आलेख

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष : गृहयुद्ध साँच्चै अन्त्य भएको हो ?

४ दशकदेखि अफगानिस्तान आफैँ क्षतविक्षत थियो । मुजाहिदीन कम्युनिस्टसँग लडे । युद्ध सरदार- युद्धसरदारसँग लडे । तालिबान उत्तरी गठबन्धनसँग लड्यो । लोकतान्त्रिक गणतन्त्रको सेना तालिबानसँग लड्यो । यो प्रक्रियामा २० लाखभन्दा बढी अफगानी मरे वा घाइते भए । ५० लाखभन्दा बढी शरणार्थी भए ।

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष : गृहयुद्ध साँच्चै अन्त्य भएको हो ?

अफगानिस्तानमा लोकतान्त्रिक सरकार ढलेको एक वर्ष भएको छ । सरकार ढलेसँगै अमेरिकी नागरिक, सेना र करिब १ लाख अफगानी अपमानजनक ढंगले अफगानिस्तानबाट निस्किए । आज वासिङ्गटन र यसका सहयोगीहरूका लागि अफगानिस्तान पीडादायी स्थान बनेको छ ।

त्यसयता देशमा तालिबानले शासन गर्दै आएको छ । तालिबानको शासन समयमा देशैभरि हिंसाको स्तर नाटकीय ढंगले कम भएको छ । तर, महिला अधिकार, मिडियाको स्वतन्त्रता र अपदस्थ लोकतान्त्रिक सरकारलाई समर्थन गर्नेहरूको सुरक्षास्तर भने खस्किएको छ ।

राज्यको नयाँ अवस्थाबारे प्रशस्त प्रश्नहरू उठेका छन्। के अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई मान्यता दिनुपर्छ ? के तालिबानले त्यसका लागि आफूलाई नरम बनाउला ? के कुुटनीति र प्रतिबन्धले उनीहरूलाई त्यसो गर्न बाध्य पार्न सक्छ ? के तालिबानको निगरानीमा अन्तर्राष्ट्रिय आतंकवादको जोखिम त बनिरहेको छैन ? के सन् १९७८ मा सुरुवात भएको अफगान गृहयुद्धको अन्त्य भएको हो ? यी यावत् प्रश्नहरूबीच तालिबानले आफूले कब्जा गरेको सत्ताबाट शासन गरिरहेको छ ।

४ दशकदेखि अफगानिस्तान आफैँ क्षतविक्षत थियो । मुजाहिदीन कम्युनिस्टसँग लडे । युद्ध सरदार- युद्धसरदारसँग लडे । अलकायदाको लडाइँ अमेरिकासँग थियो भने तालिबान उत्तरी गठबन्धनसँग लड्यो । लोकतान्त्रिक गणतन्त्रको सेना तालिबानसँग लड्यो । यो प्रक्रियामा २० लाखभन्दा बढी अफगानी मरे वा घाइते भए । ५० लाखभन्दा बढी शरणार्थी भए ।

गत वर्ष भएको विदेशी शक्तिको फिर्तीले देशमा यो दुश्चक्रको अन्त्य भएको छ। कम्तीमा केही समयका लागि नै किन नहोस्, तालिबानले आफ्नो शक्ति सुदृढ गर्न र देशैभरि नियन्त्रण कायम गर्न सकेको छ । तालिबान शासनको प्रतिरोधको खल्ती यद्यपि आतंकवादी रणनीतिको निरन्तरता र आत्मसातले भरिएको छ, जसले विदेशी हस्तक्षेप र गृहयुद्धलाई फेरि जगाउन सक्छ । आज शान्तिको जुन नयाँ समय देखिएको छ, त्यो गम्भीर आघातमा अल्पविरामजस्तो मात्रै हुन सक्छ ।

यसबारे वासिङ्गटनका क्षमताहरू सीमित भएका छन्। जान्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा अघिल्ला हस्तक्षेपले अफगानी गृहयुद्ध अन्त्य हुन कसरी दिएको थिएन भन्ने हो । अमेरिकी राष्ट्रिय सुरक्षाका जोखिम समायोजित गर्न त्यहाँ फेरि संलग्न हुने कुरा अमेरिकाका लागि गल्ती र अफगानी जनताका लागि त्रासदी हुनेछ ।

स्थिर अस्थिरता

अफगानिस्तान पूर्णतः शान्त कहिल्यै थिएन । कविला संघर्ष, सरकारी दमन, सिमा झडप र वंशीय षड्यन्त्र सदियौंदेखि अफगानी जीवनका हिस्सा बनेका छन्। यो शासन गर्नका लागि साँच्चै नै गाह्रो ठाउँ हो । प्रत्येक कविला समाजका सदस्यमा कविलाई वैयक्तिक मूल्यको उच्च स्थान हुन्छ । राजतन्त्रलगायत सन् १७४७ देखि १९७३ सम्मका कुनै पनि सरकार देशका सयौं कविला, सहकविला र गोत्रवंशमाथि नियन्त्रण गर्न सफल भएनन् । धार्मिक नेताहरू– गाउँका मुल्ला इस्लामिक विद्धान र न्यायाधिकारीले पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूले राज्यका अधिकारीको शक्ति नियन्त्रण गर्छन् । यिनीहरूले विदेशी आक्रमणकारीको मात्र हैन, आफ्नै देशका शासकविरुद्ध पनि जिहादको आह्वान गर्छन्।

तसर्थ, त्यहाँ पनि अस्थिरतामा एक प्रकारको स्थिरता थियो । कविलाहरू देश वा समाजको अस्तित्वका लागि खतरा सिर्जना गर्न नसक्ने गरी विभाजित थिए । राजतन्त्रको षडयन्त्र र हिंस्रक विष्फोटले नेतृत्वको संक्रमण छोटो समयका लागि मात्रै रोक्न सक्थ्यो । अफगानहरूमाथि राजतन्त्रको दमन प्रयत्नलाई धार्मिक तथा कविलाई नेताहरुले ठूलो मात्रामा रोकेका थिए । ब्रिटिस आक्रमण र सन् १८७८–८१ को कब्जापछि लगभग एक शताब्दी कुनै पनि विदेशी आक्रमणले यहाँको सन्तुलन बिगार्न सकेन ।

बीसौं शताब्दिका आधुनिकीकरणका शक्तिले त्यो सन्तुलनलाई टिप्न थाले । तर, ४० वर्ष लामो गृहयृद्धलाई जन्माउने घटना भने सन् १९७८ को ‘सौर क्रान्ति’ थियो । यो क्रान्तिमार्फत् कम्युनिष्टहरूले पूर्व राजाका भतिजा तथा उत्तराधिकारी दाउद खानको शासन फ्याँकेका थिए। तथापि, कम्युनिस्टको समर्थनको आधार सानो थियो। कम्युनिस्टहरूको शिक्षा, भूमि र विवाह नीति सुधारले कविला सरदार, धार्मिक नेता र ग्रामीण जनसंख्याको प्रतिक्रिया र रोषलाई उत्प्रेरित गर्‍यो ।

सन् १९७९ मा सशस्त्र विद्रोह संगठित गरियो र तीव्रतापूर्वक फैलियो । सोही वर्षको डिसेम्बरमा भर्खरै स्थापित कम्युनिस्ट शासनको पराजयलाई रोक्न सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्‍यो । सोभियत आक्रमणले अफगानिस्तानमा आधुनिक औधोगिक युद्ध निम्त्यायो र एक दशक लामो रक्तपात भयो । विगत ४० वर्षको सबैभन्दा धेरै हत्याहिंसा र शरणार्थी त्यही अवधिमा भए । सोभियत सैन्य ट्यांक, लडाकु जाहज र अन्य सैन्य सामाग्री गाउँगाउँसम्म पुगे, जसले सैन्यकरण निम्त्यायो।

प्रतिरोधका लागि भिन्नाभिन्नै कविला, जातीय समुदाय र धार्मिक नेता एकताबद्ध हुन थाले । आफूले आफैलाई पवित्र योद्धा भन्दै मानिस जागे, उठे । अमेरिका, साउदी अरेयिबा र अन्य देशले आपूर्ति गरेका मारक हतियार, बन्दुुक, ग्रिनेड र अत्याधुनिक सञ्चार साधनले लैस हुँदै गए ।

सोभियत संघ पराजित भयो र सन् १९८९ मा फिर्ता भयो । सन् १९९२ मा कम्युनिस्ट शासनको पतनपछि मुजाहिद्दिन शत्रु विनाको एक्लो शक्ति बन्न पुग्यो । तर, अब यी एक आपसमै लड्न थाले । लड्दै लड्दै यी काबुलसम्म आए । अधिकांश अफगानीले त्यो बेलालाई ४० वर्षको सबैभन्दा खराब समयका रूपमा सम्झिन्छन्। युद्धले छिमेकी भावना र सामुदायदाई ध्वस्त बनायो । कविलाई तथा जातीय समुदायका नेताहरू युद्ध सरदारमा परिणत भए ।

तालिबानको उत्थान र पतनः

सन् १९९० को दशकको प्रारम्भिक अराजकतावाट तालिबान उदायो । सन् २००१ मा अमेरिकी आक्रमणको बेला पाकिस्तानमा तालिबान सरकारको राजदूतका रूपमा काम गरेका अब्दुल सलाम जैफले सन् २०१० मा प्रकाशित किताब ‘माइ लाइफ इन तालिबान’ मा लेखेका छन्–‘तालिबान पहिलाका फरक थिए । त्यतिखेर सामान्य गठबन्धन तथा समूहभन्दा बाहिरका फरक-फरक पृष्ठभूमि भएका धार्मिक विद्धान् र विद्यार्थीको समूह थियो यो।’

जैफले लेखेका छन्– ‘उनीहरू धर्म, जिहाद र ईश्वरप्रतिको गहिरो विश्वासबाट लडिरहेका थिए । भूमि, धन वा पैसाका लागि लडिरहेका मुजाहिद्दिनन भन्दा फरक उनीहरु लड्नुको एक मात्र कारण अल्लाह थिए ।’ यद्यपि, उत्तरी क्षेत्रमा लडाइँ जारी थियो तर, देशका अन्य भागमा तालिबानले लडाईको मात्रालाई निक्कै कम बनाए । विस्तारै उनीहरुले धरातल प्राप्त गर्दै गए । सन् २००१ सम्म आइपुग्दा उनीहरूका विरोधीहरू निस्तेज भइसकेका थिए । तालिबानको शासन कठोर तर स्थिर थियो ।

सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणले तालिबान शासन हटायो । छोटो समयका लागि सन् १९७८ यता कहिल्यै अनुभव नगरिएको बृहत् शान्ति र स्वतन्त्रता कायम भयो । तर, त्यसपछिका वर्षमा आक्रमणको अधिक प्रभाव गृहयुद्धलाई फेरि जगाउने कारण बन्ने देखियो ।

शासनका चुनौती सजिलो गरी हट्नेवाला थिएनन् नत तालिबान नै सजिलो थियो । अमेरिकी नीतिमा भएका गल्ती, काबुल सरकारको कुशासन र पाकिस्तानी समर्थनको फाइदा उठाउँदै तालिबान फेरि सक्षम भए । हिंसा र अस्थिरता सन् २०२१ को अगष्टसम्म नै कायम रह्यो ।

पश्चिमा अन्तर्राष्ट्रिय शक्ति र तालिबान बीचको संघर्षले अफगान समाजमा नाटकीय परिवर्तन ल्यायो । बम, माइन तथा एम्बुस विष्फोट, रात्रिकालीन तथा ड्रोन आक्रमणमा त्यो बद्लाब अभिव्यक्त भयो। युद्धले अर्थतन्त्रलाई तहसनहस बनायो । धेरै अफगानी आम्दानीका लागि अफिम खेतीमा निर्भर भए । अफगानिस्तानले पहिलोपटक वैधानिक निर्वाचनको समेत अनुभव हासिल गर्यो। एकपटक निर्वाचित संसदमा शक्ति आएको थियो तर, लोकतन्त्र नै गुम्यो ।

धार्मिक अतिवाद

अफगानी राजनीतिको सबैभन्दा स्थायी स्रोत धर्म सावित भयो । सोभियत संघको फिर्तीपछिको अराजकताको अवस्थामा गाउँले पाराको पारम्परिक इस्लामले जनतामाझ विश्वास हासिल गर्‍यो । इस्लाम इमान वा राष्ट्रियताभन्दा छिटो फैलिने भावना हो । तालिबानमार्फत् आधुनिक युगमा पहिलोपटक धार्मिक आन्दोलनले शासन गर्‍यो । २० वर्ष लामो आक्रमण र युद्धबीच पनि तालिबान बाँच्यो र अफगानिस्तानको आधुनिक इतिहासमा सबैभन्दा महत्वपूर्ण धार्मिक शक्ति बन्यो ।

गृहयुद्ध र वैदेशिक हस्तक्षेपका अझै थुप्रै अध्याँरा पक्ष छन् । तिनले अतिवादलाई हुर्काए । अमेरिकी आक्रमणको कारणले तालिबानलाई पाकिस्तान र ओसामा बिन लादेनसँग सुमधुर सम्बन्ध बनाउन बाध्य बनायो । धार्मिक अतिवाद जिहादी आतंकवादमा रूपान्तरण भयो र सहिदहरूको लस्कर लग्न थाल्यो।

अब कता जाने ?

अमेरिकी फिर्तीको एक वर्षपछिसम्म पनि अफगानिस्तानमा स्थायित्वको नयाँ रूप कायम छ कि छैन भन्ने अनिश्चितता छ । युद्ध वास्तवमा अफगान समाजका लागि रूपान्तरणकारी प्रक्रिया हुन सक्छ । यो सम्भव छ कि तालिबानको इस्लामिक सरकार हिंसालाई खाल्डोमा पुर्न, जनतामाझ आधारभूत वैधता कायम गर्न र विदेशी हस्तक्षेपलाई रोक्न सक्षम हुन सक्छ ।

यो पनि हुन सक्छ कि गृहयुद्ध अझै सकिएको छैन । यो पहिलेकै जस्तै, सन् १९९० देखि सन् २००१ को अमेरिकी आक्रमण र सन् २००५ सम्मको जस्तै एक अल्पविराम मात्र हो । त्यो ऐतिहासिक उदारणलाई ध्यान दिँदा अहिलेको नयाँ स्थिरता ५ वर्ष वा त्योभन्दा बढी समयलाई देखिन्न ।

गृहयुुद्ध नयाँ तरिकाले देखिन सक्छ । त्यसको एउटा पाटो दशकौं लामो युुद्धमा तालिबानले सामना गर्नुपरेको उत्तरी क्षेत्रको पस्तुन, हजारा र तजिक अल्पसंख्यक समूहको प्रतिरोध हो । ऐतिहासिक, जातीय र सामुदायिक सम्बन्धका कारण यिनले इरान र रुसबाट सहयोग प्राप्त गर्न सक्छन् ।

अर्को एक परिदृष्य, अफगानीहरूको एक समूह देशभरिका सहरहरू र त्यसको वरिपरिबाट उठ्न सक्छ । कमजोर शासन प्रशासनको स्थितिमा पस्तुन समुदायले विद्रोह गर्न सक्छ । भूमि विवादले पनि तालिबानलाई चुनौती दिन सक्छ । तालिबानले गरिब किसान समुदायलाई पवित्र भूमि दिने आश्वासनमा तिनको समर्थन प्राप्त गर्दै आएको छ । अर्कोतिर जातीय समुदायलाई समेत यही प्रकारको वचन दिइएको छ। तालिबानले यसलाई कसरी सन्तुलन गर्ने हो ?

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिबीचको तनावले पार्ने प्रभाव छँदैछ । तालिबान शासनमा अफगान–पाकिस्तान सम्बन्धका प्रभाव सबै तिर सह्य हुँदैनन् । जेसुकै कारणले होस्, तर, फेरि गृहयृद्ध भड्किए अफगान जनताका लागि अर्को त्रासदी सावित अवश्य हुनेछ ।

अमेरिकी भूमिका 

अमेरिका र यसका साझेदारले निस्क्रिय पर्यवेक्षकभन्दा बढी हुन र अफगानिस्तानलाई स्थिर राख्न केही कोशिस गर्न चाहन्छन् । मानवीय सहायता उपलब्ध गराउनु वा तालिबान शासनलाई सहयोग गर्न चाहनेलाई टाढै राख्नुका हानी थोरै छन् । यस्तो क्रियाकलापले अफगानिस्तानभित्र तालिबान विरोधी विद्रोह संगठित गर्ने र फेरि गृहयुद्ध भड्किने जोखिम बढाउँदैन । तर, अमेरिका र यसका साझेदारले गर्न सक्ने कुरा यतिमै सीमित हुँदैन ।

प्रोत्साहन वा प्रतिबन्धका कारण तालिबानले आफ्नो व्यवहार परिमार्जन गर्ने सम्भावना छैन । अमेरिकाले तालिबानलाई पर्याप्त आर्थिक सहायता गर्दा रुस, चीन र इरानबाट अर्को खालको प्रतिक्रिया आउन सक्छ र अमेरिकाको प्रतिरोध गर्न चाहने अफगानीलाई तिनले समर्थन गर्ने छन्।

यदि, विभिन्न प्रोक्सी शक्तिलाई सहयोग गरी अमेरिकाले तालिबान शासनलाई विस्थापित गर्न खोज्यो भने यसको उल्टो हुने कुरा अझ बढी सत्य हो। अमेरिकाका लागि सही नीति एक वा अर्को पक्षलाई सहयोग गर्ने भन्दा स्थितिलाई नजिकबाट नियाल्ने मात्रै हुन सक्छ । अमेरिका र अन्य बाहिरिया शक्तिले विगत ४० वर्ष लामो अफगान गृहयुद्धमा तिनको भूमिका बिर्सन मिल्दैन । यदि, त्यसो भयो भने तिनले विगतका जस्तै गल्तीहरू दोहोर्‍याउनेछन् ।

फोरेन अफियर्सबाट अनुदित।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved