बेइजिङ डायरी

चिनियाँका बाह्र-सत्ताइस कुरा !

चिनियाँ अंकका अन्धविश्वास

विभिन्न अंकलाई चिनियाँहरूले विश्वास गरेर ती अंकलाई राम्रो अथवा नराम्रो भन्नुको पछाडि ती अंकको उच्चारण पद्धतिले पनि काम गरेको छ। चिनियाँ शब्द उच्चारण चारवटा तहबाट हुने गर्छ। शब्द एउटै भए पनि उच्चारण तहअनुसार अर्थ फरक फरक हुन सक्छ।

चिनियाँका बाह्र-सत्ताइस कुरा !

‘धेरै बाह्र-सत्ताइस कुरा नगर् न।’

हामीमध्ये धेरैले सुनेको नेपाली भनाइ हो यो। खासमा यसको गहन अर्थ छ। ज्योतिष शास्त्रमा बाह्र-सत्ताइसका कुरा धेरै आउने गर्छन्।

ज्योतिषीलाई गाउँले भाषामा जैशी पनि भनिन्छ। अनि भनाइ छ जैशीले जस्तो कसैले पनि जान्दैन। विभिन्न कुरा जोडेर मान्छेलाई मन्त्रमुग्ध बनाउने भएकाले ज्योतिषीका कुरा सबैले पत्याउँछन् अथवा कुराले लठ्याएर पत्याउने बनाउँछन् ज्योतिषीहरू।
त्यसो भए के हो त बाह्र-सत्ताइस भनेको ?

ज्योतिषीले १२ महिना, १२ राशी र २७ नक्षत्रबाट पात्रो हेर्ने गर्छन्। उनीहरू कहिले राहु कता पर्‍यो भन्छन् त कहिले केतु काँधमा चढ्यो भन्छन्। कहिले सूर्य दाहिना त कहिले चन्द्रमा देब्रे । हामी उनीहरूका कुरा खुट्ट्याउन सक्दैनौँ अनि जे भने पनि मख्ख पर्छौं।

यसैकारण कोही बोलक्कड मान्छेको पहिचान बन्छ बाह्र सत्ताइस् कुरा गर्ने गफाडी। अर्थात् बाह्रै महिना २७ नक्षत्रको कुरा गरेर सबैलाई मख्ख पार्ने ज्योतिषी।

नेपाली समाजमा अंकलाई लिएर अरु पनि भनाइहरू चलनमा छन्। उदाहरणका लागि ‘तीन बास गर्नु हुँदैन’। ‘ए आठ-बाह्र भएको रहेछ अनि कहाँ राम्रो हुन्थ्यो!’

नेपालमा जस्तै अन्य देशमा पनि अंकलाई लिएर विभिन्न मानक र अन्धविश्वासहरू रहेका छन्। जस्तो अमेरिकामा अंक १३ लाई अशुभ मानिन्छ। मुसलमानहरूका लागि ७८६ अंक भाग्यशाली हो। कुनै पसलको बाहिर ७८६ नम्बर लेखिएको देख्नुभयो भने अनुमान लगाउनुहोस्, उक्त पसल मुसलमानको हो।

चिनियाँ अंकका अन्धविश्वास

चीनमा पनि अंकलाई लिएर कयौँ अन्ध विश्वासहरू रहेका छन्। भन्नुहोला चीन त कम्युनिस्ट ले सञ्चालन गरेको मुलुक हो, त्यहाँ कसरी अन्ध विश्वास हुन्छ? यदि, त्यस्तो सोचाइ राख्नुभयो भने तपाईं गलत हुनुहुन्छ। विश्वमै अंकमाथिको सबैभन्दा धेरै अन्धविश्वास चीनमा छ।

विभिन्न अंकलाई चिनियाँहरूले विश्वास गरेर ती अंकलाई राम्रो अथवा नराम्रो भन्नुको पछाडि ती अंकको उच्चारण पद्धतिले पनि काम गरेको छ। चिनियाँ शब्द उच्चारण चारवटा तहबाट हुने गर्छ। शब्द एउटै भए पनि उच्चारण तहअनुसार अर्थ फरक फरक हुन सक्छ।

उदाहरणका लागि अंक ३ लाई चिनियाँ भाषामा ‘सान’ भनिन्छ। अंक ३ जनाउने ‘सान’ र जीवन अथवा जन्म जनाउने ‘शान’ उस्तै सुनिने भएकाले चिनियाँ परम्परामा ३ अंकलाई राम्रो मानिन्छ।

चौथो, तेह्रौँ, चौधौँ र तला उल्लेख नभएको लिफ्ट।

तीन अंक राम्रो भए जस्तै अंक ४ चाहिँ नराम्रो मानिन्छ। ४ लाई चिनियाँ भाषामा ‘स’ भनिन्छ जुन मृत्यु जनाउने शब्दकै उच्चारण जस्तो हो। त्यसकारण ४ अंकलाई घृणा गर्ने मात्र होइन कतिपय घर, सुपरमार्केट, अस्पताल अथवा कार्यालयका लिफ्टमा चौथो तलाको गणना नै हुँदैन। तला १, तला २, तला ३ पछि तला ३ ‘ए’ हुन्छ अनि तला ५ हुन्छ।

त्यसैगरी, लिफ्टमा ६, ७, ८, ९, १०, ११, १२ हुन्छ, तर १३ र १४ हुँदैन। १३ को ठाउँमा १२ ‘ए’ र १४ को ठाउँमा १२ ‘बी’ हुन्छ अनि एकैचोटि १५ हुन्छ। चिनियाँ उच्चारणमा १३ अंकको अर्थ नराम्रो नभए पनि अमेरिकी नक्कल गरेर लिफ्टमा नलेखिएको हो। तर, १४ को चिनियाँ उच्चारण ‘शस’ हुन्छ जसको अर्थ मृत्यु भएको भन्ने हुन्छ।

त्यसैगरी, १५ देखि २३ सम्म हुन्छ तर, २४ हुँदैन। २४ को ठाउँमा २३ ‘ए’ हुन्छ। त्यसपछि २५ बाट गणना हुन्छ। चिनियाँ भाषामा २४ को उच्चारण ‘आरशस’ हुन्छ जसको अर्थ सहजै मृत्य भन्ने हुन्छ।

चौथो, तेह्रौँ, चौधौँ र चौबीसौँ तला उल्लेख नभएको लिफ्ट।

बेइजिङका अग्ला भवनमा रहेका लिफ्टमा कताकति यस्तो देखिन्छ, तर सबैतिरचाहिँ होइन। जहाँ जसले अंकमाथि भारी अन्धविश्वास गर्छन् ती भवनका लिफ्टमा मात्र यस्तो देखिने हो। लिफ्टमा यस्तो अमिल्दो नम्बर देखिने कुरा सामान्य होइन, असामान्य हो। त्यही भएर त यो लेख तयार बनाउनुपर्‍यो। पत्रकारितामा चाल्स ए डानाले भनेका छन् ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरको खुट्टा टोक्यो भने समाचार बन्छ।’

अंकका अर्थ र चिनियाँ उच्चारण

चिनियाँ अंक ५ को उच्चारण ‘उ’ हुन्छ जसको अर्थ केही पनि छैन भन्नेसँग मिल्दोजुल्दो हुन्छ। त्यसकारण ५ लाई मात्र खासै चासो नदिए पनि ५ सँग जोडिएर आउने ३ र ४ ले अर्थलाई व्यापक परिवर्तन गराउँछ। ५३ को उच्चारण ‘उसान’ हुन्छ जसको अर्थ ‘जीवन छैन’ भनेको जस्तो हुन्छ भने ५४ को उच्चार ‘उस’ हुन्छ जसको अर्थ ‘मृत्यु छैन’ भन्ने हो। त्यसकारण यो राम्रो मानिन्छ। तीन अंक राम्रो हुँदाहुँदै पाँचसँग आएर नराम्रो भयो भने चार अंक नराम्रो हुँदा पनि पाँचसँग जोडिनाले राम्रो भयो।

चिनियाँ भाषामा ६ अंकलाई ‘लिउ’ उच्चारण गरिन्छ। ‘लिउ’को अन्य अर्थमा वृद्धि हुनु, फैलनु, व्यापक हुनु पनि भएकाले व्यापारमा ६ अंकलाई अत्यन्त राम्रो मानिन्छ। पश्चिमा जगतमा ६६६ नम्बरलाई अपशकुन मानिए पनि चीनमा भने ६६६ लाई भाग्यशाली नम्बर मानिन्छ।

चिनियाँमा अंक ७ को उच्चारण ‘छी’ हुन्छ। चीनमा यसलाई राम्रो र नराम्रो दुवै रुपमा लिइन्छ। पहिले पहिले ७ अंकलाई अशुभ मानिन्थ्यो किनभने सातलाई सातले गुणा गरेर आउने योग ४९ दिनसम्म मरेको मान्छेको आत्मा धर्तीमै भौँतारिरहेको हुन्छ भन्ने विश्वास थियो।

परापूर्वकालमा चिनियाँ चन्द्रमासको सातौँ महिनालाई प्रेत महिना पनि भनिन्थ्यो। हिजोआज सातौँ महिनालाई चीनमा अत्यन्त राम्रो मानिन्छ। चिनियाँ चन्द्रमासको क्यालेन्डर अनुसार सातौँ महिनाको सातौँ दिनलाई चीनमा प्रेम दिवस मनाइन्छ।

चौथो, तेह्रौँ र चौधौँ तला उल्लेख नभएको लिफ्ट।

आहा अंक आठ !

चिनियाँ परम्परा, संस्कृति र विश्वासमा ८ अंक सबैभन्दा राम्रो, शुभ, अवसर र शकुनका रूपमा मानिन्छ। चिनियाँ बौद्ध धर्मको परम्परा अनुसार पनि ८ अंक शुभ सङ्केतका रूपमा प्रचलित छ। कमलको फूल फक्रिँदा आठ पत्तामा हुने भएकाले बौद्ध धर्ममा कमलको फूल र ८ अंकलाई चीनमा सम्मान गरिन्छ।

दुईवटा ८८ अंक जोडिएर आउँदा खुसी र उत्सव सँगसँगै ल्याउँछ भन्ने मान्यता पनि चीनमा रहेको छ। आम चिनियाँ समाजमा ८ अंकलाई अत्यधिक प्राथमिकता दिइन्छ। कुनै शुभकार्य, व्यापार, संगठन, रेष्टुरेन्ट, बैंक, यातायात आदिको थालनी कार्य महिनाको ८ तारिख गरिन्छ।

उदाहरणका लागि सन् २००८ मा सम्पन्न २९औँ गृष्मकालीन ओलम्पिक खेललाई लिन सकिन्छ। चीनमा आयोजना भएको २९औँ गृष्मकालीन ओलम्पिक खेलकुद सन् २००८ को आठौं  महिना (अगस्ट) को ८ तारिख अपरान्ह ८ बजेर ८ मिनेट ८ सेकेन्ड जाँदा उद्घाटन भएको थियो।

चिनियाँ अपार्टमेन्टको आठौँ तलाको फ्ल्याट किन्नका लागि तुलनात्मक रूपमा महँङ्गो पर्छ। प्रायजसो चिनियाँ रेष्टुरेन्टमा टेबुलको वरिपरि आठवटा कुर्सीको सेट मिलाइएको हुन्छ।

सबैभन्दा भाग्यशाली नम्बर प्लेट भएको कार।

चीनमा ८ अंकको महिमा त्यतिमै सीमित छैन। सन् २००३ मा सिचुवान एयरलाइन्सले सबै अंक ८ वटा ८ भएको टेलिफोन नम्बर २३ लाख ३० हजार चिनियाँ युआनमा किनेको थियो। त्यतिखेर बीबीसीले यसलाई समाचार नै बनाएको थियो। आठवटा आठ भएकाले सो एयरलाइन्सले शौभाग्यशाली नम्बरका रूपमा सो टेलिफोन लाइन किनेको हो।

त्यसैगरी, चच्याङ प्रान्तको सदरमुकाम हाङ्चोउका एकजना व्यक्तिलाई आफ्नो सवारी साधनको नम्बर प्लेट मात्र ११ लाख २० हजार युआनमा बिक्री गर्न अफर आएको थियो। उनको सवारी साधनको नम्बर ‘ए’ ८८८८८ थियो।

चीनमा नयाँ सवारी साधन किन्न पाए पनि नम्बर प्लेट पाइँदैन। बेइजिङ, शाङहाई, थिआनचिन, हाङचौ जस्ता ठूला सहरमा नम्बर प्लेट पाउनका लागि वर्षौँ कुर्नुपर्छ। कुनै पुरानो सवारी साधनको नम्बरप्लेट किनेर सवारी साधन नष्ट गरी नयाँ किन्नचाहिँ पाइन्छ। त्यही भएर नम्बरप्लेट मात्र किन्न पनि सवारी साधनकै हाराहारीमा शुल्क तिर्नुपर्छ। तर, यहाँ त भाग्यशाली नम्बरप्लेटका लागि थुप्रै सवारी साधन किन्न पुग्ने पैसाको अफर गरिएको छ।

उडान सङ्केतमा पनि अंक आठ

चीनबाट उडान भर्ने प्रायजसो अन्तर्राष्ट्रिय उडानको सङ्केत पनि अंक ८ बाट गरिएको हुन्छ। शाङ्हाईबाट क्यानाडाको टोरन्टो उडान भर्ने क्यानेडिएयन उडानको नम्बर ‘एसी’ ८८ हो। हङकङबाट आस्टर्डम उडान गर्ने नेदरल्यान्डको केएलएमको उडान नम्बर ‘केएल’ ८८८ हो।

बेइजिङबाट अबुधावी उडान गर्ने इतिहाद एयरलाइन्सको उडान नम्बर ‘ईवाई’ ८८८ हो। बेइजिङदेखि सानफ्रान्सिस्को उडान गर्ने युनाइटेड एयरलाइन्सको उडान नम्बर ‘युए’ ८८ हो। एयर अस्टनाको बेइजिङबाट अल्माटीको उडान नम्बर ‘केसी’ ८८८ हो भने ब्रिटिस एयरलाइन्सको सिचुवानको छन्तुबाट लन्डनसम्मको उडान नम्बर ‘बीए’ ८८ हो। हङकङबाट भान्कोभर उडान गर्ने क्याथे प्यासिफिकको उडान नम्बर पनि ‘सीएक्स’ ८८८ हो।

यात्रा सुरक्षित र सफल होस् भन्ने विश्वासले सबै उडानको नम्बरमा ८ अंक समावेश गरिएको हो। नेपाली बजारमा पाइने तासको पछाडिपट्टि ८८८ लेखिएको पनि तपाईंको भाग्य जमोस् र खेल जित्न सफल हुनुहोस् भनेर राखिएको हो।

९ अंकलाई चिनियाँ भाषामा ‘चिउ’ उच्चारण गरिन्छ जुन शब्द दीर्घकालीन अथवा कालजयी भन्नेसँग मिल्ने हुनाले ९ लाई पनि राम्रो अंकका रूपमा लिइन्छ। पहिले पहिलेका बादशाहको पोसाकमा ९ वटा ड्रागन बनाइएको हुन्थ्यो जसलाई सन्तुलन र सद्भाव दर्शाउने प्रतीक मानिन्थ्यो।

अंकमै रोमान्स गर्छन् चिनियाँहरू

एकात्मक अंकबाहेक विभिन्न अंकहरू सँगसँगै आउँदा दिने अर्थ पनि चिनियाँ संस्कृतिमा निकै अनौठो र रमाइलो हुन्छ। १३१४ अंकलाई चीनमा सबैभन्दा रोमान्चक मानिन्छ किनभने यसको चिनियाँ उच्चारण ‘यिसान यिस’ हुन्छ जुन ‘यिशान यिश’सँग मिल्दोजुल्दो हुने भइहाल्यो। यसको अर्थ सधैंभरि अथवा सदावहार भन्ने लाग्छ।

त्यसैगरी ५२१ लाई रोमान्चक नम्बर मानिन्छ। यसको उच्चारण उआरयी हुन्छ जुन वोआइनी जस्तै सुनिने हुनाले यसलाई रोमान्टिक मानिएको हो। चिनियाँ भाषामा वोआइनी भनेको म तिमीलाई प्रेम गर्छु अर्थात् ‘आइ लभ यु’ हो।

त्यसैगरी, ५१० लाई पनि प्रेम दर्शाउने नम्बर मानिन्छ। ५१० को उच्चारण ‘उ यावो लिङ’ हुन्छ, जुन ‘वो यावो नि’ सँग मिल्दोजुल्दो हुन्। ‘वो यावो नि’ को अर्थ ‘म तिमीलाई चाहन्छु’ हुन्छ। चीनमा प्रेमीले प्रेमिकालाई वीच्याटमा पैसा पठाउँदा प्राय ५१० युआन पठाउने गर्छन्।

चीनमा नवविवाहित जोडीलाई शुभकामना दिँदा ३३९९ नम्बर प्रयोग गरिन्छ। चिनियाँ भाषामा ३३९९ को उच्चारण सानसान चिउचिउ हुन्छ जसको अर्थ जीवनभर सँगै रहनु भन्ने हुन्छ।

५१४ नम्बरलाई दुर्भाग्यपूर्ण मानिन्छ किनभने यसको उच्चारण वु यावो स हुन्छ जसको अर्थ ‘म मर्न चाहन्छु’ भन्ने लाग्छ। क्यानाडाको मोन्ट्रियलमा पढ्ने आफ्ना साथीलाई चिनियाँहरू जिस्क्याउने गर्छन्। किनभने मोन्ट्रियलको टेलिफोन एरियाकोड ५१४ हो। अरुलाई अपमान गर्नुपर्‍यो अथवा सराप्नुपर्‍यो भने ७४८ नम्बर प्रयोग हुन्छ। चिनियाँ उच्चारण ‘छि स पा’को अर्थ ‘मरिहाल’ अथवा ‘नर्कमा जा’ भन्ने हुन्छ।

चौथो, तेह्रौँ, चौधौँ र चौबीसौँ तला उल्लेख नभएको अर्को लिफ्ट।

ठिटाठिटीले रोजेको दिन

अंकमाथिको चिनियाँ विश्वासको अर्को उदाहरण हो सन् २०१३ जनवरी ४ तारिख। उक्त दिन चीनमा लाखौँ जोडीहरूले बिहे गरेका थिए। बिहे गर्नका लागि त्यही दिन किन रोजे चिनियाँहरूले भन्ने कुरा पनि रोचक छ। सन् २०१३ जनवरी ४ तारिख शुक्रबार थियो।

चिनियाँ चलन अनुसार मिति लेख्दा शुक्रबार २०१३ जनवरी ४ लेखिन्छ। चीनमा हप्ताको पहिलो दिन सोमबार भएकाले शुक्रबार पाँचौँ बार हो। सतर्थ शुक्रबार २०१३ जनवरी ४ लाई यसरी लेखिन्छ ५२०१३१४ लेखिन्छ, जसको उच्चारण ‘उ आर लिङ यी सान यी स’ हुन्छ र ‘वो आइ नि यीशान यीश’ जस्तै सुनिन्छ।

‘वो आइ नि यीशान यीश’ भनेको चाहिँ ‘म तिमीलाई जीवनभरका लागि माया गर्छु’ भन्ने हुन्छ। आफ्नो वैवाहिक जीवनलाई दिगो बनाउनका लागि सो दिनमा लाखौँ चिनियाँहरूले विवाह गरेका थिए। बिहे गर्दा नै चिनियाँहरू आफ्नो दाम्पत्य जीवन कति टिक्छ भन्ने कुरामा शंका गर्छन्।

यसैगरी, चीनमा दैनिक १० हजार बढीले सम्बन्धबिच्छेद गर्छन्।

हजार जिब्रा भएको शेषनागले त बखान गर्न सक्दैनन्, चिनियाँ अंकको महिमा। एउटा सानो लेखमा के सक्नु मैले। धन्य छ, चिनियाँ बाह्र- सत्ताइसका कुराहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved