बेइजिङ डायरी

बालेनजी, सार्वजनिक शौचालय कस्तो बनाउने?

बेइजिङका शौचालयहरु बाहिरबाट हेर्दा कुनै भव्य दरबार अथवा बंगला जस्ता देखिन्छन्। चिटिक्क परेका र राम्रा डिजाइनमा बनाइएका ती भवनहरु सार्वजनिक शौचालय हुन् भन्दा पर्यटकहरु दङ्ग पर्छन्। निशुल्क प्रयोग गर्न पाइने ती शौचालयभित्र पसेपछि भन्न मन लाग्छ आहा! शौचालय!

बालेनजी, सार्वजनिक शौचालय कस्तो बनाउने?

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भएपछि उनले काठमाडौंका रेष्टुरेन्ट र होटलका शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउन अपिल गरे। उनको अपिलपछि केही रेष्टुरेन्ट र होटलहरुले आफ्ना शौचालयलाई जोकोहीलाई प्रयोग गर्न दिने घोषणा गर्दै सूचनापाटी पनि राख्न थालेका छन्।

काठमाडौं बाहिर बसेर समाचार पढ्नेहरुका लागि त काठमाडौंले भोग्दै आएको शौचालयको समस्या चुट्कीका भरमा फुमन्तर भयो भन्ने भान परेको हुनसक्छ। तर, समस्या भोग्नेहरुको हविगत के छ  भन्ने कुरा पीडितलाई सोधेमा थाहा हुन्छ, समस्या ज्युँका त्युँ छ।

त्यसो भए को हुन् पीडित?

पीडित तपाईं,म अनि हामी।

किन?

किनभने…

हो, म विस्तारमा भन्दैछु।

पुरानो बसपार्क, सुन्धान, बागबजार अथवा पुतलीसडक आसपासमा पुग्दा दिशा अथवा पिसाबले च्यापेमा रेष्टुरेन्ट कता खोज्ने?बागबजार, सुन्धारा, पुतलीसडक क्षेत्रका रेष्टुरेन्टका शौचालय निकै साँघुरा छन्। रेष्टुरेन्टले अँध्यारा कुनातिर काम चलाउ बनाएको छ शौचालय।

ल, कुनै रेष्टुरेन्टमा बाहिरबाटै देखिने गरी शौचालय बनाएको भए पनि भरखरै गाउँबाट काठमाडौं आएको व्यक्ति, काठमाडौं घुम्ने पर्यटक (स्वदेशी अथवा विदेशी), काठमाडौंका श्रमिक तथा उपचारका लागि बाध्यतावस उपचारका लागि काठमाडौंमा आएका गरिबगुरुवा र निरक्षर गाउँलेले ती रेष्टुरेन्टको शौचालयको भेउ पाउलान् मेयर साब!

हाम्रा लागि शौचालय केही पनि होइन। अन्य देशका लागि शौचालय इज्जत हो, प्रतिष्ठा हो, पहिचान हो अनि सेवा पनि हो। यदि हाम्रा लागि शौचालय पनि यस्तै हुँदो हो त काठमाडौंको पहिचान फोहोर र अशिष्ट हुने नै थिएन।

हामीले मोनोरेलको सपना देख्यौँ। महाराजगञ्जदेखि सातदोबाटोसम्म भूमिगत रेल कुदाउने कसम खायौँ। विश्वकै उत्कृष्ट शहर बनाउने हुइँयाँ पिट्यौँ। तर घर बाहिर निस्कदा थुप्रिएका फोहोरका बीचबाट नाक थुन्दै हिँड्न बाध्य हामी दिशा र पिसाब रोकेर दिनभर कक्रक्क परेर पीडा लुकायौँ। तब न हाम्रा लागि शौचालय केही होइन।

मेयर साबले रेष्टुरेन्टका शौचालयलाई सार्वजिक रुपमा प्रयोग गराउने नीति ल्याए। यो तत्कालका लागि मात्र हो। दीर्घकालका लागि पक्कै होइन होला। अब एकाध वर्षभित्रै काठमाडौंका ठाउँ ठाउँमा चिटिक्क परेका सफा र आकर्षक सार्वजनिक शौचालय बन्नेछन् भन्ने आशा गरौँ।

हो नि चिटिक्क परेका सफा र आकर्षक सार्वजिनक शौचालय!

शौचालय पनि चिटिक्क परेको हुन्छ र?अझ सफा र आकर्षक पनि?

हो नि!शौचालय पनि सफा र चिटिक्क परेका हुन्छन्। तिनीहरुको बनावट पनि निकै आकर्षक हुन्छन्।

नवनिर्वाचित मेयरसाब साहलाई चीनको राजधानी बेइजिङमा रहेका सार्वजनिक शौचालयको बारेमा केही अनुभव सुनाउने उत्तम समय यही हो जस्तो लाग्यो। मेयरसाबले पढ्ने मौका पाउँछन् पाउन्नन् कुन्नि। तपाईंहरु मध्ये कसैलाई यो लेख मन परेमा मेयरसाबलाई र सम्बन्धित निकायसम्म पुग्ने पहल गरिदिनु भए आभारी हुने थिएँ।

नेपालको छिमेकी मुलुक चीनको राजधानी बेइजिङमा १४ हजारभन्दा धेरै सार्वजनिक शौचालय छन्। यो तथ्याङ्क सन् २०१८ को हो। त्यसपछाडि पनि थुप्रै सार्वजनिक शौचालयहरु निर्माण भइसकेका छन्। ती सार्वजनिक शौचालयलाई तारे होटलकै जस्तो वर्गीकरण गरिएको छ। अर्थात् एकतारेदेखि पाँच तारेसम्मका सार्वजनिक शौचालय।

सार्वजनिक शौचालयको प्राङ्गणमा तरकारी बाली।

शौचालयको क्षेत्रफल, सुविधा, खुल्ने समय र प्रयोगमा विविधता आदिबाट वर्गीकरण गरिन्छ। सामान्तः ४० वर्गमिटर क्षेत्रफल ओगटेको शौचालय एक तारे हो भने ६०, ८०, १०० र १२० वर्गमिटरभन्दा बढी क्षेत्रफल ओगटेका शौचालयहरु क्रमशः दुई तारे, तीन तारे, चार तारे र पाँच तारे हुन्। यस बाहेकका सामान्य सार्वजनिक शौचालयलाई ननस्टार मानिन्छ।

तारे सार्वजनिक शौचालयमा ट्वालेटपेपर, ऐना, आकस्मिक घन्टी, पृष्ठभूमि संगीत, हात सुकाउने ड्रायर मेसिन, साबुन तथा लोसन अनिवार्य हुनुपर्छ। बेइजिङका सार्वजनिक शौचालयमा वाइफाई, एसी, स्मारिका पसल, पुस्तकालय लगायत विभिन्न सेवा सुविधासमेत उपलब्ध छन्। त्यसैगरी सबै तारे सार्वजनिक सौचालयमा पुरुष र महिलाको कक्ष अनुपात ४:६ हुनुपर्छ। अर्थात् पुरुषले प्रयोग गर्नेभन्दा महिलाले प्रयोग गर्ने शौचालय फराकिलो हुनुपर्छ। पहिले चीनमा पुरुष शौचालय महिलाको शौचालयको तुलनामा दोब्बर ठूला हुन्थे।

चीनमा सबै सार्वजनिक शौचालय निःशुल्क उपलब्ध छन्। शौचालय प्रयोग गर्न कुनै शुल्क तिर्नु नपरे पनि त्यहाँको लोसन, स्याम्पु, ट्वाइलेट पेपर भने मोबाइल स्क्यानिङ गरेर किन्नुपर्छ। ती सामानको मूल्य पनि बजारकोभन्दा केही सस्तो गरिएको हुन्छ।

बेइजिङका सार्वजनिक शौचालय निशुल्क हुन्छन्। सात वर्ष अगाडि नेपालबाट चीन घुम्न आएका प्रख्यात छन्दकवि डा रामप्रसाद ज्ञवालीले बेइजिङमा सार्वजनिक शौचालय प्रयोग गरेको ८० हजार रुपैयाँ बराबर चुक्ता गर्नु परेको थियो। उनले ‘स्वप्नदृष्टि’ कृतिमा बेइजिङ भ्रमणका बारेमा कवितामा यस्तो लेखेका छन् ‘एउटा पिसाबको मूल्य असी हजार पर्दछ’।

बेइजिङको शचिङसान जिल्लामा रहेको एउटा सार्वजनिक शौचालय

चीनका सार्वजनिक शौचालयहरु निःशुल्क रहेको कुरा विश्वलाई थाहा छ। त्यसो भए नेपाली प्राज्ञले पिसाब गरेको शुल्क त्यो पनि असी हजार रुपैयाँ?वास्तवमा यो पाठकका लागि रोचक तर प्राज्ञ ज्ञवालीका लागि चाहिँ अलिक घोचक(दुःखद) विषय हो। बेइजिङको सार्वजनिक शौचालयमा उनले आफ्नो मोबाइल फोन भुलेछन्। मोबाइल फोन हराएपछि उनले कवितामा आफ्नो पीडालाई लक्षणा रुपमा प्रस्तुत गरेका हुन्।

अँ एउटा कुरा सत्य केहो भने चीनका सार्वजनिक शौचालयमा केही कुरा हराएमा पाउन मुस्किल छ। अन्यत्र भए सीसी क्यामेराले छर्लङ्ग देखाउने थियो तर शौचालयमा त सीसी क्यामरा हुने कुरै भएन।

बेइजिङ घुम्न आएका व्यक्तिले थिआनआनमन क्षेत्र होस् वा ग्रेटवाल, समरप्यालेस घुम्दा हो अथवा टेम्पल अफ हेभव, बेइजिङ चिडियाखाना जाँदा होस् वा अरनिको निर्मित श्वेत चैत्य कुनै न कुनै स्थानमा पक्कै पनि सार्वजनिक शौचालय प्रयोग गरेकै हुनुपर्छ। किनभने बेइजिङमा सार्वजनिक शौचालय सर्वसुलभ छन्।

बेइजिङको शहरी क्षेत्रमा प्रत्येक ७ सय मिटरको फरकमा जहाँसुकै सार्वजनिक शौचालय छन्। अत्यधिक पर्यटकको चाप हुने ठाउँमा नजिकैको दुरीमा पनि सार्वजनिक शौचालयको व्यवस्था गरिएको छ।

चीनको राष्ट्रिय पर्यटन प्रशासन कार्यालयले सन् १९९०मा सार्वजनिक बेइजिङका सार्वजनिक शौचालयको मर्मत तथा निर्माण गर्नका लागि बीस लाख चिनियाँ युआन छुट्ट्याएको थियो। १९९०देखि १९९७ सम्ममा बेइजिङ नगरपालिकाले चार करोड युआन सार्वजनिक शौचालयमा मात्र लगानी गरेको थियो। सन् १९९७पछि हरेक वर्ष कम्तिमा २० पर्यटकीय स्थलमा बेइजिङ नगर पालिकाले सार्वजनिक शौचालय निर्माणका लागि १५ लाख युआन खर्च गर्दै आएको छ।

बेइजिङक एक मौरी पालन केन्द्रमा रहेको सार्वजनिक शौचालय।

बेइजिङमा सार्वजनिक शौचालयको क्रान्ति चाहिँ सन् २००८मा आयोजित२९औँ गृष्मकालीन ओलम्पिक खेलकूददेखि भएको हो। त्यसपछि सार्वजनिक शौचालय बनाउँदा महिला र पुरुष बाहेक बृद्धवृद्धा र केटाकेटीहरुका लागि पनि छुट्टै स्थान निर्धारण गर्न थालिएको छ। त्यसैगरी कम्तिमा एउटा कोठा अपाङ्गता भएकाहरुका लागि अनिवार्य बनाउनु पर्ने नीति रहेको छ। तीन तारेमाथिका सार्वजनिक शौचालयमा  शिशुहरुलाई न्याप्किन फेर्ने सुविधा सहितको स्थान पनि बनाइएको छ। ती स्थानमा न्याना टावेल र विभिन्न लोसनहरु पनि राखिएको हुन्छ।

सन् १९९० मा बनेका शौचालयहरुमा फ्लस गर्ने प्रणाली थियो भने अहिले उच्च प्रविधियुक्त शौचालयमा फ्लस राखिएको छैन। अत्याधुनिक शौचालयमा पानी र वातावरणको संरक्षण गर्नका लागि नयाँ प्रविधिमा आधारित हावाको दवावबाट फ्लस गरिन्छ। दिशा र पिसाबलाई भेला गरेर कम्पोष्ट मल बनाउने प्रविधिको विकास गरिएको छ। विद्युत खपत जोगाउन हरेक शौचालयमा सोलार प्यानल जोडिएका छन्।

खासमा चीनले सार्वजनिक शौचालयमा धेरै लगानी गर्नु र यति प्रगति गर्नुका पछाडि एउटा निकै मार्मिक विषय छ जसले चीनलाई गहिरो चोट पारेको थियो। सन् २००० मा चीनले ओलम्पिक खेलको आयोजना गर्न नपाएको खास कारण बेइजिङमा सार्वजनिक शौचालयको व्यवस्था राम्रो नभएकै कारणले थियो भनेर अन्तर्राष्ट्रिय जगतले आरोप लगाएका थिए। फलतः चीनले ८ वर्षपछि मात्र ओलम्पिक खेलकूद आयोजना गर्न पाएको हो। यसका लागि चीनको केन्द्रीय सरकार र बेइजिङ नगरपालिकाले सार्वजनिक शौचालयको स्तर वृद्धि गर्ने कुरामा उच्च ध्यान दिएको इतिहास छ।

चिटिक्क परेको बेइजिङको एक सार्वजनिक शौचालय।

सार्वजनिक शौचालय निर्माणमा चीनले देखाएको तदारुकताको अर्को पनि उदाहरण छ। सन् २००४ मा बेइजिङले विश्व शौचालय शिखर सम्मेलनको आतिथ्य गरेको थियो। जहाँ १९देशका १५०जना प्राज्ञ, स्वाथ्यकर्मी, शौचालय डिजाइनर र वातावरणविदहरु सहभागी थिए। उक्त अवसरमा नेपाल पनि सहभागी थियो। फिनल्याण्ड, जापान, अमेरिका लगायतका देशहरुले सो शिखर सम्मेलनमा भाग लिएका थिए।

बेइजिङका शौचालयहरु बाहिरबाट हेर्दा कुनै भव्य दरबार अथवा बंगला जस्ता देखिन्छन्। चिटिक्क परेका र राम्रा डिजाइनमा बनाइएका ती भवनहरु सार्वजनिक शौचालय हुन् भन्दा पर्यटकहरु दङ्ग पर्छन्। निशुल्क प्रयोग गर्न पाइने ती शौचालयभित्र पसेपछि भन्न मन लाग्छ आहा! शौचालय!

संयुक्त राष्ट्र संघलेनोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवस घोषणा गरेको छ। सबै मानिसलाई स्वच्छ खानेपानी, आधारभूत स्वस्थ प्रबन्ध उपलब्ध गराउनु र स्वच्छ, स्वस्थ तथा सुविधाजनक वातावरण बढाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो। गत वर्षको विश्व शौचालय दिवसको नारा “शौचालयमा ध्यान” रहेको थियो। यो गत वर्षको मात्र नारा होइन काठमाडौंका लागि सधैँको नारा हुनसक्छ। नवनिर्वाचित मेयरसाबले ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण र चोकचोमा थुप्रिएका फोहोर व्यवस्थापन गरेमा मात्र पनि ठूलै काम हुने थियो।


Comment

One thought on “बालेनजी, सार्वजनिक शौचालय कस्तो बनाउने?

  1. अहा ! कति चिटिक्क परेको शौचालयको रमणीय चित्रण ! लौ त , मेयर साब, कस्यौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved