मौन अवधिअघि एकपटक इलाम २ उपनिर्वाचनको कुरा

दलीय आधारमा यो चुनाव एमालेका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । एमालेको अस्तित्व, प्रतिष्ठा र भविष्यसँग जति बलियो गरी जोडिएको छ, त्यति अरु दलसँग छैन ।

मौन अवधिअघि एकपटक इलाम २ उपनिर्वाचनको कुरा

काठमाडौं । बुधबार मध्यरातदेखि इलाम २ उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । स्वाभाविक छ— मौन अवधिअघि मानिसले प्रत्यक्ष वा परोक्ष आ-आफ्नो पक्षधरता जनाइरहेका छन् । स्थलगत सर्वेक्षण पनि एक प्रकारका पक्षधरता नै हुन्, ती सम्पूर्णतः निष्पक्ष, तटस्थ र स्वतन्त्र हुन्छन् वा हुनु पर्दछ भन्ने छैन ।

लोकतन्त्र भनेको पैरवी वा छनोटको अधिकार मात्र होइन, ‘पक्षधरताको अधिकार’ पनि हो । कुनै पनि लोकतान्त्रिक चुनावको नतिजा के-कस्तो हुन्छ ? अन्ततः कस्तो परिणाम आउँछ ? त्यो त नतिजा आएपछि नै थाहा हुन्छ ।

अनुमान त अनुमान नै हुन्, अनुमान मिल्न पनि सक्दछ, नमिल्न पनि सक्दछ । कसैका पनि अनुमान मिल्न पर्दछ भन्ने छैन ।

नतिजा के आउँछ, त्यो स्वयम् मतदातालाई पनि थाहा हुँदैन । निर्वाचन क्षेत्रका सबै मतदाताले अगाडि नै सल्लाह गरेका हुँदैनन् । सबैको मन एकै हुन सम्भव हुँदैन । मानिसले आ-आफ्नो ठाउँ, परिवेश र स्थितिमा कसरी सोच्दछ, त्यो उसको अधिकार हो । लोकतन्त्रले दिने सबैभन्दा ठूलो स्वतन्त्रता नै सोच्ने अधिकार हो । र, सोच्नु मान्छेको नैसर्गिक गुण हो ।

मान्छेले सोच्ने तरिकाका विभिन्न आधार हुन्छन् । जाति, भाषा, धर्म, संस्कृति, स्कूलिङ, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, राष्ट्रिय, प्रादेशिक तथा स्थानीय शक्ति सन्तुलन, दलीय सङ्गठनको अवस्था, मिडिया, वैचारिक पृष्ठपोषण, व्यक्ति सम्बन्ध, चिनचान वा वैयक्तिक अपेक्षाजस्ता अनेक कारणले मान्छेको सोच्ने तरिका फरक-फरक बन्न पुग्दछ ।

समरूप समाजको राजनीतिक मनोविज्ञान बुझ्न जति सजिलो हुन्छ, असमरूप मतदाताको मतदान प्रवृति बुझ्न उत्तिकै गाह्रो हुन्छ । नेपाल एक असमरूप समाज हो । तसर्थ, यहाँ मतदाता मनोविज्ञानका आधार, नागरिकका निर्वाचन, उम्मेदवार, दल र राज्यप्रतिका अपेक्षा नै फरक-फरक छन् ।

गत स्थानीय तथा आमचुनावको कुरा गर्ने हो भने स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी बिल्कुल नयाँ राजनीतिक प्रवृति थिए । तर, गत वर्ष भएको चितवन, तनहुँ र बाराको तीनवटा उपचुनावको प्रवृत्ति फरक देखियो ।

तनहुँमा २०७९ को मंसिरमा करिब २० हजार मत पाएको एमालेले ६ महिनापछि करिब साढे ७ हजार मात्र मत पाएको थियो । एमालेको मतमा ६ महिनाभित्रै करिब ५७ प्रतिशतको ह्रास भएको थियो ।

चितवन र तनहुँमा रास्वपाको जुन लहर देखियो, ठीक त्यही लहर बारामा थिएन । बारामा रास्वपा उम्मेदवारले जमानत पनि जोगाउन सकेका थिएनन् भने त्यहाँ जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी दुई मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा भएको थियो ।

इलाम न चितवन र तनहुँजस्तो छ, न बाराजस्तो । इलाम चितवन-तनहुँजस्तो काठमाडौंकेन्द्रित राजनीतिको धेरै ठूलो प्रभाव पर्ने जिल्ला हैन, सुदूरपूर्वको सीमान्त जिल्ला हो । देशकै पूर्वी सिमानासँग जोडिएको जिल्ला । बाराजस्तो मधेसी मतदाता भएको जिल्ला पनि हैन ।

पूर्वी पहाडको चरित्र हो मूलतः पहाडी जनजाति र खसआर्य मनोविज्ञानको सम्मिश्रण । यही कारण थियो, जसले सुवासचन्द्र नेम्वाङजस्ता नरम स्वभावका जनजाति मूलका राष्ट्रिय नेतालाई बारम्बार जीतको अवसर दियो । एकपटक त्यस निर्वाचन क्षेत्रमा नेपाली नेपाली कांग्रेसका केबी गुरुङले पनि जितेका हुन् । गुरुङको स्वभाव पनि करिब-करिब नेम्वाङकै जस्तो थियो । उनी भद्र चरित्रका राष्ट्रिय नेतृत्वको आकाङ्क्षा राख्ने जनजाति मूलका नेता थिए ।

इलाममा कम्युनिष्ट आन्दोलन बलियो हुनुका थुप्रै ऐतिहासिक कारण छन् । शहीद रत्नकुमार बान्तवा यही जिल्लाका थिए । पञ्चायतको अन्तिम चुनाव २०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालीन माले समर्थक जनपक्षीय उम्मेदवार डा. नोवल केमी राईले जितेका थिए ।

इलाममा जे कारणले एमाले बलियो भएको थियो, आज पनि ती कारण जस्ताको त्यस्तै छन् भन्न सकिँदैन । मुख्यतः तीनवटा कारणले परिस्थिति बदलिएको सङ्केत गर्दछ ।

एक— एमाले विभक्त/विभाजित छ । नेकपा (एकीकृत समाजवादी ) तिर लागेका पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालको गृह जिल्ला यही हो । भलै कि यो पार्टीभिन्नै उम्मेदवारी दिएर पनि धेरै चर्चा र प्रतिस्पर्धामा छैन तर, केही न केही मनोवैज्ञानिक प्रभाव पर्दछ ।

दुई— पहिचानवादी शक्तिहरूको अभूतपूर्व केन्द्रिकरण हो । यसपटक इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर शक्तिहरू जसरी सबै एक ठाउँ भएका छन् । यसअघि कहिल्यै भएका थिएनन् । नभन्दै त्यसको प्रभाव र लहरसमेत देखिएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई सबैले एक मुख्य प्रतिस्पर्धीका रूपमा गणना गरेका छन् । पूर्वका लोकप्रिय धराने मेयर हर्क साम्पाङ, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि स्वागत नेपालको उन्नत लोकतान्त्रिक पार्टीले उनलाई खुलेर समर्थन गरेका छन् ।

‘नो कोशी’ आन्दोलन पूर्वको एक बलियो आन्दोलन हो । पूर्वी पहाडको जनजाति आन्दोलन तथा पहिचान आन्दोलनको आधार इलाका र आधार समुदायको बसोबास क्षेत्र पनि मान्न सकिन्छ इलामलाई । इलाममा राई, लिम्बू, मगर, तामाङ, लेप्चालगायतका पहाडी जनजाति समुदायको व्यापक बसोबास छ । यस क्षेत्रको खस-आर्य समुदायको एउटा हिस्साले पनि पहिचानप्रति रुझान राख्दछ ।

तीन— २०३६-०५६ बीचमा कम्युनिष्ट स्कूलिङबाट हुर्किएको पुस्ताको जनसङ्ख्या अनुपात र सामाजिक वर्चस्व विस्तारै सङ्कुचन र कमजोर हुँदैछ । समाजमा नयाँ पुस्ताका मतदाताको सङ्ख्या बढ्दैछ । तिनको रुझान पुराना दलका उम्मेदवारतिरभन्दा बढी नयाँ दलतिर छ ।

उपरोक्त तीन कारण यति बलिया छन् कि यिनले सधैँ जड र स्थिर राजनीतिको केन्द्र भइरहन दिँदैनन् । साथै, उतिकै ठूलो सत्य के हो भने इलाम तीनदशक यता देशका अरु भागको तुलनामा बढी स्थिर र जड राजनीति हुँदै आएको जिल्ला हो ।

तर, बदलिँदो परिवेश र प्रवृतिबाट इलाम मात्रै सधैँ अछुतो रहन सक्दैन । इलाम बदलिएन भने त्यसको त्यति ठूलो अर्थ रहँदैन । तर, यस उपनिर्वाचनबाट इलाम बदलियो भने त्यसले देशको राजनीतिलाई नयाँ मोड दिने क्षमता राख्दछ । अथवा नयाँ राजनीतिलाइ तीव्रता प्रदान गर्नेछ ।

दलीय आधारमा यो चुनाव एमालेका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । एमालेको अस्तित्व, प्रतिष्ठा र भविष्यसँग जति बलियो गरी जोडिएको छ, त्यति अरु दलसँग छैन ।

साढे ३ दशकमा नेपाली कांग्रेसले एकपटक मात्र जितेको हो यहाँ । जिते थप उपलब्धि, हारे हार्दै आएकै ठाउँ नै हो । चितवन वा तनहुँमा हार्नु कांग्रेसका लागि जुनस्तरको क्षति हो, इलाममा हार्नुले नेपाली कांग्रेसलाई त्यो स्तरको क्षति गर्दैन ।

रास्वपाले पनि बलियो आशा गरिहाल्नुपर्ने, हारे निकै ठूलो राजनीतिक क्षति हुने ठाउँ हैन यो । गत आमनिर्वाचनमा देशव्यापी लहरका बाबजुद यहाँ रास्वपा कमजोर तेस्रो स्थानमा थियो । हिजो रास्वपाप्रति आकर्षणका कारण जति बलिया थिए, आज त्यति बलिया छैनन् । रास्वपा पुरानै सत्ता गठबन्धनको साझेदार बन्नु र सहकारी ठगी काण्ड उजागर हुनुले रास्वपाको नैतिक क्षमता कमजोर भएको छ । त्यसका बाबजुद रास्वपाले ल्याउने भोट पार्टीको विकास र विस्तारका लागि सहयोगी नै हुनेछ ।

तसर्थ, इलाम २ को हारजीतले कांग्रेसलाई जस्तै रास्वपाको अस्तित्व, प्रतिष्ठा र भविष्यका लागि ठूलो अर्थ राख्दैन । गणितीय दृष्टिकोणले के हुन्छ, त्यो भिन्नै कुरा हो तर, राजनीतिक दृष्टिकोणले भने यो उपनिर्वाचन एमाले र पहिचानवादी शक्तिको प्रतिष्ठा, अस्तित्व र भविष्यको भीषण सङ्घर्ष हो ।

‘नो कोशी’ आन्दोलनको राप-ताप, सबैजसो पहिचानवादी शक्तिको समर्थन र पहिचान आन्दोलनको आधार इलाका र समुदायमै डकेन्द्रसिं थेगिमले सम्मानजक प्रतिस्पर्धी मत ल्याएनन् वा जितेनन् भने पूर्वी पहाडको पहिचान आन्दोलन झनै कमजोर हुनेछ । यो कुरा पहिचान पक्षधर शक्ति र जनमतले राम्रो बुझेको छ ।

त्यसैगरी एमाले पराजित भयो भने पार्टीलाई राम्रै धक्का लाग्नेछ । यो चुनाव एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी राजनीतिक प्रतिष्ठासँग पनि जोडिने छ । यो चुनाव अध्यक्ष ओलीको गृहजिल्ला झापासँग जोडिएको गृह प्रदेशको चुनाव हो । पूर्वको पहिचान आन्दोलनको मुख्य विपक्षी बनाइएको पार्टी पनि एमाले नै हो । इलाममा एमाले हार्यो भने पार्टीलाई चितवन, तनहुँ र बाराको हारले भन्दा धेरै क्षति पुग्नेछ ।

समग्रमा इलाम २ को उपचुनाव एमाले र पहिचानवादी शक्तिको प्रतिष्ठा र अस्तित्वको महासङ्घर्ष हो भने कांग्रेस र रास्वपाका लागि सामान्य लोकतान्त्रिक प्रतिस्पर्धा मात्रै ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved