एकीकृत समाजवादीको विवाद

माधव नेपालको जबजभक्ति र झलनाथ खनालको ‘दक्ष प्रजापतिको टाउको’

जबज अब असान्दर्भिक भएको वा दक्ष प्रजापतिको टाउको नै पुष्टि भएको भए विकल्प के हो ? के ‘एकदलीय प्रणाली’ मा फर्किने हो वा अर्को कुनै नयाँ बहुदलवादी सिद्धान्त बनाउने हो ? सम्मानित नेता खनाल र महासचिव भुसालले अध्यक्ष नेपाललाई चुनौती त दिएका छन् तर, कुनै नयाँ विचार र सिद्धान्त अहिलेसम्म प्रस्तावित गरेका छैनन् ।

माधव नेपालको जबजभक्ति र झलनाथ खनालको ‘दक्ष प्रजापतिको टाउको’

काठमाडौं । नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी ) मा पार्टी सिद्धान्तको बहस चर्किएको छ । पार्टीका दुई मुख्य नेता माधवकुमार नेपाल र झलनाथ खनालले हालै सम्पन्न पार्टी केन्द्रीय परिषद्‌‌ बैठकमा व्यक्त गरेका विचारपछि यो मतभेद सतहमा आएको हो ।

यद्यपि, मतभेद प्रारम्भदेखि नै थियो । खनाल कहिल्यै जनताको बहुदलीय जनवाद पक्षधर थिएनन् भने नेपाल आफूलाई जनताको बहुदलीय जनवाद अघि सार्ने समूहको सदस्यमध्ये एक ठान्दछन् ।

नेपाल र खनाल दुवै एमालेको मुख्य नेता भइसकेका पूर्वप्रधानमन्त्री हुन् । नेपाल २०५० को जेष्ठमा भएको विवादास्पद दासढुंगा दुर्घटनामा तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि लामो समय करिब १५ वर्ष एमालेको महासचिव थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा पार्टीको पराजयपछि उनले नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिए । एकीकृत समाजवादी पुनर्गठित भएपछि पुनश्च पार्टी अध्यक्ष भएका छन् । खनाल माले र एमालेको गरी दुईपटक करिब १० वर्ष पार्टी प्रमुख थिए ।

२०३९ सालको आन्तरिक पार्टी विवादपछि सीपी मैनालीलाई प्रतिस्थापन गर्दै खनाल पहिलोपटक तत्कालीन नेकपा मालेको पार्टी महासचिव भएका थिए । २०४५ भाद्रमा सिरहाको सर्रे-अम्बासमा सम्पन्न भूमिगत चौथो महाधिवेशनमा मदन भण्डारीले खनाललाई प्रतिस्थापन गरे । त्यही माले पछि एमाले भएको थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा पार्टीको पराजय र नेपालको राजीनामापछि उनी पुनश्च पार्टी प्रमुख भए । उनको यसपटकको कार्यालय २०७० को नवौं महाधिवेशनसम्म रह्यो । उनी २०६५ को नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

त्यसअघि कार्यकारी अधिकारसहितको पार्टी प्रमुखलाई महासचिव भन्ने प्रचलन थियो । अध्यक्ष मानार्थ मानिन्थ्यो । मनमोहन अधिकारी लामो समय एमालेको मानार्थ अध्यक्षको पदमा रहेका थिए । कार्यकारी अधिकारसहितको निर्वाचित पहिलो पार्टी अध्यक्ष भने खनाल नै हुन् ।

सतहमा आएको दुई वरिष्ठ र जेष्ठ नेताबीचको लडाइँले एकीकृत समाजवादीभित्रको वैचारिक सङ्घर्षलाई रोचक बनाएको छ ।

के हो जबज ?

२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीद्वारा प्रस्तावित र पारित पार्टी नीति तथा कार्यक्रमलाई जनताको बहुदलीय जनवाद संक्षिप्तमा ‘जबज’ भनिन्छ । एमालेले मदन भण्डारीलाई जनताको बहुदलीय जनवादमा प्रतिपादक तथा जबजलाई नविन सिद्धान्त मान्दछ ।

पाँचौँ महाधिवेशनको ध्रुवीकरणमा नेपाल मदन भण्डारीको पक्षमा थिए भने खनाल सीपी मैनालीको समूहमा । मैनालीले ‘परिमार्जित नौलो जनवाद’ नामक भिन्नै दस्तावेज प्रस्तुत गरेका थिए । मैनालीको दस्तावेज अल्पमतमा परेको थियो ।

खनालले त्यही बेला नै जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ भन्ने संज्ञा दिएका थिए । तर, पुनश्च पार्टी नेतृत्वमा आएपछि उनले जनताको बहुदलीय जनवादलाई नै मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरे । खनाल पार्टी अध्यक्ष हुँदा एमालेको औपचारिक कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद नै थियो ।

दक्ष प्रजापतिको कथा 

दक्ष प्रजापति सृष्टिसम्बन्धी हिन्दू किंवदन्तीका एक पात्र हुन् । उनी सृष्टि पुरुष ब्रह्माका छोरा र महादेवका ससुरा थिए । ब्रह्माका मानषपुत्र दक्षको उत्पति ब्रह्माको अंगुठाबाट भएको कथामा उल्लेख छ ।

दक्षका दुई पत्नी थिए । प्रसूति र विरणी । प्रसूतिबाट १६ विरणीबाट ६० गरी ७६ छोरी थिए । तिनैमध्ये एक थिइन्, सतिदेवी । सतिदेवी महादेवलाई पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । तर, दक्ष महादेवलाई कन्यादान गर्न चाहँदैनथे ।

एक समारोहमा महादेवले नमस्कार नगरेर अपमान गरेको पीडा दक्षको मनमा थियो । सतिले पिता दक्षको इच्छाविपरीत महादेवलाई स्वयंवर गरिन् । दक्षले आफ्ना सबै छोरी ज्वाइँलाई निम्त्याएर ठूलो यज्ञ आयोजना गरे । तर, महादेवलाई निमन्त्रणा नगरेको अपमानबोधले सतिले यज्ञकुण्डमा हाम्फालेर आत्मदाह गरिन् ।

सतिको आत्मदाहको समाचारले क्रोधित महादेवले दक्षको यज्ञ भङ्ग गरे । दक्षको शिर छेदन गरे । तर, जब विष्णु आएर सम्झाए महादेवको रिस शान्त भयो । उनले शिर छेदन भएको शरीरमा बोकाको टाउको राखेर दक्षलाई जीवनदान दिए ।

त्यसपछि महादेव सतिको लास बोकेर विलाप गर्दै हिँडे । उनी जहाँ-जहाँ पुगे, जहाँ-जहाँ सतिको कुनै अङ्ग पतन भयो, त्यहाँ-त्यहाँ एक शक्तिपीठको उदय भयो । पछि सतिले हिमालयपुत्री पार्वतीको रूपमा पुनर्जन्म लिइन् र शिवजीसँग बिहे गरिन् । यो कथा स्वस्थानीमा पनि सुन्न पाइन्छ ।

किन भनेका थिए खनालले जबजलाई दक्ष प्रजापतिको टाउको ?

दक्ष प्रजापतिको शरीर मानिसको र टाउको बोकाको भयो । मदन भण्डारीको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई खनालले त्यस्तै देखे । शरीर साम्यवादको र टाउको संसदीय बहुदलीय लोकतन्त्रको ।

साम्यवादको सिद्धान्त संसदीय लोकतन्त्रको विरुद्धमा भएको थियो । कम्युनिष्ट विचारका मुख्य सिद्धान्तकार कार्ल मार्क्स, फ्रेडरिख एङ्गेल्स, भीआई लेनिन र जोसेफ स्टालिन सबै बहुदलीय संसदीय लोकतन्त्रका विरोधी थिए ।

कम्युनिष्ट पार्टीहरूको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हो । अझ कतिपयले त्यसमा माओवादसमेत थप्ने गर्दछन् । नेपालमै पनि माओवादी थपेका थुप्रै दल छन् ।

कार्ल मार्क्स कम्युन र लेनिन सोभियत प्रणालीका समर्थक थिए । माओ च तोङको देश चीनमा अहिलेसम्मपनि एकदलीय कम्युनिष्ट प्रणाली नै छ, बहुदलीय व्यवस्था छैन । साम्यवादको शरीरमा बहुदलीय संसदीय व्यवस्था जोडिदिनु दक्ष प्रजापतिको शरीरमा बोकाको टाउको जोडेजस्तै हो भन्ने खनालको तर्क थियो ।

जबजमाथि यति कठोर टिप्पणी र आलोचनाका बाबजुद उनले आफ्नै विचारधारा, सिद्धान्त र प्रारुप भने कहिल्यै अघि सार्न सकेनन् । बरु उल्टै त्यही सिद्धान्त मान्ने पार्टीको अध्यक्ष र बहुदलीय लोकतन्त्रभित्रै देशको प्रधानमन्त्री भए ।

जबज कति सृजनशील ?

एकीकृत समाजवादीकै महासचिव घनश्याम भुसालका शब्दमा जबज ‘कम्युनिष्टहरूले पनि बहुदलीय प्रणालीको चुनावमा भाग लिनुपर्छ’ भन्ने घोषणाभन्दा बढी अरु केही हैन । साम्यवादीहरू मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओजस्तै एक दलीय प्रणालीमा विश्वास गरेर अघि बढ्नुपर्छ कि बहुदलीय लोकतन्त्रलाई स्वीकार गर्नुपर्दछ भन्ने बहस विश्व कम्युनिष्ट आन्दोलनमा कुनै नयाँ भने हैन ।

कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सकै पालमा जर्मन समाजवादी एडुअर्ट बर्नस्टिनले सर्वहारा राज्य र एकदलीय कम्युन प्रणालीको विरोध गरेका थिए । सिद्धान्ततः उनी मार्क्सवादी समाजवादी थिए तर, उनले मार्क्सकै कयौं अवधारणा अस्वीकार गरेका थिए, त्यसमध्ये एकदलीयता कि बहुदलीयता भन्ने एक थियो ।

त्यसो त जीवनको उत्तरार्धतिर स्वयम् कार्ल मार्क्सले बहुदलीय लोकतन्त्र स्वीकार गर्न थालेका थिए भनेर स्वयम् उनकी छोरी इलिनियोर मार्क्सले डायरीमा लेखेकी थिइन् ।

लेनिनको पालामा जर्मन समाजवादी कार्ल काउत्स्की र रोजा लक्जेम्बर्ग तथा रुसी मेन्सेभिक र अनार्किष्टहरूले सोभियत प्रणालीको विरोध गरेका थिए । भलै कि त्यसलाई लेनिनले अस्वीकार गरे ।

चीनमा भने बहुदलीय लोकतन्त्र र एकदलीय कम्युनिष्ट प्रणाली पक्षधर बीच भीषण गृहयृद्ध भएको थियो । सन् १९४९ मा माओ नेतृत्वको लालसेनाले बेइजिङ कब्जा गरेपछि पराजित नेता च्याङ काई शेक ताइवान पलायन भएका थिए । आज पनि चीन मूलभूमिमा एकदलीय कम्युनिष्ट प्रणाली र ताइवानमा बहुदलीय लोकतन्त्र छ ।

कम्युनिष्ट आन्दोलनमा बहुदलीय प्रणाली स्वीकार गर्नुपर्ने बहस सन् १९७० को दशकमा फेरि सुरू भयो । सन् १९७८ मा पश्चिम युरोपेली कम्युनिष्ट पार्टीहरुले एक सम्मेलन गर्दै बहुदलीय लोकतन्त्र स्वीकार गर्ने घोषणा गरे, जसलाई ‘युरो कम्युनिज्म’ भनिन्छ ।

जनताको बहुदलीय जनवाद खासमा बर्नस्टिनवाद, काउत्स्कीवाद र युरो कम्युनिज्मकै नेपाली संस्करण हो । तर, एमालेले त्यसलाई मदन भण्डारीको सृजनशील प्रतिपादन र नवीन विचार भएको दाबी गर्ने गर्दछ । यसले एमालेलाई राजनीतिक फाइदा हुँदै आएको त छ । तर, बौद्धिक र प्राज्ञिक तहमा भने एमाले हल्का देखिन्छ ।

माधव नेपालको मनोविज्ञान

एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारी पक्षमा रहेका कारण नेपाल जबजमाथि आफ्नोसमेत योगदान र स्वामित्व रहेको मनोविज्ञान पाल्दछन् । तर, खासमा उनी सैद्धान्तिक नभएर प्राविधिक, व्यवस्थाकीय र अवैचारिक नेता हुन् । विकसित विश्व परिवेश, कम्युनिष्ट आन्दोलनको अवस्था र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जबजसँग भावी राष्ट्रिय कार्यभार कति सङ्गतिपूर्ण छन् वा छैनन् भन्नेबारे उनले कुनै विशद् विवेचना अघि सारेका छैनन् ।

विश्व कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक तथा धरासायी भएको अवस्थामा पनि जबज बोकेको कारणले नेपालको कम्युनिष्ट आन्दोलन जोगियो र यतिसम्म प्रगति गर्‍यो भन्ने नेपालको बुझाइ हो । जबज परित्याग गर्ने हो भने पार्टी र आन्दोलन सिद्धान्तहीन हुने डर उनलाई छ । अर्कोतिर उनी जबजको उत्तराधिकार एकलौटी केपी शर्मा ओलीलाई दिन पनि चाहँदैनन् ।

विकल्पहीन खनाल-भुसाल

त्यसो त एकीकृत समाजवादीको राजनीतिक भविष्य नै सङ्कटग्रस्त छ । यो समूह अहिले अस्तित्व सङ्कटको भयले छटपटिरहेको देखिन्छ । एमालेमा अध्यक्ष ओलीको नेतृत्व परिवर्तन हुनेबित्तिकै यो दल एकतामा फर्किन्छ भन्ने धेरैको अनुमान छ ।

दुई-दुईजना पूर्वप्रधानमन्त्री तथा पार्टी प्रमुखले केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनजस्तो पेचिलो र लोकप्रिय मुद्दामा बनाएको नयाँ पार्टीले समेत ३ प्रतिशतको सङ्घीय ‘थ्रेसहोल्ड’ काट्न सकेन ।

तीमध्ये पनि कतिपय नेता-कार्यकर्ता एमालेमा फर्किसकेका छन् । त्यसमाथि पार्टी सिद्धान्तलाई लिएर मूल नेताबीच नै गम्भीर मतभेद देखिएको छ ।

नेपालले दाबी गरेको जबज अब असान्दर्भिक भएको वा दक्ष प्रजापतिको टाउको नै पुष्टि भएको भए विकल्प के हो ? के ‘एकदलीय प्रणाली’ मा फर्किने हो वा अर्को कुनै नयाँ बहुदलवादी सिद्धान्त बनाउने हो ? यो प्रश्न भने अनुत्तरित छ ।

सम्मानित नेता खनाल र महासचिव भुसालले अध्यक्ष नेपाललाई चुनौती त दिएका छन् । तर, कुनै नयाँ विचार र सिद्धान्त अहिलेसम्म प्रस्तावित गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved