के तपाईंलाई राजनीति मन पर्दैन ?

जो निरपेक्ष देखिन्छन् उनीहरू ठान्दछन्, ‘राजनीति बेराजगारहरूको काम हो । ज्ञानी मान्छेहरू राजनीतिमा जान हुँदैन ।’ किन ज्ञानी मान्छेहरू राजनीतिमा नजाने ? के आफूमाथि शासन गर्न अज्ञानीहरूलाई नै छोडिदिने ? के देश यसरी चल्छ ? देश बनाउनुपर्छ भन्नेहरूले देश बिगार्नेलाई सत्ताको ताला चाबी छोडिदिने हो भने, देश बनाउँछ कसले ?

के तपाईंलाई राजनीति मन पर्दैन ?

फिल्मको कुरा

प्रारम्भमै युवा भाइबहिनीहरूलाई सम्बोधन गरेर तीनवटा प्रश्न गर्छु । प्रिय भाइबहिनीहरू, के तपाईंहरूलाई राजनीति मन पर्दैन ? के तपाईंहरू राजनीतिसँग निरपेक्ष बस्न चाहनुहुन्छ ? के तपाईंहरूलाई राजनीतिसँग मतलब छैन ? त्यसोभए, एउटा फिल्म हेर्न अनुरोध गर्छु । फिल्मको नाम छ— द आर्चिज । आजको यो लेख त्यही फिल्मको कुराबाट अगाडि बढाउँछु ।

फिल्म ‘द आर्चिज’ एउटा निकै सरल, साधारण तर रोचक छ । ‘कमिक्स’ जस्तो । कथामा एउटा सुन्दर नगर छ ‘रिभेडियल’ । सन् १९१४ मा बनेको यो नगरमा मिश्रित परिवार बस्दछन् । अर्थात्‌‌ आधा ईण्डियन र आधा ब्रिटिस । एङ्गलो इण्डियन । खासमा यो नगर उनीहरूकै लागि बनाइएको थियो, जो प्रेममा थिए र जो प्रकृतिको सुन्दरतालाई मनैबाट अनुभूत गर्न सक्थे ।

जब भारत स्वतन्त्र भयो, धरै ब्रिटिसहरू स्वदेश फर्किए । तर, तिनीहरू फर्किएनन् जो ‘रिभेडियल’ लाई आफ्नै घर सम्झन्थे । उनीहरू फर्किएनन्, जसले यो नगरलाई सजाए । उनीहरू फर्किएनन्, जसले यहीँ आफ्नो संसार बनाए, बसाए र रमाए ।

नगरमा एउटा स्कूल छ । स्कूलमा छन् निकै रमाइला विद्यार्थी । किशोर उमेरका ति विद्यार्थीका आफ्नै मोजमस्ती छन् । गाना बजाना, पिकनिक, डेटिङ्ग, लेख्न पढ्न, राम रमाइलो, प्रेम रोमान्स । कथामा उनीहरूका अभिभावक पनि आउँछन् । तर, सहायक भूमिकामा । जोसँग आफ्नै गृहस्थीका झमेला छन् । फिल्म हेर्दा लाग्छ, साधारण, सिधा र प्रेममय जीवनको सुन्दर क्यानभास हो ‘द आर्चिज’ ।

नगरको केन्द्रमा छ एउटा सुन्दर पार्क । अर्थात्‌‌ ग्रीन पार्क । पार्कमा प्रत्येक परिवारले रुख रोपेका छन् र त्यसलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका छन् । जहाँ नगरका बासिन्दा खेल्ने, घुम्ने, भेटघाट गर्ने र रमाउने गर्दछन् । जहाँ केटाकेटी खेल्छन् र आनन्द लिन्छन् ।

त्यो पार्कसँग नगरका अनेक कथा र परम्परा जोडिएका छन् । अर्थात्‌‌ उनीहरूका लागि पार्क यस्तो सार्वजनिक स्थल हो, जहाँ सर्वत्र प्रेम लहराउँछ र त्यसलाई अनुभूत गर्दै मान्छेहरू आफ्ना सपना सजाउँछन् ।

एकदिन एउटा व्यापारीलाई लाग्छ, ‘पैसा नकमाउने पार्कको के काम ? नगरको बीचमा त्यतिधेरै जमिन पार्कका नाममा ओगटेर राख्नुको के अर्थ ? यो त जमिनको सत्यानाश भयो ।’ उसले पार्क भएको ठाउँमा भव्य होटेल बनाउने योजना बनाउँछ । उसलाई लाग्छ, नगरको बीचमा पार्क हुनु आर्थिक हिसाबले वाहियात र झुर कुरा हो ।

पार्क भएको ठाँउमा होटल किन आवश्यक छ भन्ने कुरा व्यापारीले नगर प्रमुख (काउन्सलर) लाई सम्झाउँछ । उसले भन्छ, यसरी त कसरी नगरको प्रगति होला ? नाथे पार्कले के हुन्छ ? न त नगरमा पर्यटक आउँछन्, न त रोजगारी सिर्जना हुन्छ । पार्कको ठाँउमा एउटा भव्य होटेल बनाउन पाए, पर्यटक आउँछन् । रोजगारी सिर्जना हुन्छ । आर्थिक गतिविधि बढ्छ ।

नगर प्रमुख प्रलोभनमा पर्छ । उसले अन्य अधिकारीलाई पनि प्रलोभनमा पार्छ । अन्ततः एक दिन नगर काउन्सिलले ग्रीन पार्कको जमिन व्यापारीलाई दिने निर्णय गर्छ । होटेल बन्ने पक्का हुन्छ ।

काउन्सिलको निर्णयसँगै त्यसका प्रभाव देखिन थाल्दछन् । पार्क छेउछाउका पसल बन्द हुन्छन् । जस्तो कफीसप बन्द हुन्छ । आईसक्रिमको व्यापार बन्द हुन्छ । पुस्तक पसल बन्द हुन्छ । विस्तारै-विस्तारै मान्छेको दिनचर्या बिथोलिन्छ ।

ग्रीन पार्क मासिने खबरले साधारण मान्छेको मनमा उथलपुथल चल्छ । मुख्य कुरा पार्क चाँडै समाप्त हुनेछ भन्ने कल्पनाले नगरका बासिन्दा उदास र उराठ हुन थाल्दछन् । तर, पनि उनीहरू चुपचाप हुन्छन् । काउन्सिलको निर्णयलाई चुनौती दिने सामर्थ्य र जाँगर कसैसँग हुँदैन ।

तर, नगरका किशोर-किशोरीलाई लाग्छ, केही त गर्नैपर्छ । किनभने पार्क उनीहरूको जीवन हो । पार्क छ, त्यसैले नगर हराभरा छ । पार्क छ, त्यसैले पर्यावरण छ । पार्क छ, त्यसैले उनीहरूको संसार छ । पार्क छ त्यसैले उनीहरू रमाउन पाएका छन् । पार्क छ, त्यसैले उनीहरूको प्रेम छ । उनीहरूलाई लाग्छ, पार्कलाई पार्क नै रहन दिनुपर्छ । उनीहरू काउन्सिलको निर्णयविरुद्ध उभिन्छन् ।

उनीहरूलाई थाहा हुन्छ, काउन्सिलको त्यो निर्णय उल्ट्याउन वयस्कहरूको बहुमत चाहिन्छ । नगरका बहुमत वयस्कहरूले काउन्सिलको निर्णयलाई अस्वीकार गरेपछि त्यो निर्णय स्वतः बदर हुन्छ । जब केटा-केटीले यति कुरा बुझ्छन्, त्यसपछि फिल्मको कथाले खास लय समाउँछ । किशोर किशोरीहरू आफ्ना अभिभावकलाई काउन्सिलविरुद्ध उभिन आह्वान गर्दछन् । त्यसपछि फिल्म ‘द आर्चिज’ बन्छ पार्क बचाउन नयाँ पुस्ताले गरेको अभियानको कथा ।

अब राजनीतिको कुरा गरौँ । लेखको शीर्षक तपाईंको मनमा प्रश्न आउला, यो फिल्म र राजनीतिको के सम्बन्ध छ ? अथवा यो कथाले गर्न चाहेको राजनीति के हो ? यहाँ कहाँ छ राजनीति ? कुरा धेरै छन् । र, मुख्य कुरा सबै राजनीतिकै वरिपरि छन् ।

जब काउन्सिलले पार्कको जमिन होटेललाई दिने स्विकृति दिन्छ, त्यसपछि एउटा प्रश्न आउँछ— ग्रीनपार्क कसको हो ? समुदायको हो कि व्यापारीको ? के यस्ता सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा, काउन्सिलले नागरिकलाई सोध्नुपर्दैन ?

विस्तारै यिनै प्रश्नको वरिपरि मान्छेहरू बहस गर्न थाल्छन् । त्यस्तै बहस, जस्तो कि कुनैबेला खुल्लामञ्च कसको हो भन्ने विषयमा काठमाडौंमा पनि चलेको थियो । जुन बहसको गर्भगृहमा थियो, सार्वजनिक सम्पत्ति र प्राकृतिक श्रोतको स्वामित्वको प्रश्न ।

बहसमा दुईखाले मत निस्कन्छन् । एउटा मतले भन्छ, जतिसुकै आर्थिक फाइदा भएपनि सामुदायिक वा सार्वजनिक सम्पत्ति नष्ट गर्न हुँदैन । जोगाउनुपर्छ । पार्क हाम्रो जीवन हो । त्यसलाई नाफा घाटामा हिसाब गर्नु नै गलत हुन्छ ।

अर्को मतले भन्छ, नाफा हुन्छ भने त्यसलाई व्यापारिक प्रयोजनामा लैजानुपर्छ । पैसा कमाउनुपर्छ । पैसा भएपछि सबैकुरा आफैँ मिल्दै जान्छ ।

जब यी दुई फरक विचार टकरावमा आउँछन्, त्यसैका बीचबाट तेश्रो विचार देखा पर्दछ । तटस्थ विचार । तेश्रो विचारले भन्छ, ‘मलाई यस्ता विषयमा कुनै मतलब छैन’ । उनीहरू ठान्दछन्— ‘यो सबै राजनीति हो । र, राजनीति उनीहरूको चासोको विषय होइन ।’

त्यसो त राजनीतिमा चासो नहुनेहरू यत्रतत्र भेटिन्छन् । जस्तो कि ‘द आर्चिज’ मा पनि भेटिन्छन् त्यस्ता मान्छेहरू । उनीहरू ठान्दछन्— ‘राजनीति वाहियात कुरा हो । राजनीति फोहोरी खेल हो । यसले उनीहरूको सृजनशीलता मार्छ । यसले उनीहरूको समय बर्बाद गर्छ ।’ खासमा, ‘द आर्चिज’ भित्रका केही विद्यार्थीमा पनि यो तटस्थता देखिन्छ ।

त्यसपछि अभियानमा संलग्न युवाहरूको काम आउँछ— ‘आफ्ना साथीहरूलाई राजनीति बुझाउने ।’ राजनीतिमा मेरो चासो छैन भन्ने मित्रलाई सम्झाउन विद्यार्थीहरूले एउटा सुन्दर गीत गाउँछन् । गीतको शीर्ष प्रश्न हुन्छ राजनीति के हो ? के राजनीतिसँग सरोकार नराखी हाम्रो जीवन चल्छ ? के राजनीतिसँग निरपेक्ष बस्न सकिन्छ ?

गीतले प्रश्न सोध्छ— के सम्बन्ध छ जीवन र राजनीतिको ? गीतले नै जवाफ दिन्छ— जीवनको हरेक बातमा छ राजनीति । बिहानदेखि बेलुकासम्म छ राजनीति ।

जस्तो कि ‘क्लासमा कस्तो शिक्षक आउँछ र के पढाउँछ ? त्यहाँ छ राजनीति । पाठ्यक्रम कस्तो बन्छ, पाठ्यक्रम कसले बनाउँछ ? त्यहाँ छ राजनीति । हामीले के पढ्नुपर्छ, के सिक्नुपर्छ ? त्यहाँ छ राजनीति । कस्तो कविता लेख्ने, कस्तो गीत गाउने ? त्यहाँ छ राजनीति । केटीले कस्ता लुगा लगाउनुपर्छ, केटाले कस्ता लुगा लगाउनुपर्छ ? त्यहाँ छ राजनीति ।’

विद्यार्थीहरू गीतमार्फत जीवनलाई राजनीतिसँग जोड्छन् । जस्तो जीवनमा के ठीक हो, के बेठिक हो, यो कसले निर्णय गर्छ ? राजनीतिले । ड्राईभिङ लाईसेन्स अठार वर्षमै किन, हामी किन सत्र वर्षसम्म बच्चा नै हुन्छौँ ? यो निर्णय गर्छ राजनीतिले । हाम्रो उमेरको लेखाजोखा कसले राख्छ ? भविष्यको निर्धारण कसले गर्छ ? राजनीतिले । वर्षमा कति जागिर खुल्छन्, तलब कति पाइन्छ ? यो निर्णय कसले गर्छ ? राजनीतिले । नागरिकले कति कर तिनुपर्छ ? कर तिरेको पैसा कहाँ खर्च हुन्छ ? यो निर्णय गर्छ राजनीतिले ।

त्यसपछि केटाकेटीहरूले पार्क बचाउने सानदार अभियान चलाउँछन् र अन्तत: सफल पनि हुन्छन् ।

हाम्रो कुरा 

माथि फिल्मको चर्चा गरियो । अब लागौँ, हाम्रो आफ्नै सामाजिक तथा व्यावहारिक संसारतिर । फिल्ममा झैँ हाम्रो समाजमा पनि केही मान्छेहरू भनिरहेका भेटिन्छन्, मलाई राजनीतिको मतलब छैन । विशेषतः युवाहरू बडो गर्वका साथ भनिरहेका भेटिन्छन्—राजनीति फोहोरी खेल हो । मलाई राजनीतिको मतलब छैन । म राजनीतिबारे धेरै सोच्दिनँ ।

विचार गरौँ त के यस्तो भन्नु ठीक हो ? योसँगै अर्को प्रश्न आउँछ, किन नसोच्ने राजनीतिबारे ? वस्तुत: यदि कोही राजनीतिबारे नसोची नै जीवनका बारेमा सोच्छु भन्छ भने त्यो आफैँमा अज्ञानी कुरा हो । किनभने ‘जीवनको बारेमा सोच्नु राजनीतिका बारेमा सोच्नु हो, राजनीतिका बारेमा सोच्नु जीवनका बारेमा सोच्नु हो ।’ । विचार गरौँ त के कोही आफ्नै जीवनका बारेमा पनि नसोची बस्न सक्छ ?

जो निरपेक्ष देखिन्छन् उनीहरू ठान्दछन्, ‘राजनीति बेराजगारहरूको काम हो । ज्ञानी मान्छेहरू राजनीतिमा जान हुँदैन ।’ किन ज्ञानी मान्छेहरू राजनीतिमा नजाने ? के आफूमाथि शासन गर्न अज्ञानीहरूलाई नै छोडिदिने ? के देश यसरी चल्छ ? देश बनाउनुपर्छ भन्नेहरूले देश बिगार्नेलाई सत्ताको ताला चाबी छोडिदिने हो भने, देश बनाउँछ कसले ?

आधुनिक सभ्यतामा राजनीति र जीवन अभिभाज्य छन् । राजनीति बिनाजीवन हुँदैन र जीवन बिना राजनीति हुँदैन । जस्तो सूर्य र प्रकाश । सूर्य छ उज्यालो हुन्छ, सूर्य छैन अध्याँरोको राज चल्छ । अतः कसैले राजनीतिका बारेमा सोच्दिनँ भन्नुको अर्थ हुन्छ, म मेरो जीवनको बारेमा पनि सोच्दिनँ । के जीवनको बारेमा नसोचेर पनि हामीलाई काम चल्छ ? चल्दैन । त्यसोभए राजनीतिका बारेमा नसोची हाम्रो जीवन चल्छ कसरी ?

राजनीति के हो ? किन सोच्नुपर्छ राजनीतिका बारेमा ? किनभने राजनीति हाम्रो जीवन धारा हो । देश बुझ्ने, समाज बुझ्ने, समाजलाई बदल्ने विषय राजनीति हो । जस्तो कि हामी किन गरिब छौँ ? हामी किन बेरोजगार छौँ ? हाम्रा देशमा किन अवसरहरू कम छन् ? हामी किन अमेरिका वा युरोप जस्तो भएनौँ ? यी प्रश्न भित्र छ राजनीति । जवाफ पनि राजनीतिले मात्र दिनसक्छ ।

यदि कोही शिक्षक बन्न चाहन्छ भने त्यहाँ पनि राजनीति छ । यदि कोही व्यवसायी बन्न चाहन्छ भने त्यहाँ पनि राजनीति छ । अर्थात्‌‌ आफ्नै सपनालाई बुझ्न पनि मान्छेले राजनीति बुझ्नुपर्छ । आफ्नै जीवनलाई बुझ्न पनि मान्छेले राजनीति बुझनुपर्छ । यदि राजनीति कुरूप छ भने मान्छेको जीवन कुरूप हुन्छ । यदि राजनीति सुन्दर छ भने मान्छेको जीवन स्वयम् स्वर्ग बन्छ ।

राजनीति प्रत्येक पल हामीसँगै हुन्छ । जस्तो की बिहान उठेपछि हामीले खाने चिया वा कफी कहाँबाट आउँछ ? त्यसको मूल्य कस्तो छ ? त्यो राजनीतिले निर्धारण गर्छ । अण्डाको मूल्य कति हुनुपर्छ ? त्यो राजनीतिले निर्धारण गर्छ । सहर कस्तो छ ? सडक कस्तो छ ? पसलमा के कस्ता सामान पाइन्छन् ? र, त्यसको मूल्य कसरी तय हुन्छ ? यो सबै राजनीतिले निर्धारण गर्छ ।

विचार गरौँ न तपाईंको गोजीमा भएको पैसाको हैसियत कसले निर्धारण गर्छ ? विदेश जाने पासपोर्टको रंग कसले छान्छ ? राजनीतिले । अर्थात्‌‌ लेखन राजनीति हो । कविता राजनीति हो । समाज राजनीति हो । देश राजनीति हो । देश प्रेम राजनीति हो । हामी भित्र जन्मिने भावुकताहरू राजनीति हुन् ।

जब हाम्रो सारा जीवनलाई राजनीतिले प्रभावित गर्छ भने हामी राजनीति भन्दा भिन्न कसरी हुनसक्छौँ ? राजनीतिले हामीलाई यति धेरै प्रभाव पारिरहन्छ भने हामी राजनीतिलाई प्रभावित गर्न किन प्रयत्न गर्दैनौँ ?

राजनीति भनेको पार्टी खोल्नु र चुनाव लड्नु मात्र होइन । राजनीति भनेको स्वयम् आफैँलाई हेर्नु, आफ्नो जीवनलाई हेर्नु, आफ्नो इतिहासलाई हेर्नु र भविष्यलाई हेर्नु पनि हो । राजनीति भनेको के भइरहेको छ देख्नु, बुझ्नु, खोजी गर्नु र चित्त बुझ्दैन भने प्रश्न र आलोचना गर्नु हो । अथवा खराब परिस्थितीलाई बदल्न स्वयम्‌ले प्रयत्न गर्नु हो ।

किन आउनपर्छ ज्ञानीहरू राजनीतिमा ? अथवा तपाईं स्वयम् राजनीतिमा किन आउनुपर्छ ? यो निकै महत्त्वपूर्ण प्रश्न हो । तपाईं आफ्नो जीवनलाई कस्तो बनाउन चाहनुहुन्छ ? तपाईं आफ्ना सन्तानलाई कस्तो बनाउन चाहनुहुन्छ ? तपाईं उत्तर कोरियाजस्तो नेपाल चाहनुहुन्छ कि युरोपजस्तो ?

यी र यस्ता प्रश्न हुन्, जसको जवाफ राजनीतिले मात्र दिन सक्छ । यसकारण तपाईं आफ्नै जीवनलाई कस्तो बनाउन चाहनुहुन्छ ? यो प्रश्नको जवाफ खोज्न पनि राजनीतिमा आउनुपर्छ ।

किन आउनुपर्छ युवाहरू राजनीतिमा ? आफ्ना सपनाहरूमाथी स्वयम्‌‌को नियन्त्रण सुनिश्चित गर्न युवाहरू राजनीतिमा आउनुपर्छ । अन्यथा हाम्रो जीवन अरुको नियन्त्रणमा हुन्छ । हाम्रो जीवनको निर्णय अरुले गर्दछन् । आफ्नो जीवन स्वयम् आफ्नै नियन्त्रणभन्दा बाहिर हुनु जति गम्भीर सङ्कट के हुन्छ ?

यदि हामी राजनीति गर्दैनौँ या बुझ्दैनौँ भने हाम्रो जीवन र यसले भोगिरहेका सङ्कट बुझ्न सक्दैनौँ । जब सङ्कटहरू बुझ्न सकिँदैन, त्यसको समाधानबारे सोच्न सकिँदैन । जब ठीक ढङ्गले सोच्न सकिँदैन, समाधान असम्भव छ ।

विचार गरौँ त समाधानबिनाको जीवन कस्तो होला ? अतः राजनीति बुझ्न आवश्यक छ । राजनीतिमा भाग लिन आवश्यक छ । आफ्नो लागि आफैँले राजनीति गर्न आवश्यक छ ।

राजनीति र दलीय राजनीतिमा के फरक छ ? राजनीति सर्वत्र छ । तर, दलीय राजनीति, राजनीतिको विशाल संसार भित्रको एक भाग मात्र हो । जब मान्छेसँग शासनसत्ता जोडिन्छ, त्यससँग दुई हिसाबले हामी जोडिन सक्छौँ । एउटा स्वतन्त्र नागरिकको रूपमा प्रश्न, आलोचना र सहकार्य गरेर । दोश्रो सङ्गठित राजनीतिक प्रयत्नबाट । यस्तो सङ्गठित प्रयत्न; जसले स्वयम् सत्ता सञ्चालनको उद्देश्य राख्दछ ।

राजनीति र राज्यसत्ता कस्तो बनाउने भन्ने प्रश्नमा स्वतः राजनीतिक व्यवस्था जोडिन्छ । जब व्यवस्था जोडिन्छ, स्वभावतः लोकतन्त्र आउँछ, गणतन्त्र आउँछ, पार्टीहरू आउँछन्, तिनका विचार र मुद्दाहरू आउँछन् । जब हामी कुनै विचार, एजेण्डाहरूको पक्षमा उभिन्छौँ, त्यहाँबाट पार्टी राजनीति सुरू हुन्छ ।

हामी आम स्वतन्त्र र खुला राजनीति गरौँ या पार्टी राजनीति दुवैमा कुनै खराबी छैन । मुख्य कुरा हो, परिवर्तन । मुख्य कुरा हो, जीवन र जगत्‌मा बदलाव । अथवा सभ्यताको उन्नयन र प्रगति ।

यो अर्थमा पार्टीमा होस् वा पार्टी बाहिर जहाँ भएपनि राजनीति हामीसँग अभिभाज्य छ । राजनीति प्रत्येक व्यक्तिले स्वयम्‌लाई समाज, सत्ता र समयसँग जोड्ने एउटा आम प्रकृया हो । यसबाट कोही पनि भिन्न छैन । भिन्न हुँदैन । युवा मित्रहरू, के तपाईंहरू राजनीतिमा आउने हैन ? निर्णय गर्नुहोस् ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved