सुनसरीको चुनावी संग्राम : मैदानमा अधिकांश तीन दशक पुराना अनुहार

विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, भीम आचार्य, अशोक राई जस्ता नेताको अवस्था कस्तो छ ?

गच्छदारले २०४६ साल यताका कुनै पनि चुनाव छोडेका छैनन् र जुनसुकै पार्टीबाट उठे पनि चुनाव जितेका छन् । २०४६ साल यताका सबै आम चुनाव जित्ने गच्छदार शेरबहादुर देउवासँगै देशका दोस्रो व्यक्ति हुन् । यसपटक भने गच्छदारका लागि सुनसरी–३ को चुनाव फलामको च्युरा चपाउनुजत्तिकै गाह्रो हुनेछ । त्यसको दुईवटा कारण छन् । 

सुनसरीको चुनावी संग्राम : मैदानमा अधिकांश तीन दशक पुराना अनुहार

इटहरी । संघीय प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र भएको पूर्वी तराईको जिल्ला सुनसरीमा मंसिर ४ गते हुने निर्वाचनका लागि प्रचारसार तीव्र भएको छ । तर, सत्ता र विपक्षी गठबन्धन दुवैतर्फ अधिकांश दशकौं पुराना उम्मेदवार खडा भएको कारण मतदाता भने खासै उत्साहित छैनन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका १ र नेपाली कांग्रेसका ३ उम्मेदवार छन् । नेकपा ( एकिकृत समाजवादी) ले जिल्लाभरिमा प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ ( ख) मात्र पाएको छ । पाँच दलीय गठबन्धनका ४ प्रतिनिधिसभा उम्मेदवारमध्ये १ मात्र नयाँ छन्, निर्वाचन क्षेत्र–१ मा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङबो ।

माओवादी शान्तिवार्तामा आएदेखि नै उनी सुनसरीको राजनीतिमा थिए तर, प्रतिनिधिसभाको उम्मेदवार हुने अवसर भने पाएका थिएनन् । निर्वाचन क्षेत्र– २, ३ र ४ मा क्रमशः नेपाली कांग्रेसका सीताराम मेहता, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार छन्।

गच्छदार यो निर्वाचन क्षेत्रमा चुनाव लडेको सातौंपटक हो । २०४८, २०५१, २०५६ को चुनावमा उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिए । मधेस आन्दोलनपछि उनी तत्कालीन मधेसी जनाधिकार फोरममा लागे । पहिलो संविधानसभा चुनाव २०६४ मा फोरमको मसाल चिन्हबाट लडे भने दोस्रो संविधानसभा चुनाव, २०७० मा आफ्नै पार्टी बनाएर नमस्कार चुनाव चिन्हबाट लडे । २०७४ को चुनावसम्म आइपुुग्दा उनी कांग्रेसमा फर्किसकेका थिए ।

रमाइलो कुरा– उनले २०४६ साल यताका कुनै पनि चुनाव छोडेका छैनन् र जुनसुकै पार्टीबाट उठे पनि चुनाव जितेका छन् । २०४६ साल यताका सबै आम चुनाव जित्ने गच्छदार शेरबहादुर देउवासँगै देशका दोस्रो व्यक्ति हुन् । यसपटक भने गच्छदारका लागि सुनसरी–३ को चुनाव फलामको च्युरा चपाउनुजत्तिकै गाह्रो हुनेछ । त्यसको दुईवटा कारण छन् ।

पहिलो, धेरैपटक चुनाव लडेको र भ्रष्टाचार मुद्दामा फसेको हुँदा उनको लोकप्रियता गिरेको छ । अर्कोतिर उनको प्रतिस्पर्धी एमाले उम्म्दवार भगवती चौधरी जिल्ला राजनीतिमा झन्-झन् शक्तिशाली हुँदै गएकी छन् । २०७० यता गच्छदारलाई चुनौती दिँदै आएकी भगवती पनि यो निर्वाचन क्षेत्रका लागि नयाँ हैनन्।

झलनाथ खनालको सरकारमा वनराज्यमन्त्री भइसकेकी र यस अघिका दुई चुनावमा गच्छदारलाई बलियो टक्कर दिएकी चौधरी गत स्थानीय चुनाव यता झनै बलियो भएकी छन् । गच्छदार समर्थकले जित्दै आएका निर्वाचन क्षेत्रभित्रका दुई पालिका गढी र बर्जु गाउँपालिकामा गत स्थानीय निर्वाचनमा चौधरी निकट एमाले उम्मेदवार विजयी भएका छन् । चौधरीले यसपटक गच्छदारसँग तेस्रो र निर्णायक प्रतिस्पर्धा गर्दैछिन् ।

क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवार सीताराम मेहता पनि जिल्ला राजनीतिमा दशकौं पुराना अनुहार हुन् । २०४९ को स्थानीय चुनावमा सदरमुकाम इनरुवा नगरपालिकाको उपमेयर हुँदै उनी उदाएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट उनी केन्द्रको उम्मेदवार हुन थाले । पहिलो चुनाव हारे पनि त्यस यताका २०७० र २०७४ को चुनाव उनले जिते । उनी तेस्रोपटक सो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् ।

मेहताका प्रतिस्पर्धी बन्न पुगेका एमाले उम्मेदवार भीम आचार्य पनि जिल्ला राजनीतिमा उत्तिकै पुराना व्यक्ति हुन् । आचार्य २०५१ सालदेखि चुनाव लड्न थालेका थिए । त्यस यताका सबै चुनावमा उनले टिकट पाएका छन्। २०५१  र २०५६ को चुनावमा भने आचार्य हारे । २०६४ र २०७० को चुनाव जिते । २०७४ मा भने प्रदेशसभामा उठेर जिते । उनी छैठौंपटक उम्मेदवार भएका छन्।

नेकपा ( नेकपा) भित्रको विवादको समयमा उनी माधव नेपालको पक्षमा थिए । तर, पार्टी विभाजित हुँदा भने एमाले मै बसे । आचार्यलाई १० बुँदे समूहमा गणना गरिन्छ । यस समूहका भीम रावल र घनश्याम भूसाललाई टिकट नदिए पनि आचार्यलाई ओलीले विश्वास गरेका छन् । बागमतीका अष्टलक्ष्मी शाक्यजस्तै उनी पार्टी विभाजनको समयमा ओली तर्फ मिली छोटो समयका लागि प्रदेश–को मुख्यमन्त्रीसमेत भएका थिए ।

निर्वाचन क्षेत्र–४ मा ज्ञानेन्द्रबहादुर कार्की दोस्रोपटक उम्मेदवार हुँदैछन् । सुनसरीमा दोस्रोपटक भए पनि छिमेकी जिल्ला भोजपुरमा उनी २०४८ सालदेखि नै चुनाव लड्न थालेका हुन् । भोजपुरमा सधै चुनाव हारेपछि उनलाई ‘जीवनभरिको हरुवा’ भन्ने गरिन्थ्यो । सुनसरी आएर उनको चोला फेरियो । अघिल्लो देउवा सरकारको अर्थमन्त्री भएको बेला उनले सुनसरी–४ रोजे । त्यो शक्ति र पहुँचले अहिलेसम्म उनलाई सुनसरीको राजनीतिमा टिकाएको छ । अन्यथा उनी सुनसरीको जनजीवनसँग भिजेका उम्मेदवार भने हैनन् ।

कार्कीलाई चुनावी मैदानमा एमालेका जगदिशप्रसाद कुसियतले चुनौती दिँदैछन । निर्वाचन क्षेत्रको चरित्र हेर्दा कुसियत कमजोर उम्मेदवार हैनन् । कार्कीमाथि भारी पर्न बेर छैन । कुसियत सुनसरी जिल्ला राजनीतिमा उत्तिकै पुराना अनुहार हुन् । २०५१ सालपछिको उपचुनावबाट उनको उदय भएको थियो । २०५१ सालमा गिरिजा प्रसाद कोइरालाले छोडेको निर्वाचन क्षेत्रमा उनले पहिलोपटक जितेका थिए ।

त्यसपछिका चुनावमा भने उनले जित भन्दा हार धेरै ब्यहोरेका छन् । संविधानसभाका दुई निर्वाचनमा उपेन्द्र यादवले जिते । मधेस आन्दोलनको रापताप घट्दै गएपछि एमालेमै बसेका कुसियतको शक्ति फेरि बढ्न थाल्यो । २०७४ मा उनी प्रदेशसभा तर्फ चुनाव लडे । जितेर प्रदेशमन्त्री भए । शेरधन राईको सरकारमा उनी वन तथा संस्कृतिमन्त्री थिए ।

एमाले तालमेलमा निर्वाचन क्षेत्र–१ मा उम्मेदवार बनेका जसपाका संघीय परिषद अध्यक्ष अशोक राई पनि सुनसरीका लागि कुनै नयाँ अनुहार हैनन् । उनी २०४० को दशकमै तत्कालीन मालेको सुनसरी सचिव बनेका थिए । २०४६ पछिको चुनाव उनी सुनसरीको धरान क्षेत्रबाटै लड्न चाहन्थे तर, पार्टीले अध्यक्ष मनमोहन अधिकारीलाई त्यहाँ पठायो । मदन भण्डारीले राईलाई उनको इच्छाविपरीत खोटाङ पठाए । त्यहाँ उनले लगातार दुई चुनाव जिते । त्यसपछि भने उनी उदयपुर र सुनसरी चहार्दै आइरहेका छन् तर, २०५६ यताका कुनै पनि चुनाव जित्न सकेका छैनन्।

गत चुनावमा उनी यही निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरमका उम्मेदवार थिए । त्यतिखेर उनलाई कांग्रेसको समर्थन थियो, तथापि जितेनन् । यसपटक एमालेको समर्थनमा सोही निर्वाचन क्षेत्रमा खडा भएका छन् । यसपटक पनि उनलाई त्यति सजिलो देखिन्न । किनकि, अन्तिम समयमा एमाले– जसपा तालमेल भएपछि त्यहाँको एमाले पंक्तिमा निक्कै ठूलो आकारको विद्रोह भड्किएको छ । धरानका पूर्व मेयर तथा प्रदेश कमिटी सदस्य मनोजकुमार मेन्याङवो आफै बागी र स्वतन्त्र उम्मेदवार बनेका छन्।

निर्वाचन क्षेत्र–४ मा भने जसपा केन्द्रीय सदस्य डा. खालिद हुसेन स्वतन्त्र उम्मेदवार बनेका छन् । मेन्याङबो र हुसेन आ-आफ्नो निर्वाचन क्षेत्रमा गणनायोग्य स्वतन्त्र उम्मेदवार हुन् । प्रदेश सभा तर्फ भने नयाँ पुराना अनुहारको समिश्रण छ । निर्वाचन क्षेत्र– १ का क र ख  मा दुवैतर्फ नयाँ उम्मेदवार छन् । एमालेका रमेश बस्नेत र विजय राई, गठबन्धनका उमेश थापा र रेवतीरमण राई सबै पहिलोपटक संसदको उम्मेदवार भएका हुन् ।

निर्वाचन क्षेत्र– २ क मा भने पुराना सहकर्मी बीचको रोचक भिडन्त देखिन्छ । एमालेका जिल्ला अध्यक्ष रेवती भण्डारी र भरखरै माओवादी प्रवेश गरेका इटहरीका निर्वतमान विवादास्पद मेयर द्वारिकलाल चौधरी यहाँ प्रतिस्पर्धा गर्दैछन्। निर्वाचन क्षेत्र–३ क मा गठबन्धनको टिकट पाएकी सरस्वती पोख्रेल भने प्रदेशको निवर्तमान उपसभामुख हुन् ।

प्युठानमा जन्मेकी उनी बैवाहिक सम्बन्धले सुनसरी पुगेकी हुन् । उनी माओवादीको विद्रोही समूह वैद्य समूहमा थिइन् । रामबहादुर थापा बादलसँगै माओवादी फर्किएकी सरस्वतीलाई अहिलेसम्म सुनसरीको राजनीति फापेको छ । उनको जित्ने सम्भावना प्रवल छ । उनका प्रतिस्पर्धी एमालेका रोहित कार्की भने राप्रपा पृष्ठभूमिका हुन् । लामो समय राजावादी रहेका कार्की केही वर्ष अघि एमाले प्रवेश गरेका थिए ।

ठूला गठबन्धन र तालमेलपछि सुनसरी राजनीतिमा लौरो अभियान र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका समेत उम्मेदवार छन् । यिनीहरूको प्रभाव र प्रदर्शनबारे अहिले नै अनुमान गर्न गाह्रो छ । तर, राजेश चौधरी, केदार गुरागाइँ, सुरेन्द्र कटवाल, गणेश कटवाल, नरेन्द्र बस्नेतलगायत लौरो अभियानका उम्मेदवार सुनसरीमा चिनिएकै राजनीतिक कार्यकर्ता हुन् ।

 

यो पनि पढ्नुहोस :

धनुषाका ४ क्षेत्र : धेरै हेभिवेट नेताको सांसद बन्ने सपना दाउमा

महोत्तरीको प्रतिस्पर्धा : स्थानीय चुनावका आधारमा चारवटै क्षेत्रमा सत्ता गठबन्धन बलियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved