आलेख

धार्मिक पर्यटन : घरमा आगो लगाएर खरानीको व्यापार

धार्मिक पर्यटन प्रवर्द्धन विकासको विचलित मोडल हो । सोझो भाषामा भन्नुपर्दा मन्दिर जाँदा मान्छेले खर्च गर्छ, व्यापार बढ्छ र देशमा समृद्धि आउँछ भन्नेमा यसले विश्वास गर्दछ । यो यस्तो गैरअर्थशास्त्रीय विचारबाट प्रेरित देखिन्छ, जसले उत्पादन बढाउनुलाई होइन खर्च बढाउनुलाई समृद्धिको आधार मान्दछ ।

धार्मिक पर्यटन : घरमा आगो लगाएर खरानीको व्यापार

कतिपय मानिस ‘मन्दिर हाम्रो आस्थाको विषय हो, यसको आलोचनाले भावनामा आघात पुग्छ’ भन्छन् । उनीहरू मन्दिर बनाउन सार्वजानिक सम्पत्ति र राज्यको पैसा लिन्छन् । तर, आलोचना भने निषेध गर्न चाहन्छन् । यो लेखबाट पनि व्यक्तिको उक्त भावनामा आघात पुग्न सक्छ ।

यसकारण लेखको सुरूमा नै केही कुरा बताउने अनुमति चाहन्छु ।

धार्मिक पर्यटन के हो ? के यो धर्मसङ्गत छ ? साँच्चै यसले देशलाई समृद्ध बनाउन सक्छ ? यी प्रश्नको आलोचनात्मक उत्तर खोज्न यो लेख लेखिएको हो । यो लेख कसैको आस्थामा आँच पुर्‍याउने उद्देश्यले लेखिएको होइन । मन्दिर जाने मानिसको विरोधमा पनि यो होइन ।

मन्दिरमा जस्तै चर्च, मस्जिद, गुम्बा निर्माणमा ठूलो धन खर्च भएको छ । धार्मिक स्थल निर्माणको जुन होड चलेको छ, यसबीच सम्बन्ध हुनसक्छ । त्यो छुट्टै अध्ययनको विषय हो । वास्तवमा धार्मिक स्थल बनाउनु नै मूर्तिपूजालाई प्रोत्साहन दिनु भएकाले यो लेखको विश्लेषण सबै धर्मका सन्दर्भमा समानरूपमा लागू हुन्छ ।

मन्दिरकै बारेमा कुरा गर्नुका निश्चित कारण छन् । पहिलो, पङ्क्तिकारलाई अन्य धर्मभन्दा हिन्दू धर्मका बारेमा बढी थाहा छ । दोश्रो, म एक नेपाली नागरिक भएकाले यो देशको प्रगतिका लागि योगदान गर्न चाहन्छु । त्यसका लागि बहुसङ्ख्यक हिन्दूका समस्याबारे कुरा गर्नु अपरिहार्य छ । तब मात्रै नेपाली समाजलाई दीर्घकालीन सुधारको बाटोमा लान सक्छ ।

अहिले गाऊँ-गाऊँमा मन्दिर बनाउने अभियान छ । यो औपचारिकरूपमा घोषणा गरिएको नभए पनि महाअभियान भन्न मिल्ने आकारमा चलेको छ । धार्मिक पर्यटनको नारा दिइएको यो अभियानमा धार्मिक संस्था मात्रै होइन, पूरा राज्य लागेको छ । यही नै यस्तो कार्यक्रम होला, जसलाई राजनीतिक दलका घोषणापत्रमा मात्रै उल्लेख गरिएको छैन, कार्यान्वयनमा समेत लगिएको छ ।

एकातिर स्कूलको गुणस्तर ध्वस्त भएको छ । विश्वविद्यालय र क्याम्पस खाली हुन थालेका छन् । तर, राज्यको ध्यान धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा छ । यस अभियानमा सर्वसाधारण, राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूको समेत प्रचुर ध्यान पुगेको छ । कतिपय स्थानीय सरकारको तन, मन र धन सबै लागेको देख्दा साँच्चै देश समृद्ध हुन्छ कि जस्तो पनि लाग्छ ।

विषय प्रवेश

केही महिना पहिलेको कुरा हो । मेरो पुरानो साथी र म फोनमा कुरा गर्दै थियौँ । उसले भन्यो, “हे यार ! यहाँ धाम खोल्ने प्रतिस्पर्धा चलेको छ ।” वाक्क भएर उसले त्यसो भनेको थियो । तर, मलाई अटपट लाग्यो । यो ‘धाम खोल्ने’ शब्द मेरो मस्तिष्कमा अडियो । उसको व्याख्या थियो हामी शिक्षकसमेत धाम वा मन्दिरमा विद्यार्थी लगेर जानुपर्ने दबाबमा छौँ । अभिभावक जुटाउनका लागि अब विद्यालयमा मन्दिर बनाउने र पूजा लगाउनुपर्ने भएको छ ।

मन्दिरमा जानुपर्ने बाध्यता बन्दै गएको छ । तपाईं धार्मिक आस्थामा विश्वास गर्नुहुन्न वा ननाथरीका पूजाको आयोजना र सहभागी हुनुहुन्न भने प्रश्न उठ्न सक्छ । तपाईं को हो ? बहिष्करण हुन्छ । व्यक्तिका लागि उक्त सामाजिक समस्यासँग लड्न सजिलो छैन । मानिसहरू घरमा यो गलत हो भनिरहेका हुन्छन् । तर, सार्वजानिकरूपमा नकार्न नसक्ने भएकाले ‘जता-जता बाहुन बाजे उतै-उतै स्वाहा’ गर्न बाध्य छन् ।

अहिले मन्दिर निर्माणको नाममा चन्दा आतङ्कै चलेको छ । कसको कमाइ कति छ ? कसरी कमाएको छ ? त्यो कसैलाई मतलब छैन । मन्दिरमा कति चन्दा हाल्यो, त्यो सामाजिक प्रतिष्ठाको विषय बनेको छ । ठूलो रकममा चन्दा दिनेलाई सम्मान हुन्छ । उसको नाम माईकबाट भन्ने, शिलामा लेख्ने, अबिर लगाउने, खादा ओडाउने अनेक गरिन्छ । चन्दा नदिनेलाई शङ्का र हेय मिसिएको दृष्टिकोणले हेरिन्छ । अहिले पहाडमा कृषि कर्म गरेर गुजारा चलाउने परिवार मात्रै होइन, चन्दा दिनुपर्ने दबाबमा विदेश गएका समेत छन् ।

मन्दिरमा एक बाबा हुन्छन् । बाबाले चाहेको मान्छेले सबै कुरा गर्दछन् । बाबालाई कस्तो खाना चाहियो ? आलिसान बासस्थान ? बाबालाई हेलिकप्टर चाहिन्छ कि ? सबै कुराको बन्दोबस्त हुन्छ । कति पैसा उठ्यो ? कति अन्न उठ्यो ? त्यो कहाँ खर्च भयो कसैको चासोको विषय हुँदैन । कहीँकतै बाबाले चाहे सार्वजानिक गरे होलान्, नत्र आम्दानी-खर्च प्रायः अपारदर्शी हुन्छ ।

मन्दिर भ्रष्टाचार गर्ने बाहाना बनेका छन् । मन्दिरका नाममा भएको सार्वजानिक स्थल तथा वन दुरूपयोगको विरोध गर्ने आँट कमै मान्छे गर्छन् । त्यत्ति मात्रै होइन, दलित, मूर्तिपूजामा विश्वास नगर्ने तथा गैरहिन्दूले समेत तिरेको करको ठूलो अंश यसमा खर्च भएको छ । अवस्था कस्तो छ भने टाठा-बाठाले मन्दिरलाई धन कमाउने साधन बनाएका छन् भने आम भक्तजन मन्दिर निर्माणमा भ्रष्टाचार हुनसक्छ भन्ने पनि सोच्दैनन् ।

लेखको सुरूमा भनिएझैँ अहिले मन्दिर निर्माणको अभियान चलेको छ । उद्देश्यअनुरूप यो ठीकै पनि हो । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्य राखेपछि प्रथमतः गर्ने भनेको मन्दिर निर्माण नै हो । यद्यपि, यो विकासको मोडल प्रश्नभन्दा माथि छैन । वास्तवमा यसले विवाद सिर्जना गरेको छ । समाजको प्रबुद्ध तप्का ध्रुवीकृत भएको छ । एक तप्काले प्रश्न उठाएको छ । के धार्मिक पर्यटनको प्रवर्द्धन हाम्रो समृद्धिको सपनानुरूप छ ? साँच्चै पूजापाठ र मन्दिरलाई प्रर्वद्धन गरेर देशले आर्थिक विकास गर्न सक्छ ? सक्दैन । यो घरमा आगो लगाएर खरानीको व्यापार मात्रै हो ।

कसरी ? त्यसका निश्चित कारण छन् । पहिलो, मन्दिर निर्माण आफैँमा शास्त्रसङ्गत छैन । शास्त्रको सार छ— ईश्वर सर्वत्र छ । ऊ प्रत्येक प्राणीमा हुन्छ । सारा प्रकृतिमा हुन्छ । वास्तवमा भागवत् गीतामा कृष्णले भनेझैँ कण-कणमा भगवान् हुन्छ । धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने भनेर मन्दिर निर्माण गर्नु यो शास्त्रीय मान्यताबाट च्युत हुनु हो । जसका कारण धर्मको प्रर्वद्धन हुँदैन । बरु विरोधाभास, विवाद, बदनाम र अन्त्यमा क्षयीकरण हुन पुग्दछ ।

मन्दिरबाट मानिसलाई शास्त्रको ज्ञान हुँदैन । कहिलेकाहीँ प्रवचन भएछ भने पनि त्यो एकोहोरो हुन्छ । अनुयायी बनाउने उद्देश्यले हुन्छ । त्यहाँ प्रश्नोत्तरको परिपाटी हुँदैन । प्रश्न बर्जित हुन्छ । यस्ता प्रवचनमा भाग लिने मान्छे कुरा सुन्दै नसुनीकन ठीक मान्ने खालका हुन्छन् । धेरै मान्छे बाबाको चाकडी ईश्वरलाई खुसी बनाउने उपाय ठान्छन् । त्यसकारण मन्दिर निर्माणले व्यक्तिपूजा र दासत्वलाई प्रवर्द्धन गर्दछ न कि ज्ञान र तर्कलाई ?

धार्मिक यात्रामा त्याग, समर्पण र वैराग्यताको भावना राखेर जाने मान्छेले धार्मिक पर्यटनका नाममा जे भइरहेको छ, त्यो विकृति ठान्दछन् । मान्दिर यात्रा महङ्गो भएको छ । मन्दिर-मन्दिरमा केवलकार निर्माण गरेर, सेल्फीपोइन्ट बनाएर, त्यसको वरिपरि होटल र अन्य विलासी उपभोगका पसल खोलिएको छ । यसले केही मानिसको गुजारा चलेको त होला । तर, धामको यात्रा पूर्णतः ढोंगमा बदलिएको छ ।

मूर्तिपूजालाई भाग्यवादको जननी मान्न सकिन्छ । आम मानिसले मन्दिर जाने भनेको भगवान्‌लाई केही माग्न जाने भन्ठान्छन् । धेरै मानिस सम्पत्ति माग्न जान्छन् । जब बारम्बार मन्दिर गएर ढोग्ने र माग्ने बानी हुन्छ, उक्त व्यक्ति कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने बन्दछ । शास्त्रले भन्छ— फलको आशक्ति त्यागेर कर्म गर्नु पर्दछ । यद्यपि, मन्दिर जाने व्यक्ति कर्मै नगरी फलको आशामा बस्छ । निष्कृय बन्दछ ।

दोश्रो, धार्मिक पर्यटनबाट आर्थिक समृद्धि सम्भव छैन । यसमा भएको लगानीले सिधा प्रतिफल दिँदैन । मन्दिरसँग जोडेर उपभोगलाई बढावा दिने सेवा क्षेत्रको विस्तारलाई नै धार्मिक पर्यटनको उपलब्धि मान्न सकिन्छ । तर, यसले उत्पादन र प्रतिफललाई बढाउनुपर्ने समयमा खर्चलाई मात्रै बढाउँछ । करोडौंको लगानीमा मन्दिर निर्माण गरिन्छ । त्यसको तुलनामा मन्दिरले सिर्जना गर्ने यो रोजगारी अत्यन्तै न्यून हो । के बुझ्न जरुरी छ भने अगरबत्ती बेचेर आर्थिक समृद्धि ल्याउन सम्भव छैन । बरु यसले ज्ञान तथा विज्ञानबाट मानिसको ध्यान भड्काएर अन्धविश्वासलाई मलजल गर्दछ ।

यसले अवसर निर्माण गरेको छ भने पनि मन्दिरसँग प्रत्यक्ष जोडिएका केही सीमित मानिसका लागि मात्रै गरेको छ । त्यो फाइदा कर्मकाण्डमा अभ्यस्त र हिन्दू धर्मसँग जोडिएका पुरुष बाहुनको एक सानो तप्कामा मात्रै केन्द्रित हुन्छ । जो आर्थिकरूपमा पिछडिएका छन् । जसको सन्तानले गुणस्तरीय खाना, स्वास्थ्य सेवा तथा शिक्षा पाएका छैनन्, ती व्यक्तिका लागि मन्दिरले सहयोग गर्दैन । बरु, अन्धविश्वास बढाएर मन्दिर निर्माणको आर्थिक बोझसमेत कमजोर तप्कालाई बोकाउने गर्दछ ।

अन्त्यमा, धार्मिक पर्यटन प्रवर्द्धन विकासको विचलित मोडल हो । सोझो भाषामा भन्नुपर्दा मन्दिर जाँदा मान्छेले खर्च गर्छ, व्यापार बढ्छ र देशमा समृद्धि आउँछ भन्नेमा यसले विश्वास गर्दछ । यो यस्तो गैरअर्थशास्त्रीय विचारबाट प्रेरित देखिन्छ, जसले उत्पादन बढाउनुलाई होइन खर्च बढाउनुलाई समृद्धिको आधार मान्दछ ।

सांस्कृतिक महत्त्व भएका सम्पदाको संरक्षण गर्ने कुरा अलग छ । तर, यसरी व्यापार बढाउने नाममा मूर्तिपूजालाई बढावा दिनु आफ्नै ज्ञान, विज्ञान र तार्किकतामाथिको आत्मघाती आक्रमण हो । वास्तवमा यो युग मन्दिरमा होइन, ल्याबमा ईश्वरको खोजी गर्ने युग हो । यो समयमा धार्मिक पर्यटन विकासको नारा असङ्गत मात्रै होइन, अस्वाभाविक पनि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved