आलेख

कसको विकल्प बन्ला राष्ट्रिय स्वतन्त्र पार्टी ?

राजनीतिक विकल्प भनेको फगत एउटा पार्टी बन्नु र चुनाव जित्नु मात्र हो ? के राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना सबै पार्टीको विकल्प बन्छ ? अथवा, एक समयमा एउटा मात्र पार्टी विकल्प बन्छ कि धेरै पार्टी एकै समयमा विकल्पको रुपमा उदाउँछन् ?

कसको विकल्प बन्ला राष्ट्रिय स्वतन्त्र पार्टी ?

माथिको शीर्ष प्रश्नसँग अरु केही प्रश्न पनि जोडिएर आउँछन् । जो शीर्ष प्रश्न भन्दा कम महत्त्वपुर्ण छैनन्। जस्तो, राजनीतिक विकल्प भनेको फगत एउटा पार्टी बन्नु र चुनाव जित्नु मात्र हो ? के राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना सबै पार्टीको विकल्प बन्छ ? अथवा, एक समयमा एउटा मात्र पार्टी विकल्प बन्छ कि धेरै पार्टी एकै समयमा विकल्पको रुपमा उदाउँछन् ?

कतिपयको बुझाइ छ, वैकल्पिक राजनीति भनेको नयाँ पार्टी हो । र, त्यो मात्र एउटा हुन्छ । तर, होइन । पहिलो त, नयाँ पार्टी र वैकल्पिक राजनीतिको अर्थ फरक छ । दोश्रो, नयाँ पार्टी फगत पुरानो पार्टीको विकल्प बन्न सक्छ । तर, वैकल्पिक राजनीतिले परम्परागत राजनीतिलाई नै परिवर्तन गर्ने प्रस्ताव गर्दछ । यो अर्थमा वैकल्पिक राजनीति एक बृहत्तर आह्वान हो, नयाँ पार्टी त्यसको सहायक पक्ष । बहुलवादी समाजमा धेरै पार्टी हुनु स्वाभाविक हुन्छ । जसरी पुराना पार्टी धेरै हुनु स्वाभाविक हो त्यसरी नै विकल्पमा नयाँ पार्टीहरू पनि धेरै हुनु अस्वाभाविक हुँदैन ।

वैकल्पिक भाष्य :

वैकल्पिक राजनीतिको अर्थ बुझ्न थोरै सभ्यताको आँखीझ्याल चियाऊँ । मानव सभ्यता अनेकौं रुमानी सपनाको सप्तरंगी पर्वतशृंखला हो । तर, सपनाहरूको विशेषता के भने, ती समयसँग अविभाज्य हुन्छन् । राजनीति त्यही समय र सपनाहरूको उच्चतम् अभिव्यक्ति हो । यसरी हेर्दा प्रत्येक राजनीति कुनै न कुनै कालखण्डको विशिष्ट सपना हो । अथवा, ती सपनाहरू पूरा गर्न गरिने सामाजिक र आर्थिक हलचलको बृहत्तर अभियान हो । मान्छेका सपना समयसँगै फेरिदै जान्छन् र राजनीतिले समयको त्यो बदलावलाई देख्न सक्नुपर्छ । जब नयाँ युगका सपना पूरा गर्न परम्परागत राजनीतिले सक्दैन तब नयाँ राजनीति चाहिन्छ । त्यो नै वैकल्पिक राजनीति हो।

केही सन्दर्भ हेरौं । जस्तो, २०औं शताब्दीमा मान्छेले देखेका मुख्य सपना थिए लोकतन्त्र, राष्ट्रिय स्वाधिनता, उदारवाद र समाजवाद । यी सपनाले संसारभर लगभग एक शताब्दी रजगज गरे । यसैका वरिपरि राजनीतिले चक्कर मार्‍यो । यिनै सपनाका खातिर अनेकौं युद्ध भए र लाखौ मान्छे मारिए । पछिल्लो शताब्दीको मानव सभ्यता यिनै विचारको वरिपरि ध्रुवीकृत भयो । लोकतन्त्र र समाजवादको वैचारिक आलोकमा अनेकौं पार्टी बने र भत्किए।

२०औं शताब्दिमा औद्योगिक क्रान्तिले छलाङ मार्‍यो । युरोप र अमेरिका युद्धबाट निस्किए र समृद्धिको शिखर चुमे । तर, अफ्रिका र एसियाका अनेकौं देश गरिबीबाट उम्कन सकेनन् । हुने र नहुने बीचको खाडल चर्को बन्दै गयो । मुठ्ठीभर धनीको हातमा असिमित श्रोत जम्मा भयो । तर, करोडौं मान्छेहरू भोकै रहे । अवश्य नै उत्पादन बढ्यो, तर न्यायपूर्ण वितरण भएन । एकातिर लोकतन्त्रले महिला, सीमान्त समुदाय र अल्पंख्यकलाई भनेजस्तो न्याय दिन सकेन । अर्कोतिर समाजवाद सर्वसत्तावादमा फेरियो । भ्रष्टाचार बढ्यो । वातावरण विनास र कार्बन उत्सर्जन तीव्र भयो।

किन लोकतान्त्रिक सरकार असफल भए ? किन परम्परागत लोकतन्त्र असफल भयो ? किन आन्दोलन गर्ने पार्टीहरू स्वयं असफल भए ? किनभने उनीहरूले समयको बदलावसँगै आफूलाई फेर्न सकेनन् । उनीहरूले गर्ने राजनीति पुरानो भयो । यसले नयाँ युगलाई नेतृत्व गर्ने तागत गुमायो । त्यसैले, संसारभर राजनीतिक विकल्प खोज्न थालियो ।

संसारभरि नै भयो यस्तो कि, लोकतन्त्रका नाममा प्राप्त जनमत शासकको शक्ति आर्जन गर्ने साधन बन्यो । यो प्रवृत्तिबाट नेपाल पनि अलग रहेन । परिणाम, लोकतन्त्र त आयो तर मान्छेको जीवन फेरिएन । भ्रष्टाचार तीव्र भयो । मान्छेहरू स्वयं आफ्ना सपनाको आफैँ मलामी जान बाध्य भए।

किन लोकतान्त्रिक सरकार असफल भए ? किन परम्परागत लोकतन्त्र असफल भयो ? किन आन्दोलन गर्ने पार्टीहरू स्वयं असफल भए ? किनभने उनीहरूले समयको बदलावसँगै आफूलाई फेर्न सकेनन् । उनीहरूले गर्ने राजनीति पुरानो भयो । यसले नयाँ युगलाई नेतृत्व गर्ने तागत गुमायो । त्यसैले, संसारभर राजनीतिक विकल्प खोज्न थालियो ।

विश्व सन्दर्भमा, फ्रान्सिस फुकोआमाले भने– इन्ड अफ द हिस्ट्रि एन्ट्री द लास्ट मेन (१९९२) । जाक डेरिडाले (१९३०–००४) उत्तर आधुनिक दर्शनको कुरा गर्दै भने– विनिर्माण । हर्वट मार्खेजले (१८९८–१९७९) केही अगाडि नै परम्परागत वामपन्थमाथि आलोचना गर्दै भने– न्यु लेफ्ट । थोमस पिकेटीले क्यापिटल इन द ट्वान्टी फस्ट सेन्चुरी (२०१३) प्रकाशित गर्दै पुँजीवादी देशलाई सम्पत्तिको असमान वितरणले आर्थिक र सामाजिक अस्थिरता पैदा गर्नेतर्फ ध्यानाकृष्ट गरे । सर्वत्र राज्यको भूमिकामाथि पुनर्विचारको माग बढ्यो । लोकतन्त्रलाई अल्पमत र बहुमतको संघर्ष नभई सामाजिक न्यायको विषय बनाइयो । प्रत्यक्ष लोकतन्त्रको बहस सुरु भयो । यसरी, अनेक आयामहरूमा नवीनताको खोजी गर्दै मानव सभ्यता २१औं शताब्दीको तेश्रो दशकमा आइपुग्यो । र, हामी पनि नयाँ सपनाका साथ राजनीतिक विकल्पहरूको खोजीमा लाग्यौं ।

विकल्पका आधार :

वैकल्पिक राजनीतिका मुख्यतः पाँचवटा आधार छन् ।

पहिलो- यसले परम्परागत राजनीतिलाई प्रश्न मात्र गर्दैन, विकल्पको प्रस्ताव गर्छ । यो उन्नत र अग्रगामी हुन्छ । समयको गतिलाई स्वीकार गर्नु यसको चरित्र हो । जो कहिल्यै स्थिर हुँदैन, सधैं गतिशील हुन्छ ।

दोश्रो- वैकल्पिक राजनीति अझ धेरै लोकतान्त्रिक हुन्छ । यसले नागरिकलाई प्रत्येक कदममा राज्यको हिस्सेदारी लिन प्रेरित गर्छ । नागरिकको सार्वभौमिकतालाई पूर्णतः स्थापित गर्नु यसको विशेषता हो । अतः यो समावेशीकरण, सामाजिक न्याय र सम्पूर्ण समृद्धिका सपनाले सुसज्जित हुन्छ ।

तेश्रो- यो सभ्यताको आवाज हो । आजका दिनमा यसले मान्छेको मात्र कुरा गर्दैन । बरु यसले सम्पूर्ण पर्यावरण चक्रको कुरा गर्छ ।

चौथो- यो सुसंस्कृत हुन्छ । यसले शुसासनलाई सुनिश्चित गर्छ ।

पाँचौं- यो मौलिक हुन्छ ।

वैकल्पिक राजनीति मात्र एक थान पार्टी होइन । यो मुख्यतः नयाँ राजनीतिको प्रस्ताव हो । स्वभावतः नयाँ राजनीतिले नयाँ विचारको प्रस्ताव गर्छ । अर्थात्, लोकतन्त्र, पुँजीवाद, समाजवादका परम्परागत दर्शन, विचार र नीतिहरूमा कहाँ संकट छ ? आजको युगलाई बदल्ने र उन्नत बनाउने मौलिक विचार, संगठन र संस्कृति के हो ? वैकल्पिक राजनीतिले संगठनात्मक सिद्धान्तमा नयाँ योगदान गर्छ । पुरानै दलको जस्तो संगठन, उस्तै, संगठनात्मक जीवन, उस्तै ढाँचा, उस्तै नेतृत्वलाई अगाडि सारेर वैकल्पिक राजनीति हुँदैन।

वैकल्पिक राजनीतिले आफूलाई नयाँ युगसँग जोड्न मुद्दाहरूमा नवीनताको प्रस्ताव गर्छ । जस्तो कि, कुनै समय लोकतन्त्र महत्त्वपूर्ण मुद्दा थियो । कुनै समय समाजवाद महत्त्वपूर्ण मुद्दा थियो । हिजो कतिपयले वर्गको विषयलाई मुद्दा बनाए । कसैले बजारको स्वतन्त्रताबारे कुरा गरे, कसैले धर्मको, कसैले जातको ।

आजको युगका लागि आर्थिक, सामाजिक र राजनीतिक मुद्दा के हुन् ? राष्ट्रिय स्वाधिनताका मुद्दा के हुन् ? मान्छेको स्वतन्त्रता र स्वाभिमानका मुद्दा के हुन् ? यी विषयमा नयाँ प्रस्ताव नगरी वैकल्पिक राजनीतिको औचित्य स्थापित हुँदैन । पुरानो विचार, शैली र संस्कृति बोकेर जन्मिएको एकथान नयाँ दलले वैकल्पिक राजनीतिको गरिमा उठाउन सक्दैन । अतः आज हामी जहाँ उभिएका छौं त्यो विन्दुबाट इतिहास, समय चेतना र भविष्यलाई उन्नत बनाउने एक प्रयत्न हो वैकल्पिक राजनीति।

नेपाली अनुभव :

नेपालमा झन्डै ७५ वर्ष अगाडि कम्युनिस्ट र कांग्रेस पार्टी गठन भए । यि पार्टीहरू त्यसै फुत्त प्रकट भएका थिएनन् । बरु पछिल्लो शताब्दीमा संसारभर चलेका राजनीतिक आन्दोलनको जगमा यी निर्माण भएका थिए । उनीहरूले तत्कालीन समयलाई बदल्न मुख्यतः दुईटा राजनीतिक प्रस्ताव गरे । पहिलो लोकतन्त्रको प्रस्ताव, दोश्रो समाजवादको प्रस्ताव । त्यो राणाशासनको समय थियो । अतः त्यो समयका लागि यी फगत पार्टी मात्र थिएनन्, बरु थिए राजनीतिक बदलावका ऐतिहासिक प्रयत्नहरू।

प्रत्येक युगको वैकल्पिक राजनीति (पार्टी) अलग हुन्छ । यो अर्थमा कुनै बैला कांग्रेस र कम्युनिस्टहरू वैकल्पिक थिए । राणा, पञ्चायत र राजतन्त्रको युगमा लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिको कुरा गर्नु निश्चय नै वैकल्पिक कुरा थियो । ०७२ को सविधान सँगै ७० वर्ष लामो राजनीतिक आन्दोलनको युग सकियो । समय फेरियो । फेरिएको समयले नयाँ मुद्दा उजागर गर्‍यो । आर्थिक-सामाजिक न्याय, सुशासन, समृद्धि र सम्पूर्ण स्वतन्त्रता यथावस्थामा नयाँ कार्यभार पूरा गर्न पुराना पार्टीको राजनीतिक क्षमताले नपुग्ने देखियो । ठीक यही विन्दुबाट नेपालमा वैकल्पिक राजनीतिको बहस प्रारम्भ गरियो।

वैकल्पिक राजनीतिको पछिल्लो अनुभवलाई थोरै संश्लेषण गरौं । जस्तो कि, ०४६ सालको परिवर्तनसँगै डा. देवेन्द्रराज पाण्डे, टंक कार्कीहरूले नयाँ राजनीतिको प्रस्ताव गरे । त्यसका लागि ‘लोकदल’ गठन भयो । तर यसले सफलता पाएन । मुख्यतः ०४६ सालको जनआन्दोलन भर्खर सफल भएको थियो । अतः कांग्रेस-कम्युनिस्टहरू परीक्षण हुन बाँकी नै थिए । त्यसैले, लोकदलले आकार लिएन । यसको अर्थ वस्तुगत परिस्थिति तयार नभई मनोगत आग्रहबाट सुरुभएको ‘लोकदल’ मात्र एउटा असल प्रयत्नमा सीमित भयो ।

०६३ पछि नेपालमा वैकल्पिक राजनीतिको बहस अझ तीव्र भयो । त्यसैताका इटहरीमा वैकल्पिक विचार मञ्च बन्यो । केही पछि काठमाडौंमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भयो । ०७२ तिर आइपुग्दा बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई आलोचना गर्दै नयाँशक्तिको आवश्यकता प्रस्ताव गरे । रवीन्द्र मिश्र लगायतले साझा पार्टी बनाए । ०७९ मा आइपुग्दा नयाँ दलको रूपमा रास्वपा देखा पर्‍यो ।

यसैबीच, वैकल्पिक विचार मञ्चले वैकल्पिक राजनीतिको भाष्य, विचार र संरचनामा विमर्श गर्‍यो । केही प्रकाशनहरू आए । तर, मञ्च आफैँ राजनीतिक संगठनमा रूपान्तरित भएन । त्यसको सीमा के भने, विचारलाई व्यावहारिक राजनीतिमा रूपान्तरित गर्ने सामर्थ्य मञ्चसँग थिएन । यता भट्टराईले सुरु गरेको नयाँ राजनीतिक अभियान प्रचारात्मक हिसाबले निकै सशक्त थियो । तर, त्यसको संगठनात्मक पक्षमा अनेकौं कमजोरी देखापरे।

मुख्यतः नयाँ शक्तिले वैकल्पिक राजनीतिको गम्भीरता समाउनै सकेन । यो स्वयं माओवादी आन्दोलनको इतिहासबाट मुक्त थिएन । वस्तुतः माओवादी पृष्ठभूमिमा हुर्किएको वैचारिक जडताले आफूलाई नयाँ लयमा ढाल्नै सकेन । संगठनहरू भद्दा हुँदै गए । सदस्यहरूमा पदको आकांक्षा बढ्दै गयो । नेताहरू भिन्न विचारप्रति उदार देखिएनन् । यस्तो भयो कि, फरक-फरक पृष्ठभूमिबाट आएका मान्छे वैकल्पिक राजनीतिको मूल प्रवाहमा एकाकार नभई यो सकियो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । तर, उसमा पनि वैकल्पिक राजनीतिका अनुभवलाई हेर्ने र राजनीतिलाई बदल्ने गम्भीर चेतनाको अभाव देखिन्छ । विचार, मुद्दा, संगठन र संस्कृतिमा उसले कुनै फरक र विशिष्ट प्रस्ताव गरेको छैन । यो पुराना पार्टीहरूको असन्तुष्टिको जगमा मात्र उभिन्छ कि राजनीतिमा बदलाव ल्याउने तागत राख्छ ? त्यो हेर्न बाँकी छ।

निश्चय नै, विवेकशील दलमा नयाँ गर्ने हुटहुटी थियो । तर संस्थागत वैचारिकीले आकार लिएको थिएन । ढाका टोपी र झण्डासँगै राष्ट्रिय गित गाउँदै सडकमा निस्किने त्यो युवा अभियानले विश्वराजनीतिको पछिल्लो प्रवृत्ति त देख्यो तर त्यसको वैचारिकीमा धेरै ध्यान दिएन । त्यो समूहसँग राजनीति सुसंस्कृत हुनुपर्छ भन्ने पवित्र भावना थियो । अभियानहरू रचनात्मक थिए । तर, वैचारिक तथा संगठनात्मक हस्तक्षेप गर्ने एकीकृत र ठोस तागत बनेन ।

अर्कोतिर साझा पार्टीमा लोकप्रियताको जग थियो, तर राजनीतिक पक्षघरता थिएन । पार्टीलाई सबैको प्रिय बनाउने गैरराजनीतिक चिन्तन साझाको मुख्य समस्या बन्यो । थाहै नपाई यो पार्टी मधेस, महिला, जनजाति, दलित र सीमान्त समुदायका मुद्दामा निरपेक्ष देखिन थाल्यो । पार्टीको राजनीतिक परिचय स्थापित नहुँदै यो पार्टी राजावादी र लोकतन्त्रवादी धारमा विभाजित भयो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । तर, उसमा पनि वैकल्पिक राजनीतिका अनुभवलाई हेर्ने र राजनीतिलाई बदल्ने गम्भीर चेतनाको अभाव देखिन्छ । विचार, मुद्दा, संगठन र संस्कृतिमा उसले कुनै फरक र विशिष्ट प्रस्ताव गरेको छैन । यो पुराना पार्टीहरूको असन्तुष्टिको जगमा मात्र उभिन्छ कि राजनीतिमा बदलाव ल्याउने तागत राख्छ ? त्यो हेर्न बाँकी छ।

यहीँनेर प्रश्न गरौं, राजनीतिलाई भिडले उत्प्रेरित गर्छ कि समाजको वस्तुगत आवश्यकताले ? वैकल्पिक पार्टीहरू भिडबाट प्रेरित हुँदा सस्तो लोकप्रियतामा फस्ने खतरा सधैं रहन्छ । किनभने भिडले नेता खोज्दैन, सेलिब्रेटी खोज्छ । हिरो खोज्छ । नेता र हिरोमा धेरै फरक छ । हिरो खोज्ने प्रवृत्तिले पार्टीमा विचार, प्रतिबद्धता, लगाव, राजनीतिक क्षमता र सुझबुझ गौण बन्छ । व्यक्तिको लोकप्रियता प्रधान बन्नपुग्छ । त्यसपछि संगठनहरू फ्यान क्लब बन्छन् ।

भन्नपर्दैन कि फ्यान क्लब र दलमा फरक हुन्छ । क्लबमा फ्यानहरू हुन्छन् । त्यहाँ राजनीतिक सुझबुझ, समालोचना, संकल्प र प्रतिवद्दता हुँदैन । अनेक तथ्यले भन्छन्– एउटा सुसंस्कृत, नयाँ र उन्नत राजनीति भिडबाट बन्दैन । वैकल्पिक पार्टी वैचारिक निष्ठा, राजनीतिक परिवर्तनको प्रतिबद्धता र समय चेतनाबाट मात्र बन्न सम्भव छ।

नयाँ कि वैकल्पिकः

पार्टी राजनीतिमा स्थापित सत्य यो हो कि, एक समयमा धेरै पार्टी हुनसक्छन् । एक समयमा धेरै पुराना पार्टी भत्किन सक्छन् । एक समयमा धेरै नयाँ पार्टी जन्मन सक्दछन् । एक समयमा पार्टीहरूले गर्ने राजनीतिको रंग फरक हुनसक्छ । अर्को सत्य के हो भने, एउटा पार्टी नयाँ हुनु र वैकल्पिक हुनु नितान्त फरक कुरा हो । अथवा, कसैले राजनीति सुरु गर्नु र कसैले वैकल्पिक राजनीति सुरु गर्नु नितान्त फरक कुरा हो । प्रचलित राजनीति सुरु गर्नु भइरहेकै राजनीतिको औचित्यलाई स्थापित गर्नु हो । वैकल्पिक राजनीति सुरु गर्नु बदलावको ऐतिहासिक आह्वानलाई बलियो बनाउनु हो।

राजनीतिक दल उभिने आफ्नै आधार हुन्छन् । जस्तो राप्रपा, कांग्रेस र कम्युनिस्टको आफ्नै वैचारिक तथा राजनीतिक आधार छ । अतः पुरानै आधारमा उभिएर कसैले नयाँ पार्टी बनाउछ भने त्यो वैकल्पिक पार्टी हुँदैन । त्यो नयाँ पार्टी मात्र हुन्छ ।

जस्तो, कुनै पनि मार्क्सवादी पार्टी को बदलामा अर्को उस्तै मार्क्सवादी पार्टी बनाउनु वैकल्पिक राजनीति होइन । कुनै पनि नयाँ माओवादी पार्टी अर्को उस्तै माओवादी पार्टीको विकल्प हुँदैन । हाम्रो सन्दर्भमा परम्परागत लोकतन्त्रको कुरा गर्ने कांग्रेसजस्तै अर्को पार्टी खोलेर वैकल्पिक राजनीति हुदैन । वंशवाद, धर्म वा जातको राजनीति गर्ने राप्रपाजस्तै अर्को पार्टी वैकल्पिक हुदैन । यो अर्थमा सबै नयाँ पार्टी वैकल्पिक हुँदैनन् । तर, सबै वैकल्पिक पार्टी नयाँ हुन्छन्।

कतिवटा विकल्प ?

एउटै समय, एउटा देशमा कतिवटा वैकल्पिक पार्टी बन्छन् ? त्यसको निर्णय सम्बन्धित देशको इतिहास, आन्दोलन, मुद्दा, मनोविज्ञान र अर्थसामाजिक परिस्थितिले निर्धारण गर्दछ । तर, सत्य यो हो कि कुनै पनि बहुलवादी देशमा एक समयमा एकभन्दा धेरै वैकल्पिक पार्टी बन्न सक्छन्।

नेपालमा झन्डै ७५ वर्ष अगाडि कम्युनिस्ट र कांग्रेस पार्टी गठन भए । यी पार्टी त्यसै फुत्त प्रकट भएका थिएनन् । बरु पछिल्लो शताब्दीमा संसारभर चलेका राजनीतिक आन्दोलनहरूको जगमा यी पार्टी निर्माण भएका थिए । यहाँनेर विचार गरौं, त्यो समय किन एउटा मात्र पार्टी बनेन ? किनभने राजनीतिका भिन्न जगहरू थिए । त्यसैले, दुईटा वा अनेक पार्टी खुल्नु स्वाभाविक थियो । यसको अर्थ के भने, नेपालमा एकैपटक लोकतान्त्रिक धार र समाजवादी धारको राजनीति सुरु भयो । लगभग एकै समय कांग्रेस र कम्युनिस्ट पार्टी बने । उनीहरूबीच स्वभावतः राजनीतिक प्रतिस्पर्धा थियो । र, उनीहरूले एक अर्कोलाई विपरीत विन्दुबाट फैलिन सहयोग पनि गर्दै गए।

नेपालमा मुख्यतः चारवटा राजनीतिक विचारले लामो समयदेखि काम गरिरहेका छन् । जस्तो परम्परागत लोकतन्त्र । मार्क्सवादी समाजवाद । क्षेत्रीयता र पहिचान । राजतन्त्र र हिन्दुत्व । समयले यि सबै विचारलाई प्रश्न गरिरहेको छ । अर्थात्, पुराना सबै राजनीतिक दल वैचारिक तथा राजनीतिक संकटमा छन् । यसको अर्थ सबैको विकल्प खोजिँदैछ ।

रास्वपाको उपस्थति संरचनागत हिसाबले उल्लेख्य देखिन्छ । छोटो अवधिमा उसले निकै ठूलो शक्ति आर्जन गरेको छ । तर, के साँच्चै रास्वपाले वैकल्पिक राजनीतिको सम्पूर्ण गरिमा उठाउला ? असम्भव छ । उसले लिने राजनीतिक स्पेस कुन होला ? यो अझै स्पष्ट भएको छैन । यद्यपि, उसका गतिविधि हेर्दा यो पार्टीले परम्परागत पुँजीवादी लोकतन्त्रलाई विस्थापित गर्ने र बायाँतिर ढल्किएको एउटा विकल्प दिने संकेत देखिन्छ।

प्रश्न आउँछ, के एउटा नयाँ दलले यी सबैको विकल्प दिन सक्छ ? सक्दैन । किनभने, समाजमा जहिलेसम्म धेरै विचारको अस्तित्व रहन्छ, धेरै विकल्प आवश्यक हुन्छन् । जब राजनीति फरक हुन्छ, पार्टी पनि फरक हुन्छन् र विकल्प पनि फरक हुन्छन् । राजनीतिको यो शास्वत चरित्र परम्परागत पार्टीमा मात्र लागू हुँदैन, वैकल्पिक पार्टीमा पनि लागू हुन्छ।

यो कसीबाट हेर्दा, अवश्य नै रास्वपाको उपस्थति संरचनागत हिसाबले उल्लेख्य देखिन्छ । छोटो अवधिमा उसले निकै ठूलो शक्ति आर्जन गरेको छ । तर, के साँच्चै रास्वपाले वैकल्पिक राजनीतिको सम्पूर्ण गरिमा उठाउला ? असम्भव छ । उसले लिने राजनीतिक स्पेस कुन होला ? यो अझै स्पष्ट भएको छैन । यद्यपि, उसका गतिविधि हेर्दा यो पार्टीले परम्परागत पुँजीवादी लोकतन्त्रलाई विस्थापित गर्ने र बायाँतिर ढल्किएको एउटा विकल्प दिने संकेत देखिन्छ।

त्यसोभए नेपालको लोकतान्त्रिक वामपन्थी समूहको विकल्प के होला ? एउटा उदार लोकतान्त्रिक र प्रगतिशील विकल्प । जसले कम्युनिस्ट संकीर्णताबाट नेपालको वामपन्थी समूहलाई निकालोस् र त्यसको प्रगतिशील लोकतान्त्रिकरणमा योगदान गरोस् ।

समय, समाज, सपना र त्यसभित्र निहित गतिशिलतामाथि विश्वास गर्ने हो भने वैकल्पिक राजनीतिको सम्भावना कहिल्यै मर्दैन । यो लड्दै, उठ्दै र आफ्नो बाटो आफैँ बनाउँदै अघि बढिरहन्छ । मुख्य कुरा अनुभवलाई संश्लेषण गर्ने, आफूले हिँडेको बाटोलाई फर्किएर हेर्ने, कमजोरी सुधार्ने र अगाडि बढ्ने लचक त्यसमा हुनुपर्छ ।

पछिल्लो समय भएका वैकल्पिक राजनीतिका सबै अनुभवको स्वामित्व लिँदै परम्परागत राजनीति भित्र खुम्चिएर बसेको प्रगतिशील, लोकतान्त्रिक र अग्रगामी वैचारिकीलाई नयाँ आधार र आकार दिन सके नेपालमा प्रगतिशील र लोकतान्त्रिक विकल्प बन्न सक्छ । यसका लागि ठूलो हलचल र ध्रुवीकरण आजको आवश्यकता हो ।

[email protected]


Comment

2 thoughts on “कसको विकल्प बन्ला राष्ट्रिय स्वतन्त्र पार्टी ?

  1. यश लेखले वैकल्पिक राजनीतिका लागि प्रेरित गर्न सकोस् !

  2. धेरै आदर्श का कुरा हरु लेखिएछ। सिद्धान्तका कुरा पनि। बुझिनसक्नु ! साधारण नेपालीले जानेका बुझेका कुरा , इमान्दारिता भैदिएको भए यो हाम्रो सानो देशका दुखि जनताहरु यसरि पिल्सिनु पर्ने थिएन। राजनीतिक सिद्धान्त (लोकतन्त्र , समाजवाद , के के बाद आदि ) लाई कुनामा थन्क्याउने। येस्ता कुरा त धेरै भए। देश र जनताको समस्या हल गर्न पुँजीवादी कि समाजवादी भनेर सोच्नै पर्दैन। बिदेशीको अजेंडा, बिदेशीको चासो , बिदेशीको अनैतिक दान र दातब्य येस्ता कुराहरु कुन सिद्धान्तमा (समाजवाद , साम्यबाद , मावोबाद, लेनिनबाद ) पर्छन ? लेखकले लेखेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved