सुनसरी एक : ठूला दल उम्मेदवारविहीन, उम्मेदवार मतदाताविहीन !

‘अशोक-मुक्साहाङ दुवैलाई सकस’

सुनसरी १ को निर्वाचनको रोचकता यही छ कि— जो ठूला दल हुन्, उनीहरू उम्मेदवारविहीन छन् र जो शक्तिविहीन छन्, उनीहरू उम्मेदवार बनेका छन् । यस्तोमा परिणाम स्वतन्त्रकै पक्षमा गयो भने पनि आश्चर्य हुनेछैन । किनकी गत स्थानीय चुनावमा धरानका जनताले हर्क साम्पाङ राइलाई मेयरमा जिताएर त्यसको झल्को दिइसकेका छन् । 

सुनसरी एक : ठूला दल उम्मेदवारविहीन, उम्मेदवार मतदाताविहीन !

काठमाडौं। मंसिर ४ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा अलि भिन्नै देखिनेवाला छ । अरु क्षेत्रमा जस्तो सामान्यखाले अवस्था त्यहाँ देखिँदैन । यसो भनौँ— त्यहाँको चुनावी अवस्था ‘यसै’ भन्न नसकिने खालको बनेको छ ।

यसका दुई वटा पक्ष छन् । पहिलो दुई, ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार छैनन् । दोस्रो, स्वतन्त्र उम्मेदवार बलिया देखिन्छन् । यही सन्दर्भमा सुनसरी १ मा कस्तो परिणाम आउला भन्ने चासो बढेको छ ।

राष्ट्रिय राजनीतिको प्रत्यक्ष प्रभाव परेको क्षेत्र सुनसरी १ पनि हो । अन्तिम समयमा जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरियो र एमालेसँग तालमेल गर्‍यो । सँगै एमाले आफ्नो ‘लालकिल्ला’ सुनसरी १ जसपालाई छाड्नसमेत तयार भयो । त्यसपछि पार्टीको खोटाङबाट सिफारिसमा परेका जसपा संघीय परिषद् अध्यक्ष अशोक राई त्यस क्षेत्रमा सोझिए ।

यता सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले भने सुनसरी १ माओवादी केन्द्रका लागि खाली गरिदियो । जबकी कांग्रेस त्यस क्षेत्रमा दोस्रो ठूलो दल हो । उसले चाहे एक्लै पनि एमालेलाई चुनौती दिन सक्छ ।

दुवै गठबन्धनलाई सकस

एमाले र कांग्रेसले आफ्नो उम्मेदवार नउठाउँदा पार्टी–पङ्क्तिभित्रै चरम् असन्तुष्टि देखिन्छ । ती असन्तुष्टि कहाँ र कसको कित्तामा पोखिने हो अझै स्पष्ट छैन । उम्मेदवारका रूपमा आमने–सामने हुन लागेका जसपाका अशोक राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो दुवैलाई सकस देखिन्छ ।

सुनसरी १ मा राईको पार्टी जसपाले एउटा वडा पनि जितेको छैन । मुक्साङहाङको पार्टी माओवादी केन्द्रले बल्लतल्ल धरान उपमहानगरपालिका वडा नं १७ मा जितेको छ । जहाँ उसको मत २ हजार वरिपरि छ । यसो हुँदा मुक्साहाङ–राइलाई अर्कै पार्टीको भर पर्नुपर्ने अवस्था छ । उसो त एमाले–कांग्रेस भित्रको असन्तुष्ट मत नै निर्णायक हुने सम्भावना छ ।

एमालेजनले गठबन्धनको नाममा अर्कै पार्टीलाई भोट नदिने अडान लिएको छ भने कांग्रेसले २०७४ को जस्तै गठबन्धनको नाममा अरु दलका उम्मेदवारलाई भोट नगर्ने लाइनमा छन् ।

‘स्वतन्त्र’को चुनौती

दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रले ‘दह्रो’ चुनौती दिएका छन् । त्यहाँ एमाले नेता एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका छन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा अन्तिम समयसम्म पनि टिकट नपाएपछि नेतृत्वसँग रुष्ट बनेका मेन्याङ्बोले यसपटक पार्टीबाट विद्रोह गरी खरायो चुनाव चिह्न लिएर उठेका छन् । एमालेको ठूलो पङ्क्तिले मेन्याङ्बोलाई नै अनुमोदन गरेको छ । ‘चुनावी माहोल मेरै पक्षमा छ,’ मेन्याङ्बो भन्छन्, ‘यसपटक यहाँबाट जनताले मलाई नै चुन्छन् । मलाई मन्त्री वा सांसदको लोभ छैन । तर, जनताको प्रतिनिधित्व गर्नु ठूलो कुरा हो ।’

यो क्षेत्रमा सुकुम्बासीको मतलाई निर्णायक मानिन्छ । त्यहाँ सुकुम्बासी बस्तिमा झण्डै ३० हजार मत छ । राजनीतिक दलले पनि यसलाई ‘भोट बैंक’ मान्दै आएका छन् । यो मत कता जान्छ भन्ने पनि महत्त्वपूर्ण हुनेछ ।

तर, यसपटक सुकुम्बासीकै नेता कुमार कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कार्की नेपाल वस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष हुन् । गत चुनावमा यो ३० हजार मत निर्णायक बन्दै आएको थियो । सुकुम्बासीको मतमा दोब्बरभन्दा बढी मत आफूहरूले पाउने कार्की पक्षको दाबी छ । उनकै प्यानलबाट सुनसरी १ को प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका खगेन्द्र श्रेष्ठ भन्छन्, ‘उहाँ (कार्की) झन्डै ३५ हजार मत ल्याएर जित्नुहुन्छ भन्ने हाम्रो अनुमान छ । र, त्यसको आधार पनि छ ।’

त्यसो त, कार्कीलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ । ‘यसपटकको चुनाव हामीले सय प्रतिशत जित्छौँ,’ श्रेष्ठको दाबी छ, ‘सुकुम्बासी मतमा झन्डै २० हजार मतचाहिँ हाम्रो हो भन्ने अनुमान छ ।’

कस्तो छ अंकगणित ?

सुनसरी १ मा धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका वडा नं ६ र ७ र बराहक्षेत्र नगरपालिकाका १ देखि ५ नम्बर सम्मका वडा पर्छन् । गत स्थानीय तह सदस्य निर्वाचनलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठुलो दल छ । सुनसरी १ मा पर्ने क्षेत्रमा एमालेले १३ वटा वडा जितेको छ । जबकि, त्यहाँ जम्मा २७ वटा मात्रै वडाहरू छन् ।

एमालेले धरान उपमहानगरपालिकाका २, ४, ५, ७, ८, १०, १२, १३, १५ र १८, रामधुनी नगरपालिकाको ७ नं वडा बराहक्षेत्र नगरपालिकाका १ र २ वडा जितेको छ ।  उसले जितेका वडाध्यक्षहरूले प्राप्त गरेको मत १७ हजार ४ सय ५५ छ ।

दोस्रो ठूलो दल कांग्रेसले धरान उपमहानगरपालिकाका १, ३, ९, ११, १६, १८ र २० गरी ७ वटा वडा जितेको छ भने यही क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाको वडा नं ६ पनि कांग्रेसले जितेको छ ।

उता बराहक्षेत्र नगरपालिकाका ३, ४ र ५ पनि उसैले जितेको छ । यसरी हेर्दा कांग्रेससँग ११ वडाध्यक्ष छन् । उनीहरूले १४ हजार १ सय ५५ मत पाएका छन् ।

उम्मेदवार नै उभ्याएको माओवादी केन्द्रचाहिँ निकै कमजोर छ । उसले बल्लबल्ल धरान उपमहानगरपालिकाको एउटा वडा जितेको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सूर्यबहादुर भट्टराईले जम्मा २ हजार १ सय ७६ मत पाएका छन् । तर, प्रतिनिधि सभामा भने माओवादी केन्द्रकै नेता मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । उनी कांग्रेसकै भरमा उठेका हुन् ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि धरान उपमहानगरपालिकाको १४ नम्बर वडा जितेको छ । राप्रपाका कृष्णप्रसाद भट्टराईले ९ सय ७ मत प्राप्त गरेका छन् । वडा नं ६ मा स्वतन्त्र उम्मेदवार बनेका भूपेन्द्र भट्टराईले १ हजार ८ सय २० मतका साथ जित निकालेका छन् ।

सुनसरी १ को निर्वाचनको रोचकता यही छ कि— जो ठूला दल हुन्, उनीहरू उम्मेदवारविहीन छन् र जो शक्तिविहीन छन्, उनीहरू उम्मेदवार बनेका छन् । यस्तोमा परिणाम स्वतन्त्रकै पक्षमा गयो भने पनि आश्चर्य हुनेछैन । किनकि, गत स्थानीय चुनावमा धरानका जनताले हर्क साम्पाङ राइलाई मेयरमा जिताएर त्यसको झल्को दिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved