इतिहास

को थिए आर्य ? यस्तो छ वैदिक र हिन्दूको सम्बन्ध

आर्यहरू अपेक्षाकृत शक्तिशाली र आक्रामक प्रकारका थिए । उनीहरूको घोडाले तान्ने रथ, होम र मन्त्रमुग्ध पार्ने सङ्गीतमय मन्त्रजापले स्थानीयलाई आकर्षित गर्न थाल्यो । आर्य उज्यालो वर्ण र स्थानीय कालो रङ्गका थिए । आर्य पुरुषले धेरै पत्नी राख्न सक्थे । तसर्थ, स्थानीय महिलासँग पनि उनीहरूले यौनसम्पर्क र अत्यधिक प्रजनन गरे । यस प्रक्रियामा एक अर्को सामाजिक वर्ग जन्मियो, हल्का कालो तर चम्किलो छाला भएको ।

को थिए आर्य ? यस्तो छ वैदिक र हिन्दूको सम्बन्ध

हरप्पा सभ्यताको अन्त्य किन र कसरी भयो ? धेरै जसो इतिहासकारको अनुमान छ कि त्यसको मुख्य कारण लामो समयसम्म मौसम गडबड हुनु, मनसुनी वर्षा कम हुनु, सुक्खा र अनिकाल लाग्नु थियो । त्यसपछि हरप्पीहरू पूर्व र दक्षिणतिर बसाइँ सरे ।

यो इसापूर्व १९०० तिरको कुरा हो । आजभन्दा करिब ३५ सयदेखि ४ हजार वर्ष अघिको । ठीक त्यही समयतिर मध्य-एसियाबाट एक नयाँ नश्लको मानव समूह धुम्दैफिर्दै आयो । तिनीहरू आफूलाई ‘आर्य’ भन्थे । ‘आर्य’ शब्दको अर्थ उनीहरू ‘सभ्य वा सम्मानित मानव समूह’ भन्ने लगाउँथे । अर्थात् आर्यहरू आफूलाई अरुभन्दा ‘उच्च र महान्‌‌’ ठान्दथे ।

यिनको आगमन एकैपटक भएको थिएन । इसापूर्व २०००-१५०० बीच यी बारम्बार गरेर आए । आर्यहरू मध्य-एसियाबाट दक्षिण एसियातिर आउने विभिन्न लहर आयो । यिनको आगमन भारतीय उपमहाद्वीपमा सबैभन्दा ठूलो सांस्कृतिक प्रभावको कारण बन्न पुग्यो ।

यिनीहरूले यहाँ आएर बनाएको सभ्यताको युगलाई इतिहासकारहरूले ‘वैदिक युग’ भने । वैदिक युगको अन्त्य इसापूर्व ५०० तिर भयो ।

आर्य खासमा घुमन्ते गोठालाहरूको जत्था थियो । यिनीहरू हरप्पावासी भन्दा बिल्कुलै फरक थिए । हरप्पीहरू स्थायी बसोबास र कृषि पेशा गर्थे । हरप्पा एकप्रकारको नगर सभ्यता थियो । हरप्पी र आर्यहरूको संस्कृति पनि फरक थियो । आर्यहरू घोडचढी थिए, घोडाले तान्ने रथमा सवार गर्थे । हरप्पीहरूले कहिल्यै घोडा चढेनन्, खेतीबारीमा पनि घोडाको प्रयोग गरेनन् ।

आर्यहरूबीच तीन प्रकारको सामाजिक वर्गीकरण थियो— पुरोहित, योद्धा र सर्वसाधारण । हरप्पीहरूमा यस्तो वर्गीकरणको कुनै प्रामाणिक इतिहास छैन । आर्यहरूको धार्मिक जगत्‌‌‌मा इन्द्र, वायु, बरुण, सूर्य, मित्र, अग्नि, रुद्रजस्ता पुरुष देवता थिए । महिला देवता भने कम थिए । जस्तै, उषा, सरस्वति । हरप्पीहरूको तुलनामा आर्यहरूको कलाकृतिमा महिलाको उपस्थिति वा भूमिका एकदमै नगन्य थियो ।

आर्यहरू प्रारम्भिक संस्कृत बोल्थे, जसलाई ‘वैदिक संस्कृत’ भनिन्छ । यिनीहरूको मौखिक परम्परामा ऋग्वेदका प्रारम्भिक श्लोक समावेश हुन्थे । पुरोहित समूहलाई ‘ब्राह्मण’ भनिन्थ्यो । तिनले अग्निकुण्डमा होम र मन्त्र जप गर्थे । तिनको मन्त्रजप गर्ने तरिका बढो शुद्ध, जादुगरी र मन्त्रमुग्ध पार्ने खालको हुन्थ्यो ।

आर्यहरू आफ्ना भगवान्‌‌‌लाई पशुवली दिन्थे । घोडा, बाख्रा र गाईको बली चढाउँथे । महत्वकांक्षी आर्य राजाहरूले गर्ने अश्वमोध यज्ञ घोडाको बलीपछि समाप्त हुन्छ । अन्य घुमन्ते गोठाला जातिले जस्तै आर्यहरूले पनि बाच्छा, गोरु र दूध नदिने थारा वा बुढा गाई मारेर खान्थे । जस्तो कि स्वामी विवेकानन्दले लेखेका थिए, “भारतमा एउटा यस्तो पनि समय थियो, गाई नखाने ब्राह्मण रहन सक्दैनथ्यो ।”

तर, दूध दिने गाईको स्थान अन्य जनावरको तुलनामा बढी सुरक्षित थियो । यसको अर्थ हो— आर्यहरूको लागि गाईको विशेष स्थान प्रारम्भदेखि नै थियो । तर, अन्य उपयोगिता देखिएन भने उनीहरू पनि गाई मारेर खान्थे । गाईलाई विशेष हैसियत दिने यो प्रचलन आर्यहरूले आफ्ना मध्य-एसियाली पूर्खाबाट ल्याएका थिए ।

रमाइलो कुरा, आर्यहरूले भैंसी देखेका थिएनन् । मध्य-एसियामा भैंसी थिएनन् । भारतीय उपमहाद्वीपमा आएर मात्र उनीहरूले पानीमा आहाल बस्ने भैंसी देखे । भैंसीको उपयोगिता कुनै अर्थमा पनि गाईको भन्दा कम थिएन । तर, उनीहरूले भैंसीलाई गाईसरहको स्थान दिन चाहेनन् । किनकि त्यो उनीहरुको पुर्ख्यौली सोच र संस्कारभित्र नभएको जनावर थियो ।

आर्यहरूको केही रीतिरिवाज गज्जब रमाइलो थियो । उनीहरू विभिन्न अनुष्ठानका समयमा सोमरस पिउँथे । यिनका इन्द्र र अग्नि सोमरस धेरै पिउन सक्ने देवताका रूपमा वर्णित थिए । सोमरसको महत्त्व रमाइलोका लागि उच्च थियो । तर, वैदिक धर्ममा भने कर्मकाण्ड र बलीले विशेष महत्त्व राख्थ्यो ।

संसार, माया, कर्म, मोक्षजस्ता अवधारणा बनिसकेका थिएनन् । आर्यहरूको तीन वर्ग विभाजित सामाजिक व्यवस्थापछि चतुर्वण प्रणालीका रूपमा उदय भयो । र, यसलाई ‘ब्राह्मणवाद’ भन्न थालियो ।

यसपछि के भयो त ? कथा अझै रोचक छ । आर्यहरू अपेक्षाकृत शक्तिशाली र आक्रामक प्रकारका थिए । उनीहरू विस्तारै स्थायी बसोबास गर्न र स्थानीयसँग घुलमिल हुन थाले । उनीहरूको घोडाले तान्ने रथ, अग्निकुण्डमा गरिने होम र मन्त्रमुग्ध पार्ने सङ्गीतमय मन्त्रजापले स्थानीयलाई आकर्षित गर्न थाल्यो । आर्यहरू उज्यालो वर्णका र स्थानीयहरू कालो रङ्गका थिए ।

आर्य पुरुषले धेरै पत्नी राख्न सक्थे । तसर्थ, स्थानीय महिलासँग पनि उनीहरूले यौनसम्पर्क र अत्यधिक प्रजनन गरे । स्थानीय महिलासँग यौन सम्पर्क गर्न स्थानीय पुरुषलाई खेद्न वा भगाउनपर्थ्यो । स्थानीय महिलाले खुसीले र बराबरीको भावनाले आर्य पुरुषसँग सम्भोग गरे भनेर पत्याउन गाह्रो छ । सम्भवत: तिनीहरूमाथि हिंसा र जबरजस्ती गरियो ।

स्वेच्छिक थियो वा जबरजस्त त्यो भिन्नै प्रश्न भयो । तर, यस प्रक्रियामा एक अर्को सामाजिक वर्ग जन्मियो । हल्का कालो तर चम्किलो छाला भएको नयाँ जनसङ्ख्या व्यापक हुँदै गयो । यिनले राम्रो सामाजिक हैसियत पाए र नयाँ अभिजात वर्ग बने । यिनको जनसङ्ख्या पनि आर्यहरूकै वर्गमा राखेर गणना गर्न थालियो । यसरी आर्यहरूको जनसङ्ख्या स्थानीयको भन्दा धेरै देखिन थाल्यो । यो नयाँ नश्ल र सामाजिक वर्गले पनि आर्य संस्कृति नै अबलम्बन गर्‍यो ।

सम्भोग, आक्रामक शक्ति र सांस्कृतिक प्रसारका माध्यमबाट तिनले स्थानीय अभिजात वर्गको दिमागलाई उपनिवेश बनाए । यही काम पछि तुर्क, पर्सियन र ब्रिटिशले भारतमा गरेका थिए । यसरी आर्यन र इन्डियन संस्कृति समिश्रित भयो र ‘इन्डो-आर्यन संस्कृति’ वर्चस्वशाली भयो ।

यो प्रक्रिया एक हजार वर्षभन्दा बढी समयसम्म जारी रह्यो । उत्तर भारतका जातीय समुदायमा यो समिश्रण अहिले पनि देखिन्छ । यिनीहरूको नश्लीय बनोटमा ३० प्रतिशतभन्दा बढी आर्यन प्रभाव छ जबकी दक्षिण भारतका आदिवासी र दलितमा यो एकदमै न्यून छ ।

यो भन्नैपर्छ कि आर्यहरूमा महिलाको स्थान त्यति गतिलो थिएन, ऋषिपत्नी, गार्गी र मैत्रेयीहरू अपवाद हुन् । आर्यहरूमा पछि सतीजस्तो क्रूर प्रथा जन्मियो, यो उनीहरूले कहाँबाट कसरी ल्याए, यसै भन्न सकिँदैन । इसापूर्व चौथो शताब्दीमा सती प्रथा प्रचलित भएको हो, जो ग्रिकबाट आएको हुन सक्दछ ।

आर्यहरूका स्थानीय पत्नी संस्कृत बुझ्दैनथे । उनीहरूमार्फत् कतिपय स्थानीय शब्दहरू संस्कृतमा प्रवेश गरे । र, भाषिक समिश्रण पनि हुँदै गयो ।

आज हिन्दू राष्ट्रवादीहरू भारतमा बाह्य आप्रवासनलाई अस्वीकार गर्न खोज्दछन् । आफूलाई स्थानीयका रूपमा प्रस्तुत गर्न चाहन्छन् । संस्कृतलाई भारतेली भाषाहरुको जननी मान्छन् । इस्लाम र इसाईलाई मात्र बाह्य देखाउन चाहन्छन् । तर, आर्यहरूको आगमन आफैँमा एक सत्य हो, कुनै कथा वा दृष्टिकोण हैन ।

आर्यहरूको वैदिक प्रचलन नै आज हिन्दूहरूको आधारशीला बनेका छन् । यथार्थमा ऋग्वेद, संस्कृत भाषा, अग्निकुण्डमा होम र कर्मकाण्डहरू पनि मध्य-एसियाबाट भारतीय उपमहादीपमा आएका संस्कृति हुन् । भलै कि यिनीहरू तुर्क, मुगल र ब्रिटिशहरूको तुलनामा शताब्दीऔं अघि आएका हुन् ।

इतिहासको अर्को रोचक तथ्य के हो भने कुनै युद्ध गरेर वा युद्ध जितेर आर्यहरू भारतमा आएका थिएनन् । उनीहरू घुमन्ते पाराले घुम्दैफिर्दै आएका थिए । मुगल र ब्रिटिशहरू भने आक्रमणकारी बनेर, युद्ध गरेर र हस्तक्षेप गरेर स्थापित भए । यो भिन्नता भने छ । तर, स्थानीयसँग आर्यहरूको पनि सांस्कृतिक संघर्ष भने भएकै हो । स्थानीय संघर्षकै क्रममा आर्य राजाहरू भरत र पुरुका कथा बनेका हुन् । तिनै भरतको नाममा पछि यो क्षेत्रलाई भारत भारत वर्ष भन्न थालियो ।

महाभारतको कथा यही अवधिको हो । यो कथाको सार आर्यहरूको बढ्दो शासकीय शक्ति, मनोदशा र वंश परम्पराको प्रारम्भ हो ।

वैदिक युगको अन्त्यतिर आएर उत्तरी भारतलाई ‘आर्यव्रत’ भन्न थालियो । यसको अर्थ हो— आर्यहरूको भूमि । यो क्षेत्रमा आर्यन संस्कृति र भाषा प्रबल भइसकेका थिए । ब्राह्मणवाद सामाजिक सभ्रान्तहरूको धर्म बनिसकेको थियो । चतुर्वण र कर्मकाण्ड स्थापित भइसकेका थिए ।

अर्को रोचक कुरा, चतुर्वण स्थापित भएर पनि जात प्रथा बनिसकेको थिएन । चतुर्वण र जातप्रथाको भिन्नता के हो भने जब फरक वर्णबीच हुने विवाहले सामाजिक मान्यता पाएन । तब मात्र जात प्रथा आयो । प्रारम्भमा त स्वयम् आर्य पुरुषहरू स्थानीय महिलासँग सम्भोग गर्न र पत्नी स्वीकार गर्न लालायित हुन्थे ।

जातप्रथा विस्तारित हुनुको अर्को कारण स्थायी पेशाको प्रचलन थियो । साथै रक्त शुद्धताको मान्यता अघि आयो जो प्रारम्भमा आर्यमा थिएन ।

आर्यव्रतभन्दा बाहिरका बासिन्दालाई उनीहरूले जङ्गली र म्लेच्छ भन्न थाले । ती दक्षिण भारतका मानिस थिए, जो जङ्गलमा बस्थे । उनीहरूको भाषा, संस्कृति र प्रचलन फरक थियो । विस्तारै तिनीहरूलाई अमानवीय प्राणी, जनावरजस्ता मान्छे, दानव वा राक्षस भन्न थालियो । आर्यहरूले आफूभन्दा बाहिरका सबैलाई ‘अनार्य’ भने । यी आर्यहरूले आफूभन्दा बाहिरका अन्य स्थानीयका लागि सृजना गरेका संज्ञा थिए ।

उत्तर भारतमा विस्तारै केही नयाँ भाषा बने, जसलाई प्राकृत भाषा भनिन्थ्यो । जस्तो कि पाली, मगधी, मराठी, स्वैरसेनी, गान्धारीआदि । यी भाषामा संस्कृत भाषाका अतिरिक्त स्थानीय बोलीका शब्द र बोल्ने तरिका समावेश हुन थाले । दक्षिणतिरका द्रविडियन भाषा भने उत्तरहरप्पियन् भाषाहरू हुन् । उनीहरूका भिन्नै संस्कृति र प्रचलन छन् । आज पनि भारतमा यो विभाजन गहिरो छ ।

हरप्पा सभ्यताको अन्त्यपछि भारतमा शताब्दीऔंसम्म नगर थिएनन् । उत्तरवैदिक युगमा कोशल, कम्बोज, काशी, वैशाली र मल्लजस्ता नयाँ राज्य र तिनका राजधानी नगर उदय भए । यस्ता राज्यहरूलाई जनपद भनिन्थ्यो । १६ महाजनपद स्थापित भएका थिए । यो युगमा आएर मुद्रा प्रचलित भयो र मौद्रिक अर्थतन्त्र बन्न थाल्यो । यीमध्ये केही राज्यमा प्राचीन ग्रिक लोकतन्त्रजस्तै लोकतान्त्रिक विचार र अभ्यास थिए । भलै कि आधुनिक लोकतन्त्रको मापदण्डमा ती खासै लोकतान्त्रिक थिएनन् ।

दु:खको कुरा हो कि प्राचीन ग्रिसमा जस्तै भारतमा पनि यी लोकतन्त्रहरू छिट्टै पतन भए र निरङ्कुश राजतन्त्रको उदय भयो । भारतीय उपमहाद्वीपमा करिब २५०० वर्ष अघि नै त्यस्ता लोकतान्त्रिक प्रचलनको परित्याग भएको थियो, जो आधुनिक युगमा युरोपेली सङ्सर्घबाट पुनर्स्थापित भयो ।

यसपछि उपनिषदको युग आयो । यसलाई भारतीय आर्यहरूको सबैभन्दा फलदायी युग भन्न सकिन्छ । यो युगमा बली र कर्मकाण्डले कम महत्त्व पाए । यस युगमा वैदिक प्रचलनहरू कमजोर भए । उपनिषदहरू अमूर्त, अन्तनिर्देशित र चिन्तनशील थिए । बुद्ध पनि यही युगका थिए । उनले मानवीय पीडा, दु:ख र करुणाको कुरा गरे । उनले कर्मकाण्डी धार्मिक संस्कृतिमा नैतिक आयाम प्रवेश गराए ।

चार्वाक यही युगका थिए । उनी भौतिकवादी थिए र मृत्युपछिको जीवनलाई अस्वीकार गर्थे । उनले वेद, कर्मकाण्ड र अनुष्ठानहरूलाई मानिसलाई अधिन राख्ने ढाँचाका रूपमा चित्रण गरे । चार्वाक नास्तिक थिए, जसले कर्मकाण्डलाई पुरोहितहरूको जीवन गुजारा गर्ने मेलो भनेर उपहास गर्थे । महावीर यही युगका थिए, जसले अहिंसा चिन्तनलाई नयाँ उचाइ दिए । गान्धारका व्याकरणकार पाणिनीले संस्कृतलाई एक शास्त्रीय रूप दिए ।

बौद्ध, जैन र चार्वाक चिन्तनले वेदलाई आधार मान्ने ‘ब्राह्मणवाद’ लाई अस्वीकार गर्दछ । आर्यहरूबीच अब वेद मान्नु आस्तिकता र वेद नमान्नु नास्तिकताको आधार बन्यो । यी नास्तिक चिन्तन र आस्तिक ‘ब्राह्मणवाद’ बीचको सङ्घर्षको भिन्नै कथा छ । सिकन्दरको आक्रमण र मौर्य वंशको उदय त्यो बेलाका ठूला घटना हुन् । बौद्ध दर्शनको प्रसार र बुद्ध धर्मको स्थापना मौर्य सम्राट अशोकको योगदान बिना सम्भव हुने थिएन ।

मध्य-एसियाबाट आएका आर्य, जसले दक्षिण एसियामा आएर वैदिक परम्परा स्थापित गरे, त्यसैको आधारशीलामा उभिएको धर्म-दर्शन, संस्कृति, सभ्यता र ज्ञान परम्परालाई आज ‘हिन्दू’ भनिन्छ ।

(द वायरबाट संक्षेपीकरणसहितको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved