काठमाडौं । नेकपा (एमाले) ले यसअघि हटाएको ‘नेतृत्वको उमेरहद ७० वर्ष हुने’ भन्ने प्रावधानलाई पुनः ब्युँताएको चर्चाले राजनीतिमा तरङ्ग पैदा गरेपनि अन्य दलमा भने नेतृत्वको समय कति ? भन्ने कुरामा समेत बहस छैन । नेपाली राजनीतिमा एउटै व्यक्तिले पार्टी स्थापनादेखि दशकौंसम्म नेतृत्व लिइरहँदा पनि अर्को व्यक्ति/नेताले त्यसको प्रतिवादसमेत गरेको देखिँदैन ।
‘नेतृत्वले जे बोल्यो, त्यही ठीक’ भन्ने परिपाटीले धेरैजसो राजनीतिक दललाई गाँजेको छ । नेतृत्वको विरोध गर्दा पार्टीमा अवसर नपाउने र भएकै पद पनि धरापमा पर्ने देखेर कतिपय नेताले अध्यक्ष वा सभापतिविरुद्ध बोल्ने हिम्मत नै गर्दैनन् । जसको फाइदा लिएर पार्टी अध्यक्ष वा सभापतिले निर्मम र स्वेच्छाचारी निर्णय गरेको पनि देखिन्छ ।
नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालालाई सभापतिमा चुनौती दिने चिरञ्जीवी वाग्लेको अवस्था र देउवालाई चुनौती दिने कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि गगन थापासम्मको अवस्था हेर्दा नेतृत्व कतिसम्म निर्मम र तानाशाही हुन्छन् भन्ने स्पष्ट छ ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई महासचिवमा चुनौती दिने सीपी मैनालीदेखि केपी ओलीसँग जुध्न खोज्ने भीम रावलसम्मको अवस्था पनि त्यस्तै दयनीय बनेको छर्लङ्ग छ । नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने नेताहरू कि त पार्टीभित्र ‘कर्नर’ पारिन्छन् कि पार्टी नै छाड्न बाध्य हुन्छन् ।
माओवादी पार्टीमा त झन् यो अवस्था डरलाग्दो छ । त्यसैले पनि ३६ वर्षसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध नेतृत्व दाबी गर्ने कसैले हिम्मत गरेका छैनन् । जसले नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने आवाज उठाए ती आज माओवादी पार्टीमै छैनन् । बाबुराम भट्टराई,मोहन वैद्यदेखि नेत्रविक्रम चन्द ‘विप्लव सी’ र रामबहादुर थापा ‘बादल’ यसका उदाहरण हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुन ‘कम्फर्टेबल’ हुनेगरी विधान संशोधनको प्रस्ताव एमालेले गरेको छ । यसअघि स्व. भरतमोहन अधिकारी, वामदेव गौतम, अमृतकुमार बोहोरालगायतका नेतालाई नेतृत्वमा आउन नदिने मनसायले ल्याइएको ७० वर्षे प्रावधान ओलीको सजिलोका लागि फेरि ल्याइएको देखिन्छ । जसले जसरी व्याख्या र विश्लेषण गरेपनि यो अध्यक्ष ओलीकै सहजताको लागि ल्याइएको हो भनेर बुझ्दा हुन्छ । यदि यो कार्यान्वयन भयो र ओली अध्यक्ष भए भने उनको तेस्रो कार्यकाल सुरू हुनेछ । जसको अवधि पूरा हुँदा ओलीले १५ वर्ष पार्टीको नेतृत्व गर्नेछन् ।
तर, नेपाली राजनीतिमा यस्ता पार्टी पनि छन् जसको नेतृत्व सुरूदेखि आजसम्म एउटै व्यक्तिले गरिरहेका छन् । यसबारे चर्चा गरौँ ।
नेकपा मसालको महामन्त्री रहेका मोहनविक्रम सिंह २०१० सालदेखि नेकपा मसालको जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रीय महामन्त्री छन् । उनी नेपाली कम्युनिष्ट आन्दोलनका जीवित नेताहरूमध्ये सबैभन्दा जेष्ठ हुन् । उनको उमेर ८८ वर्ष पूरा भएको छ ।
मोहनविक्रमपछि पार्टी नेतृत्वमा सबैभन्दा बढी रहेका नेता हुन् हालका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । २०४४ सालदेखि उनी पार्टी नेतृत्वमा छन् । २०४४ सालमा नेकपा (मशाल)को महामन्त्री भएका प्रचण्ड २०८० सम्म पार्टी नेतृत्वमै छन् । यसबीचमा उनको पार्टी नेकपा एकता केन्द्र हुँदै हाल नेकपा (माओवादी केन्द्र) सम्म आइपुग्दा ६ पटक नाम परिवर्तन भएपनि अध्यक्ष भने प्रचण्ड नै कायम छन् । माओवादी पार्टीमा अझै प्रचण्डको उत्तराधिकारी देखिँदैनन् । प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु वा म पार्टी नेतृत्व हाँक्छु भन्ने कुनै नेता देखिएका छैनन्। जसको फाइदा प्रचण्डले अझै लिने निश्चित छ र लिइरहेका पनि छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहित पनि पार्टी नेतृत्वमा लामो समयदेखि थयावत् छन् । उनी पार्टी स्थापनादेखि हालसम्म सो पार्टीको अध्यक्ष छन् । उनको पार्टीले भक्तपुरलाई आधार इलाका बनाएको छ । भक्तपुरको एउटा क्षेत्रमा स्थानीय निकायदेखि प्रदेश र संघीय सांसदसम्म उनकै पार्टीको बर्चश्व रहँदै आएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा मालेलगायत पार्टीमा पनि एउटै व्यक्तिले १५ वर्षभन्दा बढी नेतृत्वमा रहेर पार्टी हाँक्दै आएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव २०५४ देखि नेतृत्वमा छन् । आफैँ अध्यक्ष रहेर उनले मधेसी जनअधिकार फोरम नामको गैरसरकारी संस्था गठन गरेका थिए । पछि त्यही संस्थालाई राजनीतिक दलको रूपमा निर्वाचन आयोगमा दर्ता गरी उपेन्द्र अध्यक्ष बने । यो २६ वर्षमा उपेन्द्रले पार्टीको नाम पटक-पटक परिवर्तन गर्दै हाल जसपा हुँदा पनि नेतृत्व भने छाडेका छैनन् । बीचमा केही समय उनले तत्कालीन राजपा अध्यक्ष महन्थ ठाकुरसँग अध्यक्ष साझा गरे ।
तर, त्यही पनि पहिलो नम्बरको अध्यक्ष को हुने ? भन्ने बहस चल्दाचल्दै महन्थले लोसपा गठन गरेपछि उपेन्द्रको अध्यक्ष बनिरहने बाटो ‘क्लियर’ भयो । यसबीचमा उनले पार्टी आधा दर्जन पार्टीसँग पार्टी एकता गरेपनि अध्यक्ष भने कसैलाई दिएनन् । उनीभन्दा सिनियर भएर पनि डा.बाबुराम भट्टराई, अशोक राई, महन्थ ठाकुरजस्ता नेतासँग पार्टी एकता हुँदा पनि उनले अध्यक्ष आफैँसँग राखे । उनको पार्टीमा अझै उपेन्द्रलाई अध्यक्षमा च्यालेन्ज गर्ने कुनै नेता देखिँदैनन् ।
उपेन्द्र जस्तै महन्थ ठाकुर पनि पार्टी गठनदेखि आफैँ अध्यक्ष छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका महन्थले त्यसपछि पार्टी नाम परिवर्तन गर्दै लोसपासम्म आइपुग्दा अध्यक्ष छाडेका छैनन् । २०६४ वैशाखमा उनले गठन गरेको पार्टीमा तराई केन्द्रित राजनीति गर्दै आएका राजेन्द्र महतो, शरदसिंह भण्डारीजस्ता नेता पनि छन् । तर, ७८ वर्षीय महन्थले पार्टी नेतृत्व कसैलाई जिम्मा दिने सुरसार गरेका छैनन् ।
अर्को नेकपा माले नामको पार्टीमा पनि विगत २४ वर्षदेखि नेतृत्व परिवर्तनको कुनै बहस भएकै छैन । तत्कालीन एमाले नेता वामदेव गौतमले नेकपा एमाले फुटाएर नेकपा माले गठन गरेपनि केही समयमा उनी दलबलसहित एमाले मै फर्किए । त्यसपछि नेकपा मालेको महासचिव रहेका झापा विद्रोहका सशक्त कमाण्डर सीपी मैनाली आजसम्म पनि महासचिव नै छन् । उनको पार्टीमा महासचिव नै कार्यकारी पद हो ।
Facebook Comment
Comment