रामदेव बाबाका औषधिलाई कतिसम्म विश्वास गर्ने ?

पछिल्लो केही दशकमा धर्मको नाममा राजनीतिको उदय भएको छ । त्यसको असर प्राचीन भारतीय ज्ञान प्रणालीमा पनि पर्दछ नै । यसमाथिको आलोचना विज्ञान र विवेकसम्मतवादीहरूको काम हो ।

रामदेव बाबाका औषधिलाई कतिसम्म विश्वास गर्ने ?

बितेका दुई दशकमा भारतीय समाजमा थुप्रै तान्त्रिकको तीव्र उदय भयो । पहिलो पनि ती सामाजिक उपस्थितिमा थिए तर, अहिले तिनको सामाजिक प्रभाव र राजनीतिक तागत भने डरलाग्दो छ ।

तीमध्ये धेरैको पेट कालो थियो । तर, देवत्वको माहोलले त्यसलाई छायाँ र बेवास्तामा पारेको छ ।

शंकराचार्य जयेन्द्र सरस्वतीमाथि आश्रमका एक कामदार शंकर रमणको हत्याको आरोप थियो । सत्य साई बाबाका प्रशान्ति निलायमभित्र पनि हत्याका घटना भएका थिए ।

गुरमित राम रहिमले आफ्ना काला कर्तुत बाहिर ल्याएको भन्दै पत्रकार रामचन्द्र छत्रपतिको हत्या गराए । उनले आफ्ना क्रियाकलाप भने जारी राखे ।  कानूनले बढो कठिनाइका साथ उनलाई पक्रियो । उनी अहिले जेलमा छन् । तर, अधिकांश समय उनी जमानीमा जेल बाहिरै हुन्छन् ।

आशाराम बापु त्यस्तै अर्का व्यक्ति हुन्, जो लामो समय कानूनको चङ्गुलबाट उम्किन सफल भए, अहिले जेलमा छन् ।

अर्का एक बाबाको उदय हुँदैछ अहिले बागेश्वर धाम बाबा । उनमा भक्तजनको गुञ्जन बढ्दो छ । यी त केही ‘आईसबर्ग’को चुचुराजस्ता व्यक्तित्व मात्र हुन् । भारतीय समाजमा देशैभर यस्ता थुप्रै व्यक्तित्व छन्, जसको अन्धविश्वासको जालमा समाज फसेको छ । यी अधिकांश तान्त्रिकसँग ईर्ष्या गर्नयोग्य धनराशीको थुप्रो छ ।

अझै दुई त्यस्ता व्यक्ति बाँकी रहन्छन्, जसको चर्चा गर्न आवश्यक हुन्छ । तीमध्ये एक हुन्, श्रीश्री रविशंकर । रविशंकरले आफनो पर्वोत्सवका लागि युमानालाई नै क्रोधित बनाए । उनी हिन्दू राष्ट्रवादी राजनीतिलाई सुक्ष्म समर्थन गरेको कारण सधैँ समाचारमा हुन्छन् ।

र अर्का हुन्, रामदेव बाबा । उनले योग गुरुका रूपमा आफ्नो ‘करिअर’ ठूलो सफलताका साथ सुरु गरे पतञ्जली ब्राण्डमार्फत व्यावसायिक जगत्‌मा प्रवेश गरे ।

पतञ्जलीले आयुर्वेदिक वस्तुको उत्पादन तथा बजारीकरण गर्दछ । यसले बाबालाई धेरै ठूलो सम्पत्तिसहित व्यापार टाइकुनहरूको लाइनमा उच्च श्रेणीमा ल्याएको छ । उनी र उनका नजिकका सहयोगी आचार्य बालकृष्णले अहिलेसम्म आइपुग्दा चुनौतीहीन साम्राज्य खडा गरेका छन् । उनका सबै आयुर्वेदिक उत्पादन धुमधामका साथ प्रचार गरिए । मिडियाको ठूलो हिस्सामा तिनको चर्चा भयो ।

बाबा र आचार्य जोडीको शैक्षिक योग्यता धेरै ज्ञात छैन । अहिले थुप्रै आयुर्वेदिक मेडिकल कलेज छन् । तिनीमध्ये कुनैबाट बाबा र आचार्यले कुनै डिग्री पाएका छन् कि त्यसमा पनि शङ्का छ ।

यिनीले बहुराष्ट्रिय कम्पनीहरूलाई स्वदेशी चुनौती खडा गर्दैछन् भन्ने बहानामा उनीहरुका धेरैजसो विधि चुनौतीहीन बनाइएका छन् ।

कोभिड १९ को समयमा यस्ता कुराले धेरैको ध्यान खिच्यो । एकातिर शासनसत्तामा भएको सरकारले पुणेस्थित भारत बायोटेक कोभ्याक्सिनलाई ठूलो रकम दियो । अर्कोतिर बाबा रामदेवले महाव्याधिको एक महिनाभित्रै ‘कोरोनिल’ नामको उपचार विधि र औषधि बनाएको दाबी गरे ।

अझ अनौठो कुरा यसलाई विश्व स्वास्थ्य सङ्गठनको स्वीकृति रहेको दाबी गरिएको थियो । जब स्वास्थ्य मन्त्रालयले आपत्ति जनायो, तब स्वीकृति दिएको हैन, विश्व स्वास्थ्य सङ्गठनको मार्गनिर्देश पछ्याएर बनाएको भनियो ।

स्वास्थ्य मन्त्रालयले रामदेवको दाबीबाट आफूलाई टाढा राख्दाराख्दै दुई मन्त्रीको उपस्थितिमा कोरोनिल धुमधामको सुरुवात गरियो । डा. हर्षबर्धन र नितिन गडकरी त्यो कार्यक्रममा थिए । डा. हर्षबर्धन आफैँ एक दक्ष र प्रतिष्ठित चिकित्सक हुन् । अहिले परम्परागत स्वास्थ्य उपचार प्रणालीको अन्ध समर्थक हुँदै गइरहेका छन् ।

बाबा रामदेवले प्रारम्भिक तथा मध्यम गम्भीरता भएका १०० भन्दा बढी रोगमा औषधिको परीक्षण गरेका र तीमध्ये अधिकांशको कोरोना टेस्ट् केही दिनमै नेगेटिभ आएको दाबी गरेका थिए ।

बाबा रामदेव (Ramdev baba) ले केही चिकित्सकसँग औधषिको परीक्षण सम्झौता भएको समेत बताएका थिए । आधुनिक चिकित्सामा औषधि सार्वजनिक गर्ने आफ्नै तरिका छ । त्यसको प्रोटोकलमा जीव-रसायनिक विश्लेषण, पशु परीक्षण र नमूनाहरूको ठूलो मात्रामा क्लिनिकल ट्रायल गरिन्छ । तर, कोरोनिल सार्वजनिक गर्दा यिनको पालना भएको थिएन ।

तर , रामदेव बाबा त्यतिमा मात्र सीमित भएनन् । उनी आफ्नो व्यावसायिक सफलताको भावनाबाट प्रेरित भएर अझ एक कदम अघि बढे । मिडियाबाट आफ्नो प्रशंसाको स्वीकार र एलोप्याथिक उपचार विधिलाई मुर्खहरूको विज्ञान भन्नतिर लागे ।

यसबाट आक्रोशित भएको भारतीय चिकित्सा सङ्घ (आईएमए ) ले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जसको सुनुवाइ हालै सम्पन्न भएको छ ।

पहिलो कुरा, उनले आधुनिक चिकित्सा विज्ञानको अपमान गरेबापत् आईएमएसँग माफी मागेका थिए ।

एकपटक यो स्मरण गरौँ कि उनी भ्रष्टाचारविरुद्ध अनशन बसेको बेला आफ्नो ‘योगी शरीर’ भएको हुँदा लामो समयसम्म भोक हड्ताल गर्न सक्ने दाबी गरेका थिए । तर, केही दिनमै उनको स्वास्थ्य अवस्था खराब भएको थियो । उनलाई एलोप्याथिक अस्पतालमै भर्ना गरियो ।

ठीक त्यसैगरी आचार्य बालकृष्ण सन् २०१९ मा गम्भीर बिरामी परी अस्पतालको आईसीयूमा भर्ना हुनु परेको थियो ।

सर्वोच्च अदालतको चेतावनीपछि पनि बाबा रामदेवले आफ्नो फर्मको भ्रामक विज्ञापन जारी राखेका थिए । त्यसपछि अदालत उनलाई बोलाउन बाध्य भयो । उनले निकै गहिरो गरी माफी मागे ।

तर, सर्वोच्च अदालतले उनको माफीलाई खासै महत्त्व दिएन । उनलाई आफ्नो बाटो सुधार्न र सही बाटोमा फर्किन भन्यो । यो पूरै प्रकरणलाई बेवास्ता गर्ने हो भने पनि लामो समयदेखि आस्था आधारित ज्ञान र त्यसमा आधारित औषधिको प्रयोग सिङ्गो समाजमा बढ्दै गएको छ । आधुनिक चिकित्सा प्रणालीलाई अवमूल्यन गर्नु कस्तो मुर्खता वा अहङ्कार हो ?

परम्परागत आस्था, ज्ञानले यो मान्दछ कि हजुरआमाले प्रयोग गरेका औषधिमा अनुभवजन्य ज्ञान छन् । तर, मुख्य कुरा के हो भने आधुनिक चिकित्सा प्रणाली प्रमाण र समवर्ती समीक्षामा आधारित हुन्छ ।

ज्ञानमाथि समीक्षा र आलोचनाको निर्ममता लागू हुन्छ । र यो नै त्यो कुरा हो, जसले सुधारतर्फ लैजान्छ र उपयोगी चिजको नजिक पुर्‍याउँछ ।

तर, आस्थामा आधारित ज्ञान र उपचार प्रणाली आलोचनाभन्दा माथि हुन्छ । धेरै बाबा यस्ता छन्, जसले आ-आफ्नै उपचार प्रणाली प्रयोग गर्दछन् । तर, आधुनिक चिकित्सा प्रणाली मापदण्डहरूको राम्रो अनुकूलनसहित विकसित गरिएको छ ।

रामदेवजस्ता बाबाहरू पवित्रताको फाइदा उठाउँछन् । आलोचनाभन्दा माथि हुन खोज्दछन् । र, मनपरी ढङ्गले अतिशयोक्तिपूर्ण वर्णन गर्दछन् । उनले आफूसँग क्यान्सर र एड्सको पनि उपचार छ भन्ने दाबी गरेका थिए । एकपटक उनले यस्तो पनि दाबी गरे कि समलैङ्गिकता एकप्रकारको रोग हो, उनले त्यसको उपचार गरी निको पार्न सक्दछन् ।

उनले एलोप्याथिक चिकित्सालाई अवमूल्यन गरेर आफ्नो प्रणालीको संरक्षण गर्न खोजेको प्रष्ट छ । तर, उनले आफ्नो प्रणालीबारे अहङ्कारपूर्ण र तर्कहीन दाबी गरिरहेका हुन्छन् । यस्ता थुप्रै बाबाहरू किन छन्, जो आस्था आधारित दाबी प्रस्तुत गरेर समय खेर फालिरहेका छन् ?

पछिल्लो केही दशकमा धर्मको नाममा राजनीतिको उदय भएको छ । त्यसको असर प्राचीन भारतीय ज्ञान प्रणालीमा पनि पर्दछ नै । यसमाथिको आलोचना विज्ञान र विवेकसम्मतवादीहरूको काम हो ।

डा. नरेन्द्र दाभोल्कर, गोविन्द पानसरे, एमएम कुलबर्गी र गौरी लंकेशहरूको काम यही हो । तिनलाई विवेकसम्मत समझ अघि बढाउन गरेका प्रयत्नका लागि हटाइयो ।

भारतमा एउटा यस्तो समय आएको छ, यो समयमा तर्कसम्मत सोच र विधि आस्थाआधारित ज्ञानको चमकमा कमजोर हुँदैछन् । यहाँसम्म कि हाम्रो शैक्षणिक पाठ्यक्रममा भारतीय ज्ञानको नाममा आस्था आधारित विषय सामेल हुँदैछन् ।

बाबा रामदेव आस्था र अन्धविश्वासको वृत्तमा घेरिएको समाजका उदाहरण हुन् । खुसीको कुरा; चिकित्सा क्षेत्रमा बढ्दो ‘बाबा प्रवृति’ लाई सर्वोच्च अदालतले थोरै भए पनि रोक लगाइदिएको छ । (द वायरबाट अनुदित) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved