सीडीओलाई ज्ञापनपत्र बुझाउँदै सहकारी पीडितले भने- जीबी राई अहिलेसम्म किन पक्राउ परेनन् ? 

नेपालभ्युज

सीडीओलाई ज्ञापनपत्र बुझाउँदै सहकारी पीडितले भने- जीबी राई अहिलेसम्म किन पक्राउ परेनन् ? 

चितवन । पैसा फिर्ता नपाएका सहकारी संस्थाका बचतकर्ताले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ‘जीबी राई अहिलेसम्म किन पक्राउ परेनन्’ भन्दै प्रश्न गरेका छन् ।

उनीहरूले शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै यस्तो प्रश्न उठाएका हुन् ।

सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरू सहकारीका फरार सञ्चालक जीबी राई पक्राउ नपरेको भन्दै गृहमन्त्री रवि लामिछानेप्रति असन्तुष्ट छन् ।

फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको आरोप छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सहाराका फरार सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको लामो समय भए पनि उनीहरू किन पक्राउ परेनन्, कतै यसमा उच्च पदस्त व्यक्तिहरू त सम्मिलित छैनन् ? गम्भीर शंकाको वातावरण बनेको छ ।’

चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा जनाइएको छ ।

जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । हालका गृहमन्त्री तथा चितवन–२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने कुनै बेला सोही टीभीमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved