पूर्वेलीका दुख : पशुपतिनगरमा भन्सार नहुँदा आधाघन्टाको बाटो छाडेर झापा झर्नुपर्ने बाध्यता !
आफ्नो नाकामा भारतीय पक्षले भन्सार संरचना राख्न आनाकानी गर्दा त्यसको सोझो असर नेपालका पूर्वी पहाडी जिल्लालाई परिरहेको छ । भारतीय नाकामा भन्सार नहुँदा नेपाली व्यापारीले चाहेर पनि कम खर्चिलो हुने पशुपति नाकाबाट सामान पठाउन पाइरहेका छैनन् । स्थलगत रिपोर्ट
इलाम । तुवाँलोले छोपेको सल्लाको जङ्गलभित्र फुलिरहेका राता गुराँस । इलामको पशुपतिनगरको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ । भारततिर हेर्दा पनि उस्तै हरियाली देखिन्छ ।
साँघुरो सडकको दुईतिर खँदिला घरहरू । बाक्लो बजार । पशुपतिनगर बजारको सौन्दर्यताको वर्णन गरेर सकिन्न । सिक्किम र दार्जिलिङ जाने पर्यटकको लर्को नै लाग्छ त्यही नाकाबाट ।
जङ्गलमा लटरम्मै फुलेका गुराँसको चर्चा जति भइरहन्छ, त्यति नै नेपाली किसान तथा व्यापारीका समस्या ओझेलमा परेका छन् ।
दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । अर्काेतर्फ नेपालीका समस्या अनेक छन्, जसको समाधान वर्षाैसम्म हुन सकेको छैन ।
०००
इलामको सूर्योदय नगरपालिकाको फिक्कलबाट पशुपतिनगर ११ किलोमिटरको दुरीमा छ, गाडीमा बिस्तारै गए पनि आधा घण्टामा पुगिन्छ । नेपाल भारतको सीमा त्यहाँबाट जम्मा ३६ किलोमिटर दूरी पार गरेपछि दार्जिलिङ बजार आइपुग्छ । थप एक घण्टाको यात्रामा दार्जिलिङ पुग्न सकिन्छ ।
फिक्कलबाटै तल झापाको काँकडभिट्टा पुग्न ५१ किलोमिटर दुरी पार गर्नुपर्छ । त्यहाँबाट भारतीय बजार अझै पर छ । दार्जिलिङ पुग्न त काँकडभिट्टाबाट ७३ किलोमिटर पार गर्नुपर्छ, झन्डै साढे २ घण्टा लाग्छ ।
अर्थात्, इलाम सूर्योदय नगरका बासिन्दा भारतीय बजार जान परेमा डेढघन्टामै पुग्न सक्छन् पशुपतिनगरको बाटो हुँदै । तर, उनीहरु जान सके पनि बस्तु तथा सामान भने बेच्न लैजान सक्दैनन् ।
नेपालमा उत्पादित कृषिवस्तु भारतीय बजारमा पुर्याएर बिक्री गर्न काँकडभिट्टा (मेची भन्सार)को बाटो प्रयोग गर्नुपर्छ । उनीहरूले चार-पाँच घन्टाभन्दा बढी लामो समयको सडक पार गर्नुपर्छ । एक डेढघन्टाको छोटो बाटोबाट भारतीय बजारमा सामान लैजान पाउँदैनन् ।
इलाम मात्र नभई सीमा जोडिएका पहाडी जिल्लामा उत्पादन हुने कृषि वस्तु अमरिसो, अलैँची, अदुवा, चिया, कफि तरकारी जस्ता सामानको कारोबार गर्ने किसान तथा व्यापारीलाई यही बाटोको झन्झटले धेरै तनाव दिँदै आएको छ ।
भारतको बजार जाने दुई बाटोमध्ये पशुपतिनगरबाट सोझै दार्जिलिङ पुर्याउन पाए किसान तथा व्यापारीलाई नाफा धेरै हुन्छ ।
काँकडभिट्टातिरबाट भन्दा सजिलै र छिटो बजार पुर्याउन सक्दा भारतीय सहर दार्जिलिङमा मूल्य पनि राम्रै पाइन्छ । तर, लामो बाटो प्रयोग गर्नुपर्दा ढुवानी मूल्य बढी पर्छ, सामान लैजान पनि समय बढी खर्च हुन्छ । तर, चाहेर पनि पशुपतिनगर नाका प्रयोग गर्न पाउँदैनन्, सक्दैनन् उनीहरु ।
झापा झर्नुपर्ने बाध्यता नै किन ?
नेपालका किसान तथा व्यापारीले चाहेर पनि पशुपतिनगर नाका प्रयोग गर्न नपाउने एकमात्र कारण हो, सीमा नाकामा भारतको भन्सार नहुनु ।
पशुपतिनगर इलाममा पर्छ । जोडिएको दार्जिलिङ जिल्ला भारतको पश्चिम बङ्गाल प्रदेशको हो । नेपालतिर पशुपतिनगर (इलाम)मा भन्सार छ, तर, पारी दार्जिलिङ नाकामा छैन ।
भारततिर भन्सार, क्वारेन्टाइन केही पनि नहुँदा सामान लैजानै मिल्दैन । बलपूर्वक लगेमा अवैध हुन्छ । कारबाही भोग्नुपर्छ । सामान जफत हुन्छ । त्यसैले झापाको बाटो हुँदै लैजानुपरेको हो । यसले ढुवानी खर्च, बाटोको झन्झट धेरै बढाएको व्यापारी बताउँछन् ।
‘पशुपतिनगर नाकाबाट इस्कुसबाहेकका सामान लैजान पाइन्न । सीमा छाडेर भारतीय जमिन टेक्ने बित्तिकै हाम्रो सामान अवैध हुन्छ । उता काँकडभिट्टा नाकाको बाटो भएर लैजाँदा दूरी लामो हुन्छ खर्च पनि धेरै हुन्छ । यताबाट इस्कुसमात्रै लैजाँदा पनि भारतीय नाकामा सुरक्षाकर्मीले ज्यादै दुःख दिने गरेका छन्’ उद्योग वाणिज्य संघ सूर्योदय नगरपालिकाका वरिष्ठ उपाध्यक्ष सुरेन पौडेल भन्छन् ।
आफ्नो नाकामा भारतीय पक्षले भन्सार संरचना राख्न आनाकानी गर्दा त्यसको सोझो असर नेपालका पूर्वी पहाडी जिल्लालाई परिरहेको छ । भारतीय नाकामा भन्सार नहुँदा नेपाली व्यापारीले चाहेर पनि कम खर्चिलो हुने पशुपति नाकाबाट सामान पठाउन पाइरहेका छैनन् ।
यदि भारतले भन्सार राखेरपशुपतिनगर नाकामार्फत नै कारोबार हुने अवस्था आउने थियो । त्यसो हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रमा उत्पादन हुने कृषि वस्तुको ढुवानी सजिलो हुने किसान तथा व्यवसायीको भनाइ छ ।
तर, अहिले भन्सार नहुँदा व्यापारीको लागत खर्च मात्रै बढाएको छैन, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता पनि घटाइरहेको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बराल बताउँछन् ।
उनी भन्छन्, ‘पूर्वको पहाडमा उत्पादन हुने चिया, अलैँची, अदुवा, अमरिसो, तरकारी तथा दूधजन्य परिकार छोटो र सजिलै भारतीय बजार पुग्ने थियो । काँकडभिट्टा नाकामा भोग्ने ट्राफिक समस्या हल हुने थियो । सबैभन्दा ठूलो कुरा त कृषि वस्तु सजिलै भारतीय बजार पुग्ने थिए । दार्जिलिङ, सिक्किम, कालिम्पोङ क्षेत्रमा पनि नेपाली वस्तुलाई ठूलो बजार उपलब्ध हुन्थ्यो ।’
इलाम, पाँचथर र ताप्लेजुङमा मात्रै वार्षिक ६ हजार भन्दा बढी टन अलैँची फल्छ । अदुवा वार्षिक झन्डै ७० हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ । इस्कुस ५ हजार ७९७ टन उत्पादन हुने पहाडका तीन जिल्लामा वार्षिक ८० हजार मेट्रिक टन अमरिसो उत्पादन हुँदै आएको छ ।
उत्पादित सबै कृषि वस्तुको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजार हो । कम्तीमा पहाडका कृषिवस्तु पहाडकै बाटो हुँदै भारतीय बजार पुग्ने अवस्था भए ढुवानीमा हुँदै आएको लागत धेरै घट्ने अलैँची व्यवसायी बताउँछन् ।
इलामसहित पहाडी जिल्लाका कृषि उपज मेची राजमार्ग हुँदै काँकडभिट्टासम्म ल्याइपुर्याउँदा भन्दा पशुपति नाकाबाट सोझै लैजान पाइने हो भने हरेक कृषि वस्तुमा प्रतिकेजी दुई रुपैयाँ ढुवानी खर्च घट्छ ।
तर, ढुवानीमा ठूलो खर्च गरेको कृषिवस्तुले भारतमै अनुदानमा उत्पादित सस्तो मूल्यका सामानसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ ।
पर्यटक पनि इलाम आउन पाउँदैनन्
सामान आयात निर्यात हुन नसक्दाको असर एकातिर छ भने अर्कातिर भारतीय अध्यागमन अभावले दार्जिलिङबाट तेस्रो देशका पर्यटक सोझै पशुपति नाका हुँदै नेपाल आउन पाउँदैनन् ।
दार्जिलिङमा विश्वभरीका पर्यटकको सधैँजसो भीड हुन्छ । त्यहाँबाट नेपाल घुम्न आउने पर्यटकले ३५, ३६ किलोमिटर पर पशुपतिनगर हुँदै इलाम आउन पाउँदैनन् । सिलिगुढी झरेर पानीट्यांकी नाका हुँदै काँकडभिट्टा प्रवेश गर्नुपर्छ । तीनचार घण्टा लामो बाटो प्रयोग गर्नुपर्छ ।
भन्सार मात्र नभई अध्यागमन पनि नभएकाले भारत बाहेकका देशका पर्यटक चाहेर पनि सोझै इलाम आइपुग्न पाउँदैनन् । सिलिगुढी झरेर काँकडभिट्टा हुँदै लामो दूरी तय गरेर ज्यादै थोरै पर्यटक मात्रै आइपुग्छन् ।
‘भारतीय पक्षले दार्जिलिङमा अध्यागमनको मात्रै प्रबन्ध गरिदिए पनि पहाडी जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने थियो,’ सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई भन्छन् ।
तर, झापाबाट भित्रिने अधिकतम् पर्यटक इलाम नघुमी काठमाडौं वा पोखरातिर लाग्ने गरेका छन् ।
पशुपतिनगरभन्दा करिब ३५, ४० किलोमिटरमा रहेको दार्जिलिङ बर्सेनि हजारौँ पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् । तर चाहेर पनि सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन् ।
दार्जिलिङ भन्सार किन बन्द ?
भारतले पशुपतिनगरमा भन्सार नराखेको भने होइन, हटाएको हो । वि. सं. १९८६ तिरै तत्कालीन राणा शासकले ‘चार कटेरी’ को नाममा पशुपतिनगरमा भन्सार कार्यालय स्थापना गरेका थिए । त्यसअघि नै भारतको तर्फबाट दार्जिलिङ नाकामा भन्सार थियो ।
उनीहरूले सन् १८८५ मै भारतीय नाका सुकियापोखरीमा भन्सार स्थापना गरेका थिए । तर, २ वर्षपछि १९८७ मा भारतीय भन्सार हट्यो । क्वारेन्टाइन पनि बन्द भयो । त्यसपछि सहर बनिसकेको पशुपतिनगर विस्तारै सानो बजारमा सीमित हुन थालेको स्थानीय बताउँछन् ।
इलाम, पाँचथर, ताप्लेजुङका उद्योगी व्यवसायीले पशुपति नाकाबाट कानुनी रूपमा आयात निर्यातको प्रबन्ध गर्न माग गरेको धेरै भयो ।
उनीहरूले नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीति पहल गरेर दार्जिलिङ नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने माग राख्दै आएका छन् । तर, माग अहिलेसम्म पूरा हुन सकेको छैन ।
Facebook Comment
Comment