आलेख

रुस-चीन लगनगाँठो र अमेरिकी द्विविधा

दुवै देशले अमेरिकालाई लामो समयदेखि अविश्वास गर्दै आएका छन् । दुवैले वासिङ्गटनलाई एक विचारधारा प्रेरित प्रभुत्वको रूपमा हेर्दछन् । ती ठान्दछन् कि अमेरिकी प्रभुत्वको चाहनाले रुस-चीनलाई विश्वको नेतृत्वदायी स्थानमा पुग्नबाट मात्र रोक्दैन, ती देशको शासन व्यवस्थालाई नै ध्वस्त पार्न चाहन्छ ।

रुस-चीन लगनगाँठो र अमेरिकी द्विविधा

एक दशकअघिसम्म धेरै जसो यूरोपेली र अमेरिकी अधिकारी रुस-चीनबीचको उदीयमान साझेदारीको दीगोपन अस्वीकार गर्थे । तिनलाई लाग्थ्यो कि दुई समाजको संस्कृति र दुई देशका शक्ति सम्भ्रान्तबीच फराकिलो दूरी छ ।

दुई देशबीच ऐतिहासिक विवादको लामो शृङ्खला छ । सन् २०१४ पछि चीनतिर ढल्किँदो शक्ति सन्तुलनले दुई देशबीचको सम्बन्धलाई अझ अविश्वासनीय बनाउँछ । मस्को बेइजिङको बढ्दो शक्तिसँग डराउने छ । बेइजिङले मस्कोको तुलनामा अमेरिकासँगको सम्बन्धलाई बढी महत्त्व दिनेछ ।

सन् २०२३ को मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङ मस्को भ्रमणमा थिए । यता अमेरिकी विदेशमन्त्री अन्टोनी ब्लिङकेन भन्दै थिए— म निश्चिन्त छैन कि यो सम्बन्ध सहज छ । तर, यथार्थ कस्तो छ भने रुस-चीन सन् १९५० यता आज सबैभन्दा नजिक छन् । उनीहरूबीचको सम्बन्ध बलियो र सुदृढ छ भन्ने पुष्टि गर्न सकिने थुप्रै आधार छन् ।

यो पङ्क्तिबद्धता यूक्रेन युद्धको सबैभन्दा ठूलो भूराजनीतिक परिणाम हो । तर, सँगसँगै यो पश्चिम र यी दुई देशबीच गहिरो द्वन्द्वको उपज पनि हो । यसले पश्चिमलाई दुई विशाल आणविक शक्तिसँग एक साथ टकराव गर्नुपर्ने स्थितिमा पुर्‍याएको छ ।

सन् २०२२ को फेब्रुअरी ४ मा पुटिन र सीले जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई ‘सीमाहीन साझेदारी’ भनेका थिए । सन् १९६०-८० को दशकसम्म चीन-सोभियत सङ्घबीच जुन तिक्तता र विभाजन थियो, त्यसको विपरीत चीन-रुस आज थुप्रै व्यावहारिक कारणले नजिक हुँदैछन् ।

सन् २००६ सम्म यी देशले आफ्नो २ हजार ६१५ माइल लामो सीमारेखा निर्धारित गरिसकेका थिए । आर्थिक सम्पुरकताले पनि यी नजिक भए । रुससँग प्राकृतिक स्रोत थियो । तर, पैसा र प्रविधि चाहिएको थियो । जबकि चीन प्राकृतिक स्रोतका लागि पैसा र प्रविधि बाँड्न गर्न तयार थियो ।

सन् २००० देखि रुसमा पुटिनको अधिनायकवाद बलियो हुँदै गयो । संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्‌मा आफ्नो भिटो शक्ति प्रयोग गर्दै यिनले पश्चिमा शक्तिका सवाललाई पछि धकेल्न थाले । तीमध्ये पश्चिमा प्रतिबन्धका मापदण्ड अस्वीकार गर्नु र सिरियाको क्षेत्रीय द्वन्द्वमा रुसले प्रवेश गर्नु प्रमुख थिए ।

दुवै देशले अमेरिकालाई लामो समयदेखि अविश्वास गर्दै आएका छन् । दुवैले वासिङ्गटनलाई एक विचारधारा प्रेरित प्रभुत्वको रूपमा हेर्दछन् । ती ठान्दछन् कि अमेरिकी प्रभुत्वको चाहनाले रुस-चीनलाई विश्वको नेतृत्वदायी स्थानमा पुग्नबाट मात्र रोक्दैन, ती देशको शासन व्यवस्थालाई नै ध्वस्त पार्न चाहन्छ ।

चीनको एक पार्टी राज्य प्रणाली र रुसमा बढ्दो अधिनायकवादले तिनलाई राजनीतिकरूपमा नजिक हुने अवसर दिन्छ । दुवै देशका नेताले आन्तरिक दमन र अल्पसङ्ख्यकहरूमाथि गरिने व्यवहारबारे बोल्न परहेज गर्दछन्, जो पश्चिमा देशको आलोचनाको मुख्य मुद्दा हुन्छ ।

सन् २०१४ मा रुसले क्रिमिया गाभ्यो । अमेरिकाले यसको आलोचना गर्‍यो । अमेरिकी प्रतिबन्धको पुर्तालका लागि रुस पूर्वतिर फर्कियो । पश्चिमा दबाबका बाबजुद रुसी अर्थतन्त्रलाई जीवन्त राख्न उसले यसो गर्नुपर्थ्यो । पाइपलाईन, रेलमार्ग, सीमापार पुल र बन्दरगाह विस्तारमार्फत रुस-चीनमा प्राकृतिक स्रोतको बजार खोज्नसक्ने भयो, जसरी सन् १९९० को दशकमा रुसी अर्थतन्त्र चीनलाई हतियार बेचेर बाँचेको थियो ।

फलतः क्रिमिया युद्धअघिको रुसको चीनसँगको १० प्रतिशत व्यापार अंश सन् २०२२ को युद्धपछि १८ प्रतिशत पुग्यो ।

यूरोपियन यूनियन अझै पनि रुसको सबैभन्दा ठूलो व्यापार साझेदार छ । त्यहाँ रुसको सबैभन्दा धेरै तेल तथा ग्यास निर्यात हुन्छ । लगानी र प्रविधि आउँछ । रुसको हिस्सामा ईयूसँगको व्यापार ३८ प्रतिशत छ ।

जबकि सन् २०२२ मा चीनको रुससँगको व्यापार अंश २.५ प्रतिशत मात्र थियो । चीनले अझै पनि रुससँगको व्यापारभन्दा आफ्नो अर्थतन्त्रको गतिशीलताका लागि अमेरिका र ईयूसँगको व्यापारलाई बढी महत्त्वपूर्ण मानेको छ ।

चीनले रुससँगको सम्बन्धलाई महत्त्व दिनुको मुख्य रहस्य सस्तो तेल, ग्यास र कोइला देखिन्छ । यी दुई देश नजिक हुनुको अर्को कारण हो, सुरक्षा र सैन्य सहकार्य । चीनको जनमुक्ति सेनाले रुसी सेनासँगको संयुक्त सैन्य क्रियाकलाप बढाएको छ । सन् २०२२ को सेप्टेम्बरपछि संयुक्त सैन्य अभ्यास निकै बाक्लो भएका छन् ।

दुई देशबीचको कूटनीतिक बैठक र भ्रमण पनि बढेका छन् । यसरी चीन रुसी शक्ति सम्भ्रान्तहरूका लागि रणनीतिक महत्त्वको साझेदार बन्दैछ । यहाँसम्म कि रुसी बालबालिकाले म्यान्डरिन भाषा सिक्न थालेका छन् । रुसीहरूमा अंग्रेजीको मोह अझै ८० प्रतिशतमा छ । तर, म्यान्डरिन सिक्न चाहनेको अनुपात बढ्दो छ ।

एक सर्वेक्षण भन्छ— सन् २०२३ पछि ८५ प्रतिशत रुसीले चीनप्रति सकारात्मक धारणा राख्न थालेका छन् । रुसले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदा तीनवटा फाइदा हुन्छन् ।

एक, युक्रेन युद्धमा रुसले एक अप्रत्यक्ष रक्षाकवच प्राप्त गर्दछ । दुई, पश्चिमा प्रतिबन्धबाट रुसी अर्थतन्त्रलाई पुग्ने हानि क्षतिपूरण हुन सक्दछ र तीन, पश्चिमसँगको शत्रुतालाई सन्तुलन गर्न सहज हुन्छ ।

सस्तो प्राकृतिक स्रोतको अतिरिक्त चीनलाई रुससँगको सम्बन्धबाट हुने फाइदा भने चीनको पश्चिमसँगको सौदाबाजीको शक्ति बढ्नु हो । अर्थात् चीनलाई रुसको महत्त्व आर्थिकसँगसँगै भूराजनीतिक हो ।

सन् २०११ मा दुवै उपराष्ट्रपति हुँदादेखि नै अमेरिकी राष्ट्रपति जो बाइडन र सी चिनफिङबीच एक प्रकारको मित्रता थियो । डोनाल्ड ट्रम्प कार्यकालको व्यवधानका बाबजुद यो सम्बन्धले काम गर्ने ठानिएको थियो । तर, सन् २०२२ मा अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवान भ्रमण गरिन्, तब सम्बन्ध सोचेजस्तो सहज रहन सकेन ।

सम्भवत: यसले पनि चीनलाई रुससँगको सम्बन्ध अझ बलियो बनाउन प्रेरित गर्‍यो । रुस-चीन अहिले पनि औपचारिक सैन्य गठबन्धन बनाउन चाहँदैनन् । त्यसले अनावश्यकरूपमा आशङ्का र द्वन्द्व बढाउँछ भन्ने उनीहरूको बुझाइ छ । तर, यी दुई विशालकाय यूरेसियन परमाणु शक्ति राष्ट्र एकअर्काको पछाडि दरिलोगरी उभिएका छन् ।

यो स्वीकार गर्नु पर्दछ कि रुस-चीनबीचको यस्तो बलिया सम्बन्धले विश्व व्यवस्थामा केही न केही गहिरा परिवर्तन ल्याउँछ । तर, यो सम्बन्ध सावधानीपूर्वक कुनै रणनीतिक योजनामा राम्रोसँग आकारित छ भन्ने ठान्नु हुँदैन ।

पुटिनको पश्चिम विरोधी बयानबाजीले यूक्रेन युद्धलाई अमेरिकाको नवऔपनिवेशिक अभ्यासविरुद्धको विद्रोहका रूपमा परिभाषित गर्दछ । उनी अधिक न्यायपूर्ण बहुध्रुवीय विश्वव्यवस्था निर्माणको कुरा गर्दछन् ।

यो भाष्यबाट उनी विविधिकृत ‘ग्लोबल साउथ’ लाई विश्वासमा लिन असमर्थ छन् । अधिकांशले रुसको यस्तो भनाइलाई बेवास्ता गर्दछन् र युद्धलाई यूक्रेनी सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनविरुद्धको कदम ठान्दछन् ।

अमेरिकाको समस्या भने अर्कै छ । उसलाई उसैका समर्थक र साझेदार राष्ट्रहरू गाजा युद्धमा रुस जत्तिकै निन्दनीय देख्दछन् । गाजा युद्धमा इजरायललाई अमेरिकी र यूरोपेली समर्थन अन्तर्राष्ट्रिय मान्यताविपरीत हो भन्ने धेरैलाई लागेको छ ।

बेइजिङको पाखण्ड पनि कम छैन । उसले यूक्रेनमाथिको रुसी आक्रमणको खुलेर समर्थन गर्न सक्दैन । यूक्रेनी सार्वभौमसत्ताविरुद्ध बोल्न आफैँ डराउँछ । युद्ध रोकिनुपर्छ भन्छ । युद्धविरामको मध्यस्थता गर्न खोज्छ । तर, दुनियाँले यो बुझ्छ कि चीन रुसको पछाडि उभिएको छ ।

कुनै बेला किसिञ्जरले सोभियत सङ्घबाट खोस्न चीनलाई नजिक पार्ने नीति लिएका थिए । ट्रम्पकालीन नीति भने किसिञ्जरको भन्दा ठीक उल्टो थियो । ट्रम्पले चीनबाट खोस्न रुससँग संलग्न भइराख्ने नीति लिएका थिए ।

तर, बाइडनकालमा रुससँगको त्यस्तो संलग्नता पनि कमजोर भएर गयो । के भन्न सकिन्छ भने अमेरिका न किसिञ्जर न प्रतिकिसिञ्जर नीतिमा छ अहिले । यो अमेरिकी दुविधाको प्रष्ट चित्र हो । यद्यपी, पश्चिमा नीतिनिर्माता आज रुस-चीन अक्षको वास्तविकतालाई अस्वीकार गर्नसक्ने अवस्थामा भने छैनन् ।

(फोरेन अफियर्सबाट संक्षेपीकरणसहितको भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved