बहस

अँध्यारो सुरुङमा दक्षिणपन्थसित मित लगाउँदै वामपन्थको खोजी

के साम्यवाद अझै वामपन्थी विचार हो ?

आज मान्छेलाई चाहिएको समृद्धि कस्तो हो ? उत्तर कोरियाको जस्तो हो कि दक्षिण कोरियाको जस्तो ? क्युवाको जस्तो हो कि स्वीट्जरल्याण्ड वा नोर्डिक मुलुकको जस्तो ? हिजोको पूर्वी युरोपजस्तो हो कि पश्चिम युरोपजस्तो हो ? सी चिनफिङको चीनको जस्तो हो कि लि क्वान युको सिंगापुरको जस्तो ? जबसम्म यी प्रश्नको प्रष्ट उत्तर खोजिँदैन, क्रान्ति सधैँ भ्रान्ति र वामपन्थ सधै ‘हामपन्थ’ भइरहन्छ ।

अँध्यारो सुरुङमा दक्षिणपन्थसित मित लगाउँदै वामपन्थको खोजी

काठमाडौं । बिहीबार दुई दिनसम्म चलेर एक संवाद कार्यक्रम सम्पन्न भयो, काठमाडौंमा । शीर्षक थियो— आजको वामपन्थ-२ । रोजा लक्जेम्बर्ग फाउन्डेसनको सहयोगमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा रोजा लम्जेम्बर्गकै फोटोसहितको एक कोटेशन लेखिएको थियो, “के भइरहेको छ भन्ने कुरा जोडले भन्न सक्नु नै क्रान्तिकारी हुनु हो ।”

क्रान्ति के हो र भ्रान्ति के हो ? हिजोका क्रान्तिकारी आज कसरी भ्रान्तिकारी भए ? क्रान्तिको सत्य भ्रान्तिको मिथ्यामा रूपान्तरण हुने प्रक्रिया के हो ? ती क्रान्ति थिए कि भ्रान्ति जो आफ्नै सोच र सपनाको महाआख्यानमा उभिएर भित्रभित्रै खोक्रो भएर गर्ल्यामगुर्लुम ढले ? के पूर्वी युरोप ढल्ने बेलामा वामपन्थ थियो ? के सोभियत सङ्घ विघटित हुने बेलामा वामपन्थ थियो ? थिएनन् भने ती के थिए ? साम्यवादको जामाभित्र खोजिएका वामपन्थहरू अन्ततः यस्तै हुँदैनन् भन्ने ग्यारेन्टी के छ ? यस्ता अनेक प्रश्न छन् क्रान्तिबारे, जसको उत्तर दिन कसैलाई पनि सजिलो छैन ।

वामपन्थ खोज्ने कमरेडहरूले छानेको स्वयम्‌‌ रोजाको यो भनाइ अहिले कति प्रासंगिक छ, प्रश्न उठ्न सक्दछ । रोजा आफ्नो समयकी अब्बल क्रान्तिकारी थिइन् । उनी पोल्याण्डमा जन्मिन्, जर्मनीमा मारिइन् । कार्ल मार्क्सको  ‘पितृभूमि’ र तत्कालीन युरोपेली क्रान्तिको ‘हृदयभूमि’ मा पुगेर क्रान्तिमा हेलिने, होमिने, समाहित हुने र क्रान्तिका लागि योगदान गर्ने उत्कट अभिलाषाले उनी सोसलिष्ट इन्टरनेसनलका एक कमरेडका छोरासँग ‘नक्कली विवाह’ गरेर जर्मनी पसिन् । जर्मन बनिन् । र, जर्मनीकै भूमिमा आफूलाई समाधिस्थ गरिन् ।

उनका कमरेडहरूले कहिले रोजालाई माया गरे, कहिले सकेसम्म तथानाम गाली गरे । रोजाका रुसी कमरेड लेनिनले कहिले उनलाई ‘समाजवादी आन्दोलनकै सर्वाधिक महान् विदुषी’ भने त कहिले ‘श्यालजस्ती धूर्त आइमाई’ भने । क्रान्तिका लागि रोजाको जीवन र आहुति आफैँमा एक विरोधाभास थियो । जुन आन्दोलनमा उनी थिइन्, त्यही आन्दोलनका लागि उनी अविश्वासनीय, सीमान्तकृत र एक ‘दूर्दान्त नायिका’ थिइन् ।

कार्ल मार्क्सको ‘पुँजी’ लाई चुनौती दिँदै उनले झन्डै उत्तिकै मोटो ‘पुँजीको सञ्चयन’ लेखिन् । नेपालका कमै कमरेडहरूलाई यो थाहा होला कि उनले त्यो किताबमा त्यतिखेरै कार्ल मार्क्सको ‘अतिरिक्त मूल्य सिद्धान्त’ लाई चुनौती दिएकी थिइन् । कार्ल मार्क्सका मात्रै हैन, उनले लेनिन र स्टालिनका विचारलाई पनि सधैँ आलोचना गरिन् । यति तीखो गरी कि लेनिनजत्तिको ‘मै हुँ’ भन्ने बौद्धिक क्रान्तिकारीलाई समेत उनका आलोचनाको तीखोपनले सन्तुलन गुमाएर बर्बराउने बनाउँथ्यो ।

लेनिनको ‘अगुवादस्ता पार्टी’ सिद्धान्तको उनी सर्वथा विरोधी थिइन् । उनले समाजवादी आन्दोलनमा ‘मास लाइन’ लाई पक्षपोषण गरिन् । स्वतन्त्रताभन्दा बाहिर कुनै समानता र समाजवाद हुँदैन, भए त्यो समाजवाद हैन, सर्वहारा वर्गको नाममा केही मुठ्ठीभर कम्युनिष्ट नेताहरूको अधिनायकवाद हुन्छ, त्यो सर्वहारावाद हैन, सर्वसत्तावाद हुन्छ भन्ने उनको सोच थियो । कम्युनिष्ट भएर पनि उनले एकदलीय कम्युनिष्ट व्यवस्था र सोभियत प्रणालीको सधैँ विरोध गरिन् ।

आजको बिन्दुबाट फर्किएर हेर्दा मार्क्स कहाँ छन् ? लेनिन कहाँ छन् ? स्टालिन कहाँ छन् ? रोजा कहाँ छन् ? सोभियत सङ्घ कहाँ छ ? पूर्वी युरोप कहाँ छ ? चीन कहाँ छ ? माओ र तङ कहाँ छन् ? सबै आतेशलाग्दो छ । कहाँ पुगे तिनका विचार र क्रान्ति ? त्यो स्वयम्‌‌ युरोप र तिनका देशमा खोज्न गाह्रो छ । तर, नेपालका एकथरि साम्यवादीहरू भने तिनै रोजाको फोटो मुनि बसेर आजको वामपन्थ खोज्दैछन् । र, तथाकथितरूपमा आफूलाई मूलधारका कम्युनिष्ट नेताभन्दा फरक र सृजनशील देखाउने ‘उभिन्डो-अभ्यास’ गर्दैछन् ।

एन्टोनियो ग्राम्स्कीले भनेका थिए— सत्य बोल्नुभन्दा ठूलो क्रान्तिकारिता अरु केही हुँदैन । सत्यको महत्त्व आफ्नो सन्दर्भमा पनि त्यतिकै हुन्छ, जति अर्काको सन्दर्भमा हुन्छ । रोजाको ‘जोडले बोल्नु’ र ग्राम्स्कीको ‘सत्य बोल्नु’ कुन ठूलो क्रान्तिकारिता हो ? स्वघोषित वामपन्थी र क्रान्तिकारीहरूले सायदै भेउ पाएका होलान्।

साम्यवाद, मार्क्सवाद वा कम्युनिष्ट आन्दोलनसँग जोडेर ‘वामपन्थ’ को बहस नै आज कति सान्दर्भिक छ ? यो अर्को गह्रुँगो प्रश्न हुन सक्दछ । वामपन्थ शब्दको जन्म न कम्युनिष्ट आन्दोलनबाट भएको थियो, न आज कम्युनिष्ट विचार र आन्दोलनले वामपन्थको भूमिका नै गरिरहेको छ । यस्तो बेला कम्युनिष्ट घटकका केही स्वघोषित बुद्धिजीवी वा तेस्रो दर्जाका कार्यकर्ताले कस्तो वामपन्थ फेला पार्ने हुन्, यसै भन्न सकिँदैन ।

‘वामपन्थ’ को जन्म सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति ताकाको ‘नेश्नल एसेम्बली’ बाट भएको थियो, जहाँ कम्युनिष्ट नामका कोही थिएनन् । त्यो बेला राजतन्त्र, दैवी शक्तिको सिद्धान्त र निरंकुशताका विरोधीहरू एसेम्ब्लीको देब्रेतिरको कुर्सीमा बस्थे । अर्थात् वामपन्थको अर्थ थियो क्रान्तिकारिता, लोकतन्त्र, स्वतन्त्रता, समानता र बन्धुत्व ।

स्वतन्त्रता र बन्धुत्वलाई लात हानेर कथित समानता मात्रै खोज्दै हिँड्दा संसारको साम्यवादी वा वामपन्थी आन्दोलन कहाँ-कहाँ मात्र पुगेन, त्यसको फेहरिस्त निकाल्न ती तयार होलान् ? कि यो सत्यले अत्याउने मात्र हो ?

यही मानकबाट आजको नेपालसँग तुलना गर्ने हो भने को क्रान्तिकारी ? यदि कम्युनिष्टहरू क्रान्तिकारी हुन् भने करिब २ दशकयताको शासक वर्ग, पार्टी वा राजनीतिक समूहचाहिँ कुन हो ? कसले सरकार चलाइरहेको कारणले आज देशको यो दूर्दशा भएको हो ? वार्षिक करिब १० लाख मान्छे कसको नीति र शासनकालभित्र देश छोडेर विदेशिएका हुन् ?

एमाले होस् वा माओवादी वा अन्य दर्शनौं कम्युनिष्ट समूहहरू, एकता गरेर होस् वा भिन्नाभिन्नै, कम्युनिष्ट नेतृत्वको सरकारमा होस् वा कांग्रेससँग गठबन्धन गरेर निरन्तर सत्तामा छन् । तर, पनि कुनै माखो मार्दैनन् भने त्यो क्रान्ति हुन्छ कि भ्रान्ति ? ती क्रान्तिकारी हुन्छन् कि भ्रान्तिकारी ?

मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली र डा. बाबुराम भट्टराई गरी ६ जना त कम्युनिष्ट प्रधानमन्त्री भइसके यो देशमा । अझ केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ त एक चोटी हैन, दुई चोटी हैन, तीन-तीन पटक भए । यिनको कूल कार्यकाललाई एक ठाउँ जोड्ने हो भने करिब डेढ दशक हुन्छ ।

दुई कार्यकाल कम्युनिष्ट राष्ट्रपति भइन् विद्या भण्डारी । दुई कार्यकाल कम्युनिष्ट उपराष्ट्रपति भए नन्दबहादुर पुन । ‘राज्यसत्ताबाहेक सबै चिज भ्रम हो’ भन्ने स्कूलिङ्गमा हुर्किएका यी कमरेडहरू फेरि कुन साम्यवाद, कुन मार्क्सवाद-लेनिनवाद र कुन वामपन्थ खोज्दैछन् ? त्यही वामपन्थ जो देशलाई बोझ बन्दै गएको छ ? त्यही वामपन्थ जसबाट अब देश र जनताले मुक्ति खोजेको छ ?

यी आजका सत्ताधारी हैनन् भने को हुन सत्ताधारी ? आज पनि ‘माओवाद’ जस्तो वामपन्थबाट आएका प्रचण्ड देशको नेतृत्व गर्दैछन्, फेरि वामपन्थ कहाँ हराएको छ र खोज्नपर्ने ?

शास्त्रीय वामपन्थीहरूको आँखाबाट हेर्दा कति धेरै ठूलो उपलिब्ध भएको हो त यो हिमालयको देशमा ? करिब १७ हजार मान्छे त एक दशक लामो जनयुद्धमै मरे । हिजो जनयुद्ध उठ्छ कि उठ्दैन भन्ने बहस हुन्थ्यो, जनयुद्ध त उठ्यो । तर, भयो के ? हिजो कम्युनिष्टहरू सत्तामा पुग्न सम्भव छ कि छैन भनेर बहस हुन्थ्यो, सत्तामा त पुगे तर, भयो के ? यहाँसम्म कि संसारमा विरलै हुने घटना ‘शाही सेना’ र ‘लाल सेना’ को सम्मिश्रणबाट समायोजित सेना समेत बन्यो, तर भयो के ? सशस्त्र बललाई राज्यसत्ताको सार मान्ने विचारमा विश्वास गर्नेहरूले बन्दुकको नालबाट निस्केको शक्तिलाई सेनामा समेत छिराए ? तर भयो के ?

वामपन्थी वा साम्यवादी भाष्यमा भनिएजस्तो के क्रान्तिकारी भूमिसुधार भयो ? के गरिब, दलित, सुकुम्बासीले भूमि पाए ? के गाँस, बास, कपासको समस्या हल भयो ? के कुनै नयाँ आवास नीति आयो ? के युवा जनशक्तिले देशभित्रै रोजगार पाए ? के देश विस्तारवाद र साम्राज्यवादको वर्चस्वबाट मुक्त भयो ? के शिक्षा-स्वास्थ्य नि:शुल्क र गुणस्तरीय भए ? के कृषि किसानको हातमा आयो ? के उद्योग मजदूरका हातमा आयो ? के नेता र कर्मचारीले घुस खान छोडे ? कि सर्वहारावादको महान् सिद्धान्तमा विश्वास गर्ने भनिएका कमरेडहरू नै उल्टै एकसे-एक ठूला भ्रष्टाचारी निस्किए ?

फेरि यी मित्रहरू कस्तो वामपन्थ खोजिरहेका छन ? कस्तो साम्यवाद खोजिरहेका छन ? लेनिनवादी पार्टीको छत्रछायाँमा आरामले ढल्केर आङ कन्याउँदै, छारो उडाउँदै आखिर उनीहरू कस्तो रोजावाद खोजिरहेका छन् ?

साम्यवादी सिद्धान्तको एक विश्व सन्दर्भ थियो । त्यो युरोपेली प्रारम्भिक औद्योगिक क्रान्तिको युगको एक विचारधारा थियो । पहिलो औद्योगिक क्रान्तिको बेला देखिएको वर्ग विभेदको जगमा गरिएको सैद्धान्तिकीकरण थियो । आज विश्व चौथो औद्योगिक क्रान्तिको युगमा छ, के आज पनि उस्तै वर्ग विभेद र वर्ग-संरचना छ ? यदि छ भने ९० प्रतिशतभन्दा बढी मध्यम वर्ग भएका दर्जनौं देश कसरी बन्थे ?

आज मान्छेलाई चाहिएको समृद्धि कस्तो हो ? उत्तर कोरियाको जस्तो हो कि दक्षिण कोरियाको जस्तो ? क्युवाको जस्तो हो कि स्वीट्जरल्याण्ड वा नोर्डिक मुलुकको जस्तो ? हिजोको पूर्वी युरोपजस्तो हो कि पश्चिम युरोपजस्तो हो ? सी चिनफिङको चीनको जस्तो हो कि लि क्वान युको सिंगापुरको जस्तो ? जबसम्म यी प्रश्नको प्रष्ट उत्तर खोजिँदैन, क्रान्ति सधैँ भ्रान्ति र वामपन्थ सधै ‘हामपन्थ’ भइरहन्छ । त्यसको कुनै भिन्नै औचित्य रहने छैन ।

मार्क्स-एंगेल्स, लेनिन-स्टालिन, माओ-चाओ, रोजा-होक्जा, होनेकर-चाउचेस्कु, क्यास्त्रो-चे, चाभेज-ओर्टेगा मोडेलको वैचारिकी र संरचनाभित्र बसेर सिंगापुर र स्वीट्जरल्याण्ड खोज्न सकिन्छ ? फेरि तिनै कमरेडहरू भाषणचाहिँ किन सिंगापुर र स्वीट्जरल्याण्ड, डेनमार्क र दक्षिण कोरियाकै गर्छन् ? के यो विरोधाभास हैन ? के यो बौद्धिक विलासिता र मुर्खता हैन ?

वामपन्थको खोजमा सबैभन्दा ठूलो व्यावधान यही विरोधाभास हो कि पहिलो औद्योगिक क्रान्तिको जगमा बनेको करिब २५० वर्ष अघिको पुरानो विचार एक्काईशौं शताब्दीको स्वाभिमान र समृद्धिको यात्राका लागि वामपन्थ हैन, स्वयम्‌‌ दक्षिणपन्थ भइसकेको हुन्छ, भइसकेको छ । भविष्यको मार्गदर्शन हैन, विगतको एक पीडासरह हुन्छ, भइसकेको छ।

सत्तामा बसेर प्रतिपक्षको भान पाल्नु, भ्रान्तिमा बाँचेर क्रान्ति खोज्नु र दक्षिणपन्थको अँध्यारो सुरुङ-मोहबाट कहिल्यै मुक्त हुन नसकेर वामपन्थको खोजी गर्नु उस्तै चरित्रका पाखण्ड हुन् । यो चरित्रलाई दिन सकिने सबैभन्दा उपयुक्त संज्ञा ‘पाखण्ड’ नै हो— हिप्पोक्रेसी ।

यदि क्रान्तिसम्बन्धी रोजाको ‘जोडले भन्ने’ सिद्धान्तको साटो ग्राम्स्कीको ‘सत्य बोल्ने’ सिद्धान्तमा विश्वास गर्ने हो भने पाखण्ड-मुक्ति आजको वामपन्थको सबैभन्दा ठूलो आवश्यकता हो । हिपोक्रेट्सहरूले कुनै सत्य खोजेको, फेला पारेको, त्यसको सम्मान र उपयोग गरेको न इतिहास छ, न हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved