको अर्थ सबैलाई थाहा छ ।

त्यसैले प्रधानमन्त्रीलाई प्रारम्भमै भन्नुपर्ने मेरा तीनवटा सुझाव छन् । पहिलो, प्रधानमन्त्री महोदय बाटो फेर्नुहोस् । किनभने तपाईं हिँडेको बाटो किमार्थ स्वर्ग पुग्दैन । दोश्रो, सहयात्री फेर्नुहोस् । अन्यथा तपाईंको सारसङ्गत जे-जस्तो छ, त्यसलाई बोकेर हिँड्दा काँधमात्र फोहोर होला, यात्राको औचित्य पुष्टि हुँदैन । तेश्रो, तपाईं आफैँ फेरिनुहोस् र आफ्नो राजनीतिक औचित्य पुष्टि गर्नुहोस् ।

माथिका तीनवटा सुझावकै सेरोफेरोमा प्रधानमन्त्रीलाई भन्नुपर्ने मेरा थप कुरा छन् । तर, प्रारम्भमै उहाँलाई अनुरोध गर्छु, कृपया ! तपाईं यो लेख पूरा पढ्नुहोला । तपाईं बस्ने दरबारको मूलद्वार खुल्नुअघि आँगनमा हाकिम, ठेकेदार, बिचौलिया र चाकरहरू झुम्मिनु पहिले नै अथवा ब्रह्ममुहुर्तमा कृपया शान्त बसेर यो लेख पढ्नुहोला ।

यो लेख पढिरहँदा छेउमा तपाईंका नातागोता, सेवक, सहयोगी र आसेपासे कोही पनि नहोऊन् । किनभने शास्त्रहरू भन्छन्, “योग्य प्रधानमन्त्री बन्धनहरूबाट सर्वथा मुक्त हुनुपर्छ ।” अर्थात् सारा नाता कुटुम्बको बन्धन ।

यो लेख पढिरहँदा छेउमा तपाईंका नातागोता, सेवक, सहयोगी र आसेपासे कोही पनि नहोऊन् । किनभने शास्त्रहरू भन्छन्, “योग्य प्रधानमन्त्री बन्धनहरूबाट सर्वथा मुक्त हुनुपर्छ ।” अर्थात् सारा नाता कुटुम्बको बन्धन ।

स्पष्ट गर्छु, यसमा मेरा मुख्यतः चारवटा थप सुझाव छन् । कृपया ! झिँजो नमान्नुहोला ।

पहिलो सुझाव प्रश्नबाट सुरू गरौं । महोदय, प्रधानमन्त्रीको रूपमा तपाईंको मुख्य प्राथमिकता के हो ? तपाईंलाई थाहै छ, संसारका सबै देश सबै कुरामा एकैपटक सफल भएका होइनन् । अहिले पनि कतिपय देशहरू खास विषयमा मात्र सफल छन् । कोही कृषिमा सफल छन् । केही पर्यटनमा । केही उद्योग । केही व्यापारमा । कोही सामाजिक न्यायमा । कोही स्वास्थमा । कोही शिक्षामा । कोही सुशासनमा । अथवा कोही ‘हार्ड’ पावरमा, कोही ‘सफ्ट’ पावरमा ।

कुनै पनि प्रधानमन्त्रीले एउटा कार्यकालमा सर्वत्र चमत्कार गर्दैन । तर, कतै केही त चमत्कार हुनसक्छ । यो अर्थमा मैले सोधेको हुँ, तपाईंको प्राथमिकता के हो ? सामाजिक न्याय हो ? पूर्वाधार हो ? कृषि हो ? उद्योग हो ? पर्यटन हो ? शिक्षा हो ? स्वास्थ्य हो ? सुशासन हो ? सार्वजनिक यातायात हो ? अथवा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने हो ?

पहिले त आफ्नो प्राथमिकता किटान गर्नुहोस् । त्यसपछि जसलाई जहाँ भेट्यो, त्यही नै मेरो  प्राथमिकता हो भन्न छाड्नुहोस् । एक वर्ष बितिसक्दा पनि हामीले तपाईंको प्राथमिकता के हो त्यो थाहा पाएका छैनौँ ।

अतः आजै आफ्नो प्राथमिकताहरू निर्धारण गर्नुहोस् । अन्यथा कुहिराको काग जति नै उचाइमा उडेपनि लक्ष्यमा पुग्न सक्दैन । कुहिराको काग जतिनै तेज उडेपनि गन्तव्य भेट्दैन ।

मानौँ, तपाईंले आफ्नो कार्यकालका तीनवटा प्राथमिकताहरू निर्धारण गर्नुभयो । ती प्राथमिकता पूरा गर्न तपाईंलाई चाहिने नीति, संरचना, जनशक्ति र श्रोत के हो ? एक महिनाभित्र गृहकार्य सक्नुहोस् । यसका लागि देश, विदेशमा काम गरिरहेका योग्यतम् पचास वा सयजना नेपाली विषय विज्ञहरूलाई सिंहदरबार झिकाउनुहोस् ।

निश्चित समयभित्र आफ्ना प्राथमिकताहरू कार्यान्वयन गर्ने कार्यतालिका तयार गर्नुहोस् । रणनीति बनाउनुहोस् । त्यसपछि रात-दिन कार्यान्वयनमा जुट्नुहोस् । अर्थात् विषयगत मन्त्रालयलाई काम दिनुहोस् । व्यवस्थापिकालाई काम दिनुहोस् । कानूनी तथा नीतिगत प्रबन्धहरू मिलाउनु होस् । नीति तथा कार्यक्रम त्यसरी नै बनाउनुहोस् । बजेट त्यसरी नै तयार गर्नुहोस् । श्रोत खोज्नुहोस् । संरचना बनाउनुहोस् । चाहिने जनशक्तिको नक्साङ्कन गर्नुहोस् । र, अनुगमनलाई प्रभावकारी बनाउनुहोस् ।

अब सुन्न पाइयोस् कि हाम्रो प्रधानमन्त्री मध्यरातसम्म काम गर्छन् । कथाजस्तो लागोस् । किंवदन्ती झैँ लागोस् । मान्छेले भनून् प्रचण्डलाई केही गर्ने भुत चढेको छ । यो सबै गरिरहँदा तपाईं आसेपासे, दलाल र बिचौलियाबाट बच्नुहोस् । स्तुतिगान हैन, आलोचना र प्रश्नहरू सुन्नुहोस् ।

मेरो सल्लाह छ, तपाईं आफैँ त्यो सम्पूर्ण प्रक्रियामा संलग्न हुनुहोस् । समय निकाल्नुहोस् । अनावश्यक भेटघाट बन्द गर्नुहोस् । उद्घाटन र भाषण बन्द गर्नुहोस् । तपाईं वडाध्यक्षजस्तो धारा, कुलो, पाटी र चौताराको उद्घाटनमा किन जानुहुन्छ ? के हो त्यो मेलम्चीको पछिल्लो उद्घाटन ? पटक-पटक एउटै परियोजनाको शिलान्यास र उद्घाटन गर्न तपाईंलाई लाज लाग्दैन ?

कृपया ! यो सबै बन्द गर्नुहोस् । अब सुन्न पाइयोस् कि हाम्रो प्रधानमन्त्री मध्यरातसम्म काम गर्छन् । कथाजस्तो लागोस् । किंवदन्ती झैँ लागोस् । मान्छेले भनून् प्रचण्डलाई केही गर्ने भुत चढेको छ । यो सबै गरिरहँदा तपाईं आसेपासे, दलाल र बिचौलियाबाट बच्नुहोस् । स्तुतिगान हैन, आलोचना र प्रश्नहरू सुन्नुहोस् ।

आफ्ना मन्त्री, सचिवालय, कर्मचारी, आयोग वा अन्य आफू वरिपरिका मान्छेको क्षमता हेर्नुहोस् । पार्टी नहेर्नुहोस् । कतै तपाईंको दाँया-बाँया भ्रष्टाचार पो हुँदैछ कि ? आफ्ना नाता-गोतालाई सिंहदरबारबाट टाढा राख्नुहोस् । आफ्नो सचिवालयलाई देशकै अब्बल, क्षमतावान् र इमान्दार मान्छेले भर्नुहोस् । यस्तो होस् कि तपाईंको कार्यालय हेरेर मान्छेहरू आशाावादी बनून् ।

मेरो दोश्रो सुझाव भुइँ तहसँग सम्बन्धित छ । किनभने भुइँ हाम्रो आधार हो । तपाईंलाई सानो नीति स्मरण गराउँछु, ‘भुइँ नटेकी दौडनेहरू पछारिन्छन् ।’ मानौँ, तपाईंले सुरू गर्नुभएको प्राथमिकतामा आधारित कामले परिणाम दिन समय लाग्ला । वा, त्यसबाट सबैभन्दा गरिब समुदायलाई तत्कालै लाभ नमिल्ला । के उनीहरूलाई अझै पर्खाउने ? कति पर्खाउने ? के भोकाहरूप्रति तपाईंले विवेक पुर्‍याउनु पर्दैन ?

जगजाहेर छ, आज हामी गरिबी, असमानता र दिशाशीनतामा फसेका छौँ । एकातिर भ्रष्टाचार तीव्र छ, अर्कोतिर भुइँमान्छे जीविकाको कष्टमा छन् । ईकोनोमिक्स सर्भेका (०२२/२३) अनुसार नेपालमा अझै १५.१ प्रतिशत मान्छेहरू गरिबीको रेखामुनि छन् । अर्थात् ४५ लाख मान्छेहरू अझै खाना, नाना र छानाको सकसमा छन् । जो दैनिक १.९० डलरभन्दा कम कमाउँछन् ।

नेपालमा अझै १५ लाख मान्छेहरू बिजुलीको पहुँचबाहिर छन् । सन् २०१६ मा गरिएको खाद्य सुरक्षासम्बन्धी सर्वेक्षणअनुसार नेपालमा अझै ४६ लाख मानिस खाद्य सुरक्षाको जोखिममा छन् । हाम्रोमा लगभग १० लाख बालबालिका अझै निकृष्ट श्रम गर्दछन् । अझै ४० प्रतिशत नागरिकलाई स्वास्थसेवा सर्वशुलभ छैन ।

वार्षिक दशलाखभन्दा धेरै मान्छे कामको खोजिमा भारत र अन्य देशमा जान्छन् । अर्थात् दश वर्षमा एक करोड । यसरी त देश रित्तिन के बेर ? हाम्रा युवा भाडाको सिपाही बनेर मरिरहेका छन् । रुस, यूक्रेन, इजरायल र गाजा त पछिल्ला उदाहरण मात्र हुन् । राष्ट्र निर्माणको काम अधुरै छ । राज्य न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक छैन ।

भुइँमा पछारिएको त्यो वर्ग निराश छ । ऊ तपाईंसँग निराश छ । सिंहदरबारसँग निराश छ । लोकतन्त्रसँग निराश छ । उसलाई लाग्छ, उसको कोही छैन । प्रधानमन्त्री महोदय ! तपाईं गंगा र रेणुको मात्र पिता होइन । यो कुरा आफ्ना नागरिकलाई अनुभूति गराउनुहोस् ।

तपाईंलाई अवश्य नै थाहा हुनुपर्छ कि सडक, ओढार, कान्ला र अनकन्टारमा भोक, रोग र विभेदले थिलथिलो पारिएका अभागी (?) मान्छेको देश हो यो । भुइँमा पछारिएको त्यो वर्ग निराश छ । ऊ तपाईंसँग निराश छ । सिंहदरबारसँग निराश छ । लोकतन्त्रसँग निराश छ । उसलाई लाग्छ, उसको कोही छैन । प्रधानमन्त्री महोदय ! तपाईं गंगा र रेणुको मात्र पिता होइन । यो कुरा आफ्ना नागरिकलाई अनुभूति गराउनुहोस् ।

त्यसैले मेरो सुझाव छ, भुइँलाई परिवर्तनको आभास दिनुहोस् । मान्छेलाई ‘नागरिक पहिलो’ को आभास दिनुहोस् । अन्यथा, तपाईं सिंहदरबारमा हुनु वा नहुनु आफैँमा महत्त्वहीन कुरा हो । अन्यथा, संविधानमा लेखिएको समाजवाद इतिहासलाई झुक्याउने मात्र जाली कुरा हो । अन्यथा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र भुइँमान्छेका लागि मात्र एक भ्रम हो ।

मेरो टिप्पणी कडा भएमा माफ पाउँ । अन्यथा, तपाईं स्वयम्‌ले लडेको युद्ध आममान्छेका लागि फगत लालआतङ्क हो । र, तपाईं त्यो आतङ्कको एक अभिसप्त खलनायक हो ।

प्रधानमन्त्री महोदय ! मेरो तेश्रो सुझाव सुशासनसँग सम्बन्धित छ । तपाईंलाई सल्लाह दिन्छु, आफ्ना विरोधी, आलोचक र सुभचिन्तक सबैलाई अचम्म हुनेगरी सुशासनको प्रत्याभूति दिनुहोस् । यसका लागि तीनवटा काम प्रस्ताव गर्छु, पहिलो मितव्ययीता, दोश्रो प्रभावकारिता, तेश्रो दण्ड-सजायको प्रबन्ध ।

जस्तो कि सार्वजनिक खर्च पुनरावलोक आयोगका अनुसार हाम्रा ६ वटा मन्त्रालय, तीनदर्जन आसपास महाशाखा, दर्जनौं विकास समिति र आयोगहरूलाई या त खारेज गर्न सकिन्छ, या त मिलाउन । त्यसो गर्दा अहिले नै हजारौं कर्मचारीको खर्चबोझ कम हुन्छ । कृपया ! यसको प्रक्रिया थाल्नुहोस् ।

सरकारले केही वर्ष नयाँ गाडी खरिद नगर्ने हो भने अरबौं जोगिन्छ । सरकारी साधनको दुरूपयोग अर्को बेथिति हो । रोक्न सकिन्छ । अहिले साप्ताहिक बिदा एकदिन दिइन्छ, दुईदिन गर्न सकिएला । त्यसो त मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयमा दिइने बैठक भत्ता रोक्दा नै अरबौं जोगिन्छ ।

यहीँनेर आर्थिक अनुशासनको कुरा आउँछ । जस्तो कि आज भ्रष्टाचार चर्को छ । सर्वत्र बेथिति । परियोजना सुरू हुन्छन्, पूरा हुँदैनन् । ठेकेदारले काम गर्दैन । ऋण लिएर सुरू गरिएका परियोजनाहरू छन् । ऋण बढ्दैछ । तर, परिणाम शून्य । ठूला परियोजनाहरू सुरू त हुन्छन् । तर, समयमा सम्पन्न हुँदैनन् ।

आज प्रत्येक राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रारम्भिक अनुमान भन्दा दोब्बर वा तेब्बर समय र पैसा खर्च भइरहेको छ । के यस्तै हुन दिने ? यसमा तीनवटा काम गर्नुहोस् । पहिलो, देशमा सञ्चालन भइरहेका निश्चित अंक (मानौँ, ५० करोड) माथिका सम्पूर्ण परियोजनाहरूको स्थिति मूल्याङ्कन गरी, एक महिनाभित्र दोषीलाई कारबाही गर्ने अभियान थाल्नुहोस् ।

ढिलासुस्तीको उचित कारण छैन भने ठेक्का रद्द गराउनुहोस् । क्षतिपूर्ति भराउनुहोस् । कानूनी त्रुटि छन् भने सुधार गर्नुहोस् । यसैगरी विगतमा भएका चर्चित भ्रष्टाचारका काण्डहरूको फायल खोल्नुहोस् । अहिलेसम्म राजकीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न जिम्मेवार निकायलाई आदेश दिनुहोस् । सम्पत्ति जफत गर्नुहोस् । दोषीलाई सजाय दिनुहोस् । यदि अख्तियारले काम गर्दैन भने लोकपाल बनाउनुहोस् ।

के तपाईं देशमा सम्भावनाको नयाँ उज्यालो सृजना गर्न सक्नुहुन्छ ? अन्यथा, इतिहासमा भएका अनेकौं असफल प्रधानमन्त्रीको सूचीमा तपाईं एकजना थपिनुहुनेछ । त्यसले हामीलाई के फरक पर्छ ? इतिहास स्वयम् लजाउने अर्को फोटो सिंहदरबारमा टाँसेर देशलाई हुन्छ के फाइदा ?

प्रधानमन्त्री महोदय ! के तपाईं यति गर्न सक्नुहुन्छ ? के तपाईं देशमा सम्भावनाको नयाँ उज्यालो सृजना गर्न सक्नुहुन्छ ? अन्यथा, इतिहासमा भएका अनेकौं असफल प्रधानमन्त्रीको सूचीमा तपाईं एकजना थपिनुहुनेछ । त्यसले हामीलाई के फरक पर्छ ? इतिहास स्वयम् लजाउने अर्को फोटो सिंहदरबारमा टाँसेर देशलाई हुन्छ के फाइदा ?

चौथो सुझाव केही व्यक्तिगत छ । यद्यपि तपाईंको व्यक्तिगत चरित्रमाथि मलाई भन्नु केही छैन । तर, मेरो प्रधानमन्त्रीलाई मैले भन्नुछ, महोदय धेरै नबोल्नुहोस् । आरोप-प्रत्यारोप नगर्नुहोस् । बोल्दा गृहकार्य गरेर बोल्नुहोस् । तथ्यमा बोल्नुहोस् । विद्वान्, विषय विज्ञ र अनुभवले खारिएका अनेकौं व्यक्तिसँग सङ्गत बढाउनुहोस् । जे बोल्नुहुन्छ, त्यसलाई कार्यान्वयन गर्नुहोस् ।

तपाईं कुनै वर्ग, जात, धर्म, लिङ्ग, सम्प्रदाय र पार्टीको मात्र प्रधानमन्त्री हैन । यो कुरा ख्याल राख्नुहोस् । र, ‘प्रधानमन्त्रीले बोलेपछि सकियो’ भन्ने बनाउनुहोस् ।

मलाई लाग्छ सिंहदरबारमा तपाईंको वरिपरि बस्ने र पार्टीका आँगन धाउनेहरूको क्षमताले यो देश बन्दैन । यो देशलाई ‘समाजमा मिस फिट’ राजनीतिक कार्यकर्ता हैन, अब्बल मान्छे चाहिएको छ । कृपया ! यो कुरा आफ्ना आसेपासेलाई बुझाउनुहोस् र तपाईंको आँगनबाट बिदा गर्नुहोस् ।

मलाई लाग्छ, प्रधानमन्त्री हुनु भनेको चानचुने कुरा होइन । त्यसैले चानचुने कुरा नगर्नुहोस् । चानचुने सपना नदेख्नुहोस् । चानचुने काममा नअल्मलिनुहोस् ।

प्रधानमन्त्री हुनु भनेको नाता, कुटुम्ब, धन, दौलत भन्दामाथि हुनु हो । लोभ, मोह, संसारिक स्वार्थ र अहङ्कार साधारण मान्छेका बन्धनहरू हुन् ।

महोदय, यी सबैबाट विमोक्ष हुनुहोस् । प्रधामन्त्रीज्यू, कृपया उज्यालोतिर हिँड्नुहोस् । अन्यथा, तपाईं अँध्यारोतिर जतिसुकै दौडिए पनि उज्यालो खोज्नेहरूलाई त्यसले कुनै फरक पर्दैन ।

[email protected]

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved