आलेख

मिसन-८४ : फगत सत्ता कि परिवर्तनको सङ्कल्प ?

नभुलौँ, यथास्थितिमा बस्नेहरू इतिहासका थकित घोडाहरू हुन् । र, प्रत्येक प्रगतिशील विद्रोही त्यो घोडामा सवार नायक हो, जसले इतिहासको थकित घोडालाई चावुक हान्छ र अगाडि बढाउँछ । अन्यथा समय दगुर्ने छ, घोडा छुट्ने छ र नयाँ पुस्ताले चाहेर पनि धेरै कुरा छुट्दै जानेछन् । त्यसबेला पछुताउनुभन्दा धेरै केही पनि बाँकी रहदैन ।

मिसन-८४ : फगत सत्ता कि परिवर्तनको सङ्कल्प ?

गत आम निर्वाचनलगत्तै अर्थात् ०७९ पुष १५ गते मैले कान्तिपुरमा एउटा लेख लेखेको थिएँ । ‘परियोजना चौरासी’ शीर्षकमा प्रकाशित त्यो लेखको मुख्य आशय थियो— राजनीतिक पुनर्गठन । आउने निर्वाचन कसैगरी पछिल्लो निर्वाचनभन्दा फरक हुनुपर्छ । अबको राजनीति, राजनीतिक दल र त्यसका पात्र फरक हुनुपर्छ । राजनीतिको साध्य, साधन र साधक फेरिनुपर्छ । त्यसले दिने सन्देश अलग हुनुपर्छ, परिणाम अलग हुनुपर्छ । त्यो सुसंस्कृत, समावेशी, अझ धेरै लोकतान्त्रिक र अग्रगामी हुनुपर्छ ।

लेख प्रकाशित भएको एक वर्ष नहुँदै नेपाली राजनीति ‘मिसन-८४’ मा केन्द्रित भएको छ । तर ‘मिसन-८४’ को अर्थ, आशय र सन्दर्भ भने फरक-फरक देखिन्छ । आखिर के हो ‘मिसन-८४’ ? केही राजनीतिक दलको कुरा सुन्दा लाग्छ ‘मिसन-८४’ उनीहरूका लागि सत्ताको सिंहासन प्राप्त गर्ने शुभ-साइत हो । कसैलाई मतदाता भ्रमित गर्ने प्रहसन । कसैका लागि आफ्ना निराश कार्यकर्तालाई आश्वस्त बनाउने एक नारा त कसैलाई स्वयम् आफ्नै असफलता र उदासी बिर्सने भ्रमित कल्पना ।

के ‘मिसन-८४’ यतिमात्र हो ? के आजको नेपाली राजनीतिको केन्द्रीय मुद्दा कुनै अमूक पार्टीको सरकार वा अमूक मान्छेको सत्तारोहण मात्र हो ? के यो सिनेमामा हिरोको ‘ईन्ट्री’ भएजस्तै, धुमधडाका साथ कसैको सिंहदरबारमा ‘ईन्ट्री’ पर्खिएर बसेको मिसन हो ? के त्यति हुनासाथ आजका हाम्रा सारा राजनीतिक, आर्थिक र सामाजिक समस्या सकिन्छन् ? त्यस्तो किमार्थ हुँदैन ।

अतः ‘मिसन-८४’ फगत सत्ताको तिर्सना हो भने त्यो तमासा हो । त्यो मात्र बोक्रे कुरा हो । त्यसले नेपाली राजनीतिमा कुनै अर्थ राख्दैन ।

किनभने हामीले भोग्दै गरेका पछिल्ला राजनीतिक, आर्थिक र सामाजिक समस्या कुनै अमूक दल वा व्यक्तिलाई सत्ताबाट निकाल्दैमा वा कसैलाई सत्तारोहण गराउँदैमा समाधान हुदैनन् । मानौँ, अहिलेकै अवस्थामा न त कांग्रेसको एकल बहुमत आउँदैमा हाम्रा समस्या समाधान हुन्छन्, न त कम्युनिष्टको । वा अहिलेकै अवस्थामा न त कुनै नयाँ पार्टीको बहुमत आउँदैमा हाम्रा समस्या समाधान हुन्छन्, न त नयाँ नायकहरूको सत्तारोहण हुँदैमा यो देश राम-राज्य बन्छ । किनभने हाम्रा समस्या सघन छन् र तिनीहरूको समाधान गम्भीर राजनीतिक, आर्थिक र सामाजिक हस्तक्षेपबाट मात्र सम्भव छ ।

त्यसैले मिसन-८४ राजनीतिक पुनर्गठनको एक सुदृढ परिकल्पना हो र हुनुपर्छ । अन्यथा, तमासा गरेर यही अवस्थामा कसैले ०८४ को चुनाव जित्दैमा नेपाली राजनीति, दल, सत्ता र शासनको चरित्र फेरिँदैन ।

मिसन-८४ अर्थात् सत्ता 

अहिले ‘मिसन-८४’ भन्नेहरूमा दुईखाले मान्छे देखिन्छन् । पहिलोखाले मान्छेहरू ‘मिसन-८४’ लाई चुनाव जित्ने र आफू सत्तासीन हुने अर्थमा हो-हल्ला गरिरहेका छन् । उनीहरूका लागि ‘मिसन-८४’ फगत सत्ताको तिर्सना हो । दोश्रोखाले मान्छेहरू ‘मिसन-८४’लाई राजनीतिक रूपान्तरण वा परिवर्तनको मिसन बनाउनुपर्ने ठान्दछन् । उनीहरूका लागि मिसन-८४ राजनीतिक पुनर्गठनको एक अभियान वा विद्रोह हो ।

‘मिसन-८४’ लाई मात्र चुनावदेखि चुनावसम्मको यात्रा बनाउने हो भने त्यसले दुईवटा हानिकारक परिणाम दिन्छ । पहिलो— त्यसले राजनीतिलाई मात्र चुनाव जित्ने र सत्तारोहण गर्ने प्रयोजनमा सीमित गर्छ । जसरी पनि चुनाव जित्ने । छलछाम गरेरै भएपनि चुनाव जित्ने । अपवित्र गठबन्धन गरेरै भएपनि चुनाव जित्ने । मात्र, चुनाव जित्ने ।

‘मिसन-८४’ फगत चुनाव जित्ने कुरा हो भने जस्तो अपवित्र गठबन्धन बनाउँदा भयो । हो-हल्ला र तमासा गर्दा भयो । ठूला र उडन्ते कुरा गरेर मतदाताको भावनालाई भड्काउँदा भयो । तथ्यहीन प्रचार गर्दा भयो । आरोप-प्रत्यारोप गर्दा भयो । समाजमा पूर्वाग्रहको विष घोल्दा भयो । यसो गर्दा चुनाव त जितिएला । तर, यसले राजनीति र समाजलाई कुनै योगदान गर्दैन ।

यदि त्यसै गर्ने हो भने मिसन-८४ किन चाहियो ? त्यसै गर्ने हो भने पाँच वर्षपछि पनि अवस्था उही हुनेछ । जस्तो अहिले छ । जसका लागि कुनै नयाँ गर्न पर्दैन । अथवा, कांग्रेस र कम्युनिष्टहरू यस्तै बेरङ्गका गठबन्धनहरूमा लाग्दा भयो । नयाँहरू यसरी नै प्रियतावादमा फस्दा भयो । ठूला-ठूला कुरा गरेर मान्छे भड्काउँदा भयो । चुनावमा यसरी नै तमासा गर्दा भयो । यसरी नै टिकेट किनबेच गर्दा भयो ।

अर्थात् यसरी नै फगत चुनाव जित्ने हो भने अनेक नयाँ-नयाँ चटक, जादु, लोकरिझ्याइँ र प्रियतावादको आविष्कार गर्दा भयो । पछिल्लो चुनावमा झैँ ‘नो नट् अगेन’ भनेर मतदाता हौँस्याउँदा भयो । उसरी नै बालुवाटार र खुमलटार धाँउदा भयो ।

यसरी राजनीतिको मैलो सफा हुने छैन । यो फगत तमासा हुनेछ ।

दोश्रो— ‘मिसन-८४’ लाई मात्र चुनावदेखि चुनावसम्मको यात्रा बनाउने हो भने राजनीतिलाई गम्भीर मुद्दाबाट विमुख बनाउँछ । छलफल गर्नुपर्ने विषय ओझेलमा पर्दछन् र बहसको केन्द्रमा आउनेछ फगत सत्ता । विचारलाई जब तमासाले जित्छ, राजनीति कस्तो हुन्छ भन्नैपर्दैन ।

मिसन-८४ लाई मात्र चुनावदेखि चुनावसम्मको जात्रा बनाउने हो भने राजनीतिको दीर्घकालिन महत्त्व, विचार पक्ष, एजेण्डा र स्कुल कमजोर हुनेछ । यसरी हात लाग्नेछ उही अंकगणित, उही दिशाहीनता, उही निराशा र उही अस्थिरता । यदि ‘मिसन-८४’ मात्र चुनावदेखि चुनावसम्मको जात्रा बनाउने हो भने यो यथास्थितिको गोलचक्कर हुनेछ ।

तर, यसको विपरीत ‘मिसन-८४’ लाई बुझ्ने अर्को पनि कोण छ । त्यो कोणको केन्द्रमा छ ‘राजनीतिक परिवर्तनको सङ्कल्प’ अथवा ‘राजनीतिक पुनर्गठन’ । यो विचार राख्नेहरू ठान्दछन् ‘मिसन-८४’ नेपाली राजनीतिलाई बदल्ने नयाँ विचार, नयाँ ऐजेण्डा, नयाँ संस्कृति र नयाँ सङ्कल्पसहितको एक अग्रगामी र लोकतान्त्रिक अभियान बन्नुपर्छ । अर्थात् एक विद्रोह । अनिमात्र हाम्रो राजनीति नयाँ कोर्षतर्फ जानेछ ।

मिसन-८४ अर्थात् परिवर्तनको सङ्कल्प

राजनीति फगत चुनावदेखि चुनावसम्मको यात्रा होइन । राजनीति फगत सत्ता होइन । राजनीति जसरी पनि सरकारमा पुग्नु होइन । । राजनीति निरन्तर चल्ने र चलिरहने यात्रा हो । राजनीति हो समाजलाई बुझ्ने र बदल्ने अभियान । राजनीति हो एक ज्ञान, साधना र सङ्कल्प । राजनीति हो, सभ्यतालाई अझ मानवीय, सुन्दर र जीवनमुखी बनाउने अनुष्ठान । राजनीति हरेक दिन देश र दुनियाँलाई अझ सुन्दर बनाउने प्रयत्न हो ।

प्रश्न आउँछ, त्यसोभए किन चाहियो मिसन-८४ ? निरन्तर चल्ने राजनीतिक यात्रालाई कहिलेकाहीँ एउटा मोड दिनुपर्ने हुन्छ । जमेको चट्टानलाई फुटाउन कहिलेकाहीँ शक्तिशाली प्रहार गर्नुपर्ने हुन्छ । यो अर्थमा मिसनहरू चाहिन्छ । त्यसैले मिसन-८४ नेपाली राजनीतिको एक ‘माईलस्टोन’ बन्नसक्छ । तर, यसका लागि चुनावी हो-हल्लाबाट उठेर राजनीतिक पुनर्गठनको प्रयत्नलाई संगठित गर्नुपर्छ ।

कसरी आउला त्यो ‘मोड’ ? कसरी बन्ला मिसन-८४ एक ‘माईलस्टोन’ ? के मिसन-८४ले आउने पाँच वर्षमा राजनीतिको साख, सत्व र लय पुनर्स्थापित गर्ला ? के आउने पाँच वर्षमा देशले पुनर्गठित दल, ताजा नेतृत्व र नयाँ राजनीति पाउला ? वा प्रश्न यो पनि हुनसक्छ कि आउने चार वर्षमा पुराना दल फेरिएलान् ? भनेजस्तै नयाँ दलहरू बन्लान् ?

सजिलो अवस्थामा न त पुराना दल फेरिने छन्, न त नयाँ दलहरू बन्नेछन् । त्यसैले त मिसन-८४ चाहियो । यस्तो मिसन; जसले सामाजिक तथा राजनीतिक विद्रोहको बाटो निर्माण गरोस् । पार्टीहरू भित्र विद्रोह । समाजमा विद्रोह । सर्वत्र अग्रगामी राजनीतिक हस्तक्षेप । विद्रोहको जगबाट नयाँ राजनीति र नयाँ दलको निर्माण ।

तर, त्यसका लागि चुनावी राजनीतिबाट माथि उठेर राजनीतिक पुनर्गठनको शक्तिशाली परियोजना सुरू गर्नुपर्छ । प्रत्येक दलभित्र मिसन-८४ अर्थात् पुनर्गठनको परियोजना । समाजमा मिसन-८४ अर्थात् अग्रगामी सामाजिक तथा राजनीतिक उथलपुथल । यी दुवैलाई जोडेर नयाँ र भरोसायोग्य विकल्प निर्माण । अनिमात्र मिसन-८४मार्फत राजनीतिक पुनर्गठनको लक्ष्य पूरा हुनेछ ।

कसले उठाउला विद्रोहको झण्डा ?

मानौँ, पार्टीभित्र कसैलाई दास बन्नुमै आनन्द छ, उसलाई छोडौँ । तर, जो दास बन्न इन्कार गर्दछन्, राजनीतिक पुनर्गठनको मिसन उसले सुरु गर्नुपर्छ । मानौँ, समाजमा अग्रगामी चेतनाको दियो जहाँ बल्दैछ, त्यहीबाट बाल्नुपर्छ विद्रोहको नयाँ ज्वाला । नयाँ पुस्ताले यसको नेतृत्व गर्नुपर्छ र भन्नुपर्छ— मिसन-८४पछि हाम्रो युग सुरू हुनेछ ।

कस्तो होला त्यो विद्रोह वा हलचल ? दलहरूको कुरा गर्दा अवस्य नै फरक दलहरूमा पुनर्गठनको मोडेल फरक होला । तर त्यसको सुरुवात हुनसक्छ नयाँ पुस्ताको प्रश्न, आलोचना र सचेत सङ्कल्पबाट । प्रत्येक दलका नयाँ पुस्ताले दृढताका साथ भन्न सक्नुपर्छ— राजनीतिक पुनर्गठनबिना एक कदम अगाडि बढ्न असम्भव छ ।

दलहरूभित्र नयाँ पुस्ताले महाधिवेशन, बैठक, भेला वा पार्टी कार्यालयमा आवाज उठाउनुपर्छ । अनुशासनको परम्परागत मान्यतालाई तोड्नुपर्छ । कारबाही सहनुपर्छ र लगातार भन्नुपर्छ— राजनीतिक पुनर्गठन अनिवार्य छ । दलको पुनर्गठन अनिवार्य छ । अग्रगामी बदलाव आवश्यक छ ।

अर्थात् नयाँ पुस्ताले नेतृत्वलाई भन्नुपर्छ— नेताज्यू, तपाईंको लोभ, अहंकार र गतिहीनता अब पुग्यो । शिरमा आगो झोस्नुहोस्, सत्ताको सपनाबाट ब्युँझनुहोस् र युगको सन्देश सुन्नुहोस् । राजनीतिबाट बिदा लिनुहोस् । नयाँ पुस्तालाई बाटो छोड्नुहोस् ।

नयाँ पुस्ताले भन्न सक्नुपर्छ— हाम्रो राजनीति हामी गर्छौँ । हाम्रो युगको नेतृत्व हामी गर्छौँ ।

यो सबै गर्न एउटा विद्रोहको आँधी बन्नुपर्छ मिसन-८४ । यस्तो आँधी जसले पार्टीभित्र मात्र हैन, समाजमा समेत राजनीतिक हलचल सिर्जना गरोस् र अगाडि जाने आफ्नो बाटो आफैँ बनाओस् ।

यहाँ दोश्रो पुस्ता भनेको कुनै अमूक मान्छे होइन । न उमेर हो, न पद । बरु त्यो हो एक नवीन विचार, नवीन सोच, नवीन एजेण्डा, नवीन नेतृत्व र नवीन संस्कृति । यस्तो नविनतम् आँधी, जसले आफ्नै हेडक्वाटरलाई औँलो ठड्याएर शक्तिका साथ भनोस्— राजनीति यसरी हुदैन । अहँ यसरी हुदै हुदैन ।

निश्चित छ, पुरानै बाटोमा हिँडेर नयाँ गन्तव्य भेटिँदैन । अतः नयाँ पुस्ताले पार्टी नेतृत्वमा जमेर बसेको प्राधिकारलाई प्रश्नहरूले घेरोस् र भनोस्— या त बदलाव, अन्यथा विद्रोह ।

चिन्ता नगरौँ, विद्रोहका प्रत्येक प्रयत्नहरू सुरूमा सानै हुन्छन् । र, ति क्रमश: बढ्दै जान्छन् । चिन्ता नगरौं, राजनीतिमा हुने सचेत विद्रोहहरू अपराध होइन । चिन्ता नगरौँ कारबाही होला । ‘दलप्रति भन्दा परिवर्तनप्रतिको चिन्ता’ आज आवश्यक छ । आजको राजनीतिक जिम्मेवारी हो, राजनीतिक बदलाव । र, यो सन्दर्भमा स्वयम् आफ्नै दललाई आलोचना गर्नु सबैभन्दा जिम्मेवार हुनु हो ।

त्यही जिम्मेवारीका साथ पुरानो विचार, एजेण्डा, नेतृत्व, शैली र संस्कृतिलाई भत्काउने र नयाँ बनाउने सचेत विद्रोह आज चाहिएको छ । अन्यथा सबैकुरा ठीक छ भनेर शान्त रहने हो भने राजनीतिक पुर्नगठन असम्भव छ । मिसन-८४ असम्भव छ ।

यहाँनेर के विचार गरौँ भने प्रश्न गरेर मात्र विद्रोह सकिँदैन । प्रश्न गर्नु विद्रोहको सुरुवात मात्र हो । प्रश्नसँगै राजनीतिक पुनर्गठनको अर्को काम हो— ‘विकल्पको खोजी’ । किनभने विद्रोहले विकल्पको खाका कोर्नुपर्छ । विचार, एजेण्डा, नेतृत्वसहितको नविनतम् राजनीतिक संस्कृतिको विकल्प ।

भनिन्छ— राजनीतिक पुनर्गठनका मोटामोटी सात आधार हुन्छन् । तिनीहरूको विकल्प निर्माण गर्नु नै राजनीतिक पुनर्गठनको मुख्य काम हो । के हुन् ती आधार ?

पहिलो— विचार । दोश्रो— संगठन । तेश्रो— नेतृत्व । चौथो— पार्टी लोकतन्त्र । पाँचौ— मुद्दाहरू । छैठौं— राजनीतिक मूल्य, मान्यता र संस्कृति । सातौँ— शासकीय स्वरुप र चरित्रको प्रस्ताव ।

नयाँ पुस्ताले खाजेको नयाँ कुरा (विकल्प) के हो ? अथवा मिसन-८४ले चाहेको विकल्प के हो ? जस्तो विचारमा खोजिएको नयाँपन र सृजनशीलता के हो ? आजका संगठनभित्र कहाँ खोट छ र चाहेको विकल्प के हो ? नेतृत्व कस्तो हुनुपर्छ, नेतृत्व कसरी विनिर्माण हुन्छ ? पार्टी प्रणाली र पार्टी लोकतन्त्रमा खोजेको परिवर्तन के हो ? मुद्दाहरू के हुन् ? तिनीहरूलाई सम्बोधन गर्ने नीति र रणनीति के हो ? नयाँ पुस्ताले राजनीतिक मूल्य, मान्यता र संस्कृतिमा चाहेको बदलाव के हो ? यी सबैको सुन्दर विकल्पसहितको नयाँ राजनीतिलाई स्थापित गर्नु नै मिसन-८४को मुख्य काम हो ।

राजनीतिक पुनर्गठन भनेको न त व्यक्तिको फेरबदल हो, न त उमेरको लेखा-जोखा । यथास्थितिमा न त पार्टी भित्र जमेको विकृतिको चट्टान तोडिन्छ, न त भ्रष्टाचार र कुशासन । राजनीति, राज्य र पार्टीभित्र गजधम्म बसेको तानाशाही सपनालाई नतोडी न त राजनीति फेरिन्छ, न त सत्ता । त्यो तानाशाही जडता विचारमा पनि छ, व्यवहारमा पनि । त्यसलाई तोड्न आवश्यक छ । आवश्यक छ, नीतिगत बदलाव, प्रणालीगत सुधार र सांस्कृतिक पुनर्गठन ।

नभुलौँ, यथास्थितिमा बस्नेहरू इतिहासका थकित घोडाहरू हुन् । र, प्रत्येक प्रगतिशील विद्रोही त्यो घोडामा सवार नायक हो, जसले इतिहासको थकित घोडालाई चावुक हान्छ र अगाडि बढाउँछ । अन्यथा समय दगुर्ने छ, घोडा छुट्ने छ र नयाँ पुस्ताले चाहेर पनि धेरै कुरा छुट्दै जानेछन् । त्यसबेला पछुताउनुभन्दा धेरै केही पनि बाँकी रहदैन ।

आजका लागि अन्तिम कुरा केभने आउने चार वर्षका लागि ‘मिसन-८४’ को नेतृत्व कसले गर्ला ? जसले चुनावदेखि चुनावसम्मको राजनीतिलाई फेरेर एक गम्भीर राजनीतिक पुनर्गठनको अपिल गर्न सकोस् । इतिहासले राजनीतिकर्मीहरूलाई सोध्ने आजको खास प्रश्न यही हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved