बारम्बार प्रक्रियामा किन चुक्छन् रवि लामिछाने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यस पार्टीका सभापति रवि लामिछानेका बारेमा टिप्पणी गर्न पाइँदैन। यदि, कसैले टिप्पणी गर्‍यो भने त्यसले ‘श्रद्धाञ्जली’ पाइहाल्छ ।

बारम्बार प्रक्रियामा किन चुक्छन् रवि लामिछाने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यस पार्टीका सभापति रवि लामिछानेका बारेमा टिप्पणी गर्न पाइँदैन। यदि, कसैले टिप्पणी गर्‍यो भने त्यसले ‘श्रद्धाञ्जली’ पाइहाल्छ ।

रवि आफैँ टेलिभिजनकर्मी हुन् । राजनीतिमा आउनु अगाडि उनले टेलिभिजनको पर्दामा उभिएर बोल्न पाउनुपर्छ, टिप्पणी र प्रश्न सोध्न पाउनुपर्छ भनेर धेरैलाई औँला उठाउँथे। पत्रकार मात्रै होइन, रवि वकिल, प्रहरी र न्यायाधीश पनि आफैँ बन्थे ।

तर, आज रविको पेशा फेरिएसँगै बोली र व्यवहार पनि बदलिएको छ । अहिले उनको पार्टी र उनीविरुद्ध बोल्न पाइँदैन। कसैले बोल्न खोज्यो भने ‘बोल्यो कि पोल्यो’ अर्थात् बोलेपछि सिधै ‘श्रद्धाञ्जली’ र आर्यघाट पुगिन्छ ।

टिमको काम गर्ने शैली राम्रो हुँदाहुँदै र रविको नियत असल हुँदाहुँदै पनि उनका कतिपय कार्यशैली र प्रक्रियागत त्रुटिले उनी आफैँले दुःख पाउने गरेका छन्। अमेरिकाबाट फर्केपछि नेपालको एउटा सञ्चारमाध्यममा उनले अमेरिकी नागरिककै हैसियतमा काम सुरू गरे ।

उनी नातेदार भिसामा नेपालमा रहेकाले काम गर्नका लागि ‘श्रम स्वीकृति’ थिएन । तर, सोही विषयमा प्रश्न उठेपछि प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठसँग उनले ‘वाक्-युद्ध’ सुरू गरे । अध्यागमन विभागमा विदेशी नागरिकता र पासपोर्ट त्यागेको भन्दै त्यसबारे बोल्नेलाई रविले उछित्तो काढे ।

उनको नियत सफा नै भएपनि आखिर प्रक्रियागत त्रुटि भएकै रहेछ, त्यो खुल्यो पछि । जुन कुराले अन्ततः उनको उपप्रधानसहितको गृहमन्त्री, सांसद र पार्टी सभापति पदसमेत गुम्यो । रविको त्यही त्रुटिका कारण आज चितवन २ मा उपनिर्वाचन हुनेसम्मको अवस्था आइपर्‍यो ।

उनले अमेरिकी राहदानी र ग्रिनकार्ड त्यागेको कुरा सत्य हुँदाहुँदै पनि कानुनी हिसाबले त्रुटि देखिएपछि सर्वोच्च अदालतले उनको विपक्षमा फैसला गर्‍यो । तर, त्यसलाई उनले अझै पनि मेरो तर्फबाट सामान्य ‘त्रुटि भयो’ भनेका छैनन् । बरु त्यो विषयमा कानुनी दुःख दिएको भनेर युवराज पौडेल सफलसँगै त्यसको समाचार प्रकाशित गर्ने पत्रकार र सामाजिक सञ्जालमा साझेदार गर्नेले ‘श्रद्धाञ्जली’ पाइरहेका छन् ।

अदालतको फैसलापछि रविले जब दोस्रोपटक नागरिकता लिए त्यसमा पनि उनको त्रुटि देखियो । तर, उनले त्यसलाई स्वीकारेनन् । उनले नागरिकता लिन जाँदा कम्तिमा अमेरिकी राहदानी र कार्ड त्यागेको ‘निस्सा’ पेश गर्नुपर्ने थियो। त्यागेको कुरा सत्य होला ! तर, सम्बन्धित निकायमा त्यसको निस्सा त देखिनुपर्‍यो नि ! आज त्यही कारण देखाउँदै उनको नागरिकतामा फेरि प्रश्न उठाउँदै छ ।

रविले गल्ती नगर्दा पनि प्रक्रियागत त्रुटिचाहिँ हुँदै आएका प्रमाणहरू हुन् यी । भर्खरै उनकै पार्टीका उपसभापति डोलप्रसाद अर्याल भारत जान लाग्दा विमानस्थलबाट फर्काइए । यसमा पनि उनको गलत मनसाय थिएन तर, प्रक्रियागत त्रुटि त देखियो नि ! भारत जान नेपाली नागरिकता बोक्नुपर्छ भन्ने कुरालाई सामान्य ठानेर राष्ट्रिय परिचयपत्र देखाउँदा अर्याल जान पाएनन् ।

पछिल्लो समय एक जना व्यवसायीसँग दुई करोड पैसा मागेको आरोपमा रविले सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदबाटै हटाइदिए । ढाकाले गल्ती गरेका थिए भन्ने निष्कर्षसहित उनलाई कारबाही गरिरहँदा रविले फेरि प्रक्रियागत त्रुटिचाहिँ गरेको देखियो ।

रास्वपाले प्रक्रिया नै पूरा नगरी श्रेष्ठलाई हटाएको भन्दै अहिले रविको ‘अल्लारेपन’ भन्दै टिप्पणी सुरू भएको छ । ढाकालाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने रास्वपाको निर्णयमा प्रक्रिया पूरा नभइ संसद् सचिवालयलाई पत्र पठाएको भन्ने कुराले उनको ‘त्रुटि’ औंल्याएको हो ।

यसैलाई आधार बनाएर निर्णय बदर माग गर्दै श्रेष्ठले पार्टीको पुनरावेदन समितिमा अपिल गरेका छन् । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय यो समितिले सदर, बदर वा संशोधन गर्न सक्नेछ । पार्टीभित्रैबाट निर्णय बदर हुने सम्भावना हुँदाहुँदै रास्वपाले संसद् सचिवालयलाई पत्र पठाउनु त्रुटि भएको श्रेष्ठको जिकिर छ। ढाकाकुमारलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पुगेको छ। तर, सभामुख देवराज घिमिरेले यसबारे निर्णय लिएका छैनन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ । रास्वपाले यही व्यवस्थालाई टेकेर श्रेष्ठलाई कारबाही गरेको हो। यो दफाको उपदफा १ मा ‘विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भएबमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्नेछ ।’

तर, कारबाही गर्दा निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनुपर्नेछ। ढाकाकुमारलाई कारबाही गर्नुअघि रास्वपाले स्पष्टीकरण सोधेको थियो । तर, केन्द्रीय समितिको निर्णयउपर पुनरावेदन गर्न पाउने व्यवस्था कानुनमा छ । राजनीतिक दलसम्बन्धी ऐनकै दफा १९ मा पुनरावेदन सुन्ने संयन्त्रको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यो व्यवस्थाअनुसार अब रास्वपाको पुनरावेदन समितिले ढाकाकुमारको कारबाही बदर गर्न पनि सक्नेछ । तर, पार्टीभित्रैबाट निर्णय बदर हुने सम्भावना हुँदासमेत रास्वपाले ढाकाको स्थानमा पठाउने संसद्बारे पनि निर्णय गरिसकेको छ ।

ढाकाको स्थानमा रास्वपाले मकवानपुरकी विन्दवासिनी कंसाकारलाई पठाउने निर्णय गरेको छ । हो यही हो रवि र उनको टिमको त्रुटि ! त्रुटि औंल्याइदिनेलाई ‘धन्यवाद’ र ‘स्याबासी’ दिनुको सट्टा ‘श्रद्धाञ्जली’ दिने अर्को ‘त्रुटि’ नगर्ने कि ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved