युन फोसा : सेक्सपियर र इब्सेन परम्पराका नयाँ अवतार

उनको लेखन मान्छेको जन्म, जीवन, प्रेम, मृत्यु, मूल्य र संवेदनाको वरिपरि घुम्ने समालोचकको ठहर छ । उनी संवेदनालाई छुने गरी लेख्छन् । तसर्थ, उनको लेखनमा जीवन हुन्छ । जिवन्तता हुन्छ ।

नेपालभ्युज

युन फोसा : सेक्सपियर र इब्सेन परम्पराका नयाँ अवतार

काठमाडौं । साहित्यतर्फ सन् २०२३ को नोबल पुरस्कार पाएका नर्वेली नाटककार युन फोसा विश्व सञ्चार माध्यममा छाएका छन् यतिखेर । उनले इब्सेनको नयाँ अवतार भन्ने उपनामसमेत पाइरहेका छन्।

हेनरिक इब्सेन तिनै महान नाटककार थिए जसले नर्वेली नाट्य परम्परालाई विश्वस्तरमा स्थापित तथा परिचित गराएका थिए । गोपाल प्रसाद रिमालको चर्चित नाटक ‘मसान’ इब्सेनको ‘द डल्स हाउस’ बाट प्रभावित थियो भनिन्छ । इब्सेनलाई सेक्सपियरपछिको दोस्रो विश्व प्रसिद्ध नाकटकार मानिन्थ्यो ।

सम्भवत: अब सेक्सपियर–इब्सेन परम्परामा तेस्रो स्थान युन फोसाले लिएका छन् । सेक्सपियर र इब्सेनका जस्तै फोसाका नाटक पनि साहित्यिक मूल्यका लागि मात्र थिएनन् । उनले थियटर परम्पराका लागि नै त्यस्ता नाटक लेखेका थिए । फोसाका नाममा रेकर्ड नै बनेको छ– उनी संसारमा सबैभन्दा बढी मञ्चन गरिएका नाटकका लेखक हुन्।

फोसाले ४० वटा नाटक लेखे, ती सबै थियटरमा मञ्चन गरिए । तर, उनलाई सन् २०२३ को साहित्य तर्फको नोबल पुरस्कार दिइनुको कारण भने नाटक मात्रै हैन । उनले काव्य, उपन्यास, कथा, निबन्ध र बाल साहित्य पनि उत्तिकै धेरै लेखेका छन् । नोबेल पुरस्कार कमिटीको ठहर छ– उनको लेखनमा एक प्रकारको नयाँपन छ । उनी बोल्न नसकिरहेका आवाज बोल्छन् ।

सन् १९५९ मा जन्मिएका फोसा अहिले ६४ वर्षमा छन् । नाटकभन्दा अघि उनले उपन्यास लेख्न थालेका थिए । उनको पहिले उपन्यास सन् १९८३ मा प्रकाशित ‘रेड, ब्ल्याक’ थियो । उनले पहिलो नाटक भने सन् १९९३ को ‘समवन इज गोइङ टु कम’ थियो ।

उनी तीनपटक बुकर पुरस्कारका लागि नोमिनेट भएका थिए । तर, यो पुरस्कार भने कहिल्यै पाएन् । पछिल्लोपटक सन् २०२२ मा ‘अ न्यु नेम : सेप्टोलजी’ का लागि उनी मनोनयनमा परेका थिए ।

उनको लेखन मान्छेको जन्म, जीवन, प्रेम, मृत्यु, मूल्य र संवेदनाको वरिपरि घुम्ने समालोचकको ठहर छ । उनी संवेदनालाई छुने गरी लेख्छन् । तसर्थ, उनको लेखनमा जीवन हुन्छ । जीवन्तता हुन्छ ।

फोसा नर्वेको पश्चिमी शहर बर्जेनका बासिन्दा हुन् । बिहीबार स्वीडेनको नोबेल पुरस्कार कमिटीबाट फोन प्राप्त गर्दा उनी गाडी कुदाएर घर फर्किरहेका थिए । नोबेल पुरस्कारको अपेक्षा उनले राखेका थिएनन् । तसर्थ, यो समाचार उनका लागि आश्चर्यजनक र सुखद थियो ।

साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने उनी चौथो नर्वेली लेखक हुन् । यस अघि जोर्नास्टिजर्न जोर्सनले सन् १९०३, क्नुट ह्याम्सनले १९२० मा र सिर्गिद अनसेटले सन् १९२८ मा नोबेल साहित्य पुरस्कार पाएका थिए । अर्थात् फोसा बीसौं शताब्दीमा साहित्य नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नर्वेली लेखक बन्न पुगेका छन् ।

फोसा आफ्नो लेखनमा नर्वेली लेखक तर्जेई भेसास, क्नुट हेमसनको प्रभाव स्वीकार गर्दछन् । त्यसैगरी, बाहिरका जर्ज ट्राकल, फ्रेन्ज काफ्फा र समुअल बेकेटबाट प्रभावित मान्दछन् । फोसाका पुस्तक विश्वका ८० भन्दा बढी भाषामा अनुदित छन् । त्यसमध्ये पनि इरानमा उनका नाटकको गहिरो प्रभाव परेको बताइन्छ । तेहरान थियटरमा उनका नाटक मञ्चन हुने गर्दछन् ।

फोसाका पुस्तक धेरै अनुवाद भएको अंग्रेजीमा नै हो । तसर्थ, बेलायत, अमेरिकालगायतका अंग्रेजी भाषी देशमा पनि उनका पाठक थुप्रै छन् ।

सात वर्षको उमेरमा फोसा एक भीषण दूर्घटनाको शिकार भएका थिए । मृत्युको मुखबाट फर्किएका थिए भन्दा हुन्छ । यो दुर्घटनाको मानसिक आघात उनको मष्तिष्कमा जीवन पर्यन्त रह्यो । उनी आध्यात्मिक र ‘मिनिमालिष्ट’ जीवनशैलीमा विश्वास गर्दछन् ।

उनले १२ वर्षको उमेरदेखि लेख्न थालेका थिए । उनको पहिलो उपन्यास २४ वर्षको उमेरमा छापिएको थियो । उनी नाटक विधामा भने सबैभन्दा ढिलो प्रवेश गरे । तर, नाटक नै अन्ततः उनको लेखनको मुख्य र मानक विधा बन्यो ।

लेखनका अतिरिक्त उनलाई संगीतमा रुचि थियो । उनी युवा उमेरमा साम्यवादको विचारबाट प्रभावित थिए । उनी स्वघोषित ‘हिप्पी’ पनि थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved