राजतन्त्रसँग गणतन्त्रको तुलना-भूतसँग मित लगाउँदै बस्ने कि विश्व प्रगतीको साझेदार बन्ने ?

दक्षिणपन्थ आज हाम्रो मुख्य समस्या हैन । ३ दशकदेखि निरन्तर ७ प्रतिशत भोट नकटाउने दक्षिणपन्थ वा राजावादीसँग तर्सिएर हामी आफ्नो मूल समस्याबाट विमुख हुन सक्दैनौं । हामी विश्व–प्रगतिको साझेदार हुन चाहन्छौँ, भूतसँग मित लगाउँदै बस्ने हैन । 

राजतन्त्रसँग गणतन्त्रको तुलना-भूतसँग मित लगाउँदै बस्ने कि विश्व प्रगतीको साझेदार बन्ने ?

केही हप्तायता सञ्चार माध्यममा आएका विचार–आलेखको प्रवृत्ति हेर्दा एक अचम्मको निराशाजक तथा प्रतिरक्षात्मक भावना र दृष्टिकोण भेटिन्छ । केही चर्चित बौद्धिक, लेखक तथा स्तम्भकारले पञ्चायतकालीन तथा राजतन्त्रात्मक अवधिका तथ्यांकसँग तुलना गरेर गणतन्त्रको उपलब्धि प्रमाणित गर्न खोजेको पाइयो।

कसै-कसैको त केसम्म भनाइ छ भने– कुनै देश बन्ने वा बिग्रने कुरामा आन्तरिक कम र विश्व परिवेश बढी जिम्मेवार हुन्छ । भारत र चीनले प्रगति गर्दै जाँदा बीचमा भएको नेपाल मात्र अछुतो रहन सक्दैन । सन् २०७५ सम्म चीन र भारत अमेरिकाभन्दा पनि ठूलो अर्थतन्त्र हुनेछन्। दुई ठूला अर्थतन्त्रको ‘ओभर फ्लो’ बीचमा रहेको नेपालमा हुनेछ र नेपाल स्वस्फूर्त विकास हुनेछ । नेपालीले अरु धेरै केही गर्नै पर्दैन, त्यो दिन पर्खिने धैर्यता हुनुपर्दछ । यथार्थमा यी दुवै तर्कप्रणाली अनुचित र गलत हुन् ।

पहिलो कुरा–संघीय लोकतान्त्रिक गणतन्त्र कुनै निरंकुश, तानाशाही, बर्बर र मध्ययुगीन प्रणालीसँग तुलनीय नै हुँदैन । लोकतन्त्रको आफ्नै गरिमा र सौन्दर्य छ । आफ्नै विश्व परम्परा, मूल्यमान्यता र महत्ता छ । राणाशासन, पञ्चायत र राजतन्त्रजस्ता व्यवस्था र प्रणालीसँग तुलना गरेर यसको श्रेष्ठतालाई सिद्ध गर्नु आफैँमा दु:खद् हो । यो अतुलनीय विषय बीचको तुलना हो । जुन लोकतन्त्रको श्रेष्ठता कुनै प्रकारको निरंकुशता र तानाशाहीसँग तुलना गरेर पुष्टि गर्नुपर्दछ, त्यो लोकतन्त्र के लोकतन्त्र ?

लोकतन्त्रका विभिन्न प्रकार, आयाम र प्रारूपबीच तुलना हुन सक्दछ । लोकतन्त्रको कुन मोडलमा के-कस्ता सबलता र दुर्बलता छन्, कुन बढी उपयुक्त हुन सक्दछ भन्ने तुलनात्मक अध्ययनको आफ्नै महत्त्व र औचित्य हुन्छ । संसारमा लोकतन्त्रका विभिन्न मोडेल छन्। स्विस मोडेलको प्रत्यक्ष लोकतन्त्र छ । अमेरिकी मोडेलको प्रत्यक्ष निर्वाचन प्रणालीसहितको उदार लोकतन्त्र छ । फ्रान्सेली मोडेलको मिश्रित लोकतन्त्र छ । लोकतान्त्रिक सिद्धान्तभित्र उदार लोकतन्त्र, सामाजिक लोकतन्त्र, सहभागितामूलक लोकतन्त्र, समावेशी लोकतन्त्रजस्ता अवधारणा छन्।

हामी करिब दुई दशक लामो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिद्ध गर्न हिजोका राणाशासन, पञ्चायत र राजतन्त्रसँग यसको तुलना गर्दछौं भने आफैँमा लाजमर्दो हो । यस्तो तुलनाले गणतन्त्रलाई कमजोर बनाउँछ, बलियो हैन ।

हामीले अहिले बेलायतमा जन्मिएर भारत हुँदै नेपाल आएको संसदीय लोकतन्त्र अपनाएका छौं । यद्यपि, संसदीय लोकतन्त्रमा केही विकास र विस्तार पनि गरेका छौं । बेलायत र भारतभन्दा फरक समावेशिता र समानुपातिक निर्वाचन प्रणालीलाई थपेका छौं । तर, आधारभूतरूपमा यो संसदीय लोकतन्त्र नै हो। लोकतन्त्रको विकास, विस्तार र सघनीकरण कहाँनेर, किन र कसरी गर्न सकिन्छ भन्ने बहसको अर्थ अहिले पनि छ । यद्यपि, दुई-दुई पटकका संविधानसभाको अवधिमा यस्तो बहस भएकै थियो।

तर, हामी करिब दुई दशक लामो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिद्ध गर्न हिजोका राणाशासन, पञ्चायत र राजतन्त्रसँग यसको तुलना गर्दछौं भने आफैँमा लाजमर्दो हो । यस्तो तुलनाले गणतन्त्रलाई कमजोर बनाउँछ, बलियो हैन ।

यो सही हो कि हाम्रो लोकतन्त्रका अनेक समस्या छन् । लोकतन्त्र लोकतन्त्रजस्तो नभएर दलतन्त्र, गुटतन्त्र, नेतातन्त्र, सिन्डिकेटतन्त्र र कतिपय अवस्थामा लुटतन्त्रजस्तो भएको छ । राजनीतिक दल र तिनका नेताहरूले लोकतन्त्रको सौन्दर्यलाई पर्याप्त फर्किन र जनमुखी हुन दिएका छैनन् । प्रशासक र कर्मचारीतन्त्रले सुशासनलाई भन्दा प्रक्रियामुखी र भ्रष्ट लालाफित्ताशाही अवलम्बन गरेको छ ।

आर्थिक क्षेत्रमा खुल्ला बजार नीति अनुरूपको पारदर्शी, स्वच्छ र रचनात्मक प्रतिस्पर्धा छैन । भ्रष्ट दल, असक्षम प्रशासन र मुनाफाकेन्द्रित बजारतन्त्रको त्रिकोणीय सिन्डिकेटले आम नागरिकका आपेक्षालाई प्रत्यक्ष, अप्रत्यक्ष कुल्चिने प्रयत्न गरेका छन् । तसर्थ, हाम्रो लोकतन्त्र अपेक्षित रूपमा फलदायी र विश्वसनीय हुन सकेको छैन ।

नागरिकको मनमा प्रश्न छ–यही हो त लोकतन्त्र ? यस्तै हो त गणतन्त्र ? प्रत्येक नागरिकले जब हृदयदेखि ‘मेरो लोकतन्त्र’ भन्ने छन्, लोकतन्त्रलाई माया गर्नेछन्, लोकतान्त्रिक मुलुकको नागरिक हुनुमा गौरव गर्नेछन्, तब मात्र लोकतन्त्र साँचो अर्थमा फुलेको, फक्रिएको, फलेको मान्न सकिन्छ । ठीक हो, अहिले नै त्यो अवस्था आइसकेको छैन ।

यदाकदा मानिसलाई लाग्न सक्दछ कि, दक्षिणपन्थी हल्ला र हौवाबीच त्यस्तो तुलना आवश्यक हुन्छ । यो दक्षिणपन्थी आक्रमणबाट लोकतन्त्रको प्रतिरक्षा गर्ने दायित्वसँग जोडिएको काम हो । यस दृष्टिकोणले केही हदसम्म कुरा ठीकै हो । तर, यहाँनेर पनि ध्यान दिनुपर्ने सत्यको अर्को पाटो छ ।

सत्यको अर्को पाटो पनि छ । हाम्रो लोकतन्त्र विश्वस्तरमा तुलनीय र गुणस्तरीय भइनसकेको होला तर यो राणाशाही, पञ्चायत र राजतन्त्रसँगचाहिँ तुलनीय हैन । गुलाफका बोटहरू एकअर्कामा तुलनीय होलान, कुन बोट फक्रिएको छ, कुन कक्रिएको छ, कुन बोटले पर्याप्त मलजल पायो, कुनले पाएन, कुनमा किरा लाग्यो, कुनमा लागेन यस्तो तुलना हुनसक्दछ तर बनमारा र ‘गन्धेझार’ सँग गुलाफका बोटहरूको तुलना गरिँदैन ।

यदाकदा मानिसलाई लाग्न सक्दछ कि, दक्षिणपन्थी हल्ला र हौवाबीच त्यस्तो तुलना आवश्यक हुन्छ । यो दक्षिणपन्थी आक्रमणबाट लोकतन्त्रको प्रतिरक्षा गर्ने दायित्वसँग जोडिएको काम हो । यस दृष्टिकोणले केही हदसम्म कुरा ठीकै हो । तर, यहाँनेर पनि ध्यान दिनुपर्ने सत्यको अर्को पाटो छ । दक्षिणपन्थ आज हाम्रो मुख्य समस्या हैन । ३ दशकदेखि निरन्तर ७ प्रतिशत भोट नकटाउने दक्षिणपन्थ वा राजावादीसँग तर्सिएर हामी आफ्नो मूल समस्याबाट विमुख हुन सक्दैनौं । यो त सहायक कुरालाई प्रमुख बनाएजस्तो भयो । मुख्य कार्यभारलाई बिर्सेजस्तो भयो ।

अलिअलि हल्ला राजावादी, सामन्ती, दक्षिणपन्थी तथा निरंकुशतावादी तत्त्वहरूले गर्दै गरून्, गर्दैछन् पनि । खासै फरक पर्दैन त्यसले । त्यो उनीहरूको लोकतान्त्रिक अधिकार हो भनेर बुझिदिँदा पुग्छ । लोकतन्त्रमा राजावादी हुन पाइन्छ भन्ने यथार्थले स्वयं उनीहरूलाई लज्जित बनाउने हो । किनकी, राजतन्त्रमा लोकतन्त्रवादी, गणतन्त्रवादी हुन पाइँदैनथ्यो । यही सानो तुलनाले स्वयं उनीहरूले आफ्नो हिनतालाई अनुवोध गर्न सक्नेछन्। यही हिनताले उनीहरूलाई सिध्याउने छ । उनीहरूलाई सिध्याउन हामीले अतिरिक्त बल लगाइरहनु नै पर्दैन।

आजको हाम्रो मूल समस्या भनेको दक्षिणपन्थ हैन, यथास्थितिवाद हो । राजावादी हैनन्, कांग्रेस–कम्युनिस्टका गैरजिम्मेवार चरित्र हुन् । यो देशमा अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट खतरा छ भने राजावादीबाट हैन, कांग्रेस–कम्युनिस्टहरूको गैरजिम्मेवार चरित्र, असक्षमता, नालायकी, अवसरवाद, भ्रष्ट व्यवहार र अलोकतान्त्रिक संस्कृतिबाट छ ।

तर, यस्तो तुलनालाई सार्वजनिक विमर्शको मूल प्रवृत्ति बनाउने हो भने त्यसले अर्को जोखिम पैदा गर्दछ । त्यो हो– यथास्थितिवादको प्रतिरक्षा वा पक्षपोषण । आजको हाम्रो मूल समस्या भनेको दक्षिणपन्थ हैन, यथास्थितिवाद हो । राजावादी हैनन्, कांग्रेस–कम्युनिस्टका गैरजिम्मेवार चरित्र हुन् । यो देशमा अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट खतरा छ भने राजावादीबाट हैन, कांग्रेस–कम्युनिस्टहरूको गैरजिम्मेवार चरित्र, असक्षमता, नालायकी, अवसरवाद, भ्रष्ट व्यवहार र अलोकतान्त्रिक संस्कृतिबाट छ । दक्षिणपन्थ त आफैँ असान्दर्भिक भइसकेको कुरा हो । त्यसले के जोखिम गर्छ ?

एउटा सानो आर्थिक सूचकलाई उदाहरण बनाएर भनौं, अबको तुलना कस्तो हुनुपर्दछ । जस्तो कि, पञ्चायतकालको उत्तरार्धमा देशको प्रतिव्यक्ति आय १८५ डलर थियो । अहिले १४०० डलर पुगेको छ । यो करिब ७ गुणाभन्दा बढीको वृद्धि हो । तर, ठीक यतिबेला विश्वको प्रतिव्यक्ति आयचाहिँ कहाँ छ ? औसत १४००० डलर र सबैभन्दा उच्च १ लाख ४० हजार डलर छ ।

अब प्रश्न उठ्छ, पञ्चायतभन्दा ७ गुणा बढी छौं भनेर गर्व गर्ने कि, किन विश्वको औसतभन्दा १० गुणा र उच्चभन्दा १०० कम छौं भनेर सोच्ने ? मलाई लाग्छ हामीले पञ्चायत र राजतन्त्रसँग तुलनै गर्नु हुँदैन ।

त्यसो गर्दा हाम्रो सोच सानो हुन्छ । साँघुरो हुन्छ । प्रगतिको लक्ष्य कमजोर हुन्छ । सपनाहरू शिथिल हुन्छन्। हामीले भविष्यमुखी हैन, भूतमुखी यात्रा गर्न थाल्ने छौं । दक्षिणपन्थलाई अनावश्यक रूपले सान्दर्भिक बनाइरहने छौं । हाम्रा हरेक कर्म र तथ्यांकलाई हामीले विश्व र समग्र मानव जातिको प्रगतिसँग तुलना गर्ने हो, नाथे राजतन्त्रसँग हैन।

समस्या त संसारका हरेक देशमा हुन्छन् । विकासको नयाँ चरणमा नयाँ-नयाँ समस्या आइरहनु स्वाभाविक र प्राकृतिक कुरा हो । समस्या छ भन्दैमा के तिनले भूतमुखी यात्रा गर्दछन् ? समस्या त अमेरिकामा पनि छ, के उनीहरूले समस्या भयो बेलायती राजतन्त्रको युगमा फर्कौं भन्छन् ?

समस्या त संसारका हरेक देशमा हुन्छन् । विकासको नयाँ चरणमा नयाँ-नयाँ समस्या आइरहनु स्वाभाविक र प्राकृतिक कुरा हो । समस्या छ भन्दैमा के तिनले भूतमुखी यात्रा गर्दछन् ? समस्या त अमेरिकामा पनि छ, के उनीहरूले समस्या भयो बेलायती राजतन्त्रको युगमा फर्कौं भन्छन् ? समस्या भारतमा पनि छ, के तिनले समस्या भयो, आजादी र स्वराज खारेज गरौं, अंग्रेजलाई फिर्ता ल्याऔं भन्छन् ?  कदापि भन्दैनन् ।

न अर्थतन्त्रको आकार न वृद्धिदर, न शिक्षा स्वास्थ्य सेवाको विस्तार न साक्षरता र औसत आयुको वृद्धि, न अभिव्यक्ति स्वतन्त्रता, प्रेस तथा सञ्चारजगतको विकास न सडक सञ्चाल र सार्वजनिक यातायात, न आवास, खानेपानी, सरसफाइ चेतना र जीवनको गुणस्तर न भूमण्डलीकरणमा नेपालीको पहुँच, कुनै पनि तथ्यांक राणाशाही, पञ्चायत र राजतन्त्रसँग तुलनीय छैनन्।

तर, प्रश्न फेरि के हो भने–विश्वस्तरसँग तुलना गर्दाचाहिँ यी तथ्यांक कस्ता देखिन्छन् ? यदि विश्व लोकतन्त्र, विकास र समृद्धिसँग तुलना गर्ने हो भने हाम्रो राज्य कहिल्यै गुणात्मक हुन नसकेको एक खिनौटो राज्य हो । यसो हुनुको दोष वा जिम्मेवारी के ७ दशक अघिको राणाशासन, ३ दशक अघिको पञ्चायत र करिब २ दशक अघिको शाहवंशीय राजतन्त्रलाई लगाएर उम्किन मिल्छ ? हामीले आज खोजेको मात्रात्मक हो कि गुणात्मक विकास हो ?

हामीले खोजेको मात्रात्मक विकास हैन । मात्रात्मक विकास त आफैँ हुन्छ । त्यो प्राकृतिक प्रक्रिया हो । हरेक वर्ष केही किलोमिटर सडक थपिन्छ । अन्य सुविधा थपिन्छन् । त्यो त जहिल्यै र जो भए पनि हुने कुरा हो । मात्रात्मक तथा स्वस्फूर्त विकासका लागि कसैले जस अपजस लिन पर्दैन ।
जस्तो कि, अहिले हरेक मान्छेको हात-हातमा मोबाइल छ । घर-घरमा कम्प्युटर छ । के यसो हुनुमा राज्यको कुनै गुणात्मक भूमिका छ ? छैन । यो त प्रविधिको विकास र विश्व बजारले ल्याएको हो । न नेपाल राज्यले यी प्रविधिको आविष्कार गरेको हो, न उत्पादन र वितरण गरेको हो । विश्व बजारमा आएको सुविधालाई राज्यले स्वीकार र सहजीकरण गरेको मात्र हो ।

यदि, मात्रात्मक तथा स्वस्फूर्त विकासको सोच र तरिकालाई मानक बनाउने हो भने राज्य र सरकारसँग गुनासो गर्नुपर्ने कुनै काम छैन । दल र नेताहरूको आलोचना गर्नुपर्ने कुनै दरकार छैन । नेपालको बजारमा आज कुन त्यस्तो सुविधा छैन, जो विश्वका धनी भनिएका देशको बजारमा छ ? के महँगा गाडी छैनन ? के अत्याधुनिक कलेज, अस्पताल छैनन ? के अग्ला घर छैनन ? के बिलासी होटल, रेस्टुराँ र रिसोर्ट छैनन् ? के छैन ? यदि, तपाइँसँग पैसा छ भने सबैथोक छ । युरोप अमेरिकाको सुविधास्तर नेपालमै भोग्न सक्नु हुन्छ ।

विश्व बजार र प्रविधिसँग जोडिएर आउने मात्रात्मक विकासले मात्र कुनै राज्य, राष्ट्र वा समाजको उन्नतिलाई मापन गर्दैन, गर्न मिल्दैन । त्यसको मापन गर्ने भिन्नै विधि र तरिका हुन्छ । त्यो हो– आफ्नै सभ्यता र संस्कृतिको सापेक्षता आफनै अस्मिता, गरिमा र जीवनस्तरको प्रत्याभूति । सुशासन, स्वशासन । समन्यायिक वितरण र समतामूलक समृद्धि । सामाजिक विभेदको अन्त्य, विविधताको वैधानिक मान्यता र संरक्षण । सकारात्मक पहलकदमी र सामाजिक न्याय । प्रकृतिमैत्री दीगो विकास, न्यायिक प्रतिनिधित्व, सार्थक सहभागिता र समुन्नत नैतिक मनोवृत्ति ।

हामीले आफ्नो राजनीतिक मनोविज्ञानलाई अनावश्यक रूपमा बढी भूतमुखी र प्रतिरक्षात्मक बनाइ रहन जरुरी छैन । त्यसो गर्दा भूत र वर्तमानको तुलना हुन थाल्छ । भविष्यको पाटो छुट्छ । भूतसँग मान्छेको स्मृति मात्र हुन्छ । मान्छेले खेल्ने, सुधार गर्ने, उन्नति गर्ने ठाउँ हुँदैन । इतिहास पढ्न र बुझ्न सकिन्छ तर कहिल्यै सच्याउन सकिँदैन ।

नेपाल चुकेको यहाँनेर हो । के यी रोगको औषधि राणाशाही, पञ्चायत र राजतन्त्रसँग थियो र यिनीहरूलाई तुलनीय बनाउने ? कुनै जिउँदो मान्छेको रोगको उपचार कुनै मुर्दासँग हुँदैन । मुर्दा-मुर्दा हो । जिउँदो मान्छे जिउँदो हो । जिउँदो मान्छेसँग हजार कमजोरी र रोग किन नहुन्, त्यसलाई मुर्दासँग तुलना गर्न आवश्यक पर्दैन ।

हामीले आफ्नो राजनीतिक मनोविज्ञानलाई अनावश्यक रूपमा बढी भूतमुखी र प्रतिरक्षात्मक बनाइ रहन जरुरी छैन । त्यसो गर्दा भूत र वर्तमानको तुलना हुन थाल्छ । भविष्यको पाटो छुट्छ । भूतसँग मान्छेको स्मृति मात्र हुन्छ । मान्छेले खेल्ने, सुधार गर्ने, उन्नति गर्ने ठाउँ हुँदैन । इतिहास पढ्न र बुझ्न सकिन्छ तर कहिल्यै सच्याउन सकिँदैन । भूत त भूत नै हो । इतिहास त इतिहास नै हो । त्यसबाट त मात्र पाठ लिने हो । मान्छेले कर्म गर्ने खेल मैदान भविष्य हो । इतिहासका कथा, मिथ वा तथ्यमा हैन, भविष्यका सम्भावनासँग खेल्न सकिन्छ । जहाँ खेल्ने ठाउँ हुन्छ, त्यति प्रगतिले कुरेर बसेको हुन्छ ।

कतिपयले भन्लान्–भविष्य कहिल्यै आउँदैन, त्यो कहिल्यै नआउने एक भ्रम मात्र हो। तर, यो सत्य हैन । भविष्य आउँछ । भविष्य हुन्छ । भविष्य हुन्छ भन्नुको अर्थ हाम्रा आजको योजना, सोच र सपना कुनै दिन साकार हुन्छन्, लक्ष्य र उद्देश्यहरू कुनै दिन हासिल हुन्छन् भन्ने हो । त्यस्तो हुँदै आएको छ र फेरि पनि हुन्छ ।

आज कांग्रेस– कम्युनिस्टसँग नभएको कुनै कुरा छ भने त्यो भनेकै भविष्यको सपना हो । यिनीहरूसँग भूत छ । भव्य इतिहास छ । संघर्षको गाथा छ। यिनीहरूसँग वर्तमान छ । अझै व्यापक संगठन र जनमत छ । यिनीहरूसँग फेरि हामी किन निराश छौं त ? भूत र वर्तमान नभएर त हैन ।

मान्छेको सबैभन्दा ठूलो प्रेरणा नै भविष्यको सपना हो । संसारका सबै उत्कृष्ट, द्रष्टा, स्रष्टा र विचारकले भविष्यको चिन्ता गरेका हुन्छन् । भविष्यको चिन्ता नै त्यस्तो मार्गदर्शन हो, जसले आजको काम किन र कसरी गर्नुपर्दछ, भविष्यसँग त्यसको के सम्बन्ध छ भनेर आकलन गर्न सिकाउँछ । कुनै एक पुस्ताको सपना, त्याग, संघर्ष, इमान र मेहनत बिना अर्को पुस्ताको जिन्दगी सहज भएको दृष्टान्त संसारमा कहिँ पनि छैन ।

आज कांग्रेस– कम्युनिस्टसँग नभएको कुनै कुरा छ भने त्यो भनेकै भविष्यको सपना हो । यिनीहरूसँग भूत छ । भव्य इतिहास छ । संघर्षको गाथा छ। यिनीहरूसँग वर्तमान छ । अझै व्यापक संगठन र जनमत छ । यिनीहरूसँग फेरि हामी किन निराश छौं त ? भूत र वर्तमान नभएर त हैन । यसको कारण हो कि यिनीहरूसँग जोडिएर, यिनीहरूलाई साथ दिएर अब देश र जनताको भविष्य छैन भन्ने लागेको छ।

दक्षिणपन्थको सरोकार भूतसँग हुन्छ । यथास्थितिवादको सम्बन्ध वर्तमानसँग हुन्छ । अग्रगमनको तादाम्यता भविष्यसँग हुन्छ । राजनीतिक विचारधारा र कार्यदिशामा आउने भिन्नताको सार यही हो । तसर्थ, मान्छेको पहिलो राजनीतिक कर्तव्य हो कि तपाईंको आयाम कुन हो ? भूत हो कि वर्तमान हो कि भविष्य हो ? पहिले आफू कहाँ हो कित्ता क्लियर गर्नुस् । सोही अनुरूपको विचारधारा र राजनीतिक शक्ति छान्नुस् ।

दोस्रो तर्क प्रणाली विश्व परिवेश, चीन र भारतको विकासले नेपाललाई आफैँ बनाउँछ भन्ने कुरा मात्रात्मक विकाससँग जोडिएको सोच हो । यदि, त्यसो हुन्थ्यो त भइसक्नुपर्थ्यो । चीन अहिले नै विश्वको दोस्रो अर्थतन्त्र हो, भारत पाँचौं । यी दुवै देशले अहिले नै अभूतपूर्व विकास गरिरहेका छन्, खै त त्यसको नेपालमा प्रभाव ? खासमा त्यस्तो हुँदैन ।

दुई महलका बीचमा कुनै भिखारीको झुप्रो छ भन्दैमा त्यो झुप्रो आफैँ महल हुँदैन । नत महलका बासिन्दा भिखारीको उद्धार गर्न नै आउनेछन् । हरेक राष्ट्रको उन्नति स्वयं त्यही राष्ट्रको संकल्प र रणनीतिले निर्धारण गर्दछ । सही रणनीति निर्माणका लागि विश्व बुझ्नुपर्दछ, भूत हैन । हामी अब हरेक हिसाबले विश्वको नजिक जाने हो । मानव जातिको समग्र प्रगतिसँग तुलनीय हुने हो । हामीले त्यस्तो सोच, अवधारण र राजनीतिक शक्तिलाई साथ दिने हो, जसले विश्व रंगमञ्चमा हाम्रो सम्मानजनक र सन्तोषजनक स्थानको परिकल्पना गर्दछन्।

हामी विश्व–प्रगतिको साझेदार हुन चाहन्छौँ, भूतसँग मित लगाउँदै बस्ने हैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved