रेसुङ्गा जलिरहेछ, काठमाडौंमा जनप्रतिनिधिको भोज चलिरहेछ ! (भिडिओसहित)

गुल्मीमा दुई सातायता भीषण आगलागी भइरहेको छ । नियन्त्रणमा जुट्नुपर्ने प्रमुखसहित जनप्रतिनिधिहरू भने काठमाडौंमा महाभोज गरिरहेका छन् । विपद् व्यवस्थापनमा दिनरात जुट्नुपर्ने सबैजसो जनप्रतिनिधि कमिसन खानकै लागि बजेट सक्न जसरी कार्यक्रम गर्ने तयारीमा छन् । जिल्लाका बासिन्दा भन्छन्, ‘ विपद्को यो समयमा कार्यक्रम जिल्लामै गर्न वा स्थगन गर्न पनि सकिन्थ्यो ।’

नेपालभ्युज

रेसुङ्गा जलिरहेछ, काठमाडौंमा जनप्रतिनिधिको भोज चलिरहेछ ! (भिडिओसहित)

गुल्मी । कुनै बेला इटलीको सहर रोम जल्दा त्यहाँका शासक निरो बाँसुरी बजाउँदै थिए । सबैलाई बोलाएर नाचगान गरेका थिए । बाँसुरी बजाएर कम्मर मर्काइ मर्काई नाचेका थिए ।

यो सुन्दा धेरैलाई लाग्छ, धत् त्यस्तो पनि हुन सक्छ ? आफ्नै नगरमा आगोका हिंस्रक लप्काहरू फैलँदै गर्दा कोही कसरी सङ्गीतमा झुम्न सक्छ ? कोही कसरी भोजमा लिप्त हुन सक्छ ? तर इतिहासमा त्यस्तो थियो ।

झन्डै २ हजार वर्षअघिको त्यो क्रूर इतिहास रोमदेखि ६ हजार ४ सय ८५ किलोमिटर पर नेपालमा पनि दोहोरिएको छ । जसरी त्यहाँ तानाशाह शासकहरू मानवीय संवेदनामाथि खेलबाड गर्नुलाई मनोरञ्जन ठान्थे, ठिक त्यसैगरी गुल्मीमा पनि स्थानीय सरकार प्रमुख र जनप्रतिनिधि यसै गरिरहेका छन् ।

गुल्मीमा दुई सातायता भीषण आगलागी भइरहेको छ । आगो नियन्त्रणमा जुट्नुपर्ने सदरमुकाम रेसुङ्गाका जनप्रतिनिधिहरू भने काठमाडौंमा महाभोज गरिरहेका छन् ।

विपद् व्यवस्थापनमा दिनरात जुट्नुपर्ने सबैजसो जनप्रतिनिधि ‘जाउँ हिँड रेसुङ्गा कार्यक्रम’को बहानामा एक सातायतादेखि काठमाडौंमा छन् । आगो नियन्त्रणमा जुट्नुपर्ने जनप्रतिनिधि काठमाडौंका महँगा होटेल रेस्टुरेन्टमा कार्यक्रम गरिरहेका छन् ।

गुल्मीको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने भन्दै रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्न लागेको हो । नगरपालिकाले बिहीबार काठमाडौंको एक होटलमा कार्यक्रम गरी कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालबाट कार्यक्रम उद्घाटन गराएको छ ।

जबकि वन्यजन्तु, घस्रिने जीव, चरा, पर्यावरणीय तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्य हेर्न भन्दै पर्यटक बोलाउने भन्दै नगरपालिकाले कार्यक्रम गरे पनि जङ्गलमा लागेको आगोले ती सबै प्रभावित भइसकेका छन् । यसकारण कार्यक्रम सान्दर्भिक नभएको गुल्मीका बासिन्दाहरूकै टिप्पणी छ ।

‘‘रेसुङ्गा नगरपालिकाको चरम लापरबाही भयो । मानवीय संवेदना र उत्तरदायित्वको न्यूनतम चरित्र पनि देखाएन । जिल्ला जल्दैगर्दा काठमाडौंमा भोज गरिरहेका छन्,’’ कतिपयले टिप्पणी गरेका छन् ।

भिडिओ-

८० बनमा आगो, १ सय २० घर गोठ नष्ट

गुल्मीमा दुई सातायता आगजनीबाट करोडौँको सम्पत्ति नष्ट भएको छ । सयौँ नागरिक घरबारविहीन भएका छन् । जिल्लाको १२ वटै पालिकामा आगो फैलिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सहायक वन अधिकृत पंकजकुमार ठाकुर बताउँछन् ।

विषेशगरी सदरमुकाम रेसुङ्गा नगपालिका जलेको छ । आगजनीबाट १५० घर गोठ जलेको विवरण प्रहरीमा छ । अझै केही गाउँमा आगो जानसक्ने खतरा छ ।
२० हेक्टर बढी बन जलेको तथ्याङक बल कार्यालयसँग छ । झन्डै ८० वटा सामुदायिक बनमा जलेको छ । आगो झनै फैलिरहेको छ ।

बिजुलीको तार मात्रै १ करोड रुपैयाँ बढीको तार जलेको छ । गाउँठाउँ अन्धकार भएका छन् । नेपाल टेलिकमको टावर समेत जलेको छ । केही गाउँ टेलिफोनबाट सम्पर्कविहीन भएको छ । वन क्षेत्रभित्रका वन्यजन्तु पशुपक्षी, महत्त्वपूर्ण जडीबुटी, रुख–बिरुवा जलेर नष्ट भइरहेको छन् । रेसुङ्गा क्षेत्र, रेसुङ्गा नगरपालिका र नजिकका पालिकाको पानीको मुख्य स्रोत बनजंगल भएकाले आगोले पानीका मूलहरूमा समेत असर गरिरहेको छ ।

अहिले गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुङ्गा र अर्जुन क्षेत्रमा भीषण आगलागी भइरहेको छ । रेसुङ्गामा १५ दिनयता विभिन्न भागमा आगलागी भइरहेको छ ।
दमकलको सङ्ख्या कम भएकोले आगो नियन्त्रणको प्रयास असफल भएको विपद् व्यवस्थापनका प्रतिनिधिहरू बताइरहेका छन् । कतिपय ठाउँमा बाटो साँघुरो भएकाले दमकल समेत जान सक्ने अवस्था छैन ।

आगोले जलेको टेलिफोनको टावर \ फोटो सौजन्य- पत्रकार टोपलाल अर्याल

आगोको लप्का लम्कँदै, जोखिममा थुप्रै गाउँघर

शनिबार दिउँसोबाट लागेको आगोका कारण यज्ञशाला, सिद्ध मन्दिर, रामकुण्ड, एनसेन तथा रेडियो नेपालका टावरहरू जोखिममा परेका छन् । रेसुङ्गामा खानीगाउँको माथिल्लो क्षेत्रबाट सुरु भएको आगोको कारण केही बस्तीहरू जोखिममा छन् ।

त्यस्तै, पराल्मी जाने सडकतिरबाट पनि आगलागी भएको छ । साउने क्षेत्र, सानो रेसुङ्गा तलको क्षेत्रमा पहिलेदेखि नै भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीका अनुसार सुरक्षा निकायका टावर, एनसेन, रेडियो, टेलिभिजनका टावर तथा अर्जुन भगवती मन्दिरसहितको पर्यटकीय संरचना भएको अर्जुन क्षेत्रमा दुई दिनदेखि भीषण आगलागी भइरहेको छ । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण भएको छैन ।

आगलागीले मानवीय संकट निम्त्याइरहेको छ । एकसय बढी परिवार घर जलेर खुला आकाशमुनी आइपुगेका छन् । न खाना छ न घर छ । यस्तै खतरामा धेरै बस्ती छन् । आगजनीले जनस्वास्थ्यका साथै दैनिक जनजीवनलाई धक्का दिएको छ । गुल्मीमा भीषण संकट निम्त्याएको छ ।

आगोको लप्का रेसुङ्गा लनबनमा फैलिएर बस्ती नजिक पुग्दै गरेको संकटको घडीमा मेयर खिलध्वज पन्थीसहित सबैजसो वडाध्यक्ष काठमाडौंमा छन् । आगोबाट जलिरहेको आफ्नो क्षेत्र भगवान् भरोसामा छोडेर उनीहरू एक साताअघि देखिनै ‘जाऊँ हिँड रेसुङ्गा’ कार्यक्रम भन्दै काठमाडौं आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद खनाल पनि काठमाडौंमै छन् ।

आगोले जलेका पशुचौपाया

उपमेयर अमृतादेवि कुँवर अमेरिकामा छिन् । छोरीको निमन्त्रणामा उनी गत विहीबार अमेरिका उडिन् । उपमेयर कुँवर कहिले फर्किन्छिन् टुङ्गो छैन । वडा सदस्यलगायतका केही जनप्रतिनिधि पनि काठमाडौंमै छन् ।

जनप्रतिनिधिहरू आगजनी नियन्त्रण तथा रोकथाम गर्नुको साटो कमिसन खानकै लागि बजेट सक्ने धाउन्नमा हुँदा राजनीतिक दल तथा सामाजिक अगुवाहरूले विरोध गरेका छन् ।

एमाले गुल्मी जिल्ला प्रचार विभाग प्रमुख गणेश श्रीपाइली भन्छन्, ‘‘कार्यक्रम पूर्वनिर्धारित थियो । तै पन रोक्न सकिन्थ्यो । अहिले मेयर तथा सबै जनप्रतिनिधि आगो निभाउन गएको भए हुन्थ्यो । कार्यक्रम पछि उद्घाटन गरेको भए पनि हुन्थ्यो । आम मानिसले पनि यही भनिरहेका छन् ।’

सत्ता र शक्तिको उन्मादमा नगरपालिका प्रमुखले मानवीय संवेदना र उत्तरदायित्व गुमाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्नेको कमी छैन ।

गुल्मीकै पत्रकार मदन खनाल सामाजिक सञ्जालमा लेख्छन्, ‘‘रोम जलिरहेछ, निरोहरू बाँसुरी बजाइरहेछन’ । रेसुङ्गाको यो हाल देखेर सात समुद्र पारी रहेकाको समेत मन रोएको छ । तर, जनप्रतिनिधि काठमाडौंको पार्टी प्यालेसमा भोज गर्दैछन् ।’’

बनका लागेको अगो । फोटो सौजन्य- पत्रकार टोपलाल अर्याल

यता मेयर पन्थी भने आफ्नो आलोचना गर्नेहरूप्रति नै जाइलागिरहेका छन् । एक सातायता काठमाडौंमा बसिरहेका उनले आफ्नो आलोचकलाई सामाजिक सञ्जालमा लेख्न छाडेर आगो निभाउन जान आग्रह गरिहरेका छन् ।

मेयर पन्थी भने, ‘‘फेसबुकमा स्ट्याटस लेखेर कति जनाले आगो निभाए ? मेयरलाई गाली गरेर कति जनाले मनको शान्ति गरे ? आगो निभाउन गएको भए नागरिकले पनि देख्थे । आगो लगाउनेलाई कारबाही गरौँ । लगाइसकेको आगो निभाउन सबै लागौँ ।’’

गुल्मीमा अहिलेसम्म आगजनीबाट भएको क्षतिको विवरण/ स्रोत- जिल्ला प्रहरी कार्यालय गुल्मी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved