महोत्तरीको प्रतिस्पर्धा : स्थानीय चुनावका आधारमा चारवटै क्षेत्रमा सत्ता गठबन्धन बलियो

गिरिराजमणी पोखरेल, शरतसिंह भण्डारी, महन्थ ठाकुर प्रतिस्पर्धामा

चार प्रतिनिधिसभा क्षेत्र रहेको यो जिल्लामा अघिल्लो पटक जितेका नेता नै फेरि मैदानमा उत्रिएका छन् । माओवादीका गिरिराजमणी पोखरेलसहित २०२८ सालदेखि यता प्राय: सबै निर्वाचनमा भाग लिइसकेका शरदसिंह भण्डारीदेखि उमेरले ८० वर्ष पुगेका महन्थ ठाकुरसम्म महोत्तरीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

महोत्तरीको प्रतिस्पर्धा : स्थानीय चुनावका आधारमा चारवटै क्षेत्रमा सत्ता गठबन्धन बलियो

जनकपुरधाम। महोत्तरीमा पनि चुनावी सरगर्मी बढेको छ । मधेसी समुदायको बाहुल्यता रहेको महोत्तरीको जलेश्वर मुलुककै पुरानो नगरपालिका मध्येको एक हो । तर मानव विकास सूचकांकमा निकै पछाडी परेको महोत्तरी जिल्ला यतिबेला समुचित विकाससँगै नयाँ जनप्रतिनिधिको पर्खाइमा छ ।

तर, जिल्लामा अधिकांश प्रतिस्पर्धी पुरानै छन् । चार प्रतिनिधिसभा क्षेत्र रहेको यो जिल्लामा अघिल्लो पटक जितेका नेता नै फेरि मैदानमा उत्रिएका छन् । २०२८ सालदेखि यता प्राय: सबै निर्वाचनमा भाग लिइसकेका शरदसिंह भण्डारीदेखि उमेरले ८० वर्ष पुगेका महन्थ ठाकुरसम्म महोत्तरीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

महोत्तरीको क्षेत्र नं. १ मा गिरिराजमणी पोखरेल, क्षेत्र नं. २ मा शरतसिंह भण्डारी, क्षेत्र नं. ३ मा महन्थ ठाकुर र क्षेत्र नं. ४ मा डा.सुरेन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा पुनः उम्मेदवारी दिएका छन् । यीमध्ये पोखरेल, भण्डारी र ठाकुर सत्ता गठबन्धनबाट मैदान उत्रिएका हुन् ।

प्रतिनिधिसभामा एमाले र जसपाको गठबन्धनबाट क्षेत्र नं. ४ मा डा. सुरेन्द्र यादव उम्मेवार छन् । उनी दोश्रोपटक जित्ने दाउमा छन्।

यहाँ मुख्य प्रतिस्पर्धा नै सत्ता गठबन्धन र विपक्ष एमाले-जसपा गठबन्धनका उम्मेदवारहरूबीच देखिएको छ। लगातार तीनपटक चुनाव जितिसकेका माओवादी केन्द्रsf गिरिराजमणि पोखरेललाई चुनौती दिन एमालेले लक्ष्मी महतोलाई खडा गरेको छ । क्षेत्र नम्बर एक मै यातायात कार्यालयका पूर्व कार्यालय प्रमुख पोषण थापासमेत जागिर छाडेर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

लक्ष्मी महतो गत निर्वाचनमा यस क्षेत्रबाट झिनो मतले पराजित भएका थिए । जसपाले टिकट नदिएपछि उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । प्रहरीका असई थमन विक हत्या आरोपमा उनी फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा भएको असई विकको हत्यामा उनी संलग्न रहेको भन्दै पक्राउ पूर्जी जारी भएको थियो ।

अर्का उम्मेदवार पोषण थापा  बर्दिवासको वर्तमान पहिचान र विकासको लागि खट्ने भएकाले चर्चित छन् । उनी समेतको प्रयासबाट विभिन्न कार्यालय स्थापना भएको स्थानीय बताउँछन् । यद्यपी यो क्षेत्रबाट एक दर्जन भन्दा बढि स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले लोसपाका शरतसिंह भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी राजनीतिका पोख्त खेलाडी मानिन्छन् । एमालेले उनीविरुद्ध राम परीक्षण यादवलाई उम्मेदवार बनाएको छ। जनमत पार्टीले उमेश कुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीले पवनकुमार झालाई मैदान उतारेका छन् । यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारको संख्या एक दर्जनभन्दा बढी छ ।

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर आफैँ चुनावी मैदानमा भएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यहाँ उनकै शिष्य बृषेशचन्द्र लालले तमलोपाबाट चुनौती दिएका छन् । कुनै बेला ठाकुरका विश्वासपात्र रहेका राजनीतिक विश्लेषक लाल पार्टीबाट असन्तुष्ट भई तराई मधेस लोकतान्त्रिक पार्टी दर्ता गरेर चुनावमा होमिएका हुन् । उनले मनोनयन दर्ताको समय आफ्नो राजनीतिक गुरु ठाकुरले विश्राम गर्ने समय भएको प्रतिक्रिया दिएका थिए ।

सोही क्षेत्रबाट ठाकुर र लाललाई एमाले–जसपा गठबन्धको तर्फबाट जसपाका नेता हरिनारायण यादवले टक्कर दिँदैछन् । जसपामा राम्रो पकड रहेका यादवले ठाकुरलाई हराएरै छाड्ने बताउँछन् । तर, उनलाई सहज भने छैन किनकl यहाँ बागी उम्मेदवारका रुपमा एमालेका रामआधार कापर समेत प्रतिस्पर्धामा छन् ।

पटक-पटक स्थानीय र प्रदेशको चुनाव लडेर सफलता हासिल गर्न नसकेका कापर यसपटक भने सबैलाई पछार्ने बताइरहेका छन् । यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारको संख्या निकै धेरै छ । दल र स्वतन्त्र गरेर यहाँ २ दर्जन भन्दा धेरै उम्मेदवार छन् ।

क्षेत्र नम्बर ४ मा गत निर्वाचनमा भारी मतले विजयी भएका डा.सुरेन्द्र यादवले फेरि सफलता पाउने बताइरहेका छन् । चिकित्सा क्षेत्रसँग जोडिएका डा. यादवलाई टक्कर दिन सत्ता गठबन्धनले नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्र कुमार रायलाई मैदान उतारेको छ ।

क्षेत्रमा राम्रो प्रभाव रहेका राय र डा. यादवबीच नै यो क्षेत्रमा कडा टक्कर हुने स्थानीयको बुझाइ छ । महोत्तरीका युवाले नयाँ अनुहारको चाहना गरे पनि चुनावमा संगठनको भोटले महत्व राख्ने हुँदा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनबीच नै हुने देखिएको छ ।

को बलियो ? 

स्थानीय तहको मत परिणामको आकडा हेर्दा सबै क्षेत्रमा सत्ता गठ्बन्धनको अवस्था बलियो देखिन्छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनले ३७ हजार ६ सय ११ र एमाले–जसपा गठबन्धनले १५ हजार २ सय ६८ मत प्राप्त गरको छ।

क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले ४२ हजार २ सय १७ र एमाले-जसपा गठबन्धनले १५ हजार ५ सय ८९ मत ल्याएको छ। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनले २९ हजार ५ सय ४३ र एमाले-जसपा गठबन्धनले २५ हजार १ सय ५७ मत ल्याएको छ।

क्षेत्र नम्बर ४ मा पनि सत्ता गठबन्धनको अत्यधिक मत छ । यहाँ गठबन्धनले ३७ हजार ८ सय ६९ र एमाले-जसपाले जम्मा २० हजार १ सय ५ मत ल्याएका छन् ।

स्थानीय तहको परिणाम अनुसार नै मतदान भएमा महोत्तरीका चारवटै क्षेत्र गठबन्धनले जित्ने निश्चित छ । तर चुनावमा व्यक्तिको प्रभावले पनि महत्व राख्ने भएकाले अहिले नै ठोकुवा गर्न भने गाह्रो छ । आगामी चुनावमा पनि सत्ता गठबन्धनका उम्मेदवारलाई केही सहजता भने पक्कै देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved