ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पुनको निर्देशन, यस्तो छ नयाँ दर

नेपालभ्युज

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पुनको निर्देशन, यस्तो छ नयाँ दर

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन घटाउन स्वीकृति दिएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् ।

बोर्डले यसअघि एक अध्ययन गर्दै ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव अनुरूप नै ब्रोकर कमिसन घटाउन स्वीकृति दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बोर्डको गत कार्तिक १ गते बसेको सञ्चालक समिति बैठकले मौजुदा ब्रोकर कमिसनमा १० प्रतिशतका दरले घटाउने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

जस अनुसार सेयर कारोबारमा अधिकतम ब्रोकर कमिसनको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कमिसन लाग्ने गरेको थियो ।

बोर्डको सिफारिसमा मन्त्रालयले दिएको स्वीकृति अनुसार अब माथिल्लो सीमालाई ०.३६ प्रतिशत र तल्लो सीमालाई ०.२४ प्रतिशतमा झारिएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार देखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ ।

त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोड रुपैयाँमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ ।

अर्थ मन्त्रालयले बोर्डको प्रस्ताव स्वीकृत गरेसँगै अब ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ ।

यस्तै २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ ।

यसै गरी धितो बोर्डले ब्रोकर कमिसन घटाउन मन्त्रीस्तरिय निर्णय भएर बुधबार मात्रै पत्र आएको र अब बोर्ड संचालक समितिको बैठक बसेर त्यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved