मलामी बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन उपलब्ध गराउने

नेपालभ्युज

मलामी बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन उपलब्ध गराउने

विराटनगर । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको आज सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले भने, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।”

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।” उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved