टिप्पणी

रविजी, राँगा र भैंसी नचिन्ने कस्तो पत्रकारिता गर्नुभयो ? कसरी बन्नुभयो सांसद ?

रविजी, राँगा र भैंसी नचिन्ने कस्तो पत्रकारिता गर्नुभयो ? कसरी बन्नुभयो सांसद ?

काठमाडौं । संसद्‌मा बजेट अधिवेशन चल्दैछ । जेठ १५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमाथि छलफल गर्न आइतबारदेखि प्रतिनिधि सभा बैठक बोलाइयो । तर, बैठकमा बजेटभन्दा अगाडि भैंसीको प्रवेश भयो । आइतबारको बैठक सोमबार बिहान ११ बजेलाई बोलाइयो । तर, फेरि भैंसीकै प्रवेश भयो ।

प्रधानमन्त्रीको १७ जेठदेखि २० गतेसम्मको भारत भ्रमणमा भएका घटनाक्रमलाई लिएर प्रतिपक्षी दलले विरोध र आलोचना गर्ने र सत्तापक्षले त्यसको बचाउ गर्नेक्रम संसद्को बजेट अधिवेशनको सुरुवातमै देखियो । यत्तिसम्म विषय ठिकै थियो ।

तर, प्रधानमन्त्रीको भ्रमणकै समयमा ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मूर्रा राँगा नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको’ भन्दै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्‍यो । नागरिकता विधेयक र रेशम चौधरीको रिहाइलाई विरोधको कमसल ‘एजेन्डा’ बनाइरहेका प्रतिपक्षी दलहरूलाई ६ वर्ष अगाडिदेखि नै मागिएको १५ वटा मूर्रा राँगा ‘हट्केक’ भइदियो । पशुपतिनाथ मन्दिरको सुनको जलहरीबाट नाङ्गो भइसकेका दललाई ‘मूर्रा राँगा’ लाज ढाक्ने अर्को ‘जडौरी’ भेटियो ।

विरोधका लागि विरोध गर्न ‘खप्पिस’ प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमाथि तिखो व्यङ्ग्यसहित सुझाव दिनेछ भन्ने अपेक्षा थियो । तर,त्यसविपरीत एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबाहेकका कुरामा निहुँ खोजे । भारतसँगको सीमा विवादका कुरा, रेशम चौधरीको आममाफीसहितको रिहाइ र नागरिकता विधेयकमा भन्दा बढी समय ओलीले पनि ‘मूर्रा भैंसी’ र प्रधानमन्त्री प्रचण्डपुत्री गङ्गा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छेउमा उभिएको कुरालाई विरोधको एजेन्डा बनाए । यो कुराले न नेपाल भारत सम्बन्ध बिगार्थ्यो, न सपार्थ्यो । संसद्को रोष्ट्रम प्रयोग गरेर घन्टौंसम्म बेतुक र हावादारी गफ दिने पूर्वप्रधानमन्त्रीको यो बेतुकको ‘टुक्के गफ’ ले जनताको कुनचाहिँ समस्या हल गर्ला ?

अब कुरा गरौं ‘जान्नेलाई छान्ने’ अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने अनि सांसदहरूको । आफूलाई भयंकर जान्ने पत्रकार ठान्ने पूर्वटेलिभिजनकर्मी हालका सांसद मित्र रविको संसद्‌मा बोलेको भाषा र विद्वता झन् टिठलाग्दो देखियो । पत्रकारितामा उनको ज्ञानको भण्डार कति थियो ? वास्तवमा उनी पत्रकार थिए कि टेलिभिजनकर्मी मात्रै थिए ? त्यो बहस अन्तै गरौंला । अहिले यत्ति भनौं असल पत्रकारिता त्यसो हुँदैनथ्यो । पत्रकार कुनै अर्को ग्रहबाट झरेको सर्वश्रेष्ठ र त्रिकालदर्शी हुँदै होइन । उसले समस्या देखाउन सक्ला तर, त्यसको समाधान वा निराकरण गर्ने दायित्व पत्रकारको होइन राज्यको हो । कसैलाई दोषी करार गर्ने, दण्ड र फैसला गर्ने काम देशको प्रहरी, कानुन र अदालतको हो, पत्रकारको त्यो जिम्मेवारी होइन । तर, उनले पत्रकारितामा यस्तो भाष्य निर्माण गरिदिए कि राज्यका अंग केही पनि होइन प्रहरी, कानुन र अदालत सबथोक हामी नै हो । त्यसैको परिणाम आज उरण्ठेउला ‘युटूबे’ को जन्म भयो, जसले भैंसी र राँगा चिन्दैनन् ।

जान्नेलाई छान्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यही पार्टीका सांसददेखि सभापतिसम्मले हिजो संसद्‌मा जे जसरी प्रस्तुत भए त्यो अत्यन्तै छुद्र र असभ्य थियो । एमालेका सूर्य थापा र राप्रपाका ज्ञानेन्द्र शाहीको अभिव्यक्तिकै हाराहारीमा ‘जान्ने पार्टी’का सांसद  एवम् पूर्वशिक्षामन्त्री शिशिर खनालको अभिव्यक्ति पनि टिठलाग्दो र अत्यन्तै भद्दा देखियो ।

देशको प्रधानमन्त्रीमाथि संसद् भवनभित्रै यो खालको असभ्य र छुद्र शब्द बोल्ने ती जान्ने सांसदले घर पुगेपछि परिवार र आफन्तसँग अनि बाहिर जनतामा कस्तो शब्द प्रयोग गर्लान् ?  यसले उनको व्यक्तित्व, पार्टीको स्कूलिङ्ग र नेतृत्वको क्षमताको पनि प्रतिनिधित्व गर्छ होइन र ?  ‘प्रधानमन्त्री जहाजमा आउनुहोला भनेको भैंसी चढेर आउनुभयो’ भनेर नेपालको संसद् भवनभित्र सांसदको लोगो लगाएर उभिएका शिशिर खनालले बोलेको कुराले देश विकासमा कति योगदान पुग्यो होला ? उनको बोलीलाई रेकर्ड बाट हटाइयोस् भन्ने माओवादी नेता हितराज पाण्डेको भनाइको प्रतिवाद गर्दै ‘भैंसी’ चढेको भन्न पाउनुपर्ने रास्वपा संसदीय दलको नेतासमेत रहेका लामिछानेको भनाइले पनि पक्कै देश निर्माणमा योगदान दिनेछ होला ! मानौं रविको भाषामा  देश बिग्रेकै प्रचण्डले राँगा ल्याउने कुरा र सत्तापक्षले धेरै बोलेर हो ।

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले ०८४ को निर्वाचनमा बहुमत ल्याएर देशको प्रधानमन्त्री हुन्छु भनिरहेका छन् । अब प्रश्न उठ्छ राँगा र भैंसी नचिन्ने व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउन नेपाली जनता तयार होलान् ? यदि रवि लामिछानेले राँगा र भैंसी चिन्छन् तर, प्रधानमन्त्रीको विरोधका लागि मात्रै नचिने जस्तो गरेर बोलेका हुन् भने यो झुठो बोल्ने व्यक्तिलाई कसरी विश्वास गर्ने ? हिजो नागरिकता प्रकरणमा झुटो बोलेको कुरा अदालतको फैसलापछि सच्चिएको होइन र ?

अनि अर्को कुरा रवि लामिछानेले नागरिकता विधेयकको विरोध गर्ने नैतिकता कसरी प्राप्त गरे भन्ने कुरा प्रष्ट छ नि होइन ? जब १३ माघ ०७९ मा उनको नागरिकता प्रकरणमा अदालतले फैसला सुनायो अनि ‘म अनागरिक भएँ’ भन्दै रोइलो गर्नुपरेको होइन ? त्यसको २ दिनपछि १५ माघमा नागरिकता पाएपछि मुस्कानसहित नागरिकता लिएको तस्वीर ‘युटूबे’ अगाडि खिचाएको होइन ? आफूले २ दिन नागरिकता नहुँदाको छटपटीलाई एकपटक सम्झने हो कि ? आफ्नै देशमा बसेर यही जन्मेर पनि नागरिकता नहुँदाको पीडा तिनलाई कति होला ? आफ्नो स्वार्थको लागि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नु र पछि स्वार्थकै लागि म नेपाली हुँ भन्नू अनि यही देशमा जन्मेर अनागरिक हुनू फरक कुरा हो नि रविजी, तपाईंको पत्रकारिताले यत्ति कुरा पनि सिकाएन र ?


Comment

2 thoughts on “रविजी, राँगा र भैंसी नचिन्ने कस्तो पत्रकारिता गर्नुभयो ? कसरी बन्नुभयो सांसद ?

  1. समाचार भनेर पढेको आलोचना मात्र रहेछ ।।
    एउटा रमाइलो कुरा —
    तपाईको समाचार को तल पट्टि पनि घन्टी राख्नु भाको रहेछ त ?😁😁😁😁

  2. त गु पत्रकारलाई प्रचण्डेको गुलाई हलुवा सम्झेर खाएर यस्तो लेखेको होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved