रामचन्द्र पौडेल : बालुवाटारमा ‘ब्रेक’, शीतल निवासमा ‘इन्ट्री’

२०६७ सालमा प्रधानमन्त्री बन्न १७ पटकसम्म लगातार भिडेका पौडेलले जित्न सकेनन्। तैपनि, सत्ता र शक्तिको भोकको लालसा नमारेका पौडेल झन्डै १२ वर्षपछि प्रमुख कार्यकारी पदमा पुग्न नपाए पनि आलंकारिक पदमा पुग्न सफल भए।

रामचन्द्र पौडेल :  बालुवाटारमा ‘ब्रेक’, शीतल निवासमा ‘इन्ट्री’

काठमाडौं। नेपालीमा एउटा आहान छ– ‘१२ वर्षमा खोलो फर्कन्छ….।’ अर्थात् १२ वर्षको समयावधिमा धेरै परिवर्तन हुन्छ भन्ने हो। यसको उदाहरण खोज्न भूतकालतिर फर्किनै पर्दैन। पछिल्लो उदाहरण नै काफी छ रामचन्द्र पौडेल।

उनको राजकीय जिन्दगीमा १२ वर्षमा खोला मात्र होइन कोशी नदी नै फर्केको छ। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर माओवादी केन्द्रले कांग्रेससँग पुन: गठबन्धन बनाएपछि पौडेलको राजकीय सपना साकार भएको हो।

२०६७ सालमा प्रधानमन्त्री बन्न १७ पटकसम्म लगातार भिडेका पौडेलले जित्न सकेनन्। तैपनि, सत्ता र शक्तिको भोकको लालसा नमारेका पौडेल झन्डै १२ वर्षपछि प्रमुख कार्यकारी पदमा पुग्न नपाए पनि आलंकारिक पदमा भने पुगेका छन्।

२०६७ साउन ५ देखि माघ २० सम्म १७ पटक प्रधानमन्त्री उम्मेदवार भएर असफल भएका उनै पौडेल राष्ट्रपति निर्वाचनमा भने (२०७९) पहिलो चरणमै सफल भए।

जिन्दगीमा एकपटक देशको नेतृत्व गर्ने गरी कार्यकारी भूमिकामा पुग्ने तृष्णा बोकेका पौडेलको चाहना पूरा नभए पनि देशको सर्वोच्च राजकीय पदमा आसीन हुन सके।

लालसा प्रधानमन्त्रीको, प्रतिफल राष्ट्रपतिको

मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरू आफूलाई सांसद बनाउन भन्दै भोट माग्दै गर्दा पौडेल भने आफू सांसद मात्र नभई प्रधानमन्त्री नै हुन चाहेको बताइरहेका थिए।

देशले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको दाबी गरिरहेका थिए। गृहजिल्ला तनहुँ पुगेर मतदातासामु भोट माग्दै उनले राजकीय पदमा आसीन हुन चाहको लालसा व्यक्त गरिरहेका थिए।

चुनाव जितेर काठमाडौं फर्किएपछि पहिलोपल्ट १८ मंसिरमा गृहजिल्ला गए। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘‘सुशासन, सामाजिक न्याय तथा समाजवादका लागि राजनीतिमा लागेको हुँ ।

त्यो पूरा गर्न कार्यकारी (प्रधानमन्त्री) बन्न बाँकी छ। देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टी पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ।’’

त्यतिबेला, पौडेलले प्रधानमन्त्री हुने इच्छा देखाए पनि त्यो बाटो उनका सहज बनेन। किनकि, उनी राजनीतिक दाउपेचमा समेत कमजोर थिए। राजनीतिक दाउपेचमा कमचोर भएकै कारण उनी कहिलै पार्टीको वा देखको प्रमुखपदमा पुग्न सकेनन्।

उनी पछिल्लोपटक  पार्टीको संस्थापन पक्षमा हाबी हुन सके, न त इतर पक्षकै थिए। गत वर्ष सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनपछि उनी किनारामा पर्दै आएका थिए। महाधिवेशनको मतदान प्रक्रिया नै ‘बहिस्कार’ गरेका पौडेलले त्यतिबेला देउवालाई सहयोग गरेको कांग्रेस वृत्तमा चर्चा हुन्छ। पौडेलले देउवालाई सहयोग गरे पनि इतर पक्षबाट शेखर कोइराला उम्मेदवार बनेका थिए।

त्यसपछि, पौडेलाई देउवा इतर समूहले आफ्नो नेता मान्न छाडिसकेका छन्। संस्थापन पक्षबाट समेत देउवा आफैँ प्रधानमन्त्रीका स्वाभाविक उम्मेदवार थिए। त्यसैले कार्यकारी हुने इच्छा देखाए पनि पौडेलका लागि त्यो बाटो निकै चुनौतीपूर्ण थियो। तैपनि, उनले १९औँ पटक प्रधानमन्त्रीमा भिड्ने आकाङ्क्षा मारेका थिएनन्। तर, १२ वर्षपछि पलाएको प्रधानमन्त्रीको लालसा सभापति देउवाकै कारण पूरा भएन।

प्रधानमन्त्री नपाएपछि ‘मिसन राष्ट्रपति’ रणनीति

पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। शान्ति प्रक्रियामा आइसकेपछि उनले चालेका ‘दाउ’हरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेलेका छन्। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उनले पटक-पटक सरकार बनाएका छन्, भत्काउँदै आएका छन्।

उनै प्रचण्डको अस्थिर चालबाजीको प्रतिफलस्वरूप पौडेलले अन्तिम परीक्षामा उत्तीर्ण भए। अर्थात् अब यहाँभन्दा कुनै प्रतिस्पर्धामा भाग नलिने घोषणा गरेका पौडेलले राष्ट्रपतिमा बाजी मार्न सफल भए। १० पुसमा कांग्रेससँगको गठबन्धन त्यागेर बालकोट पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति एमालेलाई दिने गरी प्रधानमन्त्री आफूलाई लिएका थिए।

त्यतिबेला पौडेलले नै पहिलो टिप्पणी गर्दै ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रेसले प्रचण्डलाई धोका दिएको’ बताए। अर्को दलसँग सहकार्य गर्दै संघदेखि प्रदेशसम्म सरकार बनाउन गएका प्रचण्डप्रति नरम भाव राख्नुको कारण थियो राष्ट्रपतिको चाहना।

यसैले एमालेसँग गठबन्धन गर्न माओवादी जाँदा पनि कांग्रेसले ‘मिसन राष्ट्रपति’को रणनीति छाडेन। प्रचण्डलाई १० पुसमा प्रधानमन्त्री नबनाए पनि २६ पुसमा विश्वासको मत दिने लहरमा कांग्रेस उभियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ढोक्सा नथाप्न’ चेतावनी दिए पनि कांग्रेस माओवादीसँग नजिकिन छाडेन।

परिणामस्वरूप ठीक २ महिनापछि १० फागुनमा प्रचण्डले फेरि समीकरण बदल्दै कांग्रेसमा आए। संसद्मा प्रतिनिधित्व गर्ने अरू ५ राजनीतिक दलले पनि राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन र सहयोग गर्ने सहमति दिए। अन्ततः कांग्रेसको मिसन सफल भयो। सोही सहमतिअनुसार बिहीबारको चुनावमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेल जिताइयो।

साढे २ महिनाअघि दोस्रो ठूलो दल (७९ सीटको) एमाले र तेस्रो ठुलो दल (३२ सीटको) माओवादी केन्द्रले गठबन्धन गर्दै राजकीय पद बाँडफाँट गरेपछि पहिलो ठूलो दल (८९ सिटको) कांग्रेस चुप लागेन। एमाले नेतृत्वको माओवादीसहितको गठबन्धन भत्काउने रणनीतिअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

राष्ट्रपति निर्वाचनसम्म समीकरण बदलेर आफ्नो पोल्टामा राष्ट्रपति पार्दै सत्ता समीकरण बदल्ने योजनामा कांग्रेस सक्रिय रह्यो। ‘फलस्वरूप राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने’ बहानामा प्रचण्ड फेरि बदलिए। कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धन बनाउँदै उसको राष्ट्रको उम्मेदवारमा भोट हाल्ने सहमति बनेको हो।

जितभन्दा हार धेरै, १८ पटक हारको नालीबेली

२०६७ माघ २० गते रामचन्द्र प्रधानमन्त्री बन्ने आशामा फेरि उम्मेदवार बनेका थिए। त्यो बेला देउवा प्रस्तावक थिएनन्, प्रकाशमान सिंह र रामकृष्ण यादव प्रस्तावक र समर्थक थिए। प्रधानमन्त्रीको चुनावी शृङ्खलाबाट कुनै परिणाम नआएपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गर्नुपरेको थियो।

१७औँ पटकसम्म प्रधानमन्त्रीका लागि प्रयास गरेका पौडेल तत्कालीन एमाले नेता झलनाथ खनालले प्रधानमन्त्रीको बाजी मारे। माओवादीको समर्थनमा खनालले ३ सय ६८ मत पाएर जित्दा पौडेलले १ सय २२ मत पाएर जित्न सकेनन्।

रामचन्द्रले असफलता बेहोरे। तत्कालीन समयमा उनको हारलाई रोचक रूपमा लिइएको थियो। त्यसपछि उनीमाथि ‘प्रधानमन्त्रीमा १७ पटक हारेका नेता’ को धब्बा लाग्यो। २०६८ मा पनि उनी प्रधानमन्त्री बन्न कस्सिए।

११ भदौमा पौडेल १८औँ पटक प्रधानमन्त्री बन्न माओवादी नेता डा बाबुराम भट्टराईको प्रतिस्पर्धी उम्मेदवार बने। प्रस्तावक प्रकाशमान सिंह र समर्थक विमलेन्द्र निधि थिए। त्योपटक पनि पौडेलले जित्न सकेनन्। बाबुरामले ३ सय ४० मत पाउँदा पौडेलले २ सय ३५ मत पाएका थिए।

निरन्तर शक्तिकै वरिपरि

पौडेल न सरकारको नेतृत्व लिन सके न त पार्टी प्रमुख नै बन्न सके, तर अरू धेरै पदका स्वाद चाखिसेका छन्। उनी तीन दशकयता शक्तिकै वरिपरि रमाउँदै आएका छन्।

२०७२ मा सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बन्ने अवसर पाए। पदको अगाडि झुन्डिएको ‘कार्यवाहक’ फुर्काे हटाउन चाहन्थे। १३औँ महाअधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए।

त्यसअघि, उनी पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए। पटक–पटक मन्त्री भएर सरकारमा गए, सभामुख भए। उनले पटक–पटक सांसदको टिकट पाएर जिते। २०७४ मा बाहेक २०४८ यताका सबै संसदीय चुनावमा उनी लगातार जित्दै आएका छन्।

२०४८ को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए।

तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए। यसपटक २०७४ मा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए।

कांग्रेसभित्र एउटा सादगी र शालीन नेताको रूपमा पहिचान बनाएका पौडेल रवाफमा पनि उनको कुनै रुचि देखाएका पाइँदैन।

लोकतान्त्रिक मूल्य, मान्यता र आचरणमा रहनुपर्छ भन्ने सिद्धान्त रहेका पौडेलले अब राष्ट्रपति बनेपछि कस्तो भूमिका निर्वाह गर्लान् हेर्न बाँकी छ।


Comment

One thought on “रामचन्द्र पौडेल : बालुवाटारमा ‘ब्रेक’, शीतल निवासमा ‘इन्ट्री’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved