प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतको आलटाल किन ?

फाल्गुनको पहिलो साता नेपाल आएका विदेश सचिव विनयमोहन क्वात्राबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको औपचारिक निम्तो प्राप्त हुने अपेक्षा गरेका थिए । तर, क्वात्राले निम्तो दिएनन् । त्यो बेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि भ्रमण हुने सक्ने भन्दै नेपाल पक्षले चित्त बुझायो ।

प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतको आलटाल किन ?
फाइल तस्वीर

काठमाडौं। स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको समय तालिका मिलाउन यथासम्भव कुटनीतिक प्रयत्न गरिरहेका छन् । तर, भारत भने प्रचण्डको भ्रमणका लागि त्यति उत्साहित देखिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्य व्यस्तताको कारण देखाउँदै आलटाल गरिरहेको छ।

फाल्गुनको पहिलो साता नेपाल आएका विदेश सचिव विनयमोहन क्वात्राबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको औपचारिक निम्तो प्राप्त हुने अपेक्षा गरेका थिए । तर, क्वात्राले भ्रमणको निम्तो दिएनन् । त्यो बेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि भ्रमण हुने सक्ने भन्दै नेपाल पक्षले चित्त बुझायो । तर, नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि पनि भारतीय पक्षले खासै रुचि देखाएन।

भारतले खासै रुचि नदेखाए पनि नेपाल पक्षले भने बारम्बार प्रयत्न गरिरह्यो । पछिल्लोपटक वैशाखको दोस्रो साताका लागि भ्रमण तालिका बन्ने भनिएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सहजीकरण गर्न सजिलो होस भन्नका लागि कांग्रेसभित्रको किचलो नमिल्दै एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

परराष्ट्रमन्त्री साउद र भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले निरन्तर प्रयत्न गरे पनि भ्रमण तालिका मिलाउन अझै सम्भव भएको छैन । सम्भवत यही अप्ठ्यारोलाई दृष्टिगत गरी वैशाखको पहिलो हप्ता भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले नेपाल आए । उनले प्रधानमन्त्री प्रचण्ड लगायतका नेतालाई भेटेपछि स्थिति केही सहज भएपनि भारतीय पक्ष अझै आश्वस्त नभएको बताइन्छ ।

भाजपा सरकारले कुटनीतिज्ञभन्दा ‘पार्टी च्यानल’ मा बढी विश्वास गर्दछ । यस मानेमा डा. चौथाइवालेको नेपाल भ्रमण अर्थपूर्ण थियो । भारतीय पक्षले भ्रमण ढिलो हुनुको कारण केही प्रदेशमा हुन गइरहेको विधानसभा निर्वाचनलाई देखाउने गरेको छ । यो वर्ष भारतका १० वटा प्रदेशमा विधानसभा निर्वाचन छ । तीमध्ये त्रिपुरा, मेघालय र नागालैन्डको चुनाव सम्पन्न भइसकेको छ भने कर्नाटकमा मे १० मा चुनाव हुँदै छ ।

त्यसैगरी, छत्तिसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान, तेलंगना र जम्मुकश्मिरमा पनि चुनाव हुनेवाला छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यतिखेर कर्नाटकको निर्वाचन अभियानलाई विशेष महत्त्व  दिइरहेका छन्।

प्रचण्ड भने पहिलो भ्रमण भारतबाटै सुरुवात गर्ने मनसायले चीनको हेनानमा भएको ‘बोआओ फोरम’ मा समेत भाग नलिइ प्रतीक्षा गरिरहेका छन् । बोआओ फोरमका लागि चीनले प्रचण्डलाई विशेष महत्त्वका साथ निमन्त्रणा दिएको थियो तर, उनी गएनन् । त्यसको कारण उनी पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट भ्रमण सुरुवात गर्दा त्यसपछिका दिनमा सामना गर्नुपरेको अप्ठ्यारो हो भनिन्छ । प्रचण्डको पहिलो सरकार ९ महिनामा नै गिरेको थियो ।

बोआओ फोरमको बैठकमा नगएकाले चीन प्रचण्डसँग सन्तुष्ट छैन, तर अस्वाभाविक पनि मानेको छैन । स्रोतको भनाइ छ–‘एमसीसी पारितपछि प्रचण्डले रुझान परिवर्तन गरेको कुरा चीनले राम्ररी बुझेको छ । चीन प्रचण्डमार्फत् एमसीसी रोक्न चाहन्थ्यो । त्यो सम्भव नभएपछि चीन अहिले नेपालको मामिलामा प्रतिरक्षात्मक छ । चीनले सबै कुरा बुझिरहेको छ । तर, पर्ख र हेरको अवस्थामा छ ।’

स्रोतका अनुसार ‘भारत नचिढियोस्’ भनेर मात्र प्रचण्ड ‘बोआओ फोरम’ को बैठकमा नगएका भने हैनन् । उनले एमसीसीपछि आफ्नो रुझान नै परिवर्तन गरेका हुन् । त्यसअघि, उनी भारत–अमेरिकासँग दूरी र चीनसँग निकटता कायम गर्ने मनस्थितिबाट चलिरहेका थिए । तर, यसबीच राजनीतिका आन्तरिक तथा बाह्य दुवै पहलमा परिर्वतन आयो । नेपाली कांग्रेससँग मिलेर जानुपर्ने बाध्यता आन्तरिक राजनीतिमा आयो भने समकालीन विश्वको शक्ति सन्तुलनमा चीनसँगको निकटताले लोकतान्त्रिक विश्वसँगको सहकार्य कमजोर हुने चुनौती थियो ।

जनयुद्धकालको उत्तरार्धमा माओवादीले ‘भारतीय विस्तारवाद’विरुद्ध सुरुङ युद्ध गर्ने घोषणा गरेको थियो । तर, राजा ज्ञानेन्द्रको ‘माघ १९’ को ‘कु’ को कारण त्यो रणनीति परिवर्तन भएको थियो ।

९ महिने सरकारबाट हटेपछि प्रचण्डले नागरिक सर्वोच्चताको आन्दोलन भन्दै भारतलाई सार्वजनिक रूपमा नै ललकार्ने र चुनौती दिने गरेका थिए । त्यो बेला उनले ‘कांग्रेस–एमालेलाई भारतका नोकर’ भन्दै ‘नोकरसँग हैन, मालिकसँगै सीधै वार्ता गर्ने’ बताउने गरेका थिए ।

पछि उनले त्यो रणनीतिबाट पनि कुनै सार्थक परिणाम नआएको स्वीकार गरेका थिए । उनले भनेका थिए–‘मैले जति भारतलाई गाली कसले गर्‍यो  तर परिणाम खै के आयो ?’ प्रचण्डको भारत भ्रमण अब सम्भवत: जेष्ठको तेस्रो सातातिर मात्र हुनेछ ।

तर, भारतले प्रचण्डको भ्रमणका लागि किन रुचि देखाइरहेको छैन ? किन आलटाल गर्दैछ ? यसबारे भने दुई प्रकारका भनाइ पाइन्छन् । एकाथरिको बुझाइमा ‘भारतीय प्रधानमन्त्रीको कार्यव्यस्तता’ नै हुनसक्ने ठान्दछन् ।

भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवाले प्रधानमन्त्री मोदीसँग सिधा सम्पर्कमा बस्ने र नियमित रिपोर्टिङ गर्ने व्यक्ति हुन् । उनले नेपाल आएरै प्रधानमन्त्री प्रचण्डसँग भेट्नु र त्यसपछि भ्रमण तालिका मिलाउने ताउरमाउर बढ्नुले मोदी अनिच्छुक छन् भन्न मिल्दैन ।

अर्काथरि, कुटनीतिक मामिलाका जानकार भने यो विश्लेषणसँग सहमत छैनन् । उनीहरूका अनुसार मोदी प्रचण्डलाई ‘एक अविश्वसनीय व्यक्तित्व’ ठान्दछन् । कहिले चीन र कहिले अमेरिका नजिक हुने तर ‘भारत’ लाई नजानिदो गरी ‘बाइपास’ गर्ने प्रचण्डको चरित्र मोदीलाई मन पर्दैन।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री मोदीसँग पटक-पटक प्रत्यक्ष फोनवार्ता भएको थियो । प्रचण्डसँग भने मोदीको त्यसप्रकारको सिधा फोन वार्तासमेत हुने गरेको छैन ।

२०७९ आषाढको अन्तिम साता तीन दिने भारत भ्रमणमा गएका प्रचण्डलाई अन्तिम समयमा मोदीले भेट नदिइकन फर्काएका थिए । त्यो बेला मोदीसँग भेट्नै भनेर प्रचण्ड नयाँ दिल्ली गएका थिए । तर, उनी भाजपा अध्यक्ष जेपी नड्डासँग मात्र भेटेर फर्किएका थिए ।

स्रोतले भन्छ–‘अहिले पनि मोदी प्रधानमन्त्री प्रचण्डको भ्रमण र भेटघाटका लागि खासै इच्छुक छैनन् । तर, नेपाल पक्षको बारम्बारको आग्रहले कर्नाटकको चुनावपछि प्रचण्डको भारत भ्रमण हुनसक्ने सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved